कोरोनाको त्रासले भयभित जीवन



रोहिणी घिमिरे ।

विश्वका झन्डै डेढ सय बढी देशमा नोभल कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । इटालीमा यस भाइरसबाट एकै दिनमा ३६८ जनाको मृत्यु भएको समाचारले विश्वलाई नै त्रसित बनाएको छ । हामी नेपालीले पनि कोरोनाको त्रासमा जीवन जिउनुपरेको छ । एकातिर महामारीको त्रास, अर्कातिर यसको प्रभावले औषधिलगायत दैनिक उपभोग्य वस्तुको हाहाकारबाट जीवन झनै कठिन मोडमा गुज्रिन पुगेको छ ।

तर हाम्रो भाग्य ! नेपालमा चैत्रको पहिलो हप्तासम्म यसको संक्रमण फैलिएको छैन । विदेशबाट आएका एक नेपालीमा देखिए पनि उपचारपछि ठीक भइसकेको कुरा सार्क राष्ट्रका प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी ओलीले नै स्पष्ट पारिसक्नुभएको छ । त्यसैले हामी त्रसित भइहाल्नुपर्ने अवस्थाचाहिँ छैन ।

तथापि, यहाँ संक्रमण देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने, क्वारेन्टाइन एवम् हेल्थ डेस्कको व्यवस्थापन गर्ने लगायतका कार्यहरु सरकारबाट हुँदै आएका छन् ।

कोरोना भाइरसको प्रकोपले यतिखेर विश्वकै हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिसकेको अवस्थामा नेपाल अछुतो रहन कदापि सक्दैन । त्यसैले समय छँदै सजगता अपाउनु अपरिहार्य छ । यो छोटो अवधिमै महामारीका रुपमा फैलिएकाले यसको रोकथाम र उपचारका लागि विश्वका वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । अहिलेका लागि भने हामीले संवेदनशील भई पूर्वसतर्कता अपनाउनुको विकल्प छैन ।

त्यसैले नोवेल कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसमा दुई हप्ताभित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी/टाउको दुखेमा, श्वासप्रश्वासमा अत्यधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

संक्रमणका प्रमुख ३ लक्षण

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले निम्न लक्षणहरु देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आह्वान गरेको छ ।

१. ज्वरो आउने : १००.४ फरेनहाइट भन्दा माथि ज्वरो आएमा कोरोना भाइरस संक्रमण भएको हुन सक्छ ।

२. श्वासप्रश्वासमा अत्यधिक समस्या आउने : श्वासप्रश्वासमा अधिक समस्या आएमा पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गर्नुपर्ने हुन्छ ।

३. रुघाखोकी लाग्ने : रुघाखोकीलाई हामीले सामान्यरुपमा लिने गरेका छौं तर वर्तमान परिप्रेक्ष्यमा यसलाई कोरोना भाइरस संक्रमणको प्रमुख लक्षण मानिन्छ ।

कसरी बच्ने ?

रुघाखोकी एवम् श्वासप्रश्वासको समस्या भएका बिरामीको नजिक नजानु नै यसबाट बच्ने मुख्य उपाय हो । निम्न कुरामा ध्यान दिएमा यस भाइरसको संक्रमणको सम्भावना कम रहने कुरा स्वास्थ्य सेवा विभागले जनाएको छ ।

* नियमितरुपमा साबुन–पानीले मिची–मिची २० सेकेन्डसम्म हात धुने ।

* बिरामीले आफूबाट अरुमा संक्रमण नसरोस् भन्नका लागि र बिरामीको स्याहारमा संलग्न हुनेले पनि मास्कको प्रयोग गर्ने ।

* खोक्दा, हाछ्यौं गर्दा नाक–मुख रुमालले छोप्ने ।

* फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।

* फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने ।

* जंगली तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।

* पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने ।

* ज्वरो आउने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

प्रतिक्रिया दिनुहोस्