
मण्डला थिएटरको संस्थापक र सञ्चालकसमेत रहेकी सिर्जना सुब्बा नेपाली रंगमञ्चमा स्थापित नाम हो । हाल अनामनगरस्थित मण्डला थिएटरको अध्यक्ष रहेकी सिर्जना दशकदेखि रंगमञ्चमा आबद्ध छिन् । खारिएको अभिनयका लागि प्रख्यात उनी रंगमञ्चबाट फिल्म क्षेत्रमा होमिएकी अभिनेत्री हुन् ।
रंगमञ्चमा एन्टिगोन, बाह्र दुर्वासा, मनचिन्ते फिरन्ते, कथा एक्सप्रेस, वैतरणी क्याफे, डिग्री माइला, कुमारजी आज्ञा गर्नुहुन्छ लगायतका नाटकमा विभिन्न खालका भूमिकामार्फत आफूलाई यस क्षेत्रमा स्थापित गराएकी सिर्जनाले थिएटरमार्फत दर्जनौं रंगकर्मी जन्माइसकेकी छिन् ।
मिस्टर भर्जिन, राहदानी, डाइङ क्यान्डल, कबड्डी कबड्डी, धूलोलगायतका फिल्ममा अभिनय गरेर दर्शकको आँखामा पर्न सफल सिर्जनाले फिल्म डाइङ क्यान्डलमा गरेको सशक्त अभिनयका लागि कामना फिल्म अवार्ड, राष्ट्रिय चलचित्र अवार्ड, इनास अवार्ड, फानजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु चुमेकी छिन् ।
नाटक प्रदर्शनको सिलसिलामा भारत, बंगलादेश तथा हङकङ पुगेर नेपाली नाट्य कला देखाइसकेकी सिर्जना उर्लाबारी, मोरङमा जन्मेकी हुन् । उनी घरको नाटकमय वातावरणबाट प्रभावित भएर कलाकारितामा आएकी थिइन् । नाट्य क्षेत्रमा लागेको एक दशक बितिसक्दा पनि अभिनयको भोक नमेटिएको बताउने सिर्जनाले केही महिनाअघि आफू ८ महिनाकी गर्भवती अवस्थामा रहेको बेला पनि मण्डला थिएटरमा मञ्चित महाभोज नामक नाटकमा गर्भवती प्रहरीको भूमिकामा प्रस्तुत भएकी थिइन् ।
आमा बन्नु महिलाले जीवनमा पाएको राम्रो अवसर मान्ने सिर्जना हाल आफ्नो सन्तानको रेखदेखमा व्यस्त छिन् । सन्तानको स्वास्थ्यको लागि ६ महिनासम्म स्तनपान गराउने सोचअनुरुप आमाकै दूध मात्र खुवाइरहेको उनी बताउँछिन् । कतिपयले स्तनपान गराउँदा शारीरिक सौन्दर्यमा ह्रास आउँछ भनेर बोतलको दूध खुवाइरहेको पाइन्छ । तर सिर्जना भन्छिन्, ‘बच्चाको लागि आमाको दूधभन्दा पौष्टिक अन्य कुरा हुन सक्दैन । मेरो विचारमा स्तन भनेको बच्चालाई खुवाउनकै लागि प्रकृतिले दिएको कुरा हो । यदि फिट्नेसमा ह्रास आएछ भने बच्चा ठूलो भएपछि फेरि मेन्टेन गरौंला तर बच्चाको दूध खाने अधिकार नै खोसेरे मेन्टेन गर्नुको अर्थ छैन ।’
बच्चा जन्मिसकेपछिको शारीरिक मेन्टेनबारे सिर्जना भन्छिन्, ‘मैले शारीरिक मेन्टेनको लागि भनेर केही पनि बारेको छैन । बरु झन् पौष्टिक खानेकुराहरु खाइरहेकी छु, आमाले जे खाने हो त्यही कुरा दूधमार्फत सन्तानले पाउने हो । शरीर मोटायो भने पछि सन्तुलनमा ल्याउन सकिन्छ । तर बच्चाको उमेरलाई फेरि फर्काउँछु र पछि खुवाऊँला भन्न मिल्दैन । मैले ६ महिनासम्म आमाको दूधमात्र खुवाउने निर्णय गरेकी छु । त्यसपछि पनि आवश्यक परेमा खुवाउँछु, जसको लागि मैले अन्य बेलाभन्दा बढी पौष्टिक खानेकुरा खानुपर्छ । जसले गर्दा शरीर पहिलेभन्दा मोटाउनु स्वाभाविक नै हो । फेरि मान्छे सधैँभरि १७–१८ वर्षकै जस्तो देखिनुपर्छ भन्ने पनि छैन । उमेर बढ्दै जाँदा र सन्तान भइसकेपछि पनि सौन्दर्यलाई फर्काउन सकिन्छ ।’
सिर्जनाले गर्भवती अवस्थामा गराएको प्रेग्नेन्सी फोटोसुटले निकै चर्चा पाएको थियो । ‘उक्त फोटोसुटबाट मिश्रित प्रतिक्रिया पाएँ । कतिपयले एकदमै राम्रो लाग्यो, म पनि यस्तै फोटोसुट गराउँदै छु, यो महिलाका लागि महत्वपूर्ण क्षण हो भन्नुभयो । कतिपय साथीहरूले मैले त यस्तो फोटोसुट मिस गरेँ भन्नुभयो भने कतिपय महिलाले यो भल्गर भयो, संस्कृतिलाई बिगार्यो भन्नुभयो । मलाई त लाग्छ कि कुनै पनि गर्भवती महिलाले नेपाली संस्कृतिको ठेक्का लिएर बसेको हुँदैन, गर्भवती अवस्था भनेको सधैँ खुशी भएर बस्नुपर्ने र आफ्नो नराम्रो बानी छ भने बच्चाका लागि चेन्ज गर्नुपर्ने अवस्था हो ।
सौन्दर्यभन्दा पनि स्वास्थ्यलाई बढी ध्यानमा राख्ने गरेको बताउने सिर्जना आफू पहिलेदेखि नै स्वास्थ्यप्रति सचेत रहने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘९–१० कक्षामा हुँदादेखि नै रेगुलर एक्सरसाइज गर्ने गर्थें । कहिले जिम पनि गएँ, कहिले मर्निङ वाक । पछिल्लो समय भने युट्युब हेरेर विभिन्न एक्सरसाइज गर्थें । अहिले आमा बनिसकेपछि भने केही समय हेभी एक्सरसाइज नगर्नु भन्ने डाक्टरको सल्लाह छ । केही समयपछि फेरि शुरु गर्छु । सुत्ने र उठ्ने निश्चित समय भयो भने पनि यसले शारीरलाई स्फूर्त बनाउँछ ।’
ब्युटी विथ ब्रेन भन्ने भनाइप्रति नै आपत्ति रहेको बताउने सिर्जनाको अनुभव छ– ‘ब्रेन सबैसँग हु्न्छ र चाहिन्छ पनि । यो होइन कि रुपमा राम्री युवतीको मात्र ब्रेन हुन्छ र हुनुपर्छ । यसकारण यो शब्दले महिलालाई नै गिज्याएको हो कि जस्तो लाग्छ ।’ आँखाले हेर्दा राम्रो देखिने चिजहरुलाई मात्र सौन्दर्य नभई सकारात्मक भावना र पवित्र विचारलाई सौन्दर्य मान्न सकिने सिर्जना बताउँछिन् ।
शृङ्गारमा खासै सोख नभएको बताउने सृजना आफूलाई शृङ्गार कलाबारे पनि त्यति थाहा नभएको उल्लेख गर्छिन् । ‘सुटिङको बेला गर्ने मेकअपबाहेक अन्य बेला आफैं मेकअप गर्छु । मेकअपको सामान राम्रो ब्रान्डको प्रयोग गर्दा स्किन हेल्थलाई राम्रो हुन्छ भन्ने हिसाबले प्रायः सामान बाहिरबाट मगाउँछु । मेकअपको सामानमा धेरै खर्च नभए पनि कपालको लागि भने समय र पैसा उत्तिकै खर्च भइरहेको हुन्छ, बेला–बेलामा ओयल मसाज गराउँछु र ट्रिट्मेन्ट राम्रै प्रयोग गर्छु’, उनले सुनाइन् ।
प्रस्तुति : रश्मी थापा