बालबालिकाको टिफिनमा के पठाउने ?



डा. जया प्रधान ।

स्कुल जाने बालबालिकाका अभिभावक विशेषतः आमाहरुको प्रायः सधैँ एउटै गुनासो सुनिन्छ–‘भोलि बच्चाको टिफिनमा खाजा के पठाउने ?’आफूले हतार–हतार खाजा बनाएर टिफिन पठायो तर बच्चाले केही नखाई फर्काउँछ भन्ने कुरा आमाहरुबाट सुन्नमा आउँछ ।

आजको व्यस्त समाजमा बालबालिकाको टिफिनमा के पठाउने भन्ने कुरा अभिभावकका लागि चुनौतीको विषय बनेको छ । यसले गर्दा धेरैजसो अभिभावक बच्चाको स्कुलबाटै खाजा उपलब्ध गराएमा टिफिनको झन्झट नहुने बताउँछन् । उनीहरु खाजा उपलब्ध गराउने स्कुल खोजेर आफ्ना बालबालिकालाई भर्ना गर्छन् । यसै गरी समयको अभाव र बच्चाको चाहना अनुरुप टिफिनको नाममा तयारी खाद्यपदार्थले प्रश्रय पाउने हुन्छ ।अर्कोतिर बच्चालाई टिफिनको लागि पैसा दिई पठाउने र स्कुलको क्यान्टिनमा उपलब्ध खानेकुरा खाँदा टिफिनको झन्झट नहुने पनि अभिभावकहरु बताउँछन् । यसबाहेक हल्काफुल्का तयारी खाद्य पदार्थ टिफिनमा खाँदा केही फरक नपर्ने, किनकि बच्चाहरु घरमा आएर राम्ररी खाइ हाल्छन् भन्ने सोच राख्ने अभिभावकहरु पनि छन् । तर बालबालिकाले कुनै पनि समयमा खानेखाने कुरा स्वस्थकर र पोषिलो हुनु जरुरी छ ।

बालबालिकाको वृद्धि–विकासमा उनीहरुले खाने दैनिक खानाले ठूलो प्रभाव पारेको हुन्छ। यस अवस्थामा खाएको खानाले भावीजीवनलाई समेत असर पर्छ । त्यसकारण बालबालिकाको दैनिक भोजनको योजना गर्दा उनीहरुको आवश्यकता अनुसार प्रत्येक समयको खाना, त्यसको पौष्टिक गुण र परिमाणलाई विशेष ध्यान दिनुपर्छ । यसरी खानाको योजना गर्दा घरमा खुवाउने खाना बाहेक स्कुलमा दिइने वालगिने खाजालई समेत यसमा समावेश गर्नुपर्छ ।

साधारणतया एयटा बच्चाले दैनिक ४–५ घण्टा स्कुलमा बिताउँछ । दैनिक यति लामो समय स्कुलमा बिताउने हुँदा त्यस समयमा खाने खाने कुरा पनि पोषिलो र स्वास्थ्यवद्र्धक हुन जरुरी हुन्छ । विशेषतः उनीहरुको भोजनको योजना गर्दा बिहान, दिउँसो र बेलुकीतीनै समयमा दिने खानालाई उत्तिकै प्राथमिकता दिनुपर्छ । हरेक दिनको प्रत्येक समयमा  दिइने खानाबाट करिब एक तिहाइ पौष्टिक तत्व प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ ।

स्कुल जाने अवस्थामा बालबालिकाको वृद्धि–विकास छिटो हुने भएकाले क्यालोरीका अतिरिक्त प्रोटिन, भिटामिन तथा खनिजपदार्थ पनि प्रशस्त मात्रामा आवश्यक पर्छ । बालबालिकालाई शरीरको तौल अनुसार क्यालोरीको आवश्यकता पर्ने हुनाले उनीहरुको दैनिक खानामा शक्तिदिने खाद्य पदार्थ र त्यसका उपयुक्त परिकार समावेश गर्नुपर्छ । जस्तै– पूरै अन्नबाट बनेका परकार, दाल, गेडागुडी, ताजा फलफूल आदि । तर आजकल बालबालिकाको खानामा शक्तिको प्रमुख स्रोतको रुपमा केक, कुकिज, चिप्स, चकलेट, आइसक्रिम, तयारी कृत्रिम जुस आदिलाई प्रथमिकता दिएको पाइन्छ । यस प्रकारका खाद्य पदार्थ शक्तिको स्रोत भएता पनि अन्य  आवश्यक पौष्टिक तत्वहरु नगण्य मात्रामा मात्र हुन्छ ।

यस अवस्थामा उनीहरुको वृद्धि–विकास द्रुतत्तर गतिले हुने भएकोले प्रोटिनको उत्तम खाद्य स्रोत माछा, मासु, अण्डा, दूध आदि भोजनमा प्रशस्त समावेश गर्नुपर्छ । यसबाहेक वनस्पति स्रोतबाट प्राप्त प्रोटिनयुक्त खाद्य पदार्थ दाल–गेडागुडीको पनि उचित मिश्रण गर्नुपर्छ ।यसैगरी हरियो साग, तरकारी, ताजा फलफूल, कलेजो उपयुक्त तवरले भोजनमा समावेश गर्न सकेमा साना  नानीहरुले आवश्यक भिटामिन तथा खनिज पदार्थ प्राप्त गर्न सक्छन् ।

उनीहरुलाई दैनिक शक्ति तथा अन्य पौष्टिक तत्वको आवश्यकता बढी हुने भएकाले घरमा खुवाउने खाना मात्र नभई स्कुलमा दिइने खानावा पठाउने खाजा पनि त्यत्तिकै पोषिलो हुन जरुरी हुन्छ । जब बालबालिकाको पेट भरिन्छ, तब उनीहरुले पढाइमा तथा अन्य क्रियाकलापमा ध्यान दिन र सक्रिय रुपमा सहभागी हुन सक्छन् । खालि पेटमा थकान महसुस हुनुको साथै निद्रा लाग्ने हुन्छ ।
उनीहरुले दैनिक ४/५ घण्टा स्कुलमा बिताउने हुनाले पढाइमा एकाग्रता बनाउन तथा सक्रिय रुपमा विभिन्न क्रियाकलापमा सहभागी हुन बालबालिकाको टिफिन अर्थात् खाजा शक्तिद्र्धक र पोषिलो हुन जरुरी हुन्छ । दैनिक स्कुलमा खाने खाजा पोषिलो छ भने यसबाट उनीहरुको पौष्टिक अवश्यकता केही मात्रामा पूर्ति गर्न मद्दत पुग्छ,जसले गर्दा कममात्र बिरामी हुने र स्कुलको उपस्थिति पनि बढ्ने हुन्छ ।

विशेषतः बालबालिकालाई घरबाटै पोषिलो खाना पठाएमा उनीहरुमा घरको खानाखाने बानी बस्नुको साथै स्कुलको क्यान्टिनमा प्राप्त हुने तयारी खाद्य पदार्थ प्रतिको रुचि पनि कम गर्न मद्दत पुग्छ । किनकि घरबाट ल्याएको खानाले पेट भरेपछि अन्य खाना प्रतिको आकर्षण र रुचि घट्ने हुन्छ । यसबाहेक टिफिनमा ताजा फलफूल, साग–तरकारी, पूरै अन्नबाट बनेको परिकार रुचि अनुुसार समावेश गर्दा सानैदेखि उनीहरुमा खानाप्रति सकारात्मक धारणा विकास गर्न मद्दत पुग्छ । साथै घरबाट ठीक परिमाणमा गुणस्तरीय एवम् पोषिलो खाना पठाउँदा त्यसबाट उचित मात्रामा आवश्यक पौष्टिक तत्व प्राप्त  हुने हुँदा न्यून पोषण वा अधिक पोषण हुनबाट बच्न मद्दत मिल्छ ।

बालबालिकाको टिफिनमा राख्ने खाने कुरामा पनि विविधता हुनु जरुरी छ । तर उनीहरुले खान सक्छन् कि सक्दैनन्, सो कुरालाई ध्यानमा राखी परिमाण र पौष्टिकता अनुरुप उचित मात्रामा व्यवस्था गर्नुपर्छ ।

आजकल बालबालिकाको पोषण स्तरलाई हेर्ने हो भने, एकातिर केही पौष्टिक तत्वहरुको कमीबाट न्यूनपोषणको समस्या देखिएको छ भने अर्कोतिर अधिक पोषण अथवा पोषणमा असन्तुलित भएर आवश्यकता भन्दा बढी मोटाउने अर्थात् बढी तौलको समस्या भएको देखिन्छ । यस प्रकार उनीहरुमा दोहोरो कुपोषणको समस्या भएको पाइन्छ ।

त्यसकारण स्कुल जाने बालबालिकाको दैनिक खाने सबै खाना अर्थात् घरमा खाने तथा स्कुलमा  खाने वा लग्ने टिफिन पोषिलो, सफा एवम् स्वास्थ्यवद्र्धक हुन जरुरी हुन्छ ।प्रायः शहरी क्षेत्रमा अभिभावकहरुको कार्य व्यस्तता, खाना पकाउने समयको अभाव, खाद्य पदार्थ सम्बन्धी विज्ञापनले तयारी खाद्यपदार्थप्रति बढ्दो आकर्षण, बच्चाहरु सबेरै स्कुल जानुपर्ने हुनाले हतार–हतार खानुपर्ने तथा स्कुलबाट फर्केपछि पढाइको बढ्ढो भारले गर्दा धेरै थकाइ लागी खानाप्रति रुचि घट्ने जस्ता समस्याले उनीहरुको पोषणमा प्रतिकूल असर पर्न सक्छ । अर्कोतिर ग्रामीण क्षेत्रमा खास गरी अज्ञानता,आर्थिक विपन्नता, सीमित खाद्यपदार्थको छनोट, देखासिकीले तयारी खाद्यपदार्थ बच्चाहरुको खाजामा दिँदा उनीहरुलाई पनि मन पर्ने र आफ्नो शान पनि बढ्ने भन्ने प्रवृत्ति पाइन्छ । यसले गर्दा बच्चाहरुको पोषण स्तरमा प्रभाव पर्न सक्छ ।

बालबालिकाको भोजन योजना गर्दा ध्यान दिनुपर्ने कुरा

 उनीहरुले खाने मुख्य खानामा ५ खाद्यस मूहमध्ये सकेसम्म ३ समूहबाट उचित परिमाण र प्रकारमा खाद्य पदार्थ समावेश गर्नुपर्छ ।

 स्कुलमा पठाउने खाजामा विविधता र खाद्य पदार्थको रंग पनि फरक–फरक भएमा बालबालिका बढी आकर्षित हुन्छन् ।

 विभिन्न प्रकारका खाद्य पदार्थ टिफिनमा पठाउँदा बच्चाले कति खान सक्छ, सो कुरामा पनि ध्यानदिन जरुरी हुन्छ ।

 भोजनको योजना गर्दा खानाखाने समय पनि व्यवस्थित गर्न सके बालबालिकाले आरामपूर्वक खानाखान सक्छन् ।

 बालबालिकालाई दिने खाना पोषिलो र स्वास्थ्यवद्र्धक हुनुको साथै ठिक्कको टुक्रा हुनुपर्छ । काँक्रो, गाजार, आलु, स्याउ जस्ता फलफूल लामो आकारमा दिँदा बेस हुन्छ भने माछा–मासु मसिनो तथा नरम गरी पकाएर दिन सकिन्छ ।

 स्कुलको खाजामा तयारी खाद्य पदार्थ, फ्राइ गरेको, गुलियो खाद्य पदार्थ प्रयोग नगर्दा बेस हुन्छ ।

 घरमा खाने खानेकुरा बाहेक टिफिनमा पठाउने खाजा फरक–फरक भएमा बढी उपयुक्त हून्छ ।

 खान इच्छा नलागेको समयमा अभिभावकले गाली गरी जबर्जस्ती खुवाउने, खाँदाखेरि एक–अर्कोसित प्रतिस्पर्धा गराई खानदिन जस्ता कार्य गर्नुहुँदैन ।

 अभिभावकले पोषिलो खानेकुरा आफ्नो भोजनमा समावेश गरी देखाउनुपर्छ, जसले गर्दा उनीहरुमा त्यस खानाप्रति रुचि जगाउँछ।

 स्कुलमा बालबालिकाहरुले टिफिन खाँदा मिलेर सँगै खाने हुनाले हरेक अभिभावकले आ–आफ्ना बच्चाको खाजामा पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य पदार्थ समावेश गर्न जरुरी हुन्छ । यसबाट उनीहरुले आवश्यक पौष्टिक तत्वमात्र प्राप्त नगरी सानैदेखि उचित खानाखाने बानीको पनि विकास हुन्छ ।

 अभिभावकले स्कुलमा हप्तैभरि दिने खानाको मेनुबारे जानकारी राख्न सकेमा स्कुलको मेनुमा  नभएका  खाद्य पदार्थ घरको खानामा समावेश गरी उनीहरुको आवश्यकता पूरा गर्न सकिन्छ ।

यस प्रकार बालबालिकाको भोजनको योजना गर्दा खाद्य पदार्थको पौष्टिकता, उनीहरुको रुचि र आवश्यकतालाई ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।सानैदेखि उनीहरुमा  असल खानाखाने बानी र खानाप्रति राम्रो धारणा विकास गर्न सकेमा यसको प्रभाव पछिको जीवनसम्म सकारात्मक हुनसक्छ ।

टिफिनको लागि मिक्स प्यानकेक

आवश्यक सामग्री (४ वटा प्यानेककको लागि)
आटा –१कप
गाजर (कोरेसोमा कोरेको) –आधाकप
दूध – डेढ कप
अण्डा (फिटेको) –१ वटा
बेकिङ पाउडर –आधा चिया चम्चा
बटर –२ टेबल चम्चा
चीज (कोरेसोमा कारेको ) –४ टेबल चम्चा

विधि :

 एउटा भाँडोमा सबभन्दा पहिला आटा र बेकिङ पाउडर मिसाउने ।

 त्यसपछि यसमा गाजर, दूध, अण्डा हालेर ठिक्कको घोल बनाउनुपर्छ ।

 बाक्लो गोलो प्यानमा थोरै बटर तातो गरी यसमा अगाडि तयार गरिएको घोल हाल्ने र प्यानलाई हलुका घुमाई उक्त घोल पातलो गोलो हुने गरी फैलाउनुपर्छ ।

 करिब ३–४ मिनेट मधुरो आँचमा पकाएपछि पल्टाउनुपर्छ ।

 त्यसपछि यस प्यानकेकलाई आगोबाट हटाई माथिबाट कोरेसोमा कोरेको चीज(१ टेबलचम्चा) हालेर रोल गरी सर्ब गर्नुपर्छ ।

 यस प्रकार बनाएको प्यानकेक लामो समय नरम रहने र एउटा प्यानकेकमा माथि उल्लिखित विभिन्न खाद्य सामग्रीको प्रयोग गरिएको हुनाले यसबाट  क्यालोरी,फाइबर, क्याल्सियम,प्रोटिन, भिटामिन प्राप्त गर्न सकिन्छ । बनाउन सजिलो अनिपोषिलो र स्वादिलो हुने भएकाले बालबालिकाको खाजामा राख्नधेरै उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्