किशोरी अवस्थामा डण्डिफोर



डा. सुमनराज ताम्राकार

बालिका अवस्थाबाट किशोरी अवस्थामा पुग्ने क्रममा मानसिक, संवेगात्मकका साथै शारीरिक परिवर्तनहरु पनि हुन थाल्छन् ।

किशोरीहरुमा नितम्ब, काँधमा बोसो लाग्ने, पुट्ठो चौडा हुने, तिघ्रा सुलुत्त पर्ने, जननेन्द्रिय अनि काखीवरिपरि रौं पलाउने, स्तन बढ्ने, स्वर अझैँ सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने हुन्छ । यसमध्ये महिनावारी शुरु हुने कार्य सबैजसोले चासो राख्ने विषय भए पनि अनुहारमा डण्डिफोर देखिने समस्याचाहिँ किशोरीहरुको लागि झिँजो लाग्दो नै हुन्छ ।

टिनएज पुगेपछि दिनानुदिन आफूमा के फरकपना आएको छ भनेर सजग नहुने कमै होलान् । यस्तैमा घरी–घरी ऐना नहेर्ने टिनएजर पनि कमै होलान् । आफू कस्तो देखिएछु भनेर ऐनाको अगाडि उभिँदा अनुहारमा रहेको डण्डिफोरले भिलेनको रुपमा काम गरिराखेको हुन्छ ।

डण्डिफोरमा आँखा पर्नेबित्तिकै अर्थात् डण्डिफोरमा रहेको सेतो वा कालो टुप्पा देख्नासाथ मन सकसक भई त्यसलाई निचोर्नका लागि औंलाहरु पनि सल्बलाइहाल्छन् । परिणाम खाटा वा दाग बस्छ । अनि साथीसंगीका अगाडि पर्न अप्ठ्यारो महसुस हुन्छ । बिस्तारै आफूमा रहेको आत्मविश्वास डगमाउन बेर लाग्दैन । कतिपय अवस्थामा मानसिक समस्या निम्तिन पनि सक्छ ।

त्यसो त डण्डिफोर ठ्याक्कै किन आउँछ भन्ने थाहा छैन तर पनि एन्ड्रोजेन हर्मोनलाई कारक तत्व मानिएको छ । केराटिनबाट रौं बन्छ भने रौंको जरामा बोसोयुक्त श्राव निकाल्ने ग्रन्थि हुन्छ । यही श्रावले छालालाई मुलायम एवं चिल्लो बनाउँछ । कुनै कारणवश यो श्राव निस्कने मुख थुनियो भने रौंको जरा नै सुन्निने हुन्छ । समयक्रममा छालाको बाह्य सतहमा दरार उत्पन्न भयो भने कीटाणुको प्रवेशसँगै संक्रमण हुन थाल्छ र डण्डिफोरको रुपमा देखा पर्छ ।

मेडिकल भाषामा एक्ने भनिने डण्डिफोर खुल्ला तथा बन्द डण्डिफोर, पिप भरिएको डण्डिफोर एवं केवल राताम्य मात्र भएको, गिर्खा बनेको, दाग बसिसकेको गरी विभिन्न खालका हुन्छन् । एक्ने भल्गेरिस, एक्ने रोजेसिया, एक्ने कन्ग्लोमाटा र एक्ने फुल्मिनेन्स गरी डण्डिफोरको समस्यालाई चार प्रकारमा विभाजन गरिएको हुन्छ । पिप भरिएको, दाना आउने, रातो दाग देखिने, स–साना खाडल देखा पर्ने, कालो दाग बस्ने लक्षणबाट एक्नेलाई छुट्याइन्छ । तर बिमिरायुक्त डण्डिफोर भने अनुहार, पिठ्यूँ, छातीमा आउँछ । कहिलेकाहीँ डण्डिफोर दुख्ने, सुन्निने एवं चिलाउने खालको पनि हुन्छ ।

करिब ८० प्रतिशत युवाहरुमा डण्डिफोरको समस्या हुन्छ । महिलाको छालामा तैलीय मात्रा बढी हुने हुनाले महिलालाई बढी सताउने डण्डिफोरको समस्या खासमा छालासँग सम्बन्धित समस्या हो । तर यसकै कारण हीनताबोध, आत्मविश्वासमा कमी लगायतका मानसिक समस्या उत्पन्न हुन सक्छ । डण्डिफोरले पुरुष अर्थात् युवकलाई पनि प्रभावित गरे पनि महिलाहरुले बढी सरोकार राख्छन् । २० देखि ३० वर्ष उमेरका किशोर–किशोरीमा बढी देखिने डण्डिफोरको समस्या धेरैजसोमा आपैंm निको भए पनि कतिपयमा समयमै उपचार नगराएर वा कतिपयमा अनावश्यक तवरले डण्डिफोर निचोर्नाले खाटा बस्ने, दाग बस्ने हुन्छ । डण्डिफोर निचोरेका कारण दाग बसिहालेको भए पनि आधुनिक चर्म–चिकित्सा क्षेत्रमा भित्रिएको नयाँ प्रविधिमार्फत ती दाग हटाउन सकिने भएको छ ।

चिल्लो वा तेलयुक्त क्रिमको उपयोगले डण्डिफोरको समस्या बढाउन सक्छ । अधिक कार्बोहाइड्रेट एवं चिल्लो पदार्थयुक्त खानाको सेवनले पनि समस्या बढाउँछ । आइसक्रिम, पिजा, चकलेट, बर्गर यस्तै केही उदाहरण हुन् । अनुहार पुछ्ने रुमाल एवं तकियाको खोल नरम खालको भएन वा सफा खालको भएन भने पनि डण्डिफोरको समस्या निम्तिन्छ । अनुहारको राम्रो हेरचाह गरेन भने पनि यो समस्या आउँछ ।

डण्डिफोरको समस्यामा अनुहारलाई चलाइराख्नुहुँदैन । अनुहारको नियमित सरसफाइमा उचित ध्यान पुर्‍याउनुपर्छ । औषधियुक्त साबुन, क्लिन्जर वा लोसनले दिनमा दुई–तीनपटक मुख धुने गर्नुपर्छ । राति सुत्नुअगाडि पनि अनिवार्य अनुहारको सफाइ गर्नुपर्छ ।

छालासम्बन्धी सौन्दर्यका सामग्रीहरुको उपयोगमा उचित ध्यान दिनुपर्छ । तेल नभएको सौन्दर्यका साधन छनौट गर्नुपर्छ । कुनै विवाहोत्सव तथा विशेष कार्यक्रमका लागि मेकअप गरिएको छ भने सुत्नुअगाडि नै सफा गर्नुपर्छ ।

डण्डिफोरको समस्या भएकाले चिल्लो खानेकुरा कम खानुपर्छ । सागपात, फलपूmल एवं पानी बढी सेवन गर्नुपर्छ । अधिक मोटोपनको समस्या भएका कतिपय युवतीमा महिनावारीको गडबडीसँगै डण्डिफोरको समस्याले पनि सताएको हुन्छ । यस्तोमा हर्मोनको असन्तुलन पनि हुन सक्छ । मोटोपन एवं महिनावारी गडबड भएकी किशोरीले शारीरिक तौल घटाउनुपर्छ । कतिपय डण्डिफोरको समस्या अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित हुनसक्ने हुनाले छालारोग विशेषज्ञको सहयोग लिनुपर्ने हुन्छ । डण्डिफोरको समस्याकै कारण कतिपयमा आत्मविश्वासमा कमी आउने, लघुताभास हुने, मानसिक समस्या देखा पर्ने हुनाले मानसिक परामर्श पनि चाहिन सक्छ ।

सारांशमा डण्डिफोर किशोरी अवस्थाको एक चिनो हो । डण्डिफोर निचोर्दा एकछिन्का लागि आनन्द आए पनि कालान्तरसम्म खत बस्न सक्ने पक्षलाई विचार गरी नचलाउनु नै बेस हुन्छ । डण्डिफोरलाई स्वाभाविकरुपमा लिई अनुहारको सरसफाइमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्