रोग होइन रजोनिवृत्ति



डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) ।

नेपाली महिलाहरुको स्वास्थ्यको बारेमा छलफल गर्दा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्य आदिको बारेमा छलफल त हुुन्छ, तर आमा बन्ने उमेरपछिको स्वास्थ्यबारेमा खासै छलफल हुुँदैन । पहिले महिलाको औसत आयुु नै कम भएकोले शायद यसमा सरकारको त्यति ध्यान गएन । तर अहिले त महिलाहरुको औसत आयुु नै ७२ वर्ष पुुगिसकेकोले रजोनिवृत्तिपछि स्वास्थ्य कसरी राम्रो राख्ने भन्ने बारेमा छलफल हुन आवश्यक छ ।

‘मेरो महिनावारी सुकेको तीन वर्ष भयो । त्यसपछिका दिनहरुमा मेरो शरीर तथा मनमा समस्या देखिएको छैन । मैले त यस अवस्थालाई सामान्यरुपमा लिएकी छु । म महिला समूहसँग पनि काम गर्छु, अहिलेसम्म महिलाहरुमा रजोनिवृत्तिका समस्या पाएको छैन ।’ ४५ वर्षीया पत्रकार अञ्जुले भनेकी थिइन् । ‘मेरो महिनावारी सुकेको चार वर्ष भयो । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन ।’ एकजना साथीले भनेकी छन् ।

महिनावारी सुुक्नुु रोग होइन तर पनि कसै–कसैलाई चाहिँ महिनावारी सुुक्ने बेलामा केही साधारण समस्या देखा पर्न सक्छ ।
४८ वर्षीया सुुमितालाई झर्को लाग्ने, सानो कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले जाडो त कहिले गर्मी हुुने भयो । आफूूलाई रोग लागेको हो कि भन्ने ठानेर उनी डाक्टरकहाँ गइन् । डाक्टरले उनको समस्या सुुनेपछि महिनावारीको विषयमा सोधे ।

उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुुई महिनामा हुुने बताइन् । डाक्टरले राजोनिवृत्ति हुुने बेलामा यस्ता केही साधारण समस्या देखिन सक्ने तर यसले जीवनमा कुुनै नकारात्मक प्रभाव नपार्ने बताए । साथै यस्ता समस्या रोक्ने तरिका पनि सिकाए । सल्लाहअनुुसार गरेपछि समस्या पनि कम भयो । रजोनिवृत्तिपछि समस्या बिस्तारै हरायो ।

जसरी महिनावारी शुरु हुुँदा कसै–कसैलाई साधारण समस्या हुुन सक्छ, त्यसै गरी महिनावारी सुुक्दा पनि साधारण समस्या देखा पर्न सक्छ । मैले पनि ‘आवर बडी आवर सेल्भस्’ पढेपछि रजोनिवृत्ति, हाम्रो संस्कृति, खानाले पर्ने असरको बारेमा धेरै जान्ने अवसर पाएँ ।

महिलाहरुको महिनावारी सामान्यतया ४५–५० वर्षको उमेरतिर बन्द हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा अमेरिकन तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । डा. कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १ सय ५० महिलाका बीचमा यससम्बन्धमा एउटा अध्ययन गरेको (मेनोपोज सिमटम इन नेपाल) पाइन्छ । त्यसयता यस विषयमा नेपालमा सानो तथा ठूलो स्तरमा कुनै पनि अध्ययन भएको पाइएको छैन ।
महिनावारी सुकेपछि कतिपय महिलालाई केही समस्या पर्न सक्छ । नेपाली महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छ । कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ ।

४५–५० वर्षको उमेरसम्म पनि यी साधनहरु प्रयोग गरिरहन्छन् । महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन सकिन्न । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । तर नेपालका कतिपय ठाउँमा महिलालाई परिवार नियोजनको साधनले गर्दा हुन सक्ने यस्ता समस्या ९महिनावारी गडबडी, धेरै रगत बग्ने वा महिनावारी नै नहुने आदि० बारेमा जानकारी दिइन्न, जुन जरुरी छ ।

युवावस्थामा व्यायाम नगरी शरीरलाई मोटो बनाएर सबै कुरा उमेर ढल्केपछि गरौंला भनियो भने रजोनिवृत्तिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पुर्‍याउनुपर्छ । रजोनिवृत्तिको बेला भोजन, आराम, सकारात्मक विचारले स्वास्थ्य राम्रो हुन्छ । रजोनिवृत्तिको बेला राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै–कसैलाई जीउ चिलाउने र स्तनको आकार सानो हुँदै जाने हुन सक्छ । शरीरमा एस्ट्रोजेनको मात्रा कम हुँदै जाँदा यस्तो हुन्छ । चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढीे देखिएको छ ।

नेपालका गाउँघरमा महिलालाई धूमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्रायः थाहा हुँदैन । महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन भन्ने पनि थाहा नभएको पाइन्छ । शुरुवातमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिपय त मलाई रोग लाग्यो कि भनेर डराउँछन् ।

रजोनिवृत्तिका विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने, यस्ता समस्यालाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । उदाहरणको लागि अमेरिकाका महिलाहरुमा रजोनिवृत्तिका समस्या बढी देखिन्छन् । तर जापानी महिलामा यसको समस्या कम देखिन्छ । यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा र संस्कृतिसँग रहेकोले हो । अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ । उनीहरु वृद्ध हुने प्रक्रियाको बारेमा कुरा गर्न त्यति रुचाउँदैनन् । तर जापानी समाजमा रजोनिवृत्तिलाई समस्याको रुपमा लिने गरिँदैन । प्रायः नेपाली महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्छन् । कतिपयले धर्मकर्मतर्फ लाग्ने समयको रुपमा पनि यस अवस्थालाई लिन्छन् ।

रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्नेचाहिँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरको हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृत्ति भएपछि यो झन् बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्गमा चिलाउने समस्या हुन सक्छ । कतिपय महिला यस्तो हुँदा ठूलै रोग भयो भन्ठानेर तर्सिन्छन् । यो समस्याको हल चिल्लो पदार्थ छालामा लगाएर समाधान गर्न सकिन्छ । छालामा तिल, बदाम, तोरी आदिको तेल लगाउँदा चिलाउने कम हुन्छ ।

‘आवर बडी, आवर सेल्भस्’मा मानसिक तनावले महिलालाई कस्तो समस्या पर्न सक्छ भनेर लेखिएको छ । कामको धेरै बोझ भएमा, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बूढो भएँ भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ र महिनावारी सुक्दा धेरै तनाव पैदा भई शरीरलाई नै नकारात्मक असर गर्दछ । तनाव भएपछि शरीरमा विभिन्न परिवर्तन देखा पर्दछन् । जस्तै– मुटुको गति, रक्तचाप बढ्छ । तर तनाव व्यवस्थापन गरे यस्ता समस्या हुँदैनन् ।

मानसिक तनाव परेका बेला साथीसँग फोनमा कुरा गर्ने, एक्लै बाहिर हिँड्न निस्कने वा बगैंचामा काम गर्ने गरेमा तनाव कम हुन्छ । यस्तै गरी प्रार्थना गर्ने, योग–ध्यान गर्ने, नाच्ने गरेर पनि तनाव कम गर्न सकिन्छ ।

महिनावारी सुकेपछि औषधि प्रयोग गर्नुपर्छ भनेर हर्मोनको औषधि दिने चलन बढेको छ । यस्तो औषधिको बारम्बार प्रयोग गर्दा क्यान्सर उत्पन्न हुन सक्ने अध्ययनले देखाएको छ । महिनावारी सुक्ने बेलामा समस्या कम होस् र शरीर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडडुल गर्नु ठीक हुन्छ । व्यायामले मानसिक तनाव, अनिद्रा, मोटोपन आदि घटाउन मद्दत गर्छ, आत्मविश्वास बढाउँछ । नियमित व्यायाम गर्ने महिलालाई रजोनिवृत्ति भएपछि शरीर एकैछिन्मा तातो हुने, एकैछिन्मा चिसो हुुने समस्या पनि कम हुन्छ ।

महिनावारी हुनुभन्दा अघि र बन्द भएपछि अल्छी भएर बस्यौं र असन्तुलित आहार खायौं भने विभिन्न समस्या देखा पर्न सक्छ । शरीर सक्रिय राख्न केही न केही काम गरिनै रहनुपर्छ । केही महिला व्यायामलाई बोझको रुपमा लिन्छन् । तर व्यायामले आफूलाई फाइदा पुर्‍याउँछ भन्ने विश्वास गरेपछि अलि–अलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ । व्यायाम गर्दा स्वस्थ अनुभव हुन्छ र रमाउन पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्