मुटु उपचार : प्रगतिसँगै व्यापारीकरण



लक्ष्मण अधिकारी । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले २०४४ सालमा पोस्ट ग्राजुएट (एमडी) गरेर रुसबाट फर्किएपछि भरतपुर, बाग्लुङ, बुटवल, वीरगन्ज, वीर, गंगालाललगायत विभिन्न सरकारी अस्पतालमा करिब ३ दशक र मेडिकेयर, स्टार अस्पताल, नेपाल हार्ट फाउन्डेसन आदि क्लिनिकहरुमा मुटुरोगको उपचारमा अनुभव सँगाल्नुभएको छ । उहाँले चेकोस्लोभाकियामा इन्टरभेन्सनल कार्डियोलोजीको अध्ययन गर्नुका साथै मुटुरोगसम्बन्धमा बेलायत, जापानलगायतका मुलुकबाट विभिन्न तालिमहरुसमेत लिनुभएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी

उपचार सेवामा सम्लग्न भएदेखि नै उहाँले निरन्तररुपमा मुलुकका विभिन्न स्थानमा गई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर बालबालिकामा हुने बाथ मुटुको रोगको अध्ययन, अनुसन्धान, उपचार र रोकथाममा काम गरिरहनुभएको छ । अहिले बाथ मुटुरोगका सम्बन्धमा उहाँका अनुभवहरु सुन्नका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा उहाँलाई बराबर निम्ता गर्ने र भिडियो कन्फ्रेन्सिङमार्फत छलफलहरुमा सहभागी गराउने गरिन्छ । बाथ मुटु रोगको उपचारमा सबै वर्गको पहुँच र सहज उपचारका लागि उहाँले विभिन्न अभियानहरु सञ्चालन गरिरहनुभएको छ । मुटुरोगको सम्बन्धमा निरन्तर अध्ययन गरेर आफूलाई अपडेट गरिरहने डा। प्रकाशराज रेग्मीले स्वास्थ्य क्षेत्रमा समाजसेवी चिकित्सकको पहिचान बनाउनुभएको छ ।

मुटुरोगको उपचार क्षेत्रमा भइरहेका नयाँ–नयाँ उपलब्धिहरु र मुटुलाई स्वस्थ राख्ने उपायसम्बन्धमा उहाँसँग विस्तृत कुराकानी गरी यो लेख तयार गरिएको छ ।

एउटा स्टेन्ट हाल्दा हुने ठाउँमा दुईवटा हालिदिने, स्टेन्ट हाल्नै नपर्ने ठाउँमा पनि हालिदिने गर्छन् । ६० प्रतिशतभन्दा कम ब्लकेज हुँदा पनि स्टेन्ट हालेको पाइन्छ, जुन आवश्यक पर्दैन । औषधि र उपकरण व्यवसायीहरुको प्रभावमा कतिपय डाक्टर पनि
परेको देखिन्छ ।

मुटु किन बचाउने ? 

मानिसको शरीरका सबै अंग महत्वपूर्ण भए पनि जीवित रहनका लागि मुटु धड्किइरहनुपर्छ, धड्कन रोकिनासाथ मृत्यु हुन्छ । साथै मुटुबाहेकका अंगहरुलाई कार्य सञ्चालन गर्न आवश्यक इन्धन पनि मुटुले नै पुर्‍याउँछ । त्यसैले मुटुलाई रोग लाग्नबाट जोगाउन आवश्यक छ । तर के मानिसले मुटुलाई विशेष महत्व दिने गरेको छ त ?

अज्ञानता, बाध्यता र हेलचेक्र्याइँले मुटुमाथि ज्यादती भइरहेको हुन्छ । मुटुलाई सबैभन्दा बढी असर पार्ने भनेको सुर्तीजन्य पदार्थबाट हो । यसले हृदयघात हुने सम्भावनालाई अत्यधिक बढाउँछ । यो थाहा भएका धेरै चिकित्सकहरुसमेत धूमपान गर्छन् ।

जंक फुडले रक्तचाप, सुगर कोलेस्ट्रोल बढेर मुटुलाई असर गर्छ, अधिक चिल्लो, प्रदूषित वातावरणले मुटुलाई असर गर्छ र व्यायाम गर्नाले मुटुलाई फाइदा गर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । अर्को त बाहिर खानुपर्दा हाम्रा अफिस र रेस्टुराँहरुमा, मित्रहरुकहाँ पाहुनाका रुपमा जाँदा र भोजभतेरमा मुटुमैत्री खाना पाउनै मुस्किल हुन्छ । यस्तो बाध्यताले गर्दा पनि मुटुलाई हानि गर्ने खाना खाइरहेका हुन्छौँ ।

मुटु स्वस्थ राख्न व्यायाम गर्नका लागि विशेष गरी शहरी क्षेत्रमा व्यायाम गर्ने स्वस्थ ठाउँको पनि अभाव छ । बिहान हिँड्दा प्रदूषण र चिसोको कारण मुटुलाई झन् असर गर्ने स्थिति छ । धूलोका कणहरु रक्तप्रवाहमा मिसिन गई मुटुलाई आघात पु¥याइरहेको हुन्छ ।

मुटुसम्बन्धी भ्रमहरु

मानिसहरु रक्सीले मुटुलाई फाइदा गर्छ भनेर खाने गर्छन् । यो भ्रम वैज्ञानिक र चिकित्सकहरुले नै उत्पन्न गरिदिएका हुन् । तर अलिकता रक्सीले पनि मुटुलाई असर गर्ने कुरा पछिल्लो अध्ययनले पुष्टि गरिसकेको छ ।

फाइदा गर्ने खानेकुराले बेफाइदा गर्छ भन्ने भ्रमहरु पनि छन् । जस्तो– अण्डाको पहेँलो भाग, अलि–अलि घिउ, माछा–मासु ठिक्क खाँदा हानि गर्दैन, बरु पौष्टिक तत्व र शक्ति दिने भएकाले फाइदा नै हुन्छ । तर भ्रमले गर्दा यस्ता खाद्यवस्तुबाट वञ्चित भएका छन् ।
कुनै व्यायाम, प्रणायाम गरेपछि मुटुरोग लाग्दैन र लागेको भए पनि औषधि खानुपर्दैन भनेर योगगुरु रामदेवले शुरुतिर भनेका कुराको भ्रममा मानिसहरु अझै परिरहेका छन् । उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोल बढेका मानिसहरु उपचारका लागि आउँछन् र सोध्ने गर्छन्, ‘योग, प्रणायाम गरेर हुन्न रु औषधि नै खानुपर्छ ?’ यो ठूलो भ्रम हो ।

औषधि शुरु गरेपछि जीवनभर खाइरहनुपर्छ, औषधिले साइड इफेक्ट गर्छ भन्ने भ्रमले धेरै बिरामीले औषधि शुरु गर्न गाह्रो मान्छन् । तर ठीक भएपछि औषधि छोड्न सकिन्छ । ब्लड प्रेसरको एउटा औषधिले कसै–कसैलाई खुट्टा सुन्निने गर्छ । तर मानिसमा औषधिले किड्नी बिग्रेर खुट्टा सुन्निएको भन्ने भ्रम छ । औषधिले किड्नी बिग्रेको होइन । खुट्टा सुन्नियो भने अर्को औषधि दिनासाथ एक हप्तामा ठीक भइहाल्छ ।

मुटुमा पेस मेकर, स्टेन्ट राखेपछि, बाइपास सर्जरी गरेपछि ‘अब ठीक भइहाल्यो औषधि खानुपर्दैन, अरु जे खाए पनि हुन्छ’ भन्ने भ्रम छ । वास्तविकता त्यस्तो होइन, अपरेसन गरेपछि पथ परहेजमा बस्नुपर्छ र औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

आममानिसमा मुटु छातीको बायाँतिर छ भन्ने ठूलो भ्रम छ, जसले गर्दा हृदयघात हुन लाग्दा पनि अस्पताल नजाने र अरु नै कारणले छाती दुख्दा पनि हृदयघात भयो भनेर अस्पताल जाने प्रवृत्ति छ । यस्ता भ्रमले पनि मुटुलाई जोखिममा पारिरहेको हुन्छ ।

पहिला अनस्याचुरेटेड फ्याट (वनस्पतिबाट बन्ने चिल्लो) कम हानिकारक र एनिमलबाट बन्ने चिल्लो (स्याचुरेटेड) बोसो आदि बढी हानिकारक भन्ने थियो । यसमा हाल परिवर्तन आयो । स्याचुरेटेड वा अनस्याचुरेटेडले मुटुलाई पार्ने असर उस्तै हो तर सीमित मात्रामा हुनुपर्छ भन्ने नयाँ चिकित्सकीय धारणा आएको छ ।

सुगर, उच्च रक्तचापलाई जीवनभर उपचार गर्नुपर्छ भनिन्थ्यो तर अहिले कतिपय अवस्थामा औषधि रोक्न सकिने भन्ने आएको छ । मुटुरोग पाको उमेर, ऐश–आराम बढी गर्ने, शहरिया र धनीलाई बढी हुन्छ भन्ने भ्रम अझै पनि छ । तर यो रोग बच्चा, बूढा, धनी, गरिब, शहरिया, गाउँले सबैलाई उत्तिकै हुने प्रमाणित भएको छ ।

कसरी जोगाउने मुटु ?

मुटु जोगाउन अनुशासनमा बस्नुपर्छ । अनुशासन औषधिभन्दा शक्तिशाली छ । अनुशासनमा बस्यो भने ८० प्रतिशत मुटुका रोगलाई रोकथाम गर्न सकिन्छ । औषधिले हृदयघातलगायत मुटुको रोगको कारण मृत्यु हुने सम्भावनालाई २० प्रतशतले घटाउँछ भने अनुशासन पालनाले दोब्बर अर्थात् ४० प्रतिशतले घटाउँछ ।

यदि सुर्ती, चुरोट नखाने हो भने यसका कारण हुने मृत्युको सम्भावना साधारण स्वस्थ व्यक्तिमा आधाले नै घट्छ । त्यस्तै हरियो सागपात, फलफूल अलि धेरै खाने, व्यायाम गर्ने गरेमा ३० देखि ४० प्रतिशत मृत्युको सम्भावना घट्छ । आजका केटाकेटी तरकारी, फलफूल खान रुचि गर्दैनन्, यो नराम्रो संकेत हो ।

खाना : खाना धेरे बार्नुपर्दैन । जुन खानका लागि बनाइएका छन् ठिक्क मात्रामा खाए हुन्छ । कार्बोहाइड्रेड, प्mयाट, प्रोटिन प्रत्येक एक तिहाइका हिसाबले खानुपर्छ । ठिक्क तौल भएका सामान्य मानिसलाई १८ सय क्यालोरी ९शक्ति० आवश्यक पर्छ भने चिल्लोबाट ६ सय, प्रोटिनबाट ६ सय र कार्बोहाइड्रेडबाट ६ सय क्यालोरी मिलाएर लिनुपर्छ । चिल्लो खाएर मुटुको रोग लाग्छ भनेर चिल्लो नै नखाने भन्ने हुँदैन । नसा, लिवर, बे्रनले काम गर्न त चिल्लो चाहिन्छ । मानिसहरु जिरो फ्याट डाइट भन्नेहरु पनि छन् तर त्यो हाल आएर हानिकारक साबित भइसकेको छ । फाइवर, भिटामिनयुक्त खानेकुराहरु शरीरलाई आवश्यक पर्छ ।

खाना खाँदा बिहानको खाना अलि धेरै, दिउँसो ठिक्क र राति थोरै खाना खानुपर्छ । रातिको खाना थोरै र बिहानको खाना धेरै खानेलाई मुटुको रोग कम लाग्ने अनुसन्धानबाट पाइएको छ । मैदा, चामल, गुलिया वस्तु बढी खाने गरेकाले नेपाललगायत दक्षिण–पूर्व एसियामा मुटुको रोग धेरै देखिएको पुष्टि भएको छ ।

शारीरिक गतिविधि : मुटु स्वस्थ राख्न दैनिक ३० मिनेट, हप्तामा पाँच दिन हिँडे पनि पुग्छ । साधनको कम प्रयोग गर्ने र हिँडेर जान सक्ने ठाउँमा हिँड्नुपर्छ । घरमा शारीरिक गतिविधि अलि बढी गर्नुपर्छ ।

मानसिक स्वास्थ्य : मुटुलाई स्वस्थ राख्न मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । मुटुलाई आघात पार्ने जति पनि कुराहरु छन् तिनको सम्बन्ध मस्तिष्कसँग प्रत्यक्षरुपमा छ । आक्रोश, उत्तेजना, क्रोध, नकारात्मक सोचलाई कम गर्नुपर्छ । यसले मुटुको धड्कन बढाउने, रक्तचाप बढाउने गर्छ । भावनात्मक उत्तेजना त्यागेर शान्त भएमा मुटुलाई धेरै हदसम्म जोगाउन सकिन्छ । युवा अवस्थामा बुभ्mनुपर्ने यी कुरा मानिसले धेरै ढिलो बुझ्छन् । स्कुलको कोर्समै राख्नुपर्छ ।

व्यवहार : मानिस सहयोगी र दानी हुनुपर्छ । दुःखी–गरिबलाई सहयोग गर्दा, समाजमा सकेको काम गर्दा प्राप्त हुने सन्तोष मुटुका लागि धेरै राम्रो हो । धूमपान, मद्यपान गर्नुहुन्न, यो अत्यन्तै हानिकारक छ । तर कुनै व्यक्तिले ८० वर्षको उमेरसम्म खाइरहँदा पनि स्वास्थ्य राम्रो छ भने छोड्नै पर्छ भन्ने छैन । जो व्यक्ति चुरोट, रक्सी खाएर ८० वर्षसम्म बाँच्छ भने उसमा त्यो पचाउने विशेषता छ भनेर मान्नुपर्छ । बरु यो उमेरमा छुटाउँदा कहिलेकाहीँ हानि गरेको देखिन्छ ।

उपचारमा नयाँ प्रविधि

मुटुको उपचारमा अहिले धेरै नयाँ प्रविधि आएका छन् ।

स्टिम सेल : मुटुका मसलहरुमा क्षति पुगेर कामै नलाग्ने भएको अवस्थामा स्टिम सेल प्रयोग गरेर त्यहाँ नयाँ टिस्युहरुको विकास गरी मुटुलाई काम गर्न सक्ने बनाउन थालिएको छ । यो भर्खरै मात्र विकास भएको प्रविधि हो । यो धेरै ठूलो उपलब्धि हो । स्टिम सेल भ्रूणबाट पनि निकालिन्छ र हड्डीको भित्री भागको भर्खर विकास हुन थालेका सेलबाट पनि तयार गरिन्छ । यी भर्खर विकास हुन थालेका सेलहरु जुन अंगमा लगेर राखिदियो ती सेलहरु त्यही अंगका कोषका रुपमा विकास हुन थाल्छन् । बे्रनमा राखेमा बे्रन, कलेजोमा राखेमा कलेजो र मुटुमा राखेमा मुटुकै कोष बनेर विकास हुन्छन् । हृदयघात भएर मुटुको ठूलो भाग चलेन भने यो स्टिम सेल थेरापीबाट उपचार गर्न सकिने भएको छ ।

मुटु प्रत्यारोपण : ब्रेन डेथ भएका मानिसको मुटु प्रत्यारोपण गर्न सम्भव भएको निकै वर्ष भइसक्यो । अहिले मरिसकेको मानिसको मुट प्रत्यारोपण पनि अष्ट्रेलियास्थित नेपाली डाक्टर कुमुद धितालको समूहले शुरु गरिसकेको छ । मरिसकेको मानिसको मुटु निश्चित समयभित्र झिकेर मुटुलाई जीवित गराई बिरामीलाई प्रत्यारोपण गर्नु यो क्षेत्रको ज्यादै ठूलो उपलब्धि हो । हाल विश्वमा कृत्रिम मुटुको विकास गरेर प्रत्यारोपणका केही ट्रायलहरु भइसकेका छन् । एक–दुईवटामा सफलता मिलिसकेको छ । केही वर्षमा यो पूर्ण सफल होला । त्यसपछि मुटु प्रत्यारोपणका लागि कुनै मानिस मर्छ कि भनेर कुर्नुपर्ने स्थिति हुँदैन ।

वायरलेस पेसमेकर : यो पनि ठूलो उपलब्धि हो । मुटुको धड्कन कमजोर भएकाहरुलाई अहिलेसम्म ब्याट्री जोडिएको तार मुटुको भित्री भागमा लगेर जोडिन्छ र ब्याट्रीलाई छातीको छालामुनि साधारण अपरेसन गरेर राखिन्छ । अब ब्याट्री मात्र छातीको छालामुनि प्रत्यारोपण गर्दा पुग्ने भयो । वायरलेस सिस्टमले करेन्ट मुटुमा पुग्छ र मुटुको धड्कन राम्रो बनाउँछ । यो ज्यादै ठूलो उपलब्धि हो ।

मुटुको भल्भ : मुटुको भल्भ विनाअपरेसन फेर्ने कुरा अर्को ठूलो उपलब्धि हो । मुटु नचिरीकन क्याथेटर तारको माध्यमबाट मुटुको भल्भ फेर्ने प्रविधि विकास भएको छ । यसमा बिरामीको तिघ्राबाट तार पठाएर बिग्रिएको भल्भको ठाउँमा नयाँ भल्भ राख्न सकिन्छ । भल्भ फेरेको भोलिपल्टै डिस्चार्ज हुन सकिन्छ । यो प्रविधि भारतमा आइसकेको छ र उपचार शुल्क ४० लाख जति लाग्छ ।

वंशाणु उपचार : मानिसमा अनेक वंशाणुगत रोगहरु आएका हुन्छन् । यदि यस्तो देखियो भने वंशाणु नै परिवर्तन गरिदिने प्रविधि विकास भएको छ । यस कार्यमा ठूलो प्रगति भइरहेको छ ।

बहुउपयोगी प्रोब : अहिले बहुउपयोगी प्रोबको विकास भएको छ । यो एउटै उपकरणबाट एक्स रे, अल्ट्रासाउन्ड, इको, सिटी स्क्यान, एमआरआई आदिबाट पाइने जानकारी पाउन सकिन्छ । यो सानो उपकरणको एक भाग अल्ट्रासाउन्ड गर्दा छाती, पेटमा रगडिनेजस्तै छ । अर्को छेउको भाग स्क्रिनमा जोडिएको हुन्छ । यो प्रोबमा भएका विभिन्न बटम थिचेर जुन अंगमा राख्यो त्यही अंग स्क्रिनमा देखिन्छ । मुटु थिचे मुटु, ब्रेन थिचे बे्रन । यो प्रविधि अमेरिकनहरुले प्रयोग गर्न थालिसकेका छन् । भोलि पकेटमा राख्ने, सानो स्क्रिनमा हेर्न सकिने हुन्छ । आज पनि इको आइफोनमा जोडेर हेर्न सकिने भइसकेको छ । अब भविष्यमा स्टेथेस्कोप, एक्स रे, अल्ट्रासाउन्ड, एमआरआई आदिको जरुत नपर्न सक्छ ।

अपरेसन नै नगरी मुटुका प्वाल टाल्ने काम नेपालमा पनि भइरहेको छ । बच्चाहरु जन्मिदै कतिपयको मुटुमा प्वाल हुन्छ । यसमा पहिला ठूलै अपरेसन गर्नुपथ्र्यो तर अब तार छिराएर मुटु टाल्ने गरिन्छ । यसका लागि अपरेसन थिएटर पनि चाहिँदैन । यो ठूलो प्रगति हो ।
बच्चा गर्भमै हुँदा मुटुमा प्वाल भए/नभएको पनि हेर्न सकिन्छ । बच्चाको मुटुमा प्वाल रहेछ, अपरेसनले मिलाउन नसक्ने स्थिति हो भने गर्भपतन गर्न सकिन्छ ।

आमाको पेटमा हुँदा नै मुटुमा प्वाल देखियो भने ६–७ महिनाको भएपछि गर्भमा नै उपचार गरिदिने प्रविधि पनि विकास हुने क्रममा छ । मुटुको रक्तनली ब्लक हुँदा राखिने स्टेन्टको धेरै नयाँ–नयाँ रुपको विकास भइरहेको छ । पहिलेका स्टेन्टहरु चाँडै ब्लक हुन्थे, धेरै औषधि खानुपथ्र्यो, तर आज ब्लक नै नहुने र थोरै औषधि खाए हुने, रक्तनलीभित्रै विलीन हुने खालका स्टेन्टहरु प्रयोगमा आइसकेका छन् ।
कतिपय औषधि दैनिक चारपटक खानुपर्नेमा अब एउटा खाँदा हुने र दिनमा एउटा खानुपर्ने औषधि हप्तामा एकपटक खाँदा हुने भइसकेको छ । पेनिसिलिनको सुई तीन हप्तामा लगाउनुपर्छ । तर अहिले तीन महिनामा एकपटक लगाए हुने सुईको विकास अन्तिम चरणमा पुगेको छ । त्यस्तै र्‍युम्याटिक हार्ट डिजिजविरुद्ध पनि खोपको विकास अन्तिम चरणमा पुगिसकेको छ । मुटुको धड्कन बिग्रेकाहरुलाई छातीभित्रैबाट मुटुमा शक दिने डिफिब्रिलेटर (Defibrillator) जडान गर्न सकिन्छ । मुटुरोगको उपचार क्षेत्रमा यी ठूला उपलब्धि हुन् ।

नेपालमा उपचार सुविधा

९० प्रतिशत मुटुका रोगको लागि नेपालमै उपचार शुरु भइसकेको छ । हालै मात्र विकास भएका १० प्रतिशत जति नयाँ प्रविधि नेपालमा आइनसकेकोले बाहिर जानुपर्छ । मेडिकल साइन्समा ज्ञान भएर मात्र हुँदैन, अनुभव पनि चाहिन्छ । नेपालमा स्पेसलाइज हार्ट सेन्टरका रुपमा गंगालाल अस्पताल स्थापना भएपछि शुरुमा धेरै डाक्टरहरु तालिम लिएर आए, केस पनि धेरै गरे र अनुभवी भए । मुटुको भल्भको अपरेसनमा त कतिपय विकसित देशका भन्दा हाम्रा डाक्टर बढी अनुभवी छन् । योङ डाक्टरहरु नै धेरै पोख्त भइसके । प्रविधिका हिसाबले पनि गंगालालमा लेटेस्ट टेक्नोलोजी छ

। सरकारले पेसमेकर, स्टेन्ट, इको, क्याथल्याबलगायत मुटुको उपचारमा चाहिने आवश्यक उपकरण विदेशबाट ल्याउँदा करहरु मिनाहा गरिदिएको छ । १५ वर्षभन्दा कम र ७५ वर्षभन्दा बढी उमेरकालाई मुटुका सबै प्रकारका अपरेसन निःशुल्क गरिदिएको छ । सबै उमेरका बाथ मुटु रोगीलाई मुटुको भल्भको अपरेसन निःशुल्क छ । विपन्नलाई मुटुको उपचारका लागि सरकारले एक लाख रुपियाँ दिने गरेको छ । मुटुको उपचारका लागि पहिलेजस्तो चन्दा उठाउनुपर्ने स्थिति रहेन । अनुभव, प्रविधि र आर्थिक सहयोगले गर्दा नेपालमा मुटुको उपचार अरु धेरै देशहरुमा भन्दा राम्रो छ ।

व्यापारीकरण रोकिनुपर्छ

मुटुको उपचारमा व्यापारीकरण हुने गरेको पनि पाइन्छ । पेसमेकर हाल्ने, स्टेन्ट (Stent) हाल्ने, मुटुको भल्भ फेर्ने आदि विशेष गरी अपरेसन र इन्टरभेन्सनमा कतिपय अवस्थामा अनावश्यकरुपमा पनि काम हुने गरेको पाइन्छ । एउटा त सिक्नका लागि यस्तो गरिन्छ भने अर्को पैसाका लागि । कतिपय कम्पनीहरुले आर्थिक प्रलोभन देखाएर आप्mनो सामान राख्न लगाएका हुन्छन् ।

एउटा स्टेन्ट हाल्दा हुने ठाउँमा दुईवटा हालिदिने, स्टेन्ट हाल्नै नपर्ने ठाउँमा पनि हालिदिने गर्छन् । ६० प्रतिशतभन्दा कम ब्लकेज हुँदा पनि स्टेन्ट हालेको पाइन्छ, जुन आवश्यक पर्दैन । स्टेन्ट हाल्ने सम्बन्धमा केही इन्डिकेसन र गाइडलाइन हुन्छ, बिरामीले बुझेको हुँदैन, ‘मर्छु’ भन्ने डर हुन्छ । त्यसैले ‘हालिदिनुस्’ भन्छ । औषधि र उपकरण व्यवसायीहरुको प्रभावमा कतिपय डाक्टर पनि परेको देखिन्छ ।

सरकारले मेटालिक भल्भ निःशुल्क गरेको छ । कतिपय डाक्टरले बिरामीलाई मेटालिक भल्भले हुने ठाउँमा टिस्यु भल्भ हाल्न लगाउने गरेको पाइएको छ । मैले त्यस्ता बिरामी पाएको छु र कुनै हालतमा पनि नमान्नुस् भन्ने गरेको छु, किनभने टिस्यु भल्भ दुई–अढाइ लाख पर्छ र यो निःशुल्क छैन । विवाह नभएका, गर्भधारणको उमेरका र अन्य केही अवस्थामा बाहेक अरुले टिस्यु भल्भ हाल्नु जरुरी छैन ।
काठमाडौंमा चाहिनेभन्दा बढी क्याथल्याब छन् । एउटा मेसिनको ५ देखि १० करोडसम्म पर्छ । धेरै क्याथल्याबको सुविधा हुनु नराम्रो नै त होइन तर ठूलो लगानी गरेर मेसिन राखेपछि लगानी उठाउनका लागि आवश्यक नपरे पनि स्टेन्ट हाल्ने, एन्जियोग्राफी, एन्जियोप्लास्टी गर्ने गरिन्छ र बिरामीबाट पैसा उठाइन्छ । एउटा स्टेन्ट राखेको अढाइ देखि ३ लाखसम्म पर्छ । क्याथल्याब यति धेरै हुनुमा मेसिन सप्लायरको पनि हात छ । उनीहरुले मन्त्रालयमा समेत लबिङ गरेर किन्न लगाउँछन् । सरकारीको कुरा गर्दा काठमाडौंबाहिर कतिपय ठाउँमा त टिम नै तयार नभई क्याथल्याब किनेर पठाउने गरेको समेत पाइएको छ । यो राम्रो होइन ।

४० वर्ष नै कुर्ने हो ?

पहिला मुटुरोग भन्नाले हार्ट अट्याक मात्र बुझिन्थ्यो । त्यसैले ४० वर्षपछि मात्र मुटुको रोग लाग्छ भनिन्थ्यो । तर कतिपयमा जन्मिदै मुटमा प्वाल परेको पाइन्छ । केटाकेटीमै बाथ मुटुको रोग लाग्छ । २० वर्ष कटेपछि त जीवनशैलीसँग सम्बन्धित मुटुको रोग शुरु हुन्छ । उच्च रक्तचाप त्यही बेलादेखि देखिन थालेको छ । अहिले पुरुषलाई भन्दा महिलालाई उच्च रक्तचाप कम उमेरमा शुरु हुने र त्यसको विकास पनि छिटो–छिटो हुन्छ भन्ने पत्ता लागेको छ । त्यसकारण ४० वर्षसम्म मुटुलाई वास्ता गरिएन भने धेरै रोगले गाँज्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्