रक्सीसँग नो इनर्जी ड्रिङ्क्स



पछिल्लो एक अध्ययन प्रतिवेदनमा रक्सीमा इनर्जी ड्रिङ्क मिसाएर पिउनु स्वास्थ्यको लागि हानिकारक हुने उल्लेख गरिएको छ । रक्सी मात्र पिउँदा छिटो लाग्ने, थाक्ने र खान अलि गाह्रो पनि हुने भएकोले धेरैले रक्सीलाई पानी, कोल्ड ड्रिङ्क्स, इनर्जी ड्रिङ्क्स, सोडा पानी, टनिक वाटर आदिसँग पिउने गर्छन् । हालैको अध्ययनअनुसार इनर्जी ड्रिङ्क्समा रक्सी मिसाएर खानु स्वास्थ्यका लागि हानिकारक हुने पाइएको छ ।

क्यानडाको एक रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार इनर्जी ड्रिङ्क्स मिसाएर रक्सी खाँदा मानिसले ज्यादा पिउने भएकोले त्यत्तिकै पनि स्वास्थ्यमा हानि पुग्छ । साथै यो मिसावटले स्वास्थ्यमा अन्य हानि पनि गर्छ । यसरी मिश्रण गरेको रक्सी खाँदा विषादी पैदा हुने खतरा हुन्छ । शरीरमा सुगरको मात्रा पनि ह्वात्तै बढेर हानि गर्न सक्छ । शरीरमा क्यालोरी र क्याफिनको मात्रा पनि ह्वात्तै बढ्ने भएकोले स्वास्थ्यमा हानि पुग्छ । यसले ह्याङओभर पनि बढाउने हुन्छ । टाउको दुख्ने, बान्ता हुने, मुटुको धड्कन बढ्ने, थकान हुने, मांसपेशी बाउँडिने, निद्रा नलाग्नेलगायतका समस्या हुन सक्छ ।

डायबिटिज भएका र मुटुसम्बन्धी समस्या भएकाहरुका लागि त इनर्जी ड्रिङ्क्स र रक्सीको मिश्रण पिउनु ज्यादै हानिकारक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्