उच्च रक्तचाप र यौन



हिक्मत डंगोल ।

४० वर्षीय जेफ विलियमलाई तनाव र उच्च रक्तचापको रोग थियो । डाक्टरले उनलाई रोग नियन्त्रणका लागि औषधि दिए । केही दिनपछि उनलाई यौन इच्छा कमी भएको महसुस हुन थाल्यो । उनी फेरि डाक्टरलाई भेट्न पुगे । डाक्टरले तत्कालै पहिलो औषधि बन्द गरिदिए ।

औषधि बन्द गर्नेबित्तिकै उनको यौनशक्ति फेरि फर्केर आयो । तर रक्तचापको समस्या फेरि बल्झिन पुग्यो । डाक्टरले अर्को औषधि लेखिदिए । त्यसपछि रक्तचाप कमी भयो तर यौन इच्छा पुनः लुप्त भयो । यस किसिमको समस्याले उनलाई ठूलो आघात पार्‍यो । जेफ फेरि डाक्टरलाई भेट्न गए र आफ्नो समस्या बताए । त्यसपछि डाक्टरले पुनः औषधि बदलिदिए । यसपालि जेफ विलियमको रक्तचापको समस्या पनि हरायो र यौनशक्तिमा पनि कमी आएन ।

अमेरिकाकी यौनविद् डा. शिला फिलेन्ड भन्छिन्, ‘बजारमा भएका कैयौँ औषधिले यौन विकार पैदा गर्न सक्छन् । तर प्रायजसो डाक्टर यी औषधिले यौनक्षमतामा पार्न सक्ने असरबारे नहेरी त्यसै लेखिदिन्छन् । यी औषधिले बिरामीको यौनक्षमतामा महिनौं मात्र नभई वर्षौंसम्म प्रभाव पारिदिन सक्छन् । केही यस्ता औषधिहरु पनि छन्, जुन आममानिस डाक्टरको सल्लाहविना नै आफैं पसलबाट औषधि किनेर खाने गर्छन् । उदाहरणका लागि– क्लोडिन, अल्फा नियाइल, रेसजिन आदि औषधिले यौन इच्छामा कमी ल्याउँदै छन् । यिनीहरुले शरीरमा प्रोलेक्टिन नामको पदार्थको मात्रा बढाइदिन्छन्, जसबाट पुरुष नपुंसकताको सिकार हुन जान्छ ।’

अहिलेको आधुनिक शैलीको जीवनमा रक्तचापको समस्या हुनु स्वाभाविक कुरा हो । उच्च रक्तचापको कारणले यौनशक्तिमा कमी आउँछ । आजकल धेरैजसो व्यक्ति शारीरिक परिश्रम नगर्ने, चिन्ता–तनावमा रहने, मसला तथा बढी चिल्लोयुक्त खाना खाने, खानामा नूनको मात्रा बढी प्रयोग गर्ने गर्छन् । यसो गर्नाले उच्च रक्तचापको समस्या निम्त्याउने सम्भावना धेरै नै हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार रक्तचापको समस्याले अरुचि, शीघ्रपतन या नपुंसकताको समस्या उत्पन्न गराउँछ । लामो समयसम्म रक्तचाप भएमा हृदयघात पनि हुन सक्छ ।

यौनको समयमा रक्तचाप

अमेरिकी चिकित्सक डा. टेरिसा क्रेनसा भन्छिन, ‘रक्तचाप सधैँ एकनास हुँदैन । रिसाउँदा, डराउँदा र मानसिक तनाव हुँदा रक्तचाप बढ्न जान्छ । अझ यौनसम्पर्कको बेला मुटुको गति ८० बाट बढेर १००–१२० सम्म पुग्छ । जबकि पूर्ण यौनसन्तुष्टि पाउनका लागि रक्तचाप १३० देखि १६० सम्म पुग्छ । यौनसम्पर्क गर्ने बेलामा यौन अंगलाई धेरै रगतको आवश्यकता पर्दछ । तसर्थ मुटुको गति र रक्तचाप अति बढ्ने गर्छ ।’

डा. टेरिसा भन्छिन्, ‘रक्तचाप उच्च हुँदा लिंग शिथिल हुन्छ । यौन इच्छा जागृत हुँदा मस्तिष्कले लिंगलाई सन्देश पठाउँछ, जसले गर्दा लिंग कडा भएर आउँछ । तर रक्तचापको समस्या भएमा यो कार्य प्रभावकारी हुँदैन । जसले गर्दा लिंगको उत्थानमा कमी भई यौनसुखको अभाव हुन्छ र असन्तुष्टि उत्पन्न हुन्छ । यसबाहेक वीर्य स्खलनपछि लिंगमा पुनः उत्थान आउन निकै समय लाग्ने गर्छ ।’

उच्च रक्तचापको प्रभाव

उक्त रक्तचाप भएका व्यक्तिले धेरै प्रकारका यौन समस्याको सामना गर्नुपर्दछ । उच्च रक्तचापको कारणले पर्याप्त मात्रामा लिंग उत्थान हुन पाउँदैन । यसै कारणले गर्दा यौनमा अरुचि बढ्न जान्छ । यससम्बन्धमा डा. रिड मस्कट भन्छन्, ‘रक्तचापको कारणले एडेलिन हर्मोनको स्तर बढ्ने र एसिटिलकोमिन नामक रसायनको कमी हुन्छ । यसले गर्दा नाइट्रिक अक्साइड सिन्थेज नामको रसायनको निर्माणमा कमी हुन्छ, जसले गर्दा फ्री टेस्टोस्टेरोनलाई प्रेरित गर्ने एन्ड्रोजन हर्मोनको कमी हुन्छ । यस कारणले रक्तवाहिनीहरु संकुचित हुन्छन् र लिंगमा पर्याप्त मात्रामा रक्तप्रवाह नभई यो पूरै उत्थान हुन सक्दैन ।’

उच्च रक्तचाप नियन्त्रण

उच्च रक्तचापको रोगले यौनशक्तिमा कमी ल्याउँछ । यसमा यौनविद् डा. टमी लु भन्छन्, ‘लामो समयसम्म रक्तचापको सिकार भएमा यौन इच्छाको कमी, वीर्यका परिमाणमा गिरावट, लिंगको उत्थानमा कमी आदि लक्षण देखिन्छन् । सर्वप्रथम त रोगीले खानपिनमा परिवर्तन ल्याउनु जरुरी छ । उच्च रक्तचाप निकै बढ्दा हृदयघातको सम्भावना पनि बढ्छ । उच्च रक्तचाप भएको मानिसले चुरोट, खैनी आदिको सेवन गर्नुहुँदैन र सेवन गर्ने आदत भए तत्कालै बन्द गरिदिनुपर्छ । रोगीले कोलेस्ट्रोल कम गर्ने आहाराको सेवन गर्नुपर्छ । नूनको मात्रा घटाउनुपर्छ ।’

उच्च रक्तचापको औषधि

‘उच्च रक्तचाप नियन्त्रण गर्ने केही औषधिले यौनक्षमतालाई नराम्ररी प्रभावित गर्ने हुन्छ । अमेरिकामा गरिएको एक अनुसन्धानले रक्तचाप नियन्त्रण गर्नको लागि प्रयोग गरिने लिसिनोप्रिल र एटेनोल आदिको सेवनले पुरुषको यौनक्षमतामा कमी ल्याउँछ । तर रक्तचापमा प्रयोग गरिने क्याप्टोप्रिल आदि औषधिले यौनक्षमतालाई प्रभावित गर्दैन’, यौनविद् डा. डगलस मिथ भन्छन् । डगलसका अनुसार यदि औषधिको कारणले गर्दा यौनक्षमता प्रभावित भयो भने आफ्नो डाक्टरलाई अवश्य बताउनुहोस् । आफ्नै इच्छाले औषधि किनेर नखानुहोस् । औषधि लिँदा डाक्टरको सल्लाहमा नै लिनुहोस् ।

स्रोत : हेल्थ एन्ड न्युट्रिसन

प्रतिक्रिया दिनुहोस्