मधुमेहमा ग्लुकोज दुईधारे तरबार



डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) । 

रगतमा चिनी (ग्लुकोज)को मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह÷चिनीरोग भनिन्छ । रगतमा चिनीको मात्रा बढी हुँदा त्यसले शरीरका विभिन्न अंगलाई असर गर्छ । मधुमेह हुनुमा वंशाणुगत कारणबाहेक व्यक्तिले गर्ने खानपिन र अपनाउने जीवनशैली नै प्रमुख कारक मानिन्छ । व्यक्तिलाई मधुमेह रोग भइसकेपछि उसको सुखद दीर्घजीवन हुने वा दुःखद अल्पजीवन हुने कुरा उसको भोजन एवं जीवशैलीमा निर्भर हुन्छ ।

मधुमेह रोगीले खानपिन निकै सजग भएर गर्नुपर्छ । मधुमेह रोगीका लागि ग्लुकोज (काब्रोहाइडे«ट) दुईधारे तरबारजस्तो हुन्छ । रगतमा यसको अधिकता भयो भने पनि घातक हुन्छ र कमी हुँदा (हाइपोग्लाइसेमिया) पनि खतरनाक हुन्छ । त्यसैले चिनी रोगीहरुले भोजनबारे पर्याप्त ज्ञान राख्नै पर्छ । साथै मोटोपनलाई मधुमेह रोगको एउटा मुख्य कारक मानिन्छ । मोटोपनलाई नियन्त्रण गर्न सम्यक भोजन एवं नियमित उचित व्यायाम गर्नु अनिवार्य हुन्छ । अतः भोजनसँगै मधुमेह रोगीले व्यायामको बारेमा पनि जानकार बन्नुपर्छ ।

संसारमा सबैभन्दा बढी मधुमेह रोगी चीन र भारतमा छन् । विशेष गरी मधुमेह दक्षिण एसियामा बढी देखिएको छ । अध्ययनहरुका अनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ, जुन दिनप्रतिदिन बढ्ने क्रममा छ । विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा बढी मानिस मधुमेहबाट ग्रसित छन् । अहिलेको अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करोडभन्दा माथि पुग्ने आँकलन गरिएको छ ।

मधुमेह हुनुमा वंशाणुगत कारणबाहेक व्यक्तिले गर्ने खानपिन र अपनाउने जीवनशैली नै प्रमुख कारक मानिन्छ । व्यक्तिलाई मधुमेह रोग भइसकेपछि उसको सुखद दीर्घजीवन हुने वा दुःखद अल्पजीवन हुने कुरा उसको भोजन एवं जीवशैलीमा निर्भर हुन्छ ।

परिवारमा एकजनालाई मधुमेह छ भने परिवारको अन्य सदस्यलाई ४० प्रतिशतसम्म मधुमेह लाग्ने सम्भावना हुन्छ । परिवारभित्र मधुमेह भएको व्यक्ति छ भने अन्य सदस्यले पनि त्यसप्रति चनाखो भइराख्नुपर्छ । परिवारका अन्य सदस्यहरुले पनि खानपिन सुधार्नुपर्छ । नियमितरुपमा व्यायाम गर्नुपर्छ । त्यसो गरे मधुमेह हुनबाट बच्न सकिन्छ ।

प्रकार २ (Type-2) को मधुमेह सबैभन्दा बढी देखिएको मधुमेह हो । यो ३० वर्ष उमेर कटेकाहरुमा बढी देखिएको छ । भोजनमा सुधार र व्यायामको सम्यक अभ्यासद्वारा प्रकार २ को मधुमेहबाट बच्न सकिन्छ । मधुमेह लागिसकेको भए पनि रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । रगतमा इन्सुलिनको मात्रा शून्य भए त्यो मधुमेह प्रकार १ हुन्छ । यस्तो बेला बाँच्नको लागि इन्सुलिन नै लिनुपर्छ । यस प्रकारको मधुमेह बच्चामा बढी देखिन्छ । प्रकार १ मा भोजन एवं व्यायामको धरै प्रभाव रहन्न । यो धेरै थोरै मान्छेमा मात्र हुने गरेको पाइन्छ ।

नेपाली समाजमा रोग लागे मात्र अस्पताल जाने र स्वास्थ्य परीक्षण गर्ने चलन छ । नियमित स्वास्थ्य परीक्षण गर्ने चलन त छँदै छैन । यसरी मधुमेह धेरैको जीवनमा स्वाभाविकरुपमा प्रवेश गर्दै छ । दिनप्रतिदिन नेपाली समाजलाई मधुमेहको भारीले थिच्दै गइरहेको छ । सामान्य मानिसमा चिनीको मात्रा खाली पेटमा १०० मिलि/डीएलभन्दा कम हुन्छ । खाएपछिको २ घण्टापछिचाहिँ १४० मिलि÷डीएलभन्दा कम हुन्छ । खालि पेटमा रगतमा चिनीको मात्रा १२६ मिलि/डीएल भए र खाना खाएको दुई घण्टापछि २०० मिलि÷डीएलभन्दा माथि भए मधुमेह रोग हुन्छ ।

मधुमेह रोगीहरुले एचबीएवानसी चेकअपमा बढी ध्यान दिनुपर्छ । त्यो भनेको गएको तीन महिनादेखि औसत चिनी (सुगर)को मात्रा देखाउने रगतको जाँच हो । त्यो औसत मात्राचाहिँ प्रतिशतमा हुन्छ । सामान्य मानिसमा सुगरको मात्रा ५.७ प्रतिशतभन्दा कम हुन्छ । जसलाई मधुमेह भइसकेको छ, उसले एचबीएवानसीलाई ७ प्रतिशतभन्दा तल राख्ने गरी भोजन, व्यायाम वा औषधिको प्रयोग गर्नुपर्छ ।

जो काममा व्यस्त हुन्छ, जसलाई भोजनकोे प्रकार, मात्रा एवं समय मिलाउन कठिन भइरहेको हुन्छ । उनीहरुले ग्लुकोमिटरको सहयोगले घर वा अफिसमा पनि आफैं मधुमेह चेक गर्न सक्छन् । ग्लुकोमिटरमा मधुमेहका बिरामीको सुगर खालि पेटमा १३० मिलिग्राम/डीएलभन्दा तल हुनुपर्छ र खाना खाएको दुई घण्टापछि १८० मिलि/डीएलभन्दा तल हुनुपर्छ । यति भयो भने एचबीएवानसी स्वतः ७ प्रतिशतभन्दा तल आउँछ । फलतः रगतमा सुगरको मात्रा नियन्त्रणमा रहेको मानिन्छ ।

हिजोआज आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसको रुचि बढेको देखिन्छ । चिल्लो, क्यालोरीयुक्त खाना खान बढी रुचाइरहेका छन् । धेरैले समयमा खाना खाइरहेका छैनन् । जीवनशैली धेरै नै विलासी बन्दै गएको छ । नजिकै जानुप¥यो भने पनि गाडी प्रयोग गरिन्छ, हिँड्न सहज मान्दैनन् । जीवनशैलीमा शारीरिक सक्रियता घटेको छ, व्यायाम गर्ने संस्कृति हराएर गएको छ । यसरी अव्यवस्थित खानपिन शैली एवं शारीरिक सक्रियताको अभावले मधुमेह घातक रोग भए पनि नेपाली समाजमा यो सामान्य रोग बन्दै गएको पाइन्छ ।

विश्मा खान नपाएर मानिस थोरै मात्रामा पीडित छन् तर नेपाली समाजमा हिजोआज खान नजानेर धेरै मानिस मधुमेह लागी पीडित हुँदै गएको देखिन्छ । मधुमेहबाट बच्न नेपालीले खानपिनमा सुधार ल्याउनै पर्छ, शारीरिक क्रियाशीलता बढाउनै पर्छ । मधुमेहबाट बच्न सबभन्दा पहिले नेपालीले घरबाहिर खाना खान सकेसम्म छोड्नुपर्छ । तयारी खानाहरु (फास्ट फुुड, जंक फुड) घरमै लगेर पनि खान छोड्नुपर्छ । घरमा प्रयोग गरिने खानेतेल, नून, मैदा, मासु, चिनी, चामललाई सचेतरुपमा प्रयोग गर्न सिक्नुपर्छ । सकेसम्म चामल ब्राउन राइस खानु राम्रो हुन्छ । चामलको सट्टा जौ, मकै वा फापरको घरेलु परिकार प्रयोग गर्दा उत्तम हुन्छ । बजारिया विभिन्न ब्रान्डको तेल खान छोडेर मिलमा पेलेर त्याइएको शुद्ध तोरीको तेल शरीरको लागि सर्वथा उत्तम हुन्छ । नूनमा कालो वा सिधेनून खाने बानी बसालौं । सकेसम्म मैदाको कम प्रयोग गरौं । चिनीको प्रयोग छोडौं, त्यसको विकल्पमा सख्खर प्रयोगमा ल्याऔं । दैनिक अधिक मासुको प्रयोग अस्वस्थकर हो । हप्तामा एकदेखि दुई दिन ५० देखि ६० ग्राम ताजा र सफा मासु मात्र सेवन ठिक्कै होला । यसो हुँदा मधुमेह हुने ८० प्रतिशत सम्भावना हराउँछ ।

मधुमेहमा गुलियो खाना खानुहुँदैन भन्ने तथ्य स्थापित छ । गुलिया फलफूलमा पनि त गुलियो हुन्छ, तसर्थ त्यो पनि त खान नमिल्ला भन्ने प्रश्न स्वाभाविकरुपमा आउने नै भयो । आधुनिक पोषण विज्ञानले हरेक फलको गलाइसेमिक मूल्य तय गरेको र कमभन्दा कम गलाइसेमिक मूल्य भएका फफूल मात्र मधुमेह रोगीले खानुपर्छ भन्ने मत आधुनिक चिकित्सा विज्ञानको छ । तर आयुर्वेदमा मधुमेहका रोगीका लागि कुनै पनि फलफूल निषेध गरिएको छैन, मात्रा भने मिलाउन भनिएको छ । मधुमेहमा षड्रसमध्ये मधुर, अम्ल र लवण रस भएका फलफूल कम मात्रामा र कटु, तिक्त र कषाय रस भएका फलफूहरु बढी मात्रामा सेवन गर्न सकिन्छ भन्ने आयुर्वेदको मत रहेको छ ।

कटु, तिक्त र कषाय रसले रगतको गुलियोपनलाई काट्छ । प्रतिदिन एकजना मधुमेहीले ३५० ग्राम (२ कप) ताजा मिक्स फल वा १७५ ग्राम (१कप) सुख्खा मिक्स फल निशंकोच खान सक्छ । रोगीको वय र बल तथा फलरसको षड्रस प्रकृति हेरी मात्रा थपघट पनि गर्न सकिन्छ ।
आयुर्वेदका अनुसार मधुमेहीले फलफूल र फलफूलको रस.जुसमध्ये सिंगै फल खानु हितकर बताइएको छ । फलफूलको रसलाई आयुर्वेदमा पञ्चकषाय कल्पनाअन्तर्गत स्वरस औषधिअन्तर्गत मान्न सकिन्छ । जसको मात्रा प्रतिदिन ३०–६० मिलिलिटर बताइएको छ । तर रोगीको वय र बल तथा फलरसको षड्रस प्रकृति हेरी मात्रा थपघट पनि गर्न सकिन्छ । डब्बामा प्याकिङ गरिएका जुसहरु खानुहुँदैन । खानै परे बट्टाबाहिर मार्क गरिएको त्यस्तो जुस जसमा अतिरिक्त सुगर र अधिक प्रिजर्भेटिन नराखिएको जुस कहिलेकाहीँ प्रयोग गर्न सकिन्छ ।

फलफूलमा हुने गुलियो प्राकृतिक गुलियो हुन्छ, जसले प्रशोधित गुलियोको जस्तो शरीरमा पच्न र निष्कासन हुन समय लिँदैन, प्राकृतिक गुलियोले पच्न इन्सुलिन पनि धेरै अपेक्षा गर्दैन । साथै फलफूलमा हुने मिनिरल्स, भिटामिन एवं रेसाहरुले फलफूलको प्राकृतिक गुलियोलाई शरीरमा तत्काल पाचन, अवशोषण एवं निष्कासन गर्न सहयोग गर्दछ । तर प्रशोधित गुलियो रक्तनलीहरुमा गएर टाँसिने हुन्छ । पाचन, अवशोषण र निष्कासन ढिलो हुन्छ । प्राकृतिक गुलियोले बोसोहरण गर्ने हुनाले त्यसले रगतको बोसो पनि काट्न सघाउँछ, जुन मधुमेहको प्रमुख कारण मानिन्छ । मधुमेह रोगीले गुलियोको प्रयोग गर्नै हुन्न भन्ने होइन तर गुलियोको प्रयोग कसरी गर्ने भन्ने जान्नुपर्छ ।

मधुमेहमा मह वर्जित छैन, मह मेदोहर र रुक्ष गुण भएको खाद्यपदार्थ भएकोले मधुमेह रोगीले पनि प्रतिदिन १५ देखि ३० ग्राम मह प्रयोग गर्न सक्छ । उखुको रस खान पनि मधुमेहका बिरामी डराउनुपर्दैन । यसमा पनि प्राकृतिक गुलियो हुन्छ, जुन हानिकारक हुन्न तर मात्रा भने मिलाएर सेवन गर्नुपर्छ । मधुमेह रोगीको वय र बल हेरेर मात्र जुनै पनि खानेकुराको मात्रा तय गर्नुपर्छ । चिकित्सकको सल्लाह लिएर मात्र पथ्य, अपथ्य र त्यसको मात्रा तय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्