राष्ट्रिय योग दिवस सम्पन्न



माघ १ गते मुलुकभर पाँचौं राष्ट्रिय योग दिवस मनाइयो । पाँचौं राष्ट्रिय योग दिवसको मूल नारा ‘राष्ट्रिय एकता योगको सान्दर्भिकता’ रहेको थियो । योग दिवस मूल समारोह समितिको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई नीतिगतरुपमै प्राथमिकतामा राखेको र यसलाई व्यवस्थित एवं मर्यादित बनाउन मन्त्रालयले काम गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी दिनमा विद्यालय तहमा समेट्ने योजना बनिसकेको जानकारी गराउँदै योगलाई प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नका लागि आवश्यक विधेयक तयार गरिरहेको जानकारी गराउनुभयो । सो कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मानव स्वास्थ्यमा देखा परेका शारीरिक र मानसिक तनावलाई कम गर्ने एउटै मात्र उपयुक्त माध्यम योग नै भएको र योग सबै मानवजीवनको प्रगति र सफलताको उपयुक्त माध्यम बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा पतञ्जली योग समितिका अध्यक्ष सुदर्शन सुवेदी, स्वामी आनन्द अरुण, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योग अभ्यास कार्यक्रमका संयोजक सोनाम साथीले योगको महत्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमअघि राजधानीमा ‘प्रभात फेरी’ गरिएको थियो ।
त्यसै गरी काभ्रे जिल्लामा पतञ्जली योग समिति, धुलिखेल नगर समिति, धुलिखेल योग साधना केन्द्रको संयुक्त आयोजनामा धुलिखेलमा ‘प्रभात फेरी’ समेत गरी राष्ट्रिय योग दिवस मनाइयो । साथै मुलुकका अन्य विभिन्न स्थानमा पनि विविध कार्यक्रमको आयोजना गरी पाँचौं राष्ट्रिय योग दिवस मनाइयो ।

प्रतिक्रिया दिनुहोस्