लक्ष्मण अधिकारी ।
प्रायः सबै मानिसले पेट दुख्ने समस्या अनुभव गरेका हुन्छन् र अधिकांशले डाक्टरलाई ग्यास्ट्रिक भएर पेट दुख्यो भन्दै गुनासो गर्छन् । तर चिकित्सकहरु ग्यास्ट्रिक भनेको त रोग नै होइन, पेटका अरु विभिन्न समस्याका कारण उत्पन्न परिणाम मात्र हो भन्छन् । कब्जियत वा डायरिया बराबर दोहोरिने, पेट फुल्ने, ग्यास चलेर पेट कराउने, पेट असजिलो भइरहने समस्यालाई पनि मानिसहरुले ग्यास्ट्रिक भनेर बुझ्ने गरेको पाइन्छ । चिकित्सकहरु यसलाई इरिटेबल बावेल सिन्ड्रोम (irritable bowel syndrome ) भन्छन्, जुन नेपालको प्रमुख पेट रोग मानिन्छ ।
नर्भिक इन्टरन्यासनल हस्पिटलका सिनियर कल्सल्ट्यान्ट एन्ड ग्याष्ट्रोइन्टेरोलोजिस्ट (Gastroenterologist/ Hepotobiliary) डा. मधु घिमिरे भन्नुहुन्छ, ‘संसारका अरु देशहरुमा जस्तै नेपालमा पनि पेटको प्रमुख रोगमा आईबीएस (IBS) सबैभन्दा कमन हो । विश्वको जनसंख्याको २० देखि २५ प्रतिशत मानिस जीवनको कुनै न कुनै समयमा यसबाट पीडित भएका हुन्छन् । मैले दिनमा २० जना भिरामी हेरेँ भने ७ जना जति बिरामी आईबीएसका हुन्छन् । आममानिस यसलाई ग्यास्ट्रिक भन्छन् तर होइन ।’
डा. घिमिरे भन्नुहुन्छ, ‘आईबीएसका बिरामी जाँचेर हेर्दा आन्द्राभित्र सबै कुरा नर्मल देखिन्छ । तर आन्द्राको फङ्ग्सन ठीक हुँदैन । आन्द्राले समयमा काम गर्दैन । कहिले जति काम गर्नुपर्ने हो त्यो भन्दा बढी गरिदिन्छ, कहिले कामै गर्दैन्, अल्छी हुन्छ ।’
चार प्रकारको आईबीएस
डा. घिमिरेका अनुसार ‘पेटको प्रमख रोग मानिने आईबीएस चार प्रकारको छ । आईबीएस डी (IBS D) हुँदा डायरिया हुन्छ, पेट दुख्ने र फुल्ने हुन्छ । कसैलाई चाहिँ कब्जियत हुने, दुख्ने र पेट फुल्ने हुन्छ । यसलाई आईबीएस सी (IBS C) भनिन्छ । कसैलाई चाहिँ कहिले डायरिया त कहिले कब्जियत हुन्छ । यसलाई मिक्स टाइप (IBS M) भन्ने गरिएको छ । चौथो हो आईबीएस यु (IBS U / Unclassified) अर्थात् वर्गीकरण नगरिएको जे पनि हुनसक्ने खालको हुन्छ । यस्तो नै हुन्छ भन्ने हुँदैन । यसमा एक–अर्कोसँग मिल्ने लक्षणहरु पनि थुप्रै हुन्छन् ।’
डा. घिमिरे भन्नुहुन्छ, ‘म भर्खर डाक्टर हुँदा यसलाई म्युकस कोलाइटिस भन्थे । अहिले इरिटेबेल बावेल सिन्ड्रोम भनिन्छ र यसको डायग्नोसिस पनि रोम क्राइटेरिया फोरका आधारमा गरिन्छ । यो डायग्नोसिस गर्नका लागि कम्तीमा छ महिनादेखि लक्षणहरु देखिएको हुनुपर्छ । विगत तीन महिनामा कम्तीमा पनि हप्ताको एकचोटि यो समस्या भएको हुनुपर्छ । कहिलेकाहीँ हुनेलाई यो रोग भन्न मिल्दैन ।
यो क्रोनिक कन्डिसन हो, एक्युट होइन । उहाँका अनुसार ‘यो रोग हुँदा दिसा आउनुअघि पेट बेस्सरी दुख्ने र दिसा गरेपछि ठीक हुने पनि हुन्छ । कसैलाई पेट फुल्ने हुन्छ । कसैलाई डायरिया हुन्छ, कसैलाई कब्जियत । कसैलाई सामान्य खालको हुन्छ भने कसैलाई निकै दुःख दिन्छ । यो रोग आफैँले बिरामीलाई मार्दैन, भित्रका अंगहरुलाई केही गरेको हुँदैन, सबै नर्मल हुन्छ । तर यसले केही नगरे पनि कसै–कसैको जीवन बर्बाद गरिदिन्छ । कसैले त आत्महत्या नै गरेको पनि पाइएको छ । यस्ता बिरामीलाई चिन्ता, डिप्रेसनलगायत मानसिक समस्या धेरै हुन्छ ।’
डा. मधु घिमिरेका अनुसार यो रोग आन्द्राबाट शुरु भएर दिमागलाई असर गर्ने हो कि दिमागबाट शुरु भएर आन्द्रालाई असर गर्ने हो भन्ने सम्बन्धमा अझै विवाद छ । अहिले चाहिँ ‘आधालाई दिमागबाट शुरु भई आन्द्रालाई प्रभावित पारेको हुन्छ भने भने आधालाई आन्द्राबाट शुरु भएर दिमागलाई असर पारेको हुन्छ’ भन्ने नयाँ तर्क आएको छ ।
आईबीएस कसलाई र किन ?
आईबीएस जसलाई पनि हुनसक्छ । तर पनि यो महिलामा बढी कमन मानिन्छ । अमेरिकी नेसनल इन्स्टिच्युट अफ डायबिटिज एन्ड डायजेस्टिभ एन्ड किड्नी डिजिज (NIDDK) का अनुसार ५० वर्षभन्दा कम उमेरका मानिसमा यो बढी कमन छ । यसका साथै परिवारका अन्य सदस्यलाई भएको छ भने, तनावपूर्ण जीवन भएकाहरुलाई र पाचन प्रणालीमा संक्रमण भइरने, आउँ परिरहने मानिसलाई पनि यो समस्या हुनसक्छ ।
आईबीएसको एउटा उपसमूह (करिब ७ प्रतिशत) लाई खानपानका कारणले रोग हुन्छ भन्ने छ । उनीहरुलाई फुड सेन्सिटिभिटी (फुड एलर्जी होइन) का कारणले यो रोग भएको हुन्छ भन्ने प्रकाशमा आएको छ ।
आईबीएसको उपचार
पेटरोग विशेषज्ञ डा. घिमिरेका अनुसार ‘इरिटेबल बावेल सिन्ड्रोमको उपचार मुख्यतः लाइफस्टाइल परिवर्तन गर्ने हो । अलिकति साइकियाट्रिक सपोर्ट पनि चाहिन्छ । ‘यो रोगले मलाई केही हुँदैन अलिकति दुःख दिएको मात्र हो’ भनेर सम्झनुपर्छ र दुखाइको व्यवस्थापन गर्नुपर्छ । यसको व्यवस्थापनका लागि डाक्टर र बिरामीबीचको आत्मीयता घनिष्ट हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । बिरामी र डाक्टरबीचको आपसी विश्वास राम्रो हुँदै गयो भने बिरामीले धेरै सुख पाउँछ तर डाक्टर र बिरामीको बीचको आपसी विश्वासमा दूरी बढ्न थाल्यो भने रोगले झन्–झन् च्याप्दै लैजान्छ ।’
‘जसलाई खानाको कारणले समस्या भएको छ उसले कुन–कुन खानाको कारणले असर हुन्छ भन्ने कुरा डाक्टरभन्दा बिरामीले नै विचार गर्नुपर्छ र त्यस्ता खाना छोड्नुपर्छ । यसमा डाक्टरले गर्न सक्ने केही फुड सेन्सिटिभिटी टेस्टहरु छन् तर यसमा यी टेस्टहरुभन्दा पनि काम लाग्ने कुराचाहिँ बिरामीले नै कुन खानेकुरा खाँदा आफूलाई कस्तो असर गर्यो भनेर डायरीमा टिप्ने र डाक्टरसँग छलफल गर्ने गर्नुपर्छ । यो रोग भएकाहरुलाई मसलेदार, चिल्लो भएका एवं मासुजन्य खाद्यवस्तुहरुले बढी असर गरेको देखिन्छ ।’
अमलपित्तर / जीईआरडी
सर्वसाधारणले अमलपित्त भनेर बुझ्ने तर डाक्टरी भाषामा ग्यास्ट्रोइसोफिजियल रिफ्लक्स डिजिज (Gastroesophageal reflux disease) भनिने समस्या पनि नेपालको प्रमुख पेटको रोग हो । यो रोगमा पेटको थैलीबाट खानानलीमा एसिड आएका कारण छाती पोल्ने, पेट दुख्ने, डकार आउने, छाती भारी हुने, वाकवाक हुनेलगायतका विविध समस्या हुन्छन् । पेटरोग विशेषज्ञ डा. मधु घिमिरे भन्नुहुन्छ, ‘खाना खाँदा खाने नलीबाट पेटमा जान्छ । यो खानानली पेटको मुखमा सधैँ बन्द भएर बस्नुपर्छ । गाँस निल्दा मात्र खुल्ने र गाँस छिर्नेबित्तिकै प्वाल बन्द हुनुपर्छ । तर दक्षिण एसियाका धेरै मानिसमा वंशाणुगत कारणले यो प्वालको ढक्कन खुकुलो हुन्छ । यसले गर्दा पेटको एसिड माथितिर जान्छ । गर्भवती अवस्थामा धेरैजसो महिलामा हर्मोनको कारण यो प्वाल खुकुलो हुन्छ अनि छाती पोल्ने, वाकवाक हुने बान्ता आउने हुन्छ । केही औषधिहरुले पनि यो मुख खुकुलो गराउँछन् । कसै–कसैको चाहिँ पेटको थैली नै माथितिर आउँछ, जसले गर्दा यो प्वाल खुकुलो हुन्छ ।’
डा. घिमिरेका अनुसार ‘पेटको थैलीमा अलि–अलि एसिड हुनु नर्मल हो, खाना पचाउन चाहिन्छ । तर एसिड अलि बढी भयो भने छाती पोल्ने, छाती भारी हुने हुन्छ । डकार आउन खोज्ने, केही कुरा श्वासनलीमा अड्किएजस्तो हुन्छ । राति उठेर बस्नुपर्ने हुन्छ । पानी खाँदा अलि कम हुन्छ । यो समस्या ज्यादै कमन छ । यो मोटा मानिसलाई बढी हुन्छ । मानिस जति–जति मोटो हुँदै गयो यो प्वाल खुकुलो हुँदै जान्छ । त्यसकारण त्यस्ता मानिसलाई तौल घटाउन भन्छौँ हामी । चिल्लो र मसला भएका खानेकुरा खायो भने यो प्वाल झन् खुकुलो हुन्छ । पुरी, समोसा खाएका बेला प्रायः सबैको पेट ढुस्स हुने, उलुक्क पानी आउने हुन्छ । एकैचोटि धेरै नखाने, मसालेदार र तारेका खानेकुरा सकेसम्म नखान सुझाव दिन्छौँ । खानेबित्तिकै पल्टिँदा पेटको थैलीको एसिड खानानलीतिर गई समस्या गर्ने भएकाले खानु र पल्टिनुको बीचको ग्याप करिब दुई घण्टाजति राख्नुपर्छ ।’
डा. घिमिरे भन्नुहुन्छ, ‘यो समस्या निर्मूल हुँदैन, यसको व्यवस्थापन गर्ने हो । डाक्टरको परामर्श बिरामीले राम्ररी मान्यो भने यो समस्याको व्यवस्थापन हुन्छ ।’
यी बाहेक पेटका अन्य विभिन्न समस्या पनि छन् । डा. घिमिरेका अनुसार ‘अहिले खानाको शैलीमा परिवर्तन भयो । पहिला मानिसहरु धेरै भेजिटेरियन थिए, माछामासु कम खान्थे । अहिले पश्चिमा शैलीको खानेकुरा धेरै प्रयोग हुन थाल्यो । त्यसले गर्दा ठूलो आन्द्राको क्यान्सर बढिरहेको छ । चिल्लो बढी खाने, मोटो बढी हुने, प्रशोधित खानेकुरा बढी खाने, क्यान तथा पाकेटबन्द खानेकुरा बढी खानेलाई यो रोग बढी छ भने सागसब्जी धेरै खानेलाई कम छ ।’
‘कलेजोको समस्या : हेपाटाइटिस, सिरोसिस, प्यान्क्रियाजको समस्या, गलस्टोन भएर दुख्ने समस्याहरु, तल्लो आन्द्राको समस्या, इन्फेक्सिएस कोलाइटिस, इन्फ्लामेन्ट्री बावेल डिजिज, पेट, लिवर, गलब्लाडर, ठूलो आन्द्राको क्यान्सर पनि पेटसँग सम्बन्धित समस्याहरु नै हुन् । दुखाइ कम गर्ने बुर्फिनलगायतका पेनकिलरहरुले पनि ग्यास्ट्राइटिस गराउँछ । जथाभावी औषधि खाएका कारण दिसा कालो हुने, रगत बान्ता भएर अस्पतालमा आएको भेटिन्छ’, डा घिमिरे भन्नुहुन्छ ।
हेलिकोब्याक्टर पाइलोरी
प्रदूषित खाना र पानीबाट सर्ने हेलिकोब्याक्टर पाइलोरी झन्डै विश्वको आधा जनसंख्यालाई भएको विश्वास गरिन्छ । यसले मुख्यगरी पेट र सानो आन्द्राको माथिल्लो भागमा असर गर्छ । यो ब्याक्टेरिया पेटमा लाइनका रुपमा रहेका कोषहरुमा संक्रमण हुन्छ र एक प्रकारको इन्जाइम तथा विषालु वस्तु उत्पादन गरी इम्युन सिस्टमलाई प्रभावित पार्छ । विकसित देशमा साना केटाकेटीमा एच पाइलोरीको समस्या प्रायः भेटिँदैन, तर विकासोन्मुख देसका १० वर्ष उमेरका अधिकांश केटाकेटी संक्रमित भएका हुन्छन् ।
एच पाइलोरीले असर गरेर क्रोनिक भएको अवस्थामा अल्सर हुनसक्छ । अल्सरका सामान्य लक्षणहरुमा पेट दुख्ने, पेटमा असहज भइरहने, पेट फुल्ने, खाना थोरै खाए पनि पेट भरिएको अनुभव हुने, खाना राम्ररी नपच्ने, वाकवाक लाग्ने, बान्ता हुने, अलि कालो खालाको दिसा हुने, रक्तअल्पताको संकेत देखिने हुन्छ ।
डा. मधु घिमिरे भन्नुहुन्छ, ‘नेपालीहरुमा देखिने पेटको अर्को एउटा प्रमुख रोग हो हेलिकोब्याक्टर पाइलोरी (Helicobacter Pylori) । सरसफाइको कमीको कारणले योे कीटाणु हाम्रो समाजमा व्याप्त छ । खानेपानी स्वस्थ छैन, सागपातमा पनि कीटाणु हुन्छ तर राम्ररी सरसफाइ गरिँदैन । सरसफाइसम्बन्धी हाम्रो सोच विकसित देशको तुलनामा कमजोर छ । यस कारणले गर्दा पनि दक्षिण एसियामा हेलिकोब्याक्टर पाइलोरी कमन छ । मैले एकपटक अध्ययन गर्दा समाजका करिब ९० प्रतिशतमा यो रोगका जीवाणु भएको पाइयो ।’
‘यो रोग निको पार्न सकिन्छ । तर निको पारेर पठाए पनि दुई–चार महिनापछि फेरि रोग लिएर आउने पनि भेटिन्छ । यो हाम्रो रहनसहनको प्रतिविम्ब (Reflection) हो ।’
‘एच पाइलोरी पेटमा गएपछि यसले पेटको थैलीलाई बेस्सरी एसिड बनाउन लगाउँछ । एसिड नर्मल हुँदा केही हुँदैन, एसिड बढी उत्पादन भएपछि पेटको थैलीमा घाउ बनाइदिन्छ । यसैको कारण अल्सर हुन्छ । लामो समय भयो भने क्रोनिक ग्यासट्राइटिस हुन्छ । सुन्निएर रातो भएर बस्छ । धेरै वर्षसम्म बसिराख्यो भने त्यो क्यान्सरमा परिणत हुन्छ । एच पाइलोरीले असर गर्दै गएपछि खासगरी खालि पेट हुँदा, राति पेट पोल्ने, दुख्ने गर्छ । एन्टिएसिडजस्ता औषधिले केही समय राहत हुन्छ । तर पेटमा एच पाइलोरी सक्रिय रहेसम्म दुःख दिइरहन्छ ।’
एच पाइलोरीबाट मुक्ति
डा. घिमिरेको सुझाव छ, ‘हेलिकोब्याक्टर पाइलोरीबाट मुक्त हुनका लागि मूलतः घरपरिवारमा सरसरफाइसम्बन्धी व्यवहारमा सुधार ल्याएर रोग लाग्न नै नदिने प्रयास गर्नुपर्छ । यसको संक्रमण भइहालेमा हेलिकोब्याक्टर परीक्षण गर्नुपर्छ । यसका लागि युरिया ब्रेथ टेस्ट पनि गरिन्छ । यसले बनाउने रसायन पेटका टिस्युमा भेटिने भएकाले इन्डोस्कोपी गरेर टिस्यु निकाली माइक्रोस्कोपमा परीक्षण गरिन्छ । दिसामा पनि ब्याक्टेरियाको प्रोटिन देखिने भएकाले ब्याक्टेरिया पत्ता लगाउन सकिन्छ ।’
‘यो रोगको उपचारका लागि दुई हप्ताको साधारण औषधि पर्याप्त हुने डा. घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार दुई किसिमको एन्टिबायोटिक र एउटा एसिड कम गर्ने औषधि दिएर ८० प्रतिशत बिरामीलाई ठीक गर्न सकिन्छ तर २० प्रतिशतलाई औषधि गर्न असाध्य गाह्रो छ ।’
औषधिविनाको उपचार
साधारण बोलिचालीमा अम्लपित्त भनिने जीईआरडी (GERD) अर्थात् पेटमा उत्पन्न एसिडका कारण छाती, घाँटी पोल्ने समस्यालाई सामान्य आहार तथा जीवनशैली परिवर्तन गरेर पनि सुधारमा ठूलो भिन्नता ल्याउन सकिने यससँग सम्बद्ध केही विशेषज्ञको भनाइ छ । द एसिड रिफ्लक्स सोलुसन (The acid reflux solution) का लेखक तथा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. जर्ज आरले एसिड रिफ्लक्स अर्थात् पेटबाट एसिड घाँटीतिर फर्किने समस्याबाट औषधिविना नै मुक्त हुने केही उपायहरु बताएका छन् (युएस हेल्थ न्युज) ।
१. ओछ्यानको टाउकोतिरको भाग उठाउने : अधिकांशरुपमा सुतेका बेलामा एसिड छाती तथा घाँटीतिर जान्छ र पोल्छ । त्यसकारण पेटभन्दा टाउको माथि हुने गरी सुत्नुपर्छ । आफ्नो बेडको टाउकोतिरको भागलाई पेटतिरको भागलाई भन्दा ३० डिग्रीजस्तो माथि उचाल्नुपर्छ । खानेबित्तिकै समतल ओछ्यानमा पल्टिनु भनेको घाँटीतिर एसिडको बहावलाई निम्त्याउनु नै हो । खाना खाएको कम्तीमा एक घण्टा नसुत्ने ।
२. देब्रेतिर पल्टेर सुत्नु : स्टानफोर्ड स्कुल अफ मेडिसिनले अध्ययनपछि दिएको सुझावअनुसार दाहिनेतिर पल्टिएर सुत्नु भनेको एसिडलाई छातीतिर बहन प्रोत्साहित गर्नु हो । त्यसकारण छाती पोल्ने समस्याबाट मुक्त हुनका लागि देब्रेतिर पल्टिएर सुत्ने गर्नुपर्छ ।
३. खाना राम्ररी चपाउने : खाना पचाउने कार्यको शुरुवात मुखबाटै हुन्छ । त्यसकारण खाना राम्ररी चपाएर खानुपर्छ । यदि खाना राम्ररी नचपाई खाइन्छ भने त्यो समस्यालाई निम्ता दिनुजस्तै नै हो । हरेक गाँसलाई २० सेकेन्ड जति चपाउनुपर्छ ।
४. धेरैपटक खानु तर थोरै : खाना पेटभरि हुने गरी खायो भने त्यहाँ उत्पन्न हुने एसिड छातीतिर आउँछ र पोल्छ । त्यसकारण बरु पटक–पटक खानु तर थोरै मात्रामा । भरपेट कहिल्यै नखानु । धेरै खाँदा पेट तन्किन्छ र एसिड उत्पादन पनि बढी हुन्छ । यो एसिड केही मात्रामा खानानलीतिर जान्छ र छाती, घाँटी पोल्ने समस्या हुन्छ ।
५. कार्ब कटौती : एसिडको समस्या हुने बिरामीले कार्बोहाइड्रेडयुक्त खाना कम खानुपर्छ । युनिभर्सिटी अफ नर्थ क्यारोलेनाको एक रिसर्च रिपोर्टअनुसार जीईआरडीका बिरामीले एक दिनमा २० ग्राम कार्बोहाइड्रेड कटौती गर्दा एसिडिटीको समस्या कम भएको पाइएको थियो । तर यसो गर्दा दुई हप्तासम्ममा पनि फाइदा भएन भने अर्को तरिका अपनाउने उनीहरुको सुझाव छ ।
६. बेल्ट खुकुलो गर्ने : यदि तपाईं एकदम टाइट पेटी बाँध्नुहुन्छ वा तपाईंले लगाएको पाइन्ट टाइट छ भने तपाईंको पेटलाई थप असर पर्छ । यसो गर्दा खाना बस्ने पेटको थैली साँघुरिन जान्छ । यसले थप एसिड उत्पादन गर्न प्रेरित गर्छ, जुन केही मात्रामा खानानलीतिर जान्छ । त्यसैले पेटलाई कसिलो गरी बाँध्नुहुँदैन ।
७. खानापछि उपयुक्त गतिविधि गर्ने : खानापछि पेटलाई खुम्चिने, दबिने वा बटारिने आदि पेटलाई दबाब पर्ने खालका एक्सरसाइज नगर्ने र त्यसरी नबस्ने पनि । बरु केही समय हिँड्नु उपयुक्त हुन्छ ।
८. धूमपान र मदिरा त्याग : यी दुवै वस्तु जीईआरडीका कारकहरु हुन् । रिसर्चरहरुको भनाइअनुसार धूमपानले एसिडको उत्पादन वृद्धि गर्न प्रेरित गर्छ र मदिरा बढी पान गर्दा एसिड खानानलीतिर जान सघाउँछ ।
साथै तौल ठीक्क राख्नु पनि राम्रो हो । किनकि पेटको अधिक बोसोले पनि पेटलाई साँघुरो बनाएर बढी एसिड उत्पादनमा सघाउँछ ।
९. चुइङ्गम : चुइङ्गम चपाउँदा मुखमा प्रशस्त र्यालल आउने हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार र्याललले पेटमा उत्पन्न हुने एसिडलाई मत्थर गर्न सहयोग गर्छ । त्यसैले खानापछि सुत्ने बेलामा एक वा दुईवटा चुइङ्गम चपाउनु लाभदायक हुन्छ ।