क्लिनिकमा सरकारी नाम राख्न नपाइने



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले निजी अस्पताल, क्लिनिक एवं निजी स्वास्थ्य संस्थामा कार्यालयबाहेकको समयमा काम गर्नका लागि पनि स्वास्थ्य मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ ।

सो निर्देशनात्मक परिपत्रमा निजी अस्पतालहरुमा काम गर्दा चिकित्सकहरुले सरकारी नाम र पदनाम प्रयोग गर्न नपाइने तथा आचारसंहिता पालना गर्नुपर्ने कुरासमेत उल्लेख गरिएको छ । यसको अनुगमनका लागि नेपाल मेडिकल काउन्सिललाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हालै मन्त्रीस्तरीय निर्णय गर्दै जारी गरेको नौबुँदे निर्देशनअनुसार स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कर्मचारीले विदेश भ्रमण एवं कार्यपत्र प्रस्तुतिका लागि समेत स्वीकृति लिनुपर्नेछ ।

दातृ निकाय तथा गैरसरकारी संस्थाहरुले नेपाल सरकार र मन्त्रालयको लोगो प्रयोग गर्नुपूर्व पनि अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्