जाडोको मेकअप खुलेरै गरौं



बिनु श्रेष्ठ (ब्युटिसियन) । 

प्रायः महिलालाई मेकअप गर्ने रहर हुन्छ तर पसिना आउने, चिल्लोपना निस्कने हुनाले गर्मीको मौसममा मेकअप गर्दा लतपतिने, टाटेपाटे हुने, बग्ने समस्या आउन सक्छ । यसले अनुहार सुन्दर हुनुको सट्टा नराम्रो देखिन सक्छ । त्यसैले चाहेर पनि गर्मीमा मेकअप नगरीकनै हिँड्नुपर्ने बाध्यता हुन्छ ।

जाडो मौसममा पसिना ग्रन्थि र तैलीय ग्रन्थिहरुको सक्रियतामा कमी आउने हुनाले नै पसिना र चिल्लोपनमा कमी हुन्छ, जसले गर्दा मेकअप बिग्रेला भन्ने चिन्ता हुँदैन । त्यसैले यो मौसममा खुलेर मेकअप गर्न सकिन्छ ।

गर्मी मौसमको तुलनामा जाडो मौसममा धेरै भोजभतेर, जमघट आदि हुने गर्छ । गर्मीमा मेकअप गर्न नपाएको धोको यही बेला पूरा हुन्छ । यो मौसममा सुन्दर हेयर स्टायलमा सजिएर लामो समयसम्म बस्न सकिन्छ । जाडो मौसममा आफूसँग भएका साधारण कस्मेटिकको प्रयोगबाट पनि मेकअप गर्न सकिन्छ । गर्मीमा जस्तो म्याट (Matte) र वाटरप्रुफ कस्मेटिक प्रोडक्टको प्रयोग गर्नु जसरी पर्दैन ।

रोमछिद्रहरु पनि चिसोका कारणले खुल्ला वा ठूला हुँदैनन् । यो समयमा छालाको चिल्लोपन पनि नियन्त्रणमा हुन्छ । साथै पसिना पनि बग्दैन । यसले गर्दा मजासँग हेभी मेकअप गर्न सकिन्छ । चिल्लोपनको कमीले गर्दा डन्डिफोर, ब्लाक हेड्सजस्ता समस्या पनि हुँदैन । त्यसैले अनुहार सफा हुन्छ । जाडो मौसममा पसिना ग्रन्थि र तैलीय ग्रन्थिहरुको सक्रियतामा कमी आउने हुनाले नै पसिना र चिल्लोपनमा कमी हुन्छ, जसले गर्दा मेकअप बिग्रेला भन्ने चिन्ता हुँदैन । त्यसैले यो मौसममा खुलेर मेकअप गर्न सकिन्छ ।

सुत्ने बेलामा अल्छी नगरी मेकअप हटाऔं

मेकअप गरी पार्टीमा जाने बेला त निकै उत्साह हुने गर्छ । तर घर फर्केपछि जाडोमा अल्छी लाग्छ र मेकअपमा नै सुतिन्छ । हामीले मेकअपबाट छालालाई सुरक्षित राख्नका लागि झर्को नमानी मेकअप हटाउनु जरुरी हुन्छ । भिजेको कटनको सहायताले नरिवलको तेल वा क्लिन्जिङ क्रिम वा मेकअप रिमुभरको सहायताले आँखा, ओठ, अनुहार, कान, घाँटीलाई छुट्टाछुट्टै पुछ्नुपर्छ । फेस वास प्रयोग गरी मनतातो पानीले पखाल्ने, रुमालले हल्का दबाएर अनुहार पुछ्ने र अन्त्यमा सेरम, कोल्ड क्रिम वा मोइस्चराइजिङ लोसन लगाउने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्