डा. रामदेव पण्डित ।
हिजो आजका मानिसको खानपिनको शैली बदलिएको छ । हुने खाने वर्गका मानिसहरु जिब्रोका लागि स्वादिलो, आँखालाई आकर्षक, नाकलाई बास्नादारर उत्तेजित बनाउने खानाखान मन पराउँछन् । हुँदा खानेहरुले भोक मार्नका लागि जे पनि खाने गरेको पाइन्छ । पेट भर्नका लागि उनीहरुले ढिँडो, गुन्द्रुक, मस्यौरा, चाउचाउ, चाउमिन, दालमोठ, चिउरा, मकै आदि उपभोग गर्ने गरेको पाइन्छ ।
आजका बालबालिकालाई पनि घरको भन्दा होटल रेस्टुरेन्टको खाना बढी मन पर्ने गर्छ । उनीहरुको नास्ता, दिवाखाजा र रमाइलो खाजा भनेको चकलेट, बिस्कुट, चाउचाउ, चाउमिन, ममः, समोसा, पकौडा, लाफिङ, पानीपुरी, चटपटे, तितौरा आदि हुने गरेको पाइन्छ ।
पानीमा उमालेको भन्दा तेलमा तारेको, पकाएको भन्दा भुटेको, सादा भन्दा मसालेदार खानाप्रति बच्चादेखि युवा र यहाँसम्मकि वृद्धवृद्धाहरु पनि अभ्यस्त बन्दै गएका छन् । मौसम अनुसारको प्राकृतिक फलफूल, हरियो सागसब्जी र घरमै पकाएको खानाखाने चलन हराउँदै गएको छ ।
भागदौडको जिन्दगीमा मानिसहरुसँग खाने समयको टुङ्गो देखिन्न। कहिले १० बजे खाना खान्छन् त किहले ३ बजे,कहिले खानै भ्याउँदैनन् । कहिले भोक नलागे पनि खाने र कहिलेकाहीँ अत्यधिक भोक लाग्दा पनि खाने समय नहुने गरेको पाइन्छ । दिनको शुरुवात सेतो चियावा कफीबाट हुन्छ भने रातको शुरुवात मदिराको चुस्कीबाट । साथै चुरोट, खैनी, गुट्खा आदिको लतले धेरै पीडित छन् ।
कतिखाने भन्ने विषयमा पनि मानिसहरु सचेत देखिन्नन् । पाए जति पनि खाने र नपाए भोकै निदाउने पनि गर्दछन् । कुन खानामा के मिसाएर पकाउने वा के खाँदा के नखाने भन्ने विषयको होस पनि धेरैलाई भएको पाइन्न ।
के सोच्ने, के नसोच्ने भन्ने विषय अहिले मानिसहरुको नियन्त्रणमा अलिकति पनि छैन । प्रायः मानिसमा मानसिक तनावसँगको सम्पर्क अत्यधिक बढेको पाइन्छ । जसका कारण शरीर भित्र अत्यधिक र अनियन्त्रित रुपमा ग्रन्थिहरु सक्रिय भई खराब रसायनहरु उत्पन्नभई पेटलाई असर गरिरहेको पाइएको छ ।
यी तमाम कारणले गर्दा मानव पेट मसान घरमा परिणत भइरहेकोे छ । यस्तो परिस्थितिमा पेटले सही रुपमा कार्य गर्न नसक्नु स्वाभाविक हो । फलतः अम्लपित्त (एसिडिटी) रोग अहिलेको सामान्य रोग बनेको छ । अम्लपित्त रोगको समस्या हिजोको दिनमा यति विधि थिएन । तर समय र जीवनशैलीको बदलावसँगै अहिले अम्लपित्त पनि ग्यास्ट्रिकजस्तै आमरोग बन्ने क्रममा छ ।
आधुनिक चिकित्सा विज्ञानमा अम्लपित्तलाई ग्यास्ट्रो ओइसेफेजियल रिफ्लक्स डिजिज (जर्ड) भनिन्छ । पश्चिमा जगत्मा १७ देखि ३८ प्रतिशत जनसंख्यामा प्रतिहप्ता कम्तीमा एकपटक जर्ड (अम्लपित्त) को लक्षण देखिन्छ ।
अम्लपित्त अम्ल र पित्त मिलेर बनेको शब्द हो । यो पाचन प्रणालीको एक स्वास्थ्य समस्या हो । अर्थात्पाचन क्रियामा संलग्न हुने रसमा अम्लीयता बढ्नु अम्लपित्त हुनु हो । आयुर्वेद अनुसार ‘अम्लं च पित्तम् अम्लपित्तं’ अर्थात् पित्तअम्लीय हुनु अम्लपित्त हो । आमाशयमा पुगेको आहार पाचन शक्तिक मजोर हुनाको कारण अम्लीयहुने अवस्थालाई अम्लपित्त भनिन्छ ।
अपच, विना कारण थाक्नु, वाकवाक आउनु, मुखमा अमिलो डकार आउनु, घाँटी र छातीमा जलन हुनु र अरुचियी ६ वटा लक्षणलाई आयुर्वेदको बहुचर्चित शास्त्रमा धवनिदानमा अम्लपित्तको सामान्य लक्षणको रुपमा उल्लेख गरिएको छ ।
लक्षणहरु
चिकित्सा विज्ञानका अनुसार छाती पोल्ने, पटक–पटक अमिलो डकार आउने, मुखमा अमिलो पानी आउने, पेट दुख्ने, जीउभारी हुने, कलेजो पोलेजस्तो महसुस हुने, वाकवाक आउने, अमिलो पानी उल्टी हुने, घाँटीमा जलन हुने, कब्जियत हुने आदि अम्लपित्तका लक्षणहरु हुन् ।जिब्रो बाक्लो हुनु, मुख तथा घाँटी सुक्नु, तिर्खा लागिरहनु पनि यस रोगमा देखिने लक्षणहरु हुन् ।
कारणहरु
अधिक तातो पदार्थ, अधिक पिरो, मसालेदार खानाखानाले अम्लपित्तको समस्या आउन सक्छ । त्यस्तै समोसा, कचौरी, पकौडा, तारे/भुटेको खानेकुराले पनि यो समस्या निम्त्याउन सक्छ । अधिक मासु खानु, आधा पाकेको मासु खानु, पुरानो अचार, फ्रिजको दही, तित्री, रक्सी, चिया, कफी, सुर्ती, गुट्खा, चुरोट आदिको अधिक मात्रमा सेवन गर्नाले अम्लपित्त हुन्छ ।
यसै गरी लामो समय भोकभोकै बस्नु, समयमा नखानु तथा दिसा–पिसाबको वेग रोक्नुले पनि अम्लपित्त जन्माउँछ । चिन्ता गर्नाले, रिस गर्नाले, निद्रा नपुग्नाले, एस्प्रिन जस्तो दुखाइ हटाउने औषधि लामो समयसम्म खानाले, मानसिकतनाव धेरै समयसम्म हुनाले पनि अम्लपित्त हुने हुन्छ ।
गतिको हिसाबले अम्लपित्त दुई प्रकारको मानिएको छ । ऊध्र्वग् अम्लपित्त र अधोग् अम्लपित्त । अधोग् अम्लपित्तकमै मात्रामा भेटिन्छ ।
उपचार
अम्लपित्त जीवनशैलीगत रोग भएकोले यसको कुनै निश्चित उपचार छैन । अम्लपित्तको कारणहरुलाई हटाउनु नै अम्लपित्तको उपचार हो । कारणहरु हटाउनु भनेको नै आहार,विहार र विचारमा परिवर्तन ल्याउनु हो । अम्लपित्त रोगहोइन, यो केवल जीवनशैलीको विकृतिले उत्पन्न एक अवस्था मात्र हो ।
आहारको व्यवस्थापन
हलुका सुपाच्य खाना जस्तै–उसिनेको चामलको भात वा जाउलो, मुगको दाल र सब्जीमा परवर, करेला, कुरिलो, काँक्रो, लौका,मूला, सलगम, कागती आदि खान सकिन्छ । दैनिक रुपमा रायो, बेथे, लट्टे, तोरी, चम्सुर, पालुङ्गो, मेथी, सुप आदिको साग खाने गर्नुपर्छ । हरियो धनियाँ विशेष रुपमा समावेश गर्नुपर्छ । समग्रमा तितो रस भएको खानपिन हितकारी मानिएको छ ।
दूध, ताजा दही वा मही, मख्खन, नौनी घिउ पनि हल्का खान सकिन्छ । खाजामा जौ वा चनाको सातु, साबुदाना, हलुवा आदि खान सकिन्छ । नास्तामा अमला, केरा, स्याउ, अंगुर, गाजर, अनार, खर्बुजा, सुन्तला आदि मौसमी पलफूल खान सकिन्छ।
नरिवलको पानी तथा काँचो नरिवल आदि पनि लाभदायक हुन्छ । बिहानखालि पेटमा एक–दुई गिलास पानी पिउनुपर्छ ।अमलाको धूलो एक कपदूधसँग बिहान–बेलुका खानाखाइसकेपछि खान सकिन्छ ।
के नखाने ?
ढिलो पच्ने, अधिकचिल्लो, अधिकपिरो, अमिलो, नुनिलो, मसालेदार भोजन खानुहुन्न ।अधिक तातो तथा चिसो खानेकुरा खानुहुन्न । उत्तेजक पदार्थ चिया, कफी, मदिरा, चुरोट, खैनी आदि खानुहुन्न। मैदायुक्त खाद्यपदार्थ पिज्जा,बर्गर, ममः, चाउमिन, समोसा, दालमोठ, बेकरी आदि खाद्य वस्तुहरु प्रयोग गर्नुहुन्न । प्याक्ड, क्यान्ड खाना एवं फ्रिजको खानापनि छोड्नुपर्छ । नयाँअन्न, बेमौसमी खाना खानुहुन्न ।
मानसिकता व्यवस्थापन
एकैपटक धरै काममा हात हाल्नुहुन्न । भय र रिसलाई सम्यक रुपमा घटाउँदै जानुपर्छ । चिन्ता र हडबडाहटलाई घटाउनुपर्छ । ध्यानको अभ्यास गर्ने, संगीत सुन्ने बानी गर्नुपर्छ ।
आनिबानी व्यवस्थापन
बिहानै उठेर खालि पेटमा नियमित रूपमा २–३ कि.मि. घुम्न जानुपर्छ । ३० देखि ४५ मिनेट दैनिक रुपमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ । दैनिक स्नान गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा पानी आपूर्ति गर्नुपर्छ । दिउँसो सुत्नुहुन्न । दुखाइ हटाउने औषधिहरु खान छोड्नुपर्छ । धेरै समयसम्म खालि पेट बस्नुहुन्न ।राति अबेरसम्म जाग्नुहुन्न । मात्रा मिलाएर समयमै खाने बानी गर्नुपर्छ । कुन खानामा के मिसाएर खाने भन्ने विषयमा जानेर मात्र खाना तयार गर्नुपर्छ ।
पेट फुल्ने तथा दुख्ने भएमाः मन तातो पानीको सेवन, ज्वानोको सुप, हिङको पानी, पुदिना, धनियाँ खानुपर्छ । त्यस्तै, सुकाएको अदुवाको धूलोलाई पानी र धनियाँ सित मिसाएर खाएमा समस्याबाट तत्काल राहत पाउन सकिन्छ । मह, मूला, सख्खर, गुर्जोको लहरो रातभरि भिजाएर खाएमा राहत मिल्छ ।
विशेषउपचार : कुञ्जल क्रिया गर्ने (नून–पानी पिएर वाक्ने) । कब्जियत खुलाउन एनिमा (गुदद्वारबाट पानी प्रवेश गराएर ठूलो आन्द्रा सफा गर्ने) गर्ने । विरेचन (औषधिद्वारा पखाला लगाउने) गर्नुपर्छ । पेटमाथि चिसो पट्टी लिने । सधैँ पूरै शरीर तेलले मालिस गर्नुपर्छ । यसले नाडीको उत्तेजना शान्त गर्दछ । नरिवल–पानी, मिश्री–पानी वा मन तातो दूध दिनको ३–४ पटक पिउनुपर्छ । जडीबुटीहरु जस्तै–अमलाको रस, जमराको रस, घिउकुमारीको गुदी, कुरिलो, कुभिण्डो, गुडुचीको रस, त्रिफला, मुलेठी, जेठिमधु, ल्वाङ, तेजपात, पुदिना, धनियाँ आदिको सेवन गर्नु लाभदायक हुन्छ ।