स्वास्थ्यका लागि दूध, फाइदा कि बेफाइदा ?



डा. प्रकाशराज रेग्मी

दूधको फाइदा र बेफाइदाको प्रश्न नउठ्नुपर्ने हो । हामी सबैले जन्मेदेखि नै दूध पिउँदै आएका हौं र आमाको दूध पिएर नै बलियो भएका हौं । दूध सात्विक आहारभित्र पर्छ र कैयौं व्यक्तिले दैनिक १–२ गिलास दूध पिउने गर्छन् । केटाकेटी, बूढाबुढी, बिरामी र कमजोर व्यक्तिहरुले शक्ति बढाउन दूध पिउने गर्छन् । भगवान्लाई पनि दूध चढाउने गरिन्छ । यति धेरै राम्रा कुरा हुँदाहुँदै पनि दूधले स्वास्थ्यलाई हानि पनि पुर्‍याउन सक्छ भन्ने बारे प्रायः कसैले सोचेको हुँदैन । दूधका असंख्य स्वास्थ्यवद्र्धक असरहरु हुँदाहुँदै पनि कहिलेकाहीँ दूधबारे प्रश्न उठ्ने गर्छ । दूध नपिउने सल्लाह पनि दिइन्छ । स्वास्थ्यका लागि दूधले दिने फाइदा र बेफाइदा दुवै पक्षलाई केलाएर प्रस्तुत गर्ने प्रयास गरेको छु ।
दूध सम्पूर्ण आहार हो । यसमा प्रशस्त मात्रामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट्स, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फोरस, भिटामिनहरु– डी, ए, बी र अन्य थुपै्र पौष्टिक तत्वहरु पाइन्छन् । शुद्ध दूधले शरीरमा हड्डी, मांसपेशी, नशाहरु, दिमाग आदिलाई धेरै फाइदा पुर्‍याउँछ । यति धेरै स्वास्थ्यवद्र्धक असरहरु हुँदाहुँदै पनि दूध धेरै नपिउने सल्लाह दिइन्छ । र, दूध पिउँदा यसको शुद्धता र मात्रामा ध्यान पुर्‍याउन सावधान गराइन्छ । दूध मात्र भनेर पुग्दैन, दूध नराम्रो पर्‍यो भने यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ । दूधबारे सावधानी हुनुपर्ने त्यस्ता के कुरा छन् ?

हामीले दैनिक जीवनमा धेरैजसो प्रयोग गर्ने दूध भनेको गाई, भैंसी, डेरी र पाउडर दूध हो । यस्तै दूधबाट बनेका परिकारहरुमा दही, मही, खुवा, घिउ, चिज, छुर्पी आदि हुन् । आजका दिनमा हामीले खानाका रुपमा उपभोग गर्ने दूध र दूधबाट बनेका परिकारहरु स्वास्थ्यवद्र्धक छैनन् भन्नेहरु धेरै छन् । दूध बच्चाहरुका लागि मात्र हो, ठूलाले पिउने हैन भन्नेहरु पनि धेरै छन् । वैज्ञानिकहरुले पनि स्वास्थ्यलाई ध्यानमा राखी सावधानीपूर्वक दूध र यसका परिकार खाने सल्लाह दिन्छन् । यसको किसिम र मात्रामा ध्यान पुर्‍याउने सल्लाह उनीहरुको छ । दूधको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरहरु केही महत्वपूर्ण तथ्यहरुमा आधारित छन् ।

हिजोआज पाइने दूधमा मिसावट धेरै छ, प्रशोधन धेरै गरिएको छ, हर्मोनहरु, एन्टिबायोटिकहरु, रसायनहरु मिसिएका छन् । यो नै मुख्य सरोकारको विषय हो । गाई वा भैंसीले दूध धेरै देओस् भनी किसानले गाईभैंसीलाई हर्मोनको सुई लगाउने चलन छ । यसबाट दूधमा एक प्रकारको रसायनको मात्रा बढ्न जान्छ, जसले विभिन्न प्रकारका क्यान्सर रोग लाग्ने सम्भावना हुन्छ । हामीले पिउने दूधमा यस्ता रसायन छ वा छैन भनी जाँच्ने चलन छैन । यसकारण हामीलाई दूधबाट हानि पुग्न सक्छ । अर्को महत्वपूर्ण विषय भनेको गाईभैंसीलाई खुवाउने खाना, घाँसपात, कुँडो आदि हो । यसमा कति विषादी छ, कति रसायन छ ? यसको कसैले लेखाजोखा गर्दैन । गाईभैंसीले खाने खानामा भएका विषादी र रसायनहरु दूधमा पनि रहेका हुन्छन् । यस्तो दूध पिएपछि फाइदा होइन, बेफाइदा नै बढी हुन्छ । यस्तो दूधले हड्डी बलियो बनाउनुको सट्टा कमजोर बनाइदिन्छ । हड्डी भाँच्चिने समस्या बढ्छ । पाचन प्रणाली बिग्रिन्छ । दिमाग, मुटु र मिर्गौलामा असर पार्छ ।

दूधमा पानी मिसाउने कुरा सामान्य हो । यो कुनै इस्यु नै होइन । दूध शुद्ध र रसायनमुक्त छ भने आधा पानी मिसाए पनि यसले बेफाइदा गर्दैन । इस्यु त दूधमा भएको रसायनको हो । दूधलाई अन्य परिकारमा परिवर्तन गर्दा अपनाइने प्रक्रियाको क्रममा यी रसायनहरुमा केही कमी आउँछ । जस्तै– दूधबाट दही, चिज, मख्खन, घिउ, छुर्पी आदि बनाउँदै जाँदा रसायनको मात्रा पनि घट्दै जान्छ र रसायन कमजोर पनि हुँदै जान्छ । यसकारण दूधभन्दा दही राम्रो, दहीभन्दा चिज राम्रो, चिजभन्दा घिउ राम्रो, घिउभन्दा छुर्पी राम्रो मानिन्छ स्वास्थ्यको दृष्टिकोणले ।

दूध पचाउन नसक्नेहरु पनि धेरै छन् । दूधमा ल्याक्टोज नामक कार्बोहाइड्रेट हुन्छ । धेरै मान्छेमा ल्याक्टोज नपच्ने समस्या हुन्छ, जसलाई ल्याक्टोज इन्टोलरेन्स भनिन्छ । दूध खायो कि पेट पोल्ने, पेट ढुस्स हुने, फुल्ने, पखाला चल्ने जस्ता लक्षण देखियो भने बुझ्नुपर्छ कि दूधमा भएको ल्याक्टोज पचेन । यस्ता मान्छेले दूध पिउन हुँदैन । यस्तै प्रकारले दूधमा क्याजेन नामक प्रोटिन हुन्छ, जसले धेरै मान्छेलाई एलर्जी गराउँछ । यदि एलर्जी भएमा दूध पिउनेबित्तिक्कै जीउ चिलाउने, सास फेर्न गाह्रो हुने, रक्तचाप घट्नेजस्ता लक्षण देखिन्छन् । कडा खालको एलर्जी भयो भने मृत्युसमेत हुन सक्छ । यसकारण दूध खाएपछि छाला चिलाउने र दम फुल्ने भएमा कहिल्यै पनि दूध र दूधबाट बनेका परिकार खानुहुँदैन ।

अब पाउडर दूधबारे केही कुरा गरौं । झोल दूधलाई उमालेर, सुकाएर अनि त्यसमा पौष्टिक तत्वहरु मिसाएर पाउडर दूध बन्छ । शुद्ध झोल दूधबाट राम्रो पाउडर दूध बन्छ, रसायन मिसिएको झोल दूधबाट बनेको पाउडर दूध पनि रसायनले नै भरिएको अस्वस्थकर हुन्छ । दूधलाई पाउडर बनाउँदा यसको चिल्लो पदार्थमा भएको कोलेस्टेरोल अक्सिडाइज्ड भएर खराब कोलेस्टेरोल बन्छ । यस कारण पाउडर दूध कोलेस्टेरोलका हिसाबले र त्यसमा मिसाइएका रसायनका हिसाबले स्वास्थ्यवद्र्धक मानिदैन । दूधबारे यति धेरै विवरणहरु प्रस्तुत गरेपछि अब दूध पिउने वा नपिउने बारे मेरो सल्लाह–सुझाव यसप्रकार रहेको छ ।

१. शुद्ध गाईको दूध खोजौं । हर्मोनको सुई नलगाएको, विषादी मिसिएको आहार नखुवाएको गाईभैंसीको दूध पिउनका लागि उत्तम छ ।

२. राम्रो दूध दैनिक २ गिलास (४०० देखि ५०० मिलिलिटरसम्म) मात्र पिउने गरौं । यसभन्दा धेरै दूधले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । यसका प्रशस्त वैज्ञानिक आधारहरु छन् ।

३. ल्याक्टोज इन्टोलरेन्स भएकाहरुले दूध पिउन छाडौं ।

४. दूधमा एलर्जी भएकाले दूध वा दूधको कुनै पनि परिकार नखाऔं ।

५. दूधले हड्डी बलियो बनाउँछ भन्ने वैज्ञानिक आधार छैन । यसकारण हड्डी बलियो बनाउन हरियो सागपात, फलफूल, गेडागुडी, अण्डा आदि खाने गरौं र प्रशस्त हिँडडुल, व्यायाम गरौं ।

६. बच्चालाई आमाको दूध खाने उमेर पुगेपछि पाउडर दूधको सट्टा दालको रस, तरकारीको सूप, लिटोजस्ता आहार खुवाउने गरौं ।

७. वयष्कका लागि दूध पिउनै पर्ने आहार होइन । मिसावटै मिसावट भएको आजको युगमा दूधको सट्टा अन्य विकल्पको खोजी गर्नु बेस होला ।

प्रतिक्रिया दिनुहोस्