औंसी-पुर्णे रोग : भ्रम एवं वास्तविकता



डा. अजय रिसाल (मानसिक रोग विशेषज्ञ) ।

‘यसलाई त औंसी–पुर्णे हुने हो । धेरै वर्ष भइसक्यो । एक पक्षज्यादै खुशी हुन्छे, भएभरको खर्च गर्न थाल्छे । संन्यासिनीले जस्तो मन्दिर–मन्दिर चहार्छे, सातै दिन व्रत बस्छे, घर–व्यवहारको केही मतलब गर्दिन । फेरि केही हप्ता ठीकै जस्तो पनि हुन्छे । अर्को  पक्षओछ्यानैमा लडेर दिन बिताउँछे । बिना सित्तीमा रोइदिन्छे । बाँच्न मन लाग्दैन भन्छे । केही कामधाममा जाँगरै लाउँदिन । यस्तै हो यसको स्वभाव भनेर नीच मारिरहेको थिएँ । उत्ता उलिएर खर्च गर्ने गरेकोले धेरै नै ऋण पर्‍यो । अनि कहिलेकाहीँ त मरिदिन्छु भनेर पासो नै लगाउने समेत गर्न थाली । यस्तो पनि रोग हुन्छ र ? जस्तो लाग्याथ्यो । अस्ति काठमाडौंबाट आएको छोराले यो सब त रोग हो, डाक्टरलाई देखाउनुपर्छ भनेर ज्यादै कर गरेर अहिले यसलाई देखाउन ल्याएको डाक्टर साब !’

कोशी पारिको एउटा माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षकले आफ्नी ४० वर्षकी श्रीमतीलाई लिएर हाम्रो ओपिडीमा आए । साथमा थिए ती दम्पतीका माहिँला छोरा । काठमाडौंमा सानो पसल गरेर जीविका चलाउने ती २५ वर्षीय छोराले कतै पत्रिकामा ‘बाइपोलार डिस्अर्डर’ का बारेमा पढेका रहेछन् । त्यहाँ गरिएको व्याख्या र आफ्नी आमाका लक्षणहरुमा केही समानता पाएकोले करै गरेर ल्याएका रहेछन् अस्पतालमा ।

करिब २५ वर्षको दाम्पत्य जीवनमा ती शिक्षकले आफ्नीे श्रीमतीमा विगत २० वर्षयताका समयमा पक्ष–पक्षमा जस्तो देखा पर्ने विपरीत किसिमका लक्षणहरु खुट्याउन सकेका रहेनछन् । लामो समय लागाएर हामीले तीदुवैसँग कुराकानी गरेपछि भने तिनका लक्षणहरु लिपिबद्ध गर्न सकिए । १५ वर्षकी निरक्षर शर्मिलालाई २५ वर्ष अघि २० वर्षीय महेशले धार्मिक विधिबाट मागी विवाह गरेका रहेछन्। बिहेको ५ वर्षपछि २० वर्षको उमेरमा शर्मिलाले जेठो छोरो जन्माएकी रहिछन् । सुत्केरी भएको करिब १ महिनापछि तिनमा ‘ज्यादै खुशी हुने, धेरै बोल्ने, पूजापाठमा ज्यादा समय बिताउने, खर्चमा नियन्त्रण गर्न नसक्ने, अपरिचितहरुलाई पनि घरमा डाकेर खानपान गराउने, राति नसुत्ने’ जस्ता लक्षणहरु देखिएछन् । करिब १ महिनापछि भने ती सबै लक्षणहरु आफसे आफ हराएछन् । त्यसैले तिनले यसको त्यति मतलब पनि राखेन छन् ।

करिब २ वर्षपछि जेठो छोरो अकस्मात् बिरामी भएर लामो समय अस्पताल भर्ना गर्नुपरेछ । त्यो बेलामा शर्मिलामा ‘एकोहोरो हेरिरहने, विनाकारण रुने, राति अनिदो रहने, दुखित भइरहने, मरौं–मरौं लाग्ने’ जस्ता लक्षणहरु देखा परेछन् । ज्यादै समस्यामा परेपछि तिनीहरु धामी कहाँ पुगेछन् । धामीले केही पूजापाठ गरेपछि (?) करिब २ हप्ता जतिमा ती लक्षणहरु हराएरै गएछन् ।

सामान्य अवस्थामा आफ्ना काम गर्न थालेकीले घर–परिवारले तिनका लक्षणहरुमा त्यति वास्ता गर्न छाडिदिए छन् ।
त्यसकोे एक वर्षपछि गर्भवती भएकी तिनमा पुनःनिराशाका लक्षणहरु देखिन थालेछन् । २ हप्ता जति त्यस्ता लक्षणले तिनलाई असर पुर्‍याएछ । छोरो जन्मेपछि भने केही समय ती सामान्य अवस्थामा नै पुगिछन् । तर छोरो ३ महिनाको हुँदा फेरि तिनमा‘ अत्यधिक खुशी हुने, चाडबाड तडकभडक गरी मनाउने, नयाँ–नयाँ सामान, लुगाफाटा किन्ने, अ‍ैंचोपैंचो गरेर भएपनि धेरै पैसा खर्च गर्ने’ जस्ता लक्षण देखा परेछन् । घर–परिवारमै असर पार्ने त्यस्ता क्रियाकलापले झन्डै ती दम्पती पारपाचुके नै गर्ने अवस्थामा पुगेछन् । तर केही हप्तामा तिनको अवस्था सामान्य भएछ ।

यसरी २० वर्षयता यस्ता विपरीत किसिमका व्यावहारिक लक्षणहरु धेरै पटक हुने र निको हुने गर्न थालेपछि महेशले यसलाई औंसी–पुर्णे लागेको भनेर मतलब नै गर्न छोडिदिएछन् । यसबीचमा तिनका थप एक छोरा अनि अर्की छोरी पनि भएछन् । तथाकथित औंसी–पुर्णे लागेको समय बाहेकका समयमा शर्मिलाले सामान्य अवस्थामा नै रहेर घर–परिवार चलाउने गरेकाले थप पारिवारिक समस्या भने हुन पाएनछ । छोराछोरीले पनि आमाको व्यवहारलाई सहज रुपमा नै लिने गरेछन् ।

कुराकानी अझ विस्तृत रुपमा गरेपछि थाहा भयो कि शर्मिलाकी आमामा पनि त्यस्तै समस्या  भएको रहेछ र तिनले ४ वर्षअघि आत्महत्या नै गर्न पुगेकी रहिछन् । तिनको दिदीमा पनि त्यस्तै लक्षण रहने गरेको बुझियो । तर कसैले पनि डाक्टर कहाँ औषधोपचार भने गरेका रहेनछन् ।

उपरोक्त घटनाकी पात्र शर्मिला वास्तवमा बाइपोलार डिस्अर्डरकी रोगी हुन् । जनमानसमा औंसी–पुर्णे लागेको भनेर नजर अन्दाज गरिएका उनी जस्ता रोेगीहरु थुप्रै छन् । माथि उल्लेख भएझैँ नै हुन्छन् यस रोगका लक्षणहरु । मनस्थितिको उथलपुथल नै लक्षणका रुपमा प्रस्फुटित हुने गर्दछन् । तनावजन्य अवस्थामा लक्षणहरु अझ बढी देखिन्छन् । मन प्रफुल्ल रहेको अवस्थामा पूर्णिमाको जूनझैँ जीवन उज्यालोजस्तो प्रतीत हुन्छ । दिमागमा नयाँ–नयाँ योजनाहरु बन्न थाल्छन् । खर्च निस्फिक्री गर्न मन लाग्छ । काम गर्दा थकाइ लाग्दैन । राति निद्रा मारेरै पनि काम गर्न सकिन्छ । निद्राको आवश्यकता नै पर्दैन । यो अवस्थालाई ‘म्यानिया’ भनिन्छ । कहिलेकाहीँ मनस्थितिमा सामान्य सकारात्मकता छाएको बेला लेखन, चित्रकला जस्ता सिर्जनात्मक काममा लागेर रचनात्मक क्षेत्रमा अगाडि बढ्न पनि सक्छन् बिरामीहरु । अन्य हानि नभई अलिकति उद्देश्यतर्फ लागेका कार्यहरु गर्ने अवस्थालाई ‘हाइपोम्यानिया’ भनिन्छ, जसले खासै क्षतिभने गराउँदैन । म्यानियाले भने कहिलेकाहीँ व्यक्तिमा उत्तेजना, यौन चाहना अनि तीव्र उत्साह बढाउँदा रोगीले सामाजिक दायित्वहरु समेत भुलेर समाजलाई अनुपयुक्त किसिमका कार्यहरु गर्ने, झगडा–तोडफोड गर्ने समेत सम्भावना रहन्छ । त्यस्तो बेलामा मानसिक वार्डमा  भर्ना नै गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

त्यस्तै विपरीत नै जस्तो ध्रुवमा ‘डिप्रेसन’ देखा पर्दछ । यसमा औंसीको रातमाझैँ जीवन अन्धकारमय लाग्ने गर्दछ । उदासीपन हुने, मर्ने इच्छा हुने, निद्रान लाग्ने, थकान हुने, काम गर्ने जाँगरमा कमी जस्ता लक्षणहरु पाइन्छन् । कहिलेकाहीँ नकारात्मक विचारहरु यति प्रबल हुन्छन् कि मानिसले आत्महत्याकै बाटो रोज्ने गर्दछ ।

यसरी विपरीत किसिमका लक्षणहरु आलोपालो या समय–समयमा दोहोरिइरहने गर्दछ यस रोगमा । विश्वभरि करिब १ प्रतिशत जनसंख्यामा पाइने यो रोग निको नै नहुने भने होइन । डायबेटिज वा ब्लडप्रेसरका रोगीहरुले झैँ नियमित औषधि सेवन गरेमा यो रोग नियन्त्रणमा नै रहने गर्दछ । अनिम्यानिया या डिप्रेसन जस्तो एकदमै अप्ठ्यारो अवस्थामा पुग्न पाउँदैन ।

जसरी डायबेटिजका रोगीहरुले इन्सुलिनवा रगतमा ग्लुकोजको मात्रा घटाउने औषधि नियमित रुपमा करिब–करिब आ-जीवन नै खाएर रगतमा ग्लुकोजको सन्तुलन मिलाइरहनु पर्छ अनि जसरी ब्लडप्रेसरको बिरामीले औषधि खाई रक्तचाप नियन्त्रणमा राखेर आँखा, मुटु, मृगौलामा असर नगर्ने अवस्थामा रहनुपर्छ, त्यसरी नै मनस्थितिलाई अत्यधिक खुशी या अत्यन्त नै दुःखी रहन नदिनका लागि अनिमनलाई सामान्य अवस्थामा नै कायम राखिरहनका लागि बाइपोलार डिस्अर्डरमा पनि ‘मुड स्टाबिलाइजर’ औषधिको आवश्यकता पर्छ ।

हामी मनोचिकित्सकहरुले यसरी नै यस रोगलाई ब्लडप्रेसर या सुगरजस्ता सामान्य शारीरिक रोगहरुसँग तुलना गरेर मनोरोगीहरुको लोकलज्जानिवारण गर्ने अनि बाइपोलार डिस्अर्डरमा नियमित औषधि सेवनको आवश्यकताका बारेमा चेतना दिने प्रयास गर्दछौं ।
बाइपोलार जस्तो करिब–करिब आजन्म नै औषधि उपचारको आवश्यकता पर्ने रोगमा ‘मुड स्टाबिलाइजर’ औषधिसँगसँगै बिरामी एवं बिरामीका पक्षलाई यस रोगका बारेमा शिक्षा प्रदान गर्न मनोवैज्ञानिक प्रयासहरु पनि महत्वपूर्ण रहन्छ ।

अतः ‘औंसी–पुर्णे लागेको’मानेर दुई दशकसम्म मानसिक रोगका कारण दुःख पाएकी शर्मिला र उनको जस्तो लक्षण भएका अरु व्यक्ति र तिनका परिवारलाई पनि‘यो एक किसिमको मानसिक रोग हो, जुन नियमित औषधोपचारले निको हुन्छ’ भन्ने चेतना दिने प्रयासमा हामी मनोचिकित्सकहरु डटेर लागेका छौं । हेरौं, हाम्रो प्रयासले कत्तिको सार्थकता लेला?

प्रतिक्रिया दिनुहोस्