केटीहरु चाँडो जवान हुन थाले



नयाँ पुस्ताका युवतीहरुमा यौन अवस्था छिट्टै विकसित हुन थालेको नयाँ अध्ययनमा पाइएको छ । खानपिन र मोटोपनको जीवनशैलीबाट छिटो जवानीमा प्रवेश गरेको तथ्य अमेरिकन नेसनल न्युरो बायोलोजीका डा. एन्ड्य्रु डेबिटले बताएका छन् । अनुसन्धानकर्ता मेरी रोजरका अनुसार केटीहरुमा छिटो यौवन आरम्भ भएमा सामाजिक समस्या त आउँछ नै, साथै जीवनको उत्तरार्धमा क्यान्सर, मधुमेह र रक्तचापले समात्ने सम्भावना पनि अधिक हुन्छ ।

विश्व स्वास्थ्य संगठनको अनुरोधमा अनुसन्धानकर्मीहरुले ६ देखि १३ वर्ष उमेरका ५ हजार अमेरिकी केटीहरुको करिब ३ वर्षसम्म अध्ययन गरेका थिए । सो अनुसन्धानको क्रममा उनीहरुले पिसाबमा थालेटस फेनोल र फाइटोएस्ट्रोजिनको मात्रा मापन गरेका थिए । थालेटस र फाइटोएस्ट्रोजिन समूहका रसायनको प्रभावले यौवनावस्था छिटो विकसित गराउने अनुसन्धान टोलीको निष्कर्ष छ ।

कस्मेटिक, डिटरजेन्ट, रंग, मसी, नङपालिस, दुई वस्तु जोड्ने गम, नरम प्लास्टिक आदिमा थालेटस रसायनको प्रयोग गरिन्छ । अमेरिकामा अहिले यी रसायनहरुले केटीहरुको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको जनाउँदै कस्मेटिकहरुमा थालेटस रसायनको प्रयोगमाथि प्रतिबन्ध नै लगाइसकेको छ भने युरोपमा पनि प्रतिबन्ध लगाउने तयारी हुँदै छ । यसै गरी प्लास्टिकलाई कडा बनाउन प्रयोग गरिने फेनोललाई खाद्यवस्तु राखिने बट्टामा पनि प्रयोग गरिन्छ । यो रसायन बीपीए (BPA) नामबाट चिनिन्छ । वनस्पतिहरुमा प्राकृतिकरुपमा पाइने फाइटोएस्ट्रोजिनले केटीहरुको शरीरमा एस्ट्रोजिनको नक्कल गर्छ, जसले गर्दा युवतीहरु चाँडो यौवन अवस्थामा प्रवेश गर्छन् ।

प्रतिक्रिया दिनुहोस्