कोभिड १९ र यौनजीवन



डा. राजेन्द्र भद्रा ।

म ३० वर्षकी विवाहित महिला हुँ । मेरो श्रीमान् काठमाडौंमा काम गर्नुहुन्थ्यो भने म चितवनमा घरमा बसेकी थिएँ । अहिले कोरोनाको कारणले बन्दाबन्दी शुरु भएपछि श्रीमान्को कारखानामा काम नभएको हुनाले चितवन आउनुभएको छ । उहाँले यौनसम्पर्कमा बढी नै रुचि देखाउनुभएको छ । एक किसिमले यो राम्रो लागेको छ । केही दिनदेखि उहाँलाई खोकी लागेको छ । कोराना हो कि होइन, कसरी थाहा पाउने ? मान्छेको नजिक हुँदा नै कोराना भाइरस सर्छ भन्छन् । यस्तो बेलामा यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ? जानकारी भए आभारी हुने थिएँ ।
– अनिता, चितवन

हामी सबैलाई थाहा भएको कुरा हो कि कोरोना भाइरस (विषाणु) वा भनौं कोभिड–१९ रोगको महामारी विश्वभरि नै फैलिएको छ र सारा मानवजगत् नै यसबाट आक्रान्त छ । नेपाललगायत कतिपय देशमा बन्दाबन्दी (Lockdown) लागू गरिएको छ । नेपाल कोभिड–१९ रोगको दोस्रो चरणमा पुगिसकेको स्थिति छ ।

कोरोना भाइरस कसरी सर्छ ?

यो मुख्यतया श्वास–प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । हामीले खोक्दा, हाच्छ्यूँ गर्दा, सास फेर्दा, बोल्दा हाम्रो स्वास प्रणालीबाट सूक्ष्म थोपाहरू वा छिटाहरू (Droplets) निस्कन्छन् । कोभिड–१९ बाट संक्रमित व्यक्तिको हकमा त्यस्ता सूक्ष्म थोपामा यी भाइरस पनि हुन्छन् र अर्को व्यक्तिको स्वास प्रणालीमा प्रवेश पाएपछि सर्ने गर्दछन् । खोक्दा वा हाच्छ्यूँ गर्दा, बोल्दा यस्ता सूक्ष्म थोपाहरू एक मिटर वा सोभन्दा बढी टाढासम्म पुग्न सक्छन् । त्यसैले नसरोस् भनेर संक्रमित व्यक्तिले वा संक्रमणको सम्भावना भएका व्यक्तिलाई मास्क लगाउने सल्लाह दिइन्छ । अनि खोक्दा वा हाच्छ्यूँ गर्दा रुमाल वा टिस्यु पेपरले नाक–मुख छोप्ने अथवा हातको कुहिनापट्टिको भागले छेक्ने सल्लाह दिइएको छ । यसो गर्दा संक्रमण अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

त्यसबाहेक यो संक्रमित सतहमा हामीले स्पर्श गरेर अनुहार छोएको हकमा पनि सर्न सक्छ । त्यसैले बारम्बार हात साबुन–पानीले धुने वा स्यानिटाइजर लगाउने गर्दा भाइरस नष्ट हुने हुँदा सर्ने सम्भावना कम गर्न सकिन्छ । साथै विभिन्न व्यक्तिले हातले बारम्बार छोइने सतह जस्तै कि फोन, रिमोट कन्ट्रोल, टेबल, धाराको टुटी, कम्प्युटरको की–बोर्ड, ढोकाको ह्यान्डल, रेलिङजस्ता सतहलाई बारम्बार सफा गरिरहनुपर्छ ।

के यौनसम्पर्क राख्न हुन्छ ?

यो एकान्त बासको दौरानमा कतिपयले यौनसम्पर्क राख्नुभयो होला भने कतिले परहेज । तर यौनसम्पर्क राख्न हुन्छ कि हुन्न भन्ने प्रश्न भए पनि सोध्न नसकिएको स्थिति धेरैलाई होला । यो नयाँ भाइरस भएको कारणले कतिपय जानकारी अझै पनि आउन बाँकी नै भएकोले एक हदसम्मको अनिश्चितता अझै पनि छ ।

तपाईंले तपाईंको श्रीमान् वा आफूलाई संक्रमणको सम्भावना कत्तिको छ भन्ने कुरालाई विचार गर्नुपर्ने हुन्छ । सुख्खा खोकी, ज्वरो र सास फेर्न गाह्रो हुनु कोभिड–१९ रोगका लक्षणहरू हुन् । कतिपय व्यक्तिमा संक्रमण भए पनि लक्षण नदेखिन पनि सक्छ । संक्रमित भएको स्थानबाट र तोकेर नै भन्नुपर्दा संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिलाई प्रयोगशालामा परीक्षण गरेपछि मात्र संक्रमण भएको वा नभएको एकिनका साथ भन्न सकिने स्थिति हुन्छ । तर सम्भावित वा संक्रमित व्यक्तिलाई एकान्त बास (त्रगबचबलतष्लभ) मा १४ दिन र आवश्यकता परेमा सोभन्दा बढी समय राख्दा संक्रमण अन्य व्यक्तिमा सर्न पाउँदैन ।

यदि तपाईं र तपाईंको यौनजोडी सोही घरबासमा एकान्त बास गरिरहनुभएको छ र दुवैलाई यस कोभिड–१९ को संक्रमण छैन अनि यसको जोखिम पनि छैन भने यौनसम्पर्क राख्न सकिन्छ । यस्तो स्थितिमा अर्थात् यौनसम्पर्क राखेको नै कारणले तपाईंहरूलाई कोभिड–१९ को संक्रमणको जोखिम हुने भएन ।

तपाईंले संक्रमित पुरुषको वीर्यमा कोभिड–१९ रोग गराउने विषाणु भेटिएको कुरा सुन्नुभएको हुन सक्छ । तर पनि हालसम्मको उपलब्ध प्रमाणको आधारमा योनी–लिंग वा गुदामैथुनको माध्यमबाट सर्दैन भन्ने नै विशेषज्ञहरुको निक्र्योल छ । त्यसैले यौनसम्पर्क राखेर भरपूर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसले अहिलेको एकान्त बासको नियास्रोपनलाई कम गर्न सहयोग गर्छ नै । भागदौडपूर्ण जीवनको दैनिकीबाट केही समय भए पनि राहत पाउँदा, आत्मीयता बढाउने तथा यौनजीवनलाई पुनर्ताजगी गर्ने अवसर पनि हो । जुन तपाईंले पनि मन लाग्ने कुरा गरेर संकेत गरिसक्नुभएको छ ।

अन्य यौन क्रियाकलापको कुरा

हामीले यौनसम्पर्क भन्नासाथ योनी तथा लिंगको सम्पर्कको कुरा मात्र सोच्ने गर्दछौं तर एक यौनसम्पर्कको दौरानमा अन्य विभिन्न यौन क्रियाकलाप पनि हुन सक्छन् । त्यसका बारेमा पनि केही कुरा गर्नु मनासिव नै होला ।

चुम्बनका कुरा : यौन क्रियाकलापको एक अभिन्न भागको रुपमा चुम्बन हुने गर्दछ । थुक, र्‍यालमा सम्पर्कमा आउँदा यी भाइरस सर्न सक्छन् । तपाईंले चुम्बन गरेको व्यक्ति होस् वा तपाईंलाई चुम्बन गरेको व्यक्ति, दुई व्यक्तिमध्ये कुनै एकलाई लक्षण देखिए एकान्त बासमा बस्नुपर्छ र परीक्षण पनि गराउनुपर्दछ ।

यौनाङ्ग स्पर्शको कुरा : हातले योनी या लिंगको स्पर्श पनि यौन क्रियाकलापको अभिन्न भाग नै हो । यस्तो बेलामा थुक वा र्‍यालको सम्पर्कमा आएको हात वा मुखको सम्पर्क अर्को व्यक्तिको नाक–मुखसँग भएको स्थितिमा सर्ने सम्भावनालाई बढाउँछ भन्ने बिर्सनुहुन्न ।

कन्डमको प्रयोग : यसले यौनसम्पर्कको माध्यमले सर्ने रोग (एचआईभीलगायत अन्य यौनरोग) सर्न तथा गर्भ रहनबाट बचाउँछ । तर यो श्वास–प्रश्वास तथा अन्तरंग सहवासबाट सर्ने रोग भएको हुनाले कन्डमको प्रयोगले मात्र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट जोगाउने कुरा भएन ।

यौन खेलौना : तपाईंको सन्दर्भमा लागू नहुन सक्ला तर कतिपय व्यक्ति वा जोडीले यौन खेलौनाको प्रयोग गर्ने गरेको पाइन्छ । यदि ती खेलौना नितान्त आफैले मात्र प्रयोग गरिएको छ भने सर्ने स्थिति भएन । यदि यौनजोडीको माझमा वा अर्को व्यक्तिले ७२ घण्टाभित्रमा यौन खैलौनालाई प्रयोग गरेको स्थिति छ भने प्रयोग गर्नुअघि यसलाई साबुन–पानीले राम्ररी धुनुपर्दछ । त्यसपछि हात राम्ररी धुन पनि बिर्सनुहुँदैन । यौन खेलौनामा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्दा योनीमा पोल्न सक्ने भएकोले प्रयोग नगर्ने सल्लाह दिइन्छ ।

यौनसाथीविनाको एकान्तवास

हामीले थाहा नै पाइसक्यौं कि श्वास–प्रश्वासका साथसाथै अन्तरंग शारीरिक सम्बन्धबाट यो सर्छ । यदि तपाईं फरक–फरक घरमा बस्नुहुन्छ वा प्रणयसम्बन्ध विकासको क्रममा गरिने भेटघाट (मबतष्लन) मा हुनुहुन्छ भने एकान्त बासमा बस्नुपर्ने बेलामा प्रत्यक्ष्यरुपमा भेटघाट गर्ने कुरा नगर्नु उचित हुन्छ । भेटघाट नै नभएको स्थितिमा स्पर्श वा यौनसम्पर्कको कुरा त टाढैको मान्नुपर्‍यो । अप्रत्यक्षरुपमा प्रविधिका सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गरिरहन सक्नुहुन्छ । यौनसम्बन्धी कुरा पनि प्रविधिको माध्यमबाट साटासाट गर्न सक्नुहुन्छ ।

त्यसदेखि बाहेक यौन आनन्द प्राप्त गर्ने एक उपाय प्रकृतिले नै दिएको वरदानको रुपमा हस्तमैथुन छ, यसको भरपूर फाइदा उठाउन सकिन्छ । यहाँ अर्को व्यक्तिको सामीप्यतामा नआइने हुँदा कुनै संक्रमण हुने कुरै भएन ।

अहिले एकान्त बास हुँदा, कोभिड–१९ को सूचनाको भारले बढाएको चिन्ताको कारणले होस् वा दिनचर्यामा आएको परिवर्तनले, मानसिक तनाव बढेको छ । यस बेला कसैको सामीप्यताको चाहना होला । तर यो बेला आफ्नो साथै नबसेको वा संक्रमणको जोखिम नभएको पक्का नभई यौनजोडीको खोजी गर्ने वा प्रेमी बनाउने बेला होइन । यो रोगको लक्षण देखिनुभन्दा पहिले नै संक्रमित व्यक्तिबाट अरुमा सर्न सक्छ । अत्यधिक तनावको स्थितिमा यौन क्रियाकलापमा कमी आउन सक्छ । यस्तै तनावको कारणले कतिपय स्थितिमा अपनाउनुपर्ने सावधानी नअपनाउने हुन सक्छ । त्यसैले सजगता आवश्यक छ ।

एकान्त बासमा रहेको यौनजोडीमा संक्रमणको सम्भावना छ भने के गर्ने ?

हामीले हाच्छियुँ गर्दा वा खोक्दा निस्कने सूक्ष्म थोपा वा छिटामा यी विषाणु हुन्छन् । मुख–घाँटीको थुक वा र्‍याल (Swab) को अलवा दिसा, रगत र यहाँसम्म कि वीर्यमा समेत यो भाइरस देखिएकोले संक्रमित व्यक्तिका यस्ता शरीरबाट निस्कने तरल पदार्थ संक्रमणको स्रोत हुन सक्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ ।

आफ्नो यौनजोडीमा संक्रमण भएको वा संक्रमण भएका व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा रहेको स्थिति छ भने एकान्त बासमा पनि श्वास–प्रश्वासबाट नसर्ने सबै नै उपायका साथसाथै भौतिक दूरी कायम गर्नुपर्छ । एक मिटरभन्दा बढीको दूरी कायम गर्नुपर्छ, उहाँले प्रयोग गर्ने सरसामग्री प्रयोग गर्नबाट परहेज गर्नुपर्छ, शयन कक्ष अनि चर्पी र नुहाउने कक्ष पनि फरक गर्नुपर्छ । यदि फरक गर्न नसकिएको स्थितिमा संक्रमित व्यक्तिले प्रयोग गरिसकेपछि राम्ररी सफा गरिनुपर्छ । यस्ता कक्ष राम्ररी हावा आउन–जान सक्ने हुनुपर्छ । यी तरिका यौनजोडीलाई मात्रै होइन, एकै घरमा बस्ने जोसुकैलाई भए पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्