कोरोना भाइरसबाट विश्व तरंगित



रोहिणी घिमिर

चीनबाट फैलिएको नोबल कोरोना भाइरस (कोभिड १९) का कारण यतिखेर विश्व नै त्रसित बन्न पुगेको छ । यो भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलोपटक डिसेम्बर ३१ मा भएको थियो ।

कुनै पनि स्थानमा यो संक्रमण फैलिन नपाओस् भनेर चीनले यतिखेर आफ्ना नागरिकलाई एक स्थानबाट अर्को स्थानमा जानसमेत दिएको छैन । यो महामारीको उद्गम स्थल हुबेईमै यसको नियन्त्रण गर्ने प्रयास भइरहेको छ । त्यसैले १० दिनभित्रै १ हजार बेडको सुविधासम्पन्न अस्पताल बनाएर चीनले विश्वलाई नै चकित तुल्याइदिएको छ । तर पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन ।

चमेराबाट सरेको अनुमान चीनमा देखिएको कोरोना भाइरस सर्पबाट मान्छेमा सरेको अनुमान गरिएको थियो । तर पछिल्लो रिपोर्टअनुसार यो भाइरस चमेराबाट मान्छेमा सरेको हुन सक्ने बताइएको छ । अमेरिकाबाट प्रकाशित एक मेडिकल जर्नलको अनुसन्धानात्मक रिपोर्टमा कोरोना भाइरस चमेराबाट सरेको बताइएको छ । अमेरिकाको इको हेल्थ एलायन्सका डा. पिटर डासजाक भन्छन्, ‘नयाँ कोरोना भाइरसको आनुवंशिक अनुक्रम हेर्दा यसको सम्बन्ध चमेरासँग देखिएको छ ।’

कोरोना भाइरस पशुपक्षी र सामुद्रिक खानेकुराको माध्यमबाट सर्ने गर्छ । यो भाइरसमा मानिसमा सहजै सर्न सक्ने गुण हुन्छ । सँगै बसेको परिवारको सदस्य यस भाइरसले बिरामी भएमा परिवारको अर्काे सदस्यमा संक्रमण हुने सम्भावना अधिक हुन्छ । यसबाट संक्रमित व्यक्तिको मिर्गौलाले काम गर्न नसक्ने हुँदा उसको मृत्युको सम्भावना पनि अधिक हुन्छ ।

प्रभावितहरुको पछिल्लो तथ्यांक

फागुनको पहिलो हप्तासम्मको रेकर्डअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा सबैभन्दा बढी १ हजार ७ सय ७२ जनाको ज्यान गैसकेको छ भने संक्रमितको संख्या ७० हजार ६ सय ३५ पुगेको सञ्चारमाध्यमले जनाएका छन् । हुबेईको स्वास्थ्य आयोगका अनुसार हुबेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ रहेको छ ।

हङकङ र फिलिपिन्समा समेत यस भाइरसका कारण मानिसको ज्यान गइसकेको छ । चीनबाहेक जापान, सिंगापुर, भारत, अस्ट्रेलियालगायतका २८ मुलुकमा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन् । यद्यपि नेपालमा भने अहिलेसम्म यस भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन ।

भाइरस पत्ता लगाउने डाक्टरकै मृत्यु

चीनमा फैलिएको कोरोना भाइरसको बारेमा सबैभन्दा पहिलोपटक चेतावनी दिने चिकित्सकको समेत मृत्यु भएकोे छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डा. ली वेनलियाङ (Dr. Li Wenliang) ले ३० डिसेम्बरमा आफ्नो सहकर्मी चिकित्सकलाई केही बिरामीमा कोरोना भाइरसको लक्षण देखिएको चेतावनी दिएका थिए । यो भाइरस संक्रमण भयावहरूपमा फैलिन सक्ने भन्दै उनले सजग गराएका थिए । शुरुमा उनलाई भ्रम नफैलाउन आग्रह गरिए पनि पछि उनको कुरा सत्य साबित भयो । आखिर यही कोरोना भाइरसको संक्रमणबाट डा. लीको समेत मृत्यु भयो ।

चीनबाट १७५ नेपाली स्वदेश ल्याइयो

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट १ सय ३४ पुरुष र ४१ महिला गरी १ सय ७५ नेपालीलाई स्वदेश ल्याइएको छ । उनीहरूलाई यही फागुन ४ गते नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ल्याई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई ल्याउने टोलीमा दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनियर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जना सम्मिलित थिए । चीनबाट विमान चढ्नुअघि स्वास्थ्य परीक्षण गरिएका उनीहरूको काठमाडौं त्रिभुवन विमानस्थलमा पनि स्वास्थ्य जाँच गरी समस्या नदेखिएपछि उक्त क्वारेन्टाइनमा पुर्‍याइएको थियो ।

उनीहरूलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । उनीहरूको रगत, र्‍याल, खकार परीक्षण भइरहेको र यो रिपोर्ट तयार पार्दा (फागुन ७ गते) सम्म नतिजा राम्रै रहेको समाचार प्रकाशमा आएको छ । स्वस्थ्य जाँचको क्रम १४औं दिनसम्म चलिरहनेछ । त्यस बेलासम्मका लागि उनीहरुलाई परिवार, आफन्त कसैले भेट्न पाउने छैनन् । खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका क्याप्टेन डा. नवीन फुँयालको नेतृत्वमा नर्ससहितको स्वास्थ्य टोली खटिएको छ । आशा गरौं, यहाँ राखिएका नेपाली स्वस्थ रहनेछन् ।

रोकथामको पहल

हालसम्म मानवमा देखा नपरेको र उपचारको उपायसमेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निकै खतरनाक मानिएको छ । यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने डब्लुएचओले सुझाव दिएको छ । साथै यो महामारी भएकाले अब सबै मानव समुदायलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

यस भाइरसको संक्रमणले हुने रोगको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन । तर चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले कोरोना भाइरसलाई अनियन्त्रितरूपमा फैलिन नदिन चीनबाट भएको प्रयासको राम्रो परिणाम निस्किरहेको बताएका छन् ।

शुरूवातमा भाइरस संक्रमितको संख्या दैनिक बढेको पाइए पनि पछि बिस्तारै संख्या केही ओरालो लागेको बताइएको छ । डब्ल्युएचओका अध्यक्षले यस महामारी नियन्त्रणका लागि चीनले गरेको मेहनत र प्रयासको प्रशंसा गरेका छन् । डब्ल्युएचओकै नेतृत्वमा अन्तर्राष्ट्रिय र चिनियाँ विशेषज्ञहरु सम्मिलित एक मिसनले कोरोना भाइरसबारे गम्भीर अनुसन्धान थाल्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ फेईका अनुसार हुबेईमा उपचारपछि घर फर्किनेहरुको संख्या दिनहुँ वृद्धि भइरहेको छ । मास्क लगाएमा यस भाइरसबाट बच्ने सम्भावना भएकाले विश्वमै मास्कको माग बढेकोले यसको अभाव देखिएको छ । त्यसैले चीनले फागुन ५ गतेबाट मास्क कारखाना बनाउन शुरु गरेको छ । सो कारखाना ६ दिनमा तयार हुने र दैनिक २ लाख ५० हजार मास्क उत्पादन हुने जनाइएको छ ।

चीनको राजधानी बेइजिङमा फर्किने जो–कोहीलाई १४ दिनसम्म क्वारेन्टइनमा बस्नुपर्ने चीन सरकारले कडा निर्देशन जारी गरेको छ । भाइरस फैलिन नदिन चीनको केन्द्रीय बैंकका नोटहरुमा समेत औषधि छर्किने बताइएको छ । चीनमा संक्रमित भएर उपचार गराइएकामध्ये अहिलेसम्म ९४ हजार जति व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । रोकथाम र उपचारका लागि विश्वकै वैज्ञानिकहरु लागिपरे पनि पूर्ण सफलता भने प्राप्त हुन सकेको छैन । विश्वकै ध्यान यसतर्फ आकृष्ट भएकाले निकट भविष्यमै यस भाइरसविरुद्धको खोपको विकास हुनेमा आशा भने गर्न सकिन्छ ।

कोरोना भाइरस संक्रमणको लक्षण

* श्वास–प्रश्वासमा समस्या हुने

*रुघा–खोकी लाग्ने

*निमोनिया हुने

*ज्वरो आउने

*टाउको दुख्ने, घाँटी दुख्ने, जीउ दुख्ने

*सिभिएर एक्युट रेस्पिरेटरी

*सिन्ड्रोम हुने

बच्ने उपाय

*श्वास–प्रश्वास र रुघाखोकीको समस्या भएकाहरुको नजिक नबस्ने

*खोक्दा र हाच्छ्युँ गर्दा रुमालले नाक–मुख छोप्ने

*सधैँ साबुन–पानीले हात धुने

*अण्डा–मासु राम्ररी पकाएर मात्रै खाने

*पशुपक्षीसँगको सम्पर्कबाट सकेसम्म टाढा रहने

*शंका लाग्नासाथ स्वास्थ्य संस्थामा जँचाउन जाने

प्रतिक्रिया दिनुहोस्