डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक ) ।
शारीरिक एवं मानसिक पीडाको व्यक्त रुप नै दुखाइ हो । दुखाइ एउटा सर्वव्यापी समस्या हो । शरीर र मनमा हुने दुखाइले जीवनमा बहुआयामिक प्रभाव पार्दछ । दुखाइका कारण आत्मविश्वास, स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य, यौनक्रीडा लगायत दैनिक जीवनमा असर पार्छ । दुखाइ हुँदा पीडितले प्रायः छटपटी, हडबडी, उदासिनता, चिन्ता, चिडचिडाहट आदिजस्ता भावनात्मक लक्षण देखाउँछन् । एक अध्ययनअनुसार लामो समयदेखि दुखाइ भोगेका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुने हुन्छ ।
शरीरमा पिलो निस्कँदा साह्रै दुख्ने हुन्छ । पहिले विशेष गरी गाउँघरतिर यस्ता दुखाइ निवारणका लागि आजका पेनकिलर उपलब्ध थिएनन् । त्यस समयमा यस्ता घाउको दुखाइ शान्त पार्ने परम्परागत विधिहरु अपनाइन्थे । नपाकेको पिलोलाई पकाउन गुलाफको पातको लेप, मेथीको दानाको लेप, बयरको पातको लेप, बेसारको लेप लगाइन्थ्यो । पिलोमा पिप भरिसकेपछि गुलाफको काँडा, बयरको काँडा, सिउँडी, कागती, भोगटे आदिको काँडा प्रयोग गरेर मुख खोलिन्थ्यो र पिप निकालेर दुखाइ शान्त पारिन्थ्यो ।
दाँत दुख्दा दाँतमुनि ल्वाँङ च्याप्ने चलन आज पनि छ । पेटको दुखाइका लागि अदुवाको रस, कागतीको रस, जीराको पानी, प्याजको रस एवं पुदिनाको रस प्रयोग गर्ने चलन अझै छ । बच्चाहरुको पेट दुख्दा घिउमा हिङ भुटेर नाभीमा लगाउने गरिन्थ्यो । जोर्नीहरुमा दुखाइ हुँदा गाईको घिउ लेपेर आगोमा सेकाइएको आँकको पात वा सालको पातले सेक्ने चलन थियो । ढिके नूनको पोका तताएर सेक्दा जोर्नीको दुखाइ शान्त हुन्थ्यो । त्यस्तै एरण्डको तेल जोर्नीको दुखाइ हुँदा दल्ने प्रचलन थियो । जीउ दुख्दा लसुन, ज्वानो, मेथी आदि तेलमा फुराएर दल्ने प्रचलन हिजोआज पनि पाइन्छ ।
गाउँघरतिर कसैको पेटमा ग्यास बनेर दुख्दा सैन्धव लवण (सिधे नून) मिश्रित ज्वानो–पानी पकाएर खुवाउने गरिन्थ्यो । कडा खालको शारीरिक दुखाइ शान्त पार्न अफिम वा गाँजालाई विभिन्न तरिकाले प्रयोग गरिन्थ्यो । काँचो सिम्रिक घोटेर पनि खाने गरिन्थ्यो ।
परम्परागत विधिहरुमा टाउको दुखाइको निवारणका लागि तेलयुक्त वा तेलविनाको मालिस, तातोपानीको बाफ सेवन गर्ने गरिन्थ्यो । तातो, चिसो सेकाइले पनि शरीरका भिभिन्न अंगमा हुने दुखाइको निवारण गर्दछ । यतिसम्म कि प्राचीनकालमा वैद्यहरुले शल्यक्रिया गर्दा हुने दुखाइको व्यवस्थापनका लागि अफिम र गाँजाको प्रयोग गर्ने गर्थे ।
अहिले पनि गाउँघरमा गानो–गोला चल्दा नाभीमा मालिस गरेर दुखाइको उपचार गरिन्छ । महिला दिदी–बहिनीहरुले तल्लो पेटको दुखाइ निवारणका लागि दशमूल, हरचुर, सुपको दाना आदिलाई विभिन्न रुपमा सेवन गर्छन् ।
काटेको घाउको दुखाइ शान्त गर्न र रगत बग्न बन्द गर्न बनमाराको पातको रस हाल्ने गरेको पाइन्छ । हड्डी भाँचिदा स्थानीय रुपमा सिस्नुको पात, कालो लट्टे, मासको पीठो आदि मिसाएर बनाएको लेप लगाएर नेपाली कागजले ढाक्ने अनि बाँसको काम्रो हाली दुखाइ व्यवस्थापन गर्ने गरिन्छ ।
यी परम्परागत विधिहरु हराउँदै गएका छन् । दुखाइ कम गर्ने परम्परागत विधिहरु पेनकिलरबाट दुखाइ दबाउने र एन्टिबायोटिकबाट पिलो सुकाउने विधिमा रुपान्तरण भएको छ । आज गाउँघरतिर समेत बच्चादेखि बूढाबूढीसम्मले अलि–अलि दुखाइ हुँदा पनि निम्स, फ्लेक्स खान्छन् । यसरी पेनकिलर र एन्टिबायोटिकको अनावश्यक एवं असंवेदनशील प्रयोगले मानव स्वास्थ्य झन् जोखिममा पर्दै गएको छ ।
हिजोआज कहीँ–कतै दुख्यो भने, औषधि पसलमा सजिलै पाइने पेनकिलरहरु खाएर दुखाइलार्ई दबाउनै हतार गरिन्छ । त्यसो गर्दा दुखाइ गराउने रोग शरीरमा लुकेर बस्छ र खाइएको अधिक पेनकिलरको साइड इफेक्टले हर्ट फेलियर, किड्नी फेलियर, कलेजो रोग, पेटको अल्सर, आन्द्राको अल्सर आदि गम्भीर रोग हुने गरेको पनि पाइन्छ । गम्भीर रोगले असह्य दुखाइ भएपछि मात्र अस्पताल पुग्दा रोग जीर्ण एवं घातक बनिसकेको हुन्छ । अतः दुखाइको उचित व्यवस्थापन आवश्यक छ । दुखाइको व्यवस्थापन आधुनिक रासायनिक औषधिहरुभन्दा पनि नेचुरोपैथी एवं फिजियोथेरापीका आधुनिक विधिहरु प्रयोग गर्नु लाख गुना उत्तम हुन्छ ।
बिरामीको परीक्षण गर्दा नाडीको चाल, रक्तचाप, श्वासप्रश्वास दर तथा शरीरको तापक्रमपछि दुखाइलाई चिकित्सकीय जाँचमा पाँचौं महत्वपूर्ण शारीरिक संकेतको रूपमा समेत लिन थालिएको छ । दुखाइ केही गम्भीर रोगको संकेत पनि हुन सक्ने हुँदा, सजग मानिसहरु दुखाइ हुँदा चिकित्सकसँग परामर्श लिन जान्छन् र त्यसको कारण पत्ता लगाइ उपचार गर्छन् । यसरी दुखाइ चिकित्सक र बिरामीको भेट गराउने बहाना बन्छ । अतः दुखाइलाई कमजोरी भन्दा पनि अवसरका रुपमा लिनुपर्ने हुन्छ ।
अध्ययनहरुका अनुसार ३१ प्रतिशत नेपालीलाई ढाड दुख्ने समस्या भएको पाइएको छ । त्यसपछि घुँडा, कुम, पाखुराका जोर्नी दुख्ने समस्या भएको पाइएको छ । अस्पतालमा आउने दुखाइको समस्यामध्ये करिब ३० प्रतिशतमा जोर्नी दुख्ने समस्या हुन्छ । करिब १७ प्रतिशत नेपालीमा माइग्रेन तथा बेस्सरी टाउको दुख्ने समस्या, १६ प्रतिशतमा गर्दन दुख्ने समस्या र ५ प्रतिशतमा अनुहार, मुख तथा दन्त स्वास्थ्यमा देखिने समस्याले दुखाइ हुने पाइएको छ ।
दुखाइ व्यवस्थापन आधुनिक चिकित्साशास्त्रअन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ट (पेन म्यानेजमेन्ट/पेन क्लिनिक) विधा बन्दै गएको देखिन्छ । अध्ययनहरुका अनुसार दीर्घकालीन दुखाइ (३ महिनाभन्दा बढी समयसम्म रहने) विश्वका धेरै क्षेत्रमा अशक्तताको प्रमुख कारणमध्ये एक हो । यसले मानिसको दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई बाधा पुर्याउन सक्छ । दीर्घकालीन दुखाइ कुनै पनि स्वास्थ्य अवस्थाको ठूलो आर्थिक बोझको रुपमा पनि रहने गर्छ । कसै–कसैले यसकै कारण आत्महत्याजस्तो कठोर कदम चाल्ने गरेको पनि पाइन्छ ।
आयुर्वेदमा दुखाइ व्यवस्थापनका लागि अग्निकर्म, रक्तमोक्षण, मर्म चिकित्सा, स्नेहन (मालिस), स्वेदन, वस्ती, स्थानिक वस्ती, शिरोधारा आदि विधिको सम्यक्रुपमा प्रयोग गरिन्छ । दुखाइ कम गर्न आयुर्वेदीय मान्यताअनुसार गोदन्ती, निर्णगुण्डी, लाङ्गली, कुचिला, नागरमोथा, बला, अजमोदा, एरण्ड, अतिबला, अदुवा, बेसार, लसुन, गुग्गुल, अशोकको बोक्रा आदि एकल द्रव्यहरुको प्रयोग गर्न उपदेश गरिएको छ । साथै दुखाइ निवारणका लागि तेल, घिउ आदिको प्रयोग गर्ने विधिसमेत रहेको पाइन्छ ।
आज पनि परम्परागत विधिहरुको उचित प्रयोग गर्न सके धेरै हदसम्म दुखाइको सहज व्यवस्थापन गर्न सकिन्थ्यो । साथै हाल बढ्दै गएको पेनकिलर औषधिको प्रयोग र त्यसबाट हुन सक्ने साइड इफेक्टलाई पनि कम गर्न सकिन्थ्यो ।