‘जीवन’सँग हार्नेहरुलाई



डा. अजय रिसाल, मानसिक रोग विशेषज्ञ ।

‘१८ वर्षीया किशोरी रुखमा झुन्डिएको अवस्थामा फेला’

‘४५ वर्षीया विवाहिताको विष सेवनबाट मृत्यु’

‘६५ वर्षीय विधुरकोे पोखरीमा डुबेको अवस्थामा उद्धार, अस्पताल ल्याउँदा बाटैमा मृत्यु’

दैनिक पत्रिकाका हेडलाइनहरुमा, टेलिभिजनका फ्लास न्यूजहरुमा, एफएमका घण्टैपिच्छेका समाचारहरुमा अनि अस्पतालका इमर्जेन्सीमा समेत यस्तै घटनाहरुको साक्षी बनिरहन्छौं हामी ।

नेपालमा विगत दुई दशकयता मातृ एवं बाल मृत्युदरमा उल्लेखनीय कमी आइरहेको छ तर आत्महत्याको संख्यामा भने वृद्धि नै भइरहेछ । किशोरावस्थादेखि नै आत्महत्याको समाचार सुन्दा, आफ्नै नाता या छिमेकमा यस किसिमको घटना देख्दा, भोग्दा मलाई अचम्म लाग्ने गथ्र्यो, जिज्ञासा आउने गथ्र्यो, ‘किन यस्तो डर लाग्दो कार्य गर्न तम्सन्छन् होला मान्छे ? केले आफ्नो जीवनदेखि नै विरक्त बनाउँदो होला उसलाई ? यस्तो बेलामा ती मानिसको मनमा के विचार आउँदो होला ?’ आदि ।

मलाई कहिलेकाहीँ लाग्थ्यो, ‘जीवनसँग हारेर आफू पनि मर्ने र बाँचेकालाई पनि सदाका लागि दुःखी बनाउनु अपराध नै हो ।’ फेरि कहिलेकाहीँ सोच्थेँ, ‘उसले आफ्नो जीवनलाई जे गर्न पनि पाउँछ, चाहे बाँचोस्, चाहे मरोस् ।’

कति राम्रो हुन्थ्यो होला, दुर्घटनाग्रस्त हवाईजहाजको ब्लाक बक्समा झैँ हाम्रै मनमा पनि त्यो आत्महत्या गर्दाको भावना, कल्पना, सपना अनि आत्महत्या गर्ने/गराउने प्रेरणा पनि अमीटरुपमा रहने भए । पोस्टमार्टम गरेझैँ आत्महत्या गरी मर्ने व्यक्तिको मनको पत्र–पत्र केलाएर मनोदशाको अध्ययन गर्न सकिने भए

वास्तवमा मन भन्ने कुरा अनौठो लाग्थ्यो मलाई । ‘मन कहाँ छ ?’ आफैंले आफैंलाई प्रश्न गर्थें, ‘आत्महत्या गर्नु मनकै आदेशको परिपालना नै त होला । यो मन आफू अदृश्य छ । कहाँ लुकेको छ ? पत्तै छैन । तर पनि नेपथ्यमा रहेर आत्महत्याजस्तो दर्दनाक काम गर्दछ । मानिसलाई जीवनबाट भाग्ने प्रेरणा दिन्छ । तर एउटा कुशल अपराधीले झैँ त्यसको कुनै निशान भने छोड्दैन । कति राम्रो हुन्थ्यो होला, दुर्घटनाग्रस्त हवाईजहाजको ब्लाक बक्समा झैँ हाम्रै मनमा पनि त्यो आत्महत्या गर्दाको भावना, कल्पना, सपना अनि आत्महत्या गर्नेरगराउने प्रेरणा पनि अमीटरुपमा रहने भए । पोस्टमार्टम गरेझैँ आत्महत्या गरी मर्ने व्यक्तिको मनको पत्र–पत्र केलाएर मनोदशाको अध्ययन गर्न सकिने भए !’ साँच्चै, मनको अन्वेषण गर्न चाहनाले नै मलाई मानसिक रोग विशेषज्ञ बन्ने प्रेरणा दिलायो । अहिले त त्यसैको पनि एक दशक नै हुन लागिसक्यो तर अझै पनि कसैलाई जीवन जिउन, कसैलाई भने जीवनबाट पलायन नै गराउन प्रेरणा दिने मन कहाँ छ कहाँ ? अन्योलमै छु ।

विगत एक दशकमा कैयौं आत्महत्याको प्रयास गर्ने रोगीहरुको प्रत्यक्ष उपचारमा संलग्न भइसकें तर पनि ती सबैको मनोदशालाई स्पष्टरुपमा खुट्याउन भने सकेको छैन भन्ने ठान्दछु । न त ती सबैकोे खुलस्तरुपमा निदान गरेर सबैलाई पूर्णरुपमा निको नै पार्न सकेको छु जस्तो लाग्छ । एकचोटि आत्महत्याको प्रयास गर्नेले फेरि–फेरि नगरेका पनि छैनन् । एक–दुईजना त वर्षमा २–३ चोटिसम्म प्रयास गरेरसमेत उपचारका लागि ल्याइएका छन् । अझ कहिलेकाहीँ त आफूले उपचार गरेर पठाइएकाले बेलुकी नै आत्महत्या गरे भन्ने सुन्न पुग्छु । साँच्चै नै ग्लानि महसुस हुन्छ मलाई त्यो बेला ।

आत्महत्याका सबै कारक तत्वहरु जान्न नसकिए पनि तीन खण्डमा बाँडेर अध्ययन गर्ने गरिन्छ । जैविकरुपमा हेर्दा, आनुवंशिकता पहिलो नम्बरमा आउँछ भने सेरोटोनिन नामक रसायनको कमीलाई पनि एउटा कारण मानिएको छ । मनोवैज्ञानिक कारणलाई खोतल्दा, फ्रायड, मेनिन्जर आदिका सिद्धान्तअनुसार ‘आफूले आफूप्रति नै देखाएको रिस’ अनि ‘मर्ने या मार्ने चाहना’ आदिलाई देखाइएको छ । तर किन त ? पूर्ण उत्तर छैन हामीसँग ।

त्यस्तै डिप्रेसन, साइकोसिस, एन्जाइटीजस्ता मानसिक रोग लागेकामध्ये १०–२५ प्रतिशतले आत्महत्या गर्ने गरेको पाइन्छ । कतिपयले आत्महत्या गर्न पाउनु आप्mनो अधिकार हो भनेर पनि सोचेका हुन सक्छन् । तर एक मनोचिकित्सकका रुपमा मैले ती सबैलाई रोगीको रुपमा नै देखेको हुन्छु । उपचार गरेर ती सबलाई स्वस्थ बनाउनु र जीवन बचाउनु मेरो कर्तव्य नै ठानेको छु । विभिन्न कारणले मानसिक समस्या भई आत्महत्या गर्न प्रयास गर्नेहरुलाई सम्भव भएसम्म उपचार गरेर जीवन जिउन प्रेरित गर्ने हो, पुनः यस्तो कार्य गर्नबाट रोक्न प्रयास गर्ने हो । त्यसका लागि मनोविमर्श गर्ने गरिन्छ । तिनमा कुनै मानसिक रोग नै भएको पाइएमा त्यसको यथोचित उपचार गर्नुपर्दछ । तर यी सबै मनोचिकित्सकको एकल प्रयासबाट मात्र सम्भव भने छैन । यसमा परिवार एवं बन्धुवर्गको पनि ठूलो
भूमिका रहन्छ ।

कसै गरी पनि कुनै व्यक्तिलाई आफ्नो भावना अभिव्यक्त गर्नबाट रोक्नुहुँदैन । ‘आत्महत्याको विचार’का बारेमा प्रश्न गर्दैमा कसैले त्यस्तो प्रयास गरिहाल्दैन, बरु त्यसले उसलाई आफ्नो मन खोल्ने मौका प्रदान गर्दछ । वास्तवमा मनोविमर्श भनेकै त्यही नै हो । अतः परिवारमा, विद्यालयहरुमा अनि कार्यस्थलमा नै पनि आपसी वार्तालाप, सरसल्लाह अनि एक–अर्कासँग घुलमिल गर्ने वातावरण बनाउनुपर्छ अनि त्यस्तो वातावरण कायमै पनि राखिरहनुपर्छ । आफ्ना इष्टमित्र, साथीभाइहरुमा त्यसरी ‘मर्ने चाहना’ कसैले कुनै पनि बेला व्यक्त गरेमा उसलाई मनोचिकित्सककहाँ ल्याउनुपर्छ, यसलाई हलुका रुपमा कदापि लिनुहुँदैन ।

एकपटक आत्महत्याको प्रयास गर्नेले फेरि दोहो¥याउने सम्भावना ५० प्रतिशतभन्दा पनि बढी रहने हुँदा मनोचिकित्सकीय उपचार महत्वपूर्ण रहन्छ । यी तथ्यहरुको बारेमा चेतना फैलाउन समाजका अन्य वर्ग जस्तै– शिक्षक, राजनीतिक कार्यकर्ता, अभिभावक, मिडिया सबैको चिन्तन र हातेमालो आवश्यक छ ।

यी त भए जैविक अनि मनोवैज्ञानिक तहबाट गरिने उपचार/रोकथामका प्रयत्न । तर आत्महत्याका सामाजिक अवयव पनि धेरै नै छन् । हाम्रो परिवेशमा गरिबी, अभाव, चेतनाको कमी आदि महत्वपूर्ण हुन सक्छन् भने विकसित राष्ट्रहरुमा व्याप्त तीव्र औद्योगिकीकरण, सामाजिक संरचनामा आएको उतारचढाव, पारिवारिक विघटन, भौतिकवादी, व्यक्तिवादी, उपभोक्तावादी संस्कृतिको प्रभाव, असहिष्णुता, आध्यात्मिक चिन्तनको कमी आदिलाई आत्महत्याका लागि जिम्मेवार पक्ष भनी अध्ययनहरुले औंल्याएका छन् । त्यस्तै हामीले बारम्बार भोग्ने गरेको विशेषतः महिलाहरुलाई पिरोलेका घरेलु हिंसा, पति–पत्नी, सासू–बुहारीमा परिरहने गृहकलह, दाइजो दहेज, तिलक प्रथा, छोरीको जन्म हुँदा सुत्केरीले पाउने पीडा, पितृसत्तात्मक सामाजिक बनोट, पतिहरुमा व्याप्त रक्सी सेवन, जुवातासका लत आदि पनि महिलालाई आत्महत्याका लागि प्रेरित गर्ने सामाजिक कारक तत्वका रुपमा रहेका छन् । हामीले गरेको अस्पताल तहको अध्ययनहरुले पनि यिनै तथ्यहरु देखाएका थिए ।

यी सबको उपचार एक्लो चिकित्सकले मात्र कसरी गर्न सक्ला त ? यसका लागि राज्यतहमा नै राष्ट्रिय चिन्तन एवं संकल्पकै आवश्यकता रहन्छ । आत्महत्याको प्रयास गरेका कारण हामीकहाँ ल्याइएका सबै रोगीहरुलाई हामी आह्वान गर्ने गर्दछौं– ‘जीवनको सार्थकता बाँच्नुमा पो छ त, जीवनसँग हार खाएर भाग्नुमा कदापि होइन ।’ त्यसैले, कवि भूपि शेरचनकै शैलीमा म भन्न चाहन्छु :-

‘जीवनसँग हार खानेहरु हो !
जिएर त हेर
जीवन झन् कति न्यानो छ
जीवन झन् कति प्यारो छ…!

प्रतिक्रिया दिनुहोस्