डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) ।
खाएको विष पो लाग्नुपर्छ तर नखाएको विष पनि लागिरहेको छ, त्यो पनि गर्भे शिशु वा नवजात शिशुमा । एचआईभी संक्रमित आमाबाबुबाट जन्मिएका बच्चाहरुको हकमा ठ्याक्कै यस्तै भैरहेको छ । एचआईभी संक्रमित आमाबुबाबाट जन्मिन लागेका तथा जन्मिसकेका सबैजसो शिशु तथा बच्चाहरुको भविष्य त्यति उज्यालो देखिँदैन । तर त्यसो भन्दैमा आइपरेको तथा आइपर्ने समस्याको समाधान नै नगर्ने त ? एचआईभी संक्रमितले पनि सन्तान सुख पाउने अवस्था सिर्जना गरिदिनुपर्छ । आफूलाई एचआईभी संक्रमण छ भन्ने नै थाहा नपाएका आमाबाट जन्मिएका शिशुको उचित व्यवस्थापनमा सघाउनुपर्ने हुन्छ ।
आमा र बाबु दुवै संक्रमित भएको खण्डमा तिनीहरुबाट जन्मिसकेको बालबालिका संक्रमित छन्, छैनन् थाहा हुनुपर्छ । यदि बालबालिका पनि संक्रमित भएमा तिनीहरुलाई पनि एचआईभीविरुद्धको उच्च प्रभावकारी बहुऔषधि नियमित ख्वाइराख्नुपर्ने हुन्छ ।
विश्वपरिवेशमा एचआईभी संक्रमण देखा परेको झन्डै चार दशक हुन लागिसक्यो । यसबीच एचआईभी संक्रमणको जोखिम न्यूनीकरणलाई लिएर चिकित्सा विज्ञानमा अनेकौैं अनुसन्धान एवं परीक्षण भइसकेका छन् । फलस्वरुप अनेकौं थरीका औषधिको निर्माण पनि भइरहेको छ । तर पनि एकाध भाइरसबाहेक ठ्याक्कै निमिट्यान्न हुने गरी भाइरसविरुद्धको औषधि निर्माण हुन सकेको छैन । यसले गर्दा लाक्षणिक उपचार मात्र गर्नुपरेको छ । रोगलाई केवल नियन्त्रणमा राखी सकेसम्म प्रभावित व्यक्तिको आयु लम्ब्याउनु नै मुख्य उद्देश्य हुने गरेको छ । एचआईभी संक्रमणको हकमा पनि त्यही लागू भैरहेको छ ।
एचआईभी संक्रमित दम्पतीलाई कुन अवस्थामा अर्थात् बच्चा पाउनुअगावै वा गर्भवती अवस्थामा वा बच्चा पाइसकेपछि संक्रमण पत्ता लागेको हो, त्यसअनुसार व्यवस्थापन गर्नुपर्र्ने हुन्छ । यदि बच्चा पाउनुपूर्व नै एचआईभी संक्रमण पत्ता लागेको हो भने गर्भ रहनुअघि नै सम्बन्धित चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ । आमा संक्रमित भएको हो भने गर्भावस्थामा गर्भे शिशुमा संक्रमण हुन सक्ने सम्भावनाबारे प्रस्ट हुन जरुरी छ । त्यस्तै गरी, एचआईभीविरुद्धको नियमित औषधि सेवन गर्दाका फाइदा, अस्पतालमै गर्भ जाँच र सुत्केरी गराउनुको आवश्यकता, एचआईभी संक्रमणका कारण उब्जिन सक्ने अन्य जटिलताहरुको परीक्षणका बारेमा पनि चिकित्सकबाट जानकारी लिनुपर्छ । साथै संक्रमित आमाबाबुको मृत्यु भएमा तिनीहरुबाट जन्मिएका बच्चाको पालनपोषणबारे पनि छलफल गर्न आवश्यक पर्छ ।
यस सन्दर्भमा बाबुआमाका कतिपय उच्च जोखिमपूर्ण व्यवहारबारे पनि थाहा पाउनुपर्छ । यो भनेको सुईमार्फत नसाबाट लागू पदार्थ लिने, वेश्यावृत्ति गर्ने, एचआईभी संक्रमितसँग यौनसम्बन्ध राख्ने, धेरै जनासँग यौनसम्पर्क गर्ने र अन्य कुनै यौनरोग लागेका अवस्थाहरु पर्दछन् ।
संक्रमित आमाबाट स्तनपान नगराइएका भए पनि संंक्रमित बालबालिकामध्ये धेरैजसोलाई संक्रमित आमाबाटै गर्भावस्थामा एचआईभी सरेको देखिन्छ । उपचार नलिइरहेका संक्रमित आमाबाट शिशुमा एचआईभी सर्न सक्ने सम्भावना १५ देखि ४० प्रतिशत छ । गर्भे शिशुमा एचआईभी सरेकामध्ये २० प्रतिशतमा गर्भावस्थाको ९ महिनामा, ३० प्रतिशतमा सुत्केरी क्रममा सरेको पाइन्छ ।
संक्रमित गर्भवती महिलामा महिना नपुग्दै व्यथा लाग्दा संक्रमण सर्ने सम्भावना चार गुणा बढी हुन्छ । त्यसै गरी व्यथा नलाग्दै सानो सुतक भएमा संक्रमण सर्ने सम्भावना १५ प्रतिशतबाट बढेर २५ प्रतिशतमा पुग्छ । त्यसो त महिना नपुग्दै बच्चा जन्मिने सम्भावना २० प्रतिशत हुन्छ भने कम तौलको शिशु जन्मिने सम्भावना २९ प्रतिशतसम्म हुन्छ ।
एचआईभी संक्रमित व्यक्तिको स्वास्थ्य उनको शरीरमा भएको भाइरलबाट निक्र्योल गरिन्छ । तर भाइरल लोड जति नै भए पनि एचआईभीविरुद्धको अति प्रभावकारी बहुऔषधि नियमितरुपमा सेवन गरिरहेमा गर्भावस्थामा पनि गर्भे शिशुमा एचआईभी सर्ने सम्भावनामा निकै कमी आउँछ । यस्ता बहुऔषधिको सेवनले संक्रमण सर्ने दर २५ बाट २ प्रतिशतमा झार्दछ । निरन्तररुपमा यी औषधि सेवन गरिरहेको खण्डमा औषधिविरुद्धको अवरोध पनि विकसित हुन पाउँदैन । तर एचआईभीविरुद्धका कतिपय औषधिले गर्भे शिशुमा नकारात्मक असर पु¥याउने, औषधिकै कारण महिना नपुग्दै व्यथा लाग्ने तथा नवजात शिशुमा रक्तअल्पता, श्वेत रक्तकोषको कमी ल्याउन सक्छ ।
भाइरल लोड जति नै भए पनि एचआईभीविरुद्धको अति प्रभावकारी बहुऔषधि नियमितरुपमा सेवन गरिरहेमा गर्भावस्थामा पनि गर्भे शिशुमा एचआईभी सर्ने सम्भावनामा निकै कमी आउँछ । यस्ता बहुऔषधिको सेवनले संक्रमण सर्ने दर २५ बाट २ प्रतिशतमा झार्दछ ।
संक्रमणको कारणले मात्र होइन, अन्य कारणले पनि महिना नपुग्दै जन्मेका बच्चामा पृथक खालका समस्या विकसित हुन सक्छन् । जसले गर्दा नवजात शिशु रोगी हुने तथा मृत्यु हुने दर बढी हुन्छ । महिना नपुग्दै जन्मेका शिशुमा ग्लुकोजको मात्रा कमी हुने, क्याल्सियमको मात्रा कमी हुने, फोक्सोले राम्ररी काम गर्न नसक्ने, आन्द्रा कुहिने, मस्तिष्कमा रक्तश्राव हुने, जन्डिसको मात्रा बढी हुने, शरीरको तापक्रम नियन्त्रणमा राख्न नसक्ने आदि हुन्छ । महिना नपुग्दै जन्मेको तथा गर्भावस्थामा एचआईभी संक्रमणकै कारणले कम तौलको शिशु जन्मिने भएकोले यस्तो शिशु पछि कुपोषित हुने एवं कालान्तरमा मधुमेह तथा उच्च रक्तचापबाट ग्रसित हुने सम्भावना हुन्छ ।
एचआईभी संक्रमित गर्भवती महिलाको अस्पतालमै गर्भजाँच गर्नुपर्छ । मुख्यतः यसको कारण विभिन्न विधागत चिकित्सकहरुको समूहगत व्यवस्थापन चाहिने भएकाले हो । अन्य गर्भवती महिलामा भन्दा एचआईभी संक्रमित महिलामा गर्भावस्थामा थप रगत परीक्षणहरुका साथै अल्ट्रासाउन्ड पनि पटक–पटक दोहो¥याउनुपर्ने हुन्छ । सुत्केरी (डेलिभरी) पनि सकेसम्म सिजेरियन अपरेसनबाट गराउनुपर्ने हुन्छ । सिजेरियन पनि अनुभवी प्रसूति रोग विशेषज्ञबाट गराउनुपर्ने हुन्छ । किनकि सिजेरियन अपरेसनबाट डेलिभरी गराउँदा गर्भे शिशुमा एचआईभी सर्ने सम्भावना आधाले घट्छ । गर्भावस्थामा एचआईभीविरुद्ध नियमितरुपमा बहुऔषधिको सेवन तथा सिजेरियनबाट डेलिभरी गराउँदा संक्रमण सर्ने सम्भावना ८७ प्रतिशतले घट्न जान्छ । त्यसो भएर दम्पतीमध्ये एक पार्टनर संक्रमित हुँदैमा बच्चा पाउनै नहुने भन्ने होइन तर आफ्नो चाहनासँगै जिम्मेवारी पनि उत्तिकै महसुस गर्नुपर्ने हुन्छ ।
सामान्यतः संक्रमित आमाले स्तनपान गराउनुहुँदैन । किनकि उपचार नलिइएका संक्रमित आमाबाट अधिकतम ३० देखि ४० प्रतिशत शिशुमा स्तनपानको माध्यमबाट संक्रमणको सम्भावना हुन्छ । त्यसो त यो संक्रमण हुने जोखिम संक्रमित आमामा भाइरल लोड, स्तनको स्वास्थ्य स्थिति तथा स्तनपानको अवधिमा पनि निर्भर हुन्छ । आमाको एक लिटर दूधको सेवनको जोखिम संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क राखे बराबरको हुन्छ । स्तनपानबाट संक्रमण सर्ने जोखिम बच्चा पाएको शुरुवाती ६ महिनामा धेरै हुन्छ । संक्रमित आमाबाट जन्मेका नवजात शिशुलाई एचआईभी संक्रमणविरुद्धको औषधि दिइएको खण्डमा स्तनपान गराइएकामा पनि संक्रमणको सम्भावनामा कमी आएको पाइएको छ ।
बर्सेनि झाडापखाला, कुपोषण र अन्य संक्रमणबाट शिशु मृत्युदर बढी भएका देशमा विश्व स्वास्थ्य संगठनले ६ महिनासम्म बरु संक्रमित आमाको दूध मात्र (अन्य थप खानेकुराबाहेक) ख्वाउन निर्देशन दिएको छ । र, यथेष्ट पोषणको कमी भएको खण्डमा एक वर्षसम्म संक्रमित आमाकै स्तनपान गराउन भनिएको छ ।
संक्रमित आमा र बाबु दुवै संक्रमित भएको खण्डमा तिनीहरुबाट जन्मिसकेको बालबालिका संक्रमित छन्, छैनन् थाहा हुनुपर्छ । यदि बालबालिका पनि संक्रमित भएमा तिनीहरुलाई पनि एचआईभीविरुद्धको उच्च प्रभावकारी बहुऔषधि नियमित ख्वाइराख्नुपर्ने हुन्छ । यस क्रममा तिनीहरुको शिक्षा, पोषण, लालनपालनलगायतका नियमित वृत्ति विकास जारी नै राख्नुपर्दछ । बालबालिका संक्रमित छैनन् र अभिभावकमध्ये कसैको निकट भविष्यमा मृत्यु हुने सम्भावना भएमा बालबालिकाको भरपर्दो भविष्यका लागि बिमा, बैंक ब्यालेन्सलगायतका उचित व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो परिस्थितिमा संक्रमित अभिभावकका आफन्तहरुले सघाउनुपर्ने हुन्छ ।
त्यसै गरी संक्रमित दम्पतीले पनि बच्चा पाउने चाहना तिनीहरुको मानव अधिकारभित्रै पर्दछ । संक्रमित व्यक्ति तथा तिनका बालबालिकाको पनि बाँच्न पाउने अधिकार हुन्छ । र, एचआईभीविरुद्धको नियमित औषधि सेवन लाभदायक भएकोले संक्रमितले आफ्नो समस्या गोप्य नराखी आ–आफ्नो उपचारमा सम्मिलित चिकित्सक तथा अन्य जोसुकैको स्वास्थ्य जोखिममा नपार्न सघाउनुपर्छ ।