डिप्रेसनबाट बचाउँछ चियाले



बुढेसकालमा चिया पिउनु फाइदाकारक हुन सक्छ । यसले डिप्रेसनबाट बचाउन सक्छ । डिप्रेसनको खतरा वृद्ध अवस्थामा बढी हुन्छ ।

हालैको एक अध्ययन रिपोर्टअनुसार ६० वर्ष बढी उमेरका ७ प्रतिशतभन्दा बढी मानिस डिप्रेसनको सिकार हुन्छन् । आमरुपमा यस उमेरका मानिसमा डिप्रेसनको मुख्य कारण पैसाको अभाव, चिन्ता, सम्मानको कमी, पारिवारिक सम्बन्धमा उतारचढाव, पति वा पत्नीसँग मनमुटाव, समाजसँग सहज घुलमिल हुन नसक्नु आदि हुन्छन् ।

हालै नेसनल युनिभर्सिटी अफ सिंगापुर र सांघाईको फुडान युनिभर्सिटीले वृद्ध मानिसमा हुने डिप्रेसनको बारेमा एक अनुसन्धान गरेको थियो । यस अनुसन्धानअनुसार नियमित चिया पिउनाले वृद्ध अवस्थामा डिप्रेसनबाट बच्न सकिन्छ । चियामा विभिन्न किसिमका फाइदाकारक तत्वहरु पाइन्छ । वर्तमान युगमा चिया संसारभर नै एउटा प्रिय पेयपदार्थ भएको छ । चिया हरेक उमेरका मानिसले पिउने गर्छन् ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरले गरेको अध्ययनअनुसार चियामा यस्ता गुणहरु हुन्छन् जसले ब्रेनका केही फङ्क्सनलाई सक्रिय बनाइदिन्छ । एजिङ नामक जर्नलमा प्रकाशित विवरण अनुसार चियामा केटेचिन, एलथियानाइन, क्याफिन आदि तत्व पाइन्छ । यी तत्व मानिसको मूड र कार्डियोभास्कुलर हेल्थका लागि फाइदाकारक मानिन्छ । कुनै–कुनै रिसर्चबाट त यी तत्वले क्यान्सरबाट बचाउन पनि सहयोग गर्ने उल्लेख छ । यो अनुसन्धान चीनका ६० वर्षभन्दा बढी उमेरका १३ हजार मानिसका बीचमा करिब ९ वर्षको अवधिमा गरिएको थियो । अनुसन्धानकर्ताहरुले यी मानिसको दैनिक चिया पिउने बानीका साथै धूमपान, मदिरापान, दैनिक गतिविधि, सामाजिक मेलमिलाप आदिसम्बन्धी तथ्यांकहरु पनि जम्मा गरेका थिए ।

यी सबै तथ्यांकका आधारमा नियमित चिया पिउनाले ६० वर्षभन्दा माथिका मानिसलाई डिप्रेसन हुनबाट धेरै हदसम्म बचाउने अनुसान्धानकर्ताहरुको भनाइ छ । अनुसन्धानमा शहरमा बस्ने मानिस ग्रामीण क्षेत्रको तुलनामा बढी डिप्रेसनको सिकार भएको पाइएको थियो । नियमित चिया पिउने, सामाजिक गतिविधि बढी गर्नेहरुमा मानसिक तथा शारीरिक स्वास्थ्य अरुमा भन्दा बढी राम्रो पाइएको थियो । यो अनुसन्धानमा विभिन्न किसिमका चिया समावेश गरिएको थियो ।

शोधकर्ताहरुले ग्रीन टी, ब्लाक टी यो उमेरमा बढी फाइदाकारक हुने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्