आगोले पोल्दा घरेलु उपचार



भान्सामा काम गर्दा वा आगोगको छेउमा पर्दा कहिलेकाहीँ हातखुट्टा आगोले जल्न सक्छ । कतिपय अवस्थामा यसको उपचारका लागि तत्काल अस्पताल गइहाल्ने स्थिति हुँदैन । यस्तोमा जलनले दिने पीडा त छँदै छ, साथै आगोले जलेका घाउलाई बेवास्ता गर्दा कहिलेकाहीँ पाक्ने, खत बस्नेलगायत अरु ठूलो समस्याको रुप पनि लिन सक्छ । त्यसबाट बच्नका लागि सामान्य घरेलु उपाय अपनाउन सकिन्छ ।

आगोले पोलेको अंगमा सर्वप्रथम सफा चिसो पानीले धुनुपर्छ । यसका अतिरिक्त चिसो पानीमा कपडा भिजाएर त्यसले पोलेको ठाउँमा बेरेर राख्न पनि सकिन्छ । यसो नगर्दा पोलेको ठाउँमा फोका आउन सक्छ । आगोले जलेकोमा एलोभेरा निकै लाभदायक मानिन्छ । शरीरको कुनै भाग जलेको अवस्थामा त्यो भाग चिसो पानीले धोएर एलोभेराको गुदी निकाली पोलेको भागमा लगाउन सकिन्छ ।

शरीरको जलेको भागमा बेसार–पानी लगाउनु पनि लाभदायक मानिन्छ । यसले पीडा कम गर्नुका साथै पोलेको ठाउँमा नोक्सान पनि कम हुन्छ । बेसारमा एन्टिबायोटिक गुण हुने भएकोले पाक्नबाट रोक्न मद्दत गर्छ । साथै पोलेको ठाउँमा मह लगाउँदा पनि फाइदा हुन्छ । महमा पनि एन्टिबायोटिक गुण हुन्छ, जसले गर्दा घाउमा भएका ब्याक्टेरियालाई नष्ट गरिदिन्छ । यसकारण मह राखेर पट्टी बनाई पोलेको घाउमा राख्दा फाइदा हुन्छ । यस्तो पट्टी एक दिनमा तीनपटकसम्म फेरेर लगाउनुपर्छ ।

पोलेको ठाउँमा तुलसीको पातको रस बनाएर लगाएमा पनि फाइदा हुन्छ । सामान्यतया पोलेको ठाउँमा पछिसम्म दाग बस्ने हुन्छ । तर शरीरमा पोलेपछि तुलसीको पातको रस लगाउँदा कुनै दाग बस्दैन ।

धेरैजसोले जलेको ठाउँमा बरफ राख्ने गर्छन् । बरफले पोलेको जलन कम गर्न मद्दत त गर्छ तर कहिलेकाहीँ यस्तो ठाउँमा बरफले सेक्दा रगत जम्मा हुन सक्छ । जलेको ठाउँमा कपासको प्रयोग पनि लाभदायक हुँदैन । कपासका रेसा जलेको ठाउँमा टाँस्सिएर थप पीडा दिन सक्छ । आगोले पोलेको ठाउँमा फोका आयो भने यसलाई फोर्नुहुँदैन । फोर्दा फोकाभित्र सीमित संक्रमण अन्यत्र फैलिन सक्छ ।

स्रोत : ओएमएच

प्रतिक्रिया दिनुहोस्