गर्भवतीको जीवनशैली



डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) । 

स्वस्थ बच्चा सबैको चाहना हुन्छ, तथापि विभिन्न कारणहरु यसमा बाधक हुन्छन् । शारीरिक तथा मानसिकरुपमा अस्वस्थ एवं अपांगता भएका बच्चा जन्मने, मृत जन्मने वा जन्मेको केही समयमै मर्नेजस्ता समस्या आउँछन् । यसले परिवारमा चिन्ता र शोकको अवस्था सृजना गरिदिन्छ । शुरुदेखि नै योजनाबद्ध ढंगले कार्य गरिएमा स्वस्थ बच्चा जन्माउन सहयोग पुग्छ । जीवनशैली परिवर्तनलगायत विभिन्न नियमको पालना गरी कसरी स्वस्थ बच्चा जन्माउने भन्नेबारेमा यहाँ चर्चा गरिँदै छ ।

गर्भवती महिलाले आफूलाई तनाव र चिन्तामुक्त एवं खुशी र शान्त राख्ने प्रयास गर्नुपर्छ । गर्भवती भएपछि निश्चित समय आराम गर्ने तर हल्काफुल्का कामहरु गर्ने गर्नुपर्छ, सकारात्मक सोच लिनुपर्छ ।

जन्मजात समस्या

नवजात शिशुमा थुप्रै प्रकारका समस्या देखा पर्न सक्छन् । प्रायः समय नपुग्दै बच्चा जन्मने, कम तौलको हुने, जन्मजातरुपमा शारीरिक बनावटमा गडबडी भएको बच्चा पनि जन्मिन्छ । जस्तो– ओठ काटिएको, मुटुमा प्वाल परेको, हातगोडामा गडबडी, जोडिएको बच्चा, टाउको ठूलो भएको, मलद्वार बन्द भएको, ढाड बांगिएको, मुटु–आन्द्रा आदि अंग बाहिर भएको, मस्तिष्कको विकास नभएको जस्ता समस्यासहित पनि जन्मिन सक्छन् ।

यस्तै गरी शरीरका अंगप्रत्यंगले काम नगरेको वा कमजोर भएको अवस्था शिशुमा हुने जन्मजात समस्या हो । यस्ता समस्या कतिपय अवस्थामा बच्चा गर्भमै हुँदा र प्रायः जन्मनेबित्तिकै अनि जन्मेपछि पनि थाहा पाउन सकिन्छ ।

बच्चा जन्मने क्रममा र जन्मिसकेपछि पनि प्रायः नवजात शिशुमा स्वास्थ्य समस्या आउँछन् भने कतिपय त जन्मनै नपाउने (गर्भपतन हुने) वा गर्भमै मृत्यु हुने हुन्छ । यसरी नै सुस्त मनस्थितिलगायत रगत, आँखा, मुटु, मृगौला, फोक्सो, कलेजो, हाड आदिमा समस्या लिएर बच्चा जन्मिने हुन्छ ।

कतिपय बच्चा गर्भावस्थामा छँदै भएका समस्याअनुरुप छालामा रातो, गुलाबी तथा कालो दाग वा रंगसहित जन्मन पुग्छन् । नरम प्रकृतिका मांसपेशी, रक्तनली, बोसो, मेलानोसाइट आदिको कारणले हुने गर्दछ । यस्ता जन्मजात दाग वा चिह्नहरु कतिपय केही महिनामै हराउने हुन्छ भने कतिपय फिका हुने हुन्छ तर कुनै भने रहिरहन्छ । यस्ता दागलाई देखेर कतिपय चिन्तित हुन्छन् तर आधुनिक प्रविधिबाट त्यस्ता दाग वा चिह्नलाई हटाउन सकिन्छ । छ महिनादेखि एक वर्षको उमेरभित्रका बच्चालाई मधुमेह पनि हुन सक्छ ।

नवजात शिशुलाई हुने यस्तो मधुमेह कतिपयलाई आफै ठीक हुन्छ र कसैलाई आजीवन रहन्छ । तर यस्तो मधुमेहको दर ज्यादै कम अर्थात् विश्वव्यापीरुपमा हेर्दा करिब एकदेखि डेढ लाख शिशुमा एकजनालाई भएको देखिन्छ । यसरी नै पारिवारिकरुपमा मधुमेहको इतिहास, गर्भावस्थामा मद्यपान, धूमपान, स्टेर्वायड आदि औषधिको प्रयोगका कारण पनि सानैमा वा २० वर्षको उमेरभित्रै पहिलो प्रकारको मधुमेह हुन जान्छ ।

अस्वस्थ जन्मनुका कारण

अस्वस्थ बच्चा जन्मनुका पछाडि विभिन्न कारण छन् । मातापिताको वंशाणुगत कारण, यौनजन्य तथा अन्य शारीरिक रोगहरुको दुष्प्रभाव, हर्मोनको गडबडी, कम उमेरमा गर्भधारण, गर्भावस्थामा असुरक्षित यौनक्रिया, पति–पत्नीको उमेरका बीच बढी भिन्नता, मद्यपान र धूमपानको प्रयोग, विकिरण, औषधिको दुरुपयोग, प्रदूषणको असर, पोषणको कमी, जीवनशैलीको गडबडी, असुरक्षित कामकाज, जथाभावी शारीरिक व्यायाम, लापरबाही, दुर्घटनाजस्ता कारणले गर्दा बच्चाको स्वास्थ्य नराम्रो हुन्छ । जनचेतनाको कमी, अज्ञानता, नराम्रा सांस्कृतिक रीतिरिवाज तथा परम्पराहरुले पनि कतिपय ठाउँमा जन्मिने बच्चाको स्वास्थ्य जोखिममा परेको पाइन्छ ।

स्वस्थ जन्माउन सल्लाह

सजगता : वंशाणुगत प्रकृतिका कुनै रोग छन् भने त्यसप्रति बेलैमा सजग बन्नुपर्छ । चिकित्सकसँग गर्भमा रहेको वा जन्मेपछिका बच्चामा रहेको स्वास्थ्य–जोखिमबारे सल्लाह लिनुपर्छ । परिवारमा कुनै आनुवंशिक शारीरिक समस्या वा अपांगता, मानसिक वा बौद्धिक अपांगता वा जन्मजात विकृतिहरुको पारिवारिक इतिहास छ भने त्यस्तो अवस्थामा विज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

परिवारको भूमिका : गर्भवती महिलालाई आवश्यक पर्ने पोषण, विश्राम, चिकित्सककहाँ नियमित स्वास्थ्य परीक्षण, गर्भे बालक र गर्भवतीको सुरक्षाजस्ता कुराहरुमा पतिलगायत परिवारका सबै सदस्यले चासो लिई त्यससम्बन्धमा व्यवस्था मिलाइदिनुपर्छ ।

पोषण : जबसम्म आमाले पोषिलो कुरा खाँदिनन् तबसम्म बच्चामा पनि पोषणको कमी रहन्छ । त्यसैले गर्भे शिशुको स्वास्थ्य राम्रो बनाउन गर्भवतीलाई उचित मात्रामा पोषक तत्वहरु खुवाउनुपर्छ । नियमित जाँचका क्रममा डाक्टरसँग सोधेर सल्लाहअनुसारको रगत बढाउने, हाडको विकास, शारीरिक वृद्धि र विकासको लागि औषधि, बहुभिटामिन, खनिज तत्व आदि खुवाउनुपर्छ । औषधि आपूmखुशी
पसलबाट किनेर खानुहुँदैन ।

ताजा फलफुल, सुख्खा फल, हरियो सागपात र तरकारी, पहेँला रसिला फलफूल, दही, दूध, सुप, जुस आदि दैनिक पटक–पटक खाँदा राम्रो हुन्छ । खान वाक्क लागे पनि जुन कुरा अलि खाऊँखाऊँ लाग्छ त्यो स्वस्थकर छ भने खाइहाल्नुपर्छ । क्वाँटीको सुप, टुसा उम्रेको गेडागुडीको चटपटे, काँचो सलाद, रोटी, ढिँडो, भात आदि पनि सन्तुलितरुपमा खानुपर्छ । पाटन अस्पतालमा सन् १९८३ देखि १९८६ सम्म जीवितै एकलरुपमा जन्मेका ४ हजार ६ सय शिशुको जन्मदाको तौलबारे अध्ययन गर्दा महिला शिशुको सरदर २ किलो ९ सय ग्राम र पुरुष शिशुको सरदर जन्मतौल ३ किलो १० ग्राम भएको पाइएको थियो । नर्वेका शिशुको जन्मतौलसँग तुलना गर्दा नेपाली शिशुको जन्मतौल कम छ । यस्तो हुनुमा विभिन्न कारण उल्लेख गर्दै पोषण पनि एक हुन सक्ने तथ्यलाई अनुसन्धानले प्रस्ट्याएको छ ।

अस्वस्थ बनाउने खानेकुरा : गर्भवती आमाले जथाभावी खाँदा र सुत्केरी अवस्थामा पनि खानपानमा ध्यान नदिएमा यसबाट आप्mनो मात्र हैन, गर्भमा रहेको शिशुको स्वास्थ्यमा नराम्रो असर पर्दछ र जन्मजात विकार उत्पन्न हुन सक्छ । जन्मेपछि पनि स्तनपानको अवधिमा बच्चाको उचित पोषण र स्वास्थ्यका दृष्टिकोणले आमाले जथाभावी खाने गर्नुहुँदैन । जथाभावी भन्नाले शरीरले पचाउन नसक्ने, अप्राकृतिक, बढी चिल्लो–पिरोयुक्त, रासायनिक, बट्टामा प्याक गरिएका, पत्रु खाना (जंक फुड), रंग र रसायन मिसाइएका, कुहाएर बनाइएका खानेकुराले असर पार्दछन् । घरमै सामान्य किसिमले बनाइएका प्राकृतिक पोषणयुक्त सुपाच्य खानपान गर्दा÷गराउँदा आमा र शिशुको लागि उपयोगी हुन्छ ।

गर्भवती आमाले कुनै पनि प्रकारका विदेशी वा घरेलु रक्सी, छ्याड., जाँड, वाइन, बियर, रम, ह्वीस्की, ब्रान्डी, चुरोट, बिँडी आदि सेवन गर्दा शिशुलाई हानि गर्छ । साथै जानी नजानी काठ–प्लासिटकको धुवाँ, गाडीको धुवाँ आदिमा बस्ने आमाबाट जन्मने बच्चा जन्मजात विकार र पछि पनि अनेक शारीरिक एवं मानसिक समस्याले ग्रस्त बन्न सक्छन् । त्यसैले गर्भावस्थामा कुनै पनि प्रकारको मद्यपान, धूमपान, लागूपदार्थ र नशाजन्य औषधिको सेवन गर्नुहुँदैन ।

औषधिको दुरुपयोग : कतिपयले घरेलु औषधि, जडीबुटी, मसला आदिको पनि दुरुपयोग गरेको पाइन्छ । यसो गर्नुहुँदैन । यसरी नै गर्भे शिशुलाई नकारात्मक असर गर्न सक्ने औषधिको प्रयोग गर्नुहुँदैन । कुनै रोगको बारेमा जँचाउँदा चिकित्सकलाई गर्भवती एवं सुत्केरी भएको जानकारी गराउनुपर्दछ ।

स्वास्थ्य परीक्षण : गर्भावस्थामा गर्भवती र गर्भे बालकको नियमित स्वास्थ्य परीक्षण गर्नु/गराउनुपर्दछ । गर्भमा बच्चाको अवस्था र स्थिति कस्तो छ र कुनै जोखिममा छ कि छैन भन्ने कुरा ध्यान दिनु जरुरी हुन्छ । आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ठीक राख्न र जोखिम कम गर्न सम्बन्धित डाक्टरको जाँच, उपचार र सल्लाह आवश्यकता पर्दछ । कतिपय अवस्थामा आकस्मिक उपचारको पनि जरुरी हुन्छ र शल्यचिकित्सा पनि गराउनुपर्ने हुँदा नियमित परीक्षणबाट समस्याको समयमै समाधान हुन सक्छ । आमालाई हुने संक्रमणहरु गर्भे शिशुलाई पनि हुन सक्ने हुँदा यस्तो अवस्थामा पनि डाक्टरको उचित परामर्श र उपचार लिनुपर्छ ।

स्वस्थ शिशु जन्माउन जीवनशैली

गर्भवती स्वयं मानसिक तनाव, पीडा, विचलन, अशान्त, चिन्ताग्रस्त छिन् भने त्यसको प्रत्यक्ष प्रभाव गर्भे शिशुमा पर्छ । यस्ता समस्याले हर्मोन, स्नायु, नसा र सिम्पेथेटिक प्रभावका कारण महिलालाई मात्र हैन, गर्भ तथा स्तनपान गरिरहेका शिशुमा पनि असर पर्दछ । त्यसैले गर्भवती महिलाले आफूलाई तनाव र चिन्तामुक्त एवं खुशी र शान्त राख्ने प्रयास गर्नुपर्छ । गर्भवती भएपछि निश्चित समय आराम गर्ने तर हल्काफुल्का कामहरु गर्ने गर्नुपर्छ, सकारात्मक सोच लिनुपर्छ ।

योग अभ्यासले महिलालाई सकारात्मक र स्वस्थ बनाउन मद्दत गर्दछ भने सुत्केरी अवस्थामा पनि मन र शरीरलाई स्वस्थ एवं उत्साहित बनाइराख्न सहयोग गर्छ । त्यसैले गर्भावस्थामा गर्भको अवधिअनुरुपका योग विधिहरु, सरल अंग–व्यायाम जस्तो– टाउको, काँध, छाती, हात, कम्मर टाउको तथा खुट्टाका सरल व्यायामहरु गर्नुपर्छ । गर्न मिल्ने खालका आसनहरु जस्तो– शवासन, एकपाद उत्तानासन, सरल सेतुबन्धासन, सुखासन, अर्धताडासन आदि र अनुलोम–विलोम, भ्रामरीजस्ता प्रणायाम, मूलबन्ध, धारणा, ध्यानका विधिहरुलाई नियमित सकारात्मक भावले अभ्यास गर्दा मन शान्त र आनन्दित भई सबै खालका स्वास्थ्यलाई राम्रो बनाउँछ ।

जप, पूजाआजा, मन्त्रोच्चारणजस्ता भक्तियोग एवं मन्त्रयोग विधिको अभ्यासले पनि आफूलगायत गर्भे शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । कार्यस्थलमा पनि सकारात्मक व्यवहार अपनाउने गर्नुपर्छ । गर्भवतीले खाने, सुत्ने, काम गर्ने, सोच्ने आदिमा पनि गर्भे तथा जन्मिएको शिशुको स्वास्थ्यसमेत जोडिएको हुने हुँदा उक्त जीवनशैलीका हरेक पक्षहरु स्वस्थ र सकारात्मक हुनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्