तपाईंका घरमा हाम्रा डाक्टर



१. मलाई मधुमेह भएको झन्डै १५ वर्ष भयो होला । चिनी नभएको चिया खाने गरेकोमा केही महिनाअगाडि छोरीले यो मधुमेहीले खान हुने गुलियो चक्की हो भनेर सेतो चक्कीको डिब्बा ल्याइदिइन् । यो चक्की हालेर चिया खाने गरेको छु । के यो खाँदा हुन्छ त ? हुन्छ भने दिनको कति चक्कीसम्म खान हुन्छ ?
– ध्रुव प्रसाद उपाध्याय, हाल : पेप्सीकोला, काठमाडौं ।

ध्रुवजी, त्यो चक्की गुलियो हुने तर रगतमा चिनीको मात्रा नबढाउने खालको हो ।त्यसैले चिनीरोगीले खान मिल्छ ।खान मिल्ने भन्दैमा जति पनि खानुचाहिँ हुँदैन । त्यो केमिकल हो, धेरै खाँदा चिनीकै मात्रामा फरक पर्ने वा अन्य प्रणालीमा पनि फरक पर्ने हुन सक्छ । त्यसैले दिनमा २–३ वटासम्म खान मिल्छ । चियाको प्राकृतिक स्वाद लिने हो भने र स्वास्थ्यको लागि पनि चियामा गुलियो राखेर नखाएकै राम्रो । सबभन्दा महत्वपूर्ण कुरा शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नुहोला । नियमित मिर्गौलाको अवस्था हेरिरहनु होला वा चिकित्सकको सीधा सम्पर्कमा रहनुहोला ।

२. मलाई उच्च रक्तचापको समस्या छ । नियमितजँचाएर ३ थरी औषधि खाइरहेको छु । तर कहिलेकाहीँ असाध्यै टाउको दुख्छ, प्रेसर नाप्दा १६०/१०० पुगेको हुन्छ । यस अवस्थामा कसरी प्रेसर नियन्त्रण गर्न सकिएला ? सुझाव पाऊँ ।
– अजय थापा, थानकोट, काठमाडौं ।

अजयजी, नियमित औषधि खाएर मात्रै पुगेन, रक्तचाप नियन्त्रण पनि हुनुपर्‍यो नि ! एकजना मुटुरोग विशेषज्ञबाट नियमित परामर्श लिनुपर्‍यो । निजको सल्लाहबमोजिम औषधि व्यवस्थित गराउनुपर्‍यो । प्रेसर नियन्त्रण गर्नको लागि खाएको औषधिको नाम थाहा पाएमा कुनचाहिँ थप्ने भन्न सकिन्थ्यो, होइन भने सम्बन्धित विशेषज्ञ नै भेटेर परामर्श गर्नुहोला । काठमाडौंमै भएकोले गाह्रो भएन गंगालाल, शिक्षण अस्पताल वा वीर अस्पतालमा आएर देखाउन सक्नुहुन्छ ।

३. बिरामी र स्वस्थ व्यक्तिले देख्ने स्वप्नामा उनीहरुको स्वास्थ्य अवस्थाले असर गर्छ कि ?यसबारेमा स्वास्थ्य विज्ञानले के भन्छ ?
– ओमकृष्ण पौडेल, पोखरा ।

ओमकृष्णजी, स्वप्ना भन्ने कुरा विशाल छ । यसमा हजारौं थ्योरी छन् पनि । कोही भन्छन्– स्वप्नामा दिनभर कल्पना गरेका कुरा देखिन्छन् तर कल्पना, सोच, अनुभव वा कुनै सम्बन्धनै नभएका असम्भव कुरा पनि देखिन्छ । बिरामी वा आफूलाई न्यून सोच्नेको भन्दा स्वस्थ हिम्मतिलो मान्छेले देख्ने सपना फरक हुन सक्छ । किनभने स्वप्ना मनस्थितिको उपज पनि हो भनिन्छ । त्यसर्थ विश्वासिलो र सर्वस्वीकार्य एउटा थ्योरी कुनै थाहा नभएकोले यसै भन्न मिलेन । यो स्वाप्नको अन्वेषणकै गर्भमा छाड्नुपर्ला ।

४. म २६ वर्षको मात्रै भएँ । मेरो कताकति कपाल फुलेको देखियो । यस्तै हो भने केही वर्षमै पूरै कपाल फुल्ने हो कि भन्ने डर लागिरहेको छ । कपाल फुल्ने प्रक्रिया बेलैमा रोक्नका लागि केही उपाय भएमा बताइदिनुहुन्थ्यो कि ?
– कुमार बुढाथोकी, खुर्कोट, सिन्धुली ।

कुमारजी, कपाल फुल्नुको पछाडि धेरै कारण हुन सक्छन् । वंशाणुगतरुपमा वा विभिन्न स्याम्पु, साबुन, केमिकल प्रयोग गरेर अथवा प्राकृतिकरुपमा कुनै पनि कारणले कपाल फुल्न सक्छ । हामीले गर्न सक्ने भनेको सुरक्षित र राम्रो ब्रान्डेड स्याम्पु प्रयोग गर्ने, सन्तुलित खाना खाने, अहितकारी खाद्यवस्तु नखाने गरेमा राम्रो हुनेछ । जहाँसम्म फुलिसकेको कपाललाई कालो गराउने भनेको कलर गरेर मात्रै हुन्छ । समग्रमा जीवनशैली राम्रो गर्ने उपाय अवलम्बन गर्ने सल्लाह दिन्छु ।

५. नेपालमा कोरोना भाइरसको संक्रमणले भयावह रुप नलिनु र कोरोनाकै कारण कसैको ज्यान नजानुको रहस्य के होला ?यहाँका मान्छेमा रोगप्रतिरोध शक्ति भएर त होइन ?
– बालमुकुन्द ओली, बानेश्वर, काठमाडौं ।

बालमुकुन्दजी, नेपालमा कोरोनाले भयावह रुप नलिनुको कारण फैलिन नपाएर, बेलैमा लकडाउन गरेर, सम्भवतः बीसीजी भ्याक्सिनले केही काम गरेर, रोग–प्रतिरोधी शक्ति भएर जे पनि हुन सक्छ ।निदानमा कमी–कमजोरी भएर पनि कम देखिएको हुन सक्छ । फेरि विदेशमा त धेरैको मृत्यु भैसकेको छ । हाम्रो टेस्टको दायरा त्यति फराकिलो छैन । कति टेस्टमा फल्स नेगेटिभ पनि आउन सक्छ । मृत्यु हुनेको पनि स्वाब परीक्षण विधिसम्मत भएन कि वा फेरि फल्स नेगेटिभ भयो, जे पनि हुन सक्छ । तर पछिल्लो समयमा नेपालमा पनि पोजिटिभ केस बढिरहेको यथार्थ छँदै छ । अलग्गै राखिएका गाउँ पसेका छन्, भागेर गएका छन्, उनीहरुको टेस्ट गर्न सकिएको छैन । त्यसैले आजै ढुक्क हुने स्थिति पनि छैन । यसै भन्ने थ्योरी पनि मिल्दैन । किनकि लामो अध्ययन यसबारेमा हुन सकेको छैन ।

६. मलाई पेटको समस्या भएको ६ महिना जति भयो । अघिल्लो दिन ३ पटक दिसालाग्छ भने भोलिपल्ट एकपटक मात्रै लाग्ने पनि हुन्छ । दिसा पचेको हुँदैन । अस्पतालमाजँचाउँदा त्यो दिनको दिसामा समस्या नै देखिएन ।मलाई के भएको र उपचार के होला ?
– जीवन श्रेष्ठ, बनेपा, काभ्रे ।

जीवनजी, दिसा नपचेको भन्नुको मतलब जे–जस्तो खायो त्यस्तै दिसा हुनु हो । यदि त्यस्तो हो भने खाना पचाउने एन्जाइमको कमी वा नपुग हुन सक्छ वा आन्द्राले पूर्ण भोग गर्दैन भन्ने हुन्छ ।दिसा जाँच्दा समस्या नदेखिन सक्छ । किनकि परीक्षणको लागि सानो मात्रा मात्रै निकालेर उपयोग गरिन्छ । त्यस्तै पेटमा अम्लीय पदार्थको पनि कमी हुन सक्छ ।कसैको दिसाको बानी नै त्यस्तो हुन पनि सक्छ ।यकिन गर्नको लागि अरु थप परीक्षण गर्नुपर्ने हुन्छ । बनेपाबाट धुलिखेल वा काठमाडौँ आएर अस्पतालमा पेटको विशेषज्ञसँग परामर्श गर्न सल्लाह दिन्छु । अहिलेलाई दही र केरा वा उसिनेको आलु वा अण्डा खाएर हेर्न सकिन्छ ।

७. म १९ वर्षकी किशोरी हुँ । मेरो शरीरको तुलनामा पेट ठूलो देखिएको छ । यद्यपि साथीहरुले समेत भुँडे भनेर जिस्क्याउँछन् । पेट घटाउने कुनै औषधि वा उपाय भए बताइदिनुस् न डाक्टर साब ।
– बेनामी, ललितपुर ।

बेनामी बहिनी, ठूलो देखिने पेट घटाउन पेटकै व्यायाम गरेमा हुन्छ । यसको लागि उत्तानो सुतेर खुट्टा सीधै राखी कम्मरभन्दा माथिको भाग उठाउने अनि सुत्ने कार्य धेरैपटक गर्ने, त्यस्तै पेटको भाग घुमाउने व्यायाम गर्ने, ढाडमा सपोर्ट दिएर शरीर धनुसजस्तै गरी सकेजति घुमाउने व्यायाम गरेर हेर्ने गर्न सकिन्छ । त्यसबाहेक दगुर्ने, खेल्ने, उफ्रनेजस्ता साधारण व्यायाम गर्न पनि सकिन्छ । यदि यी सबै त्यति प्रभावकारी भएनन् भने फिजियोथेरापिस्ट वा खेलविज्ञ भेटेर सल्लाह गरी आवश्यक तयारी गर्न सक्नु हुनेछ ।

८. म एक छात्रा हुँ । मेरो तल्लो ओठछेउमा दाद देखियो । बढेर अनुहारभरि हुने हो कि भनेर चिन्ता लागिरहेको छ । अभिभावकले त्यति वास्ता नगरेकाले कुनै औषधि भए बताइदिनुहोस् न भनेर इमेल गरेकी छु ।
– सरिता, बालाजु, काठमाडौं ।

सरिता बहिनी, दाद भन्नाले फंगल इन्फेक्सन (च्याउ जातिको जीवाणु) भन्ने बुझिन्छ । तर त्यो भएमा गोलो–गोलो आकारको दाद वरिपरि फैलिँदै जाने र बीचमा कम हुने अनि अत्यधिक चिलाउने हुन्छ ।अनुहारमा अलि कम हुन्छ ।विचार गर्दा शायत त्यो होइन होला । दाग नहेरी त्यसै यो–त्यो औषधि भन्ने अवस्था रहँदैन । किनभने अनुहारजस्तो संवेदनशील छालामा जे पायो त्यही केमिकल प्रयोग नगरेकै राम्रो । तसर्थ सही निदान अनि उपचारको लागि एकपटक छालारोग विज्ञ भेटेर परामर्श गर्नुपर्ने हुन्छ । यसका लागि वीर अस्पताल वा शिक्षण अस्पताल गएर दिखाउन सकिन्छ ।

९. मेरो बुबा ६० वर्ष पुग्न लाग्नुभयो । उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या छ । औषधि नियमित खाइरहनु भएको छ । कहिलेकाहीँ रक्तचाप बढ्ने गरे पनि समग्रमा स्वास्थ्य ठिक्कै छ । उहाँ कहिलेकाहीँ थोरै चिनी राखेर चिया खानुहुन्छ । आलु पनि खान खोज्नुहुन्छ । उहाँका लागि म कतिसम्म खान दिन सक्छु ? सल्लाह पाऊँ ।
– अंगद खड्का, चरिकोट, दोलखा ।

अंगद खड्काजी, हेर्नुस् हाम्रो जस्तो खाना खाने प्रणालीमा खानाको प्रकृति अनि हरेक तत्वको मात्रा मिलाउन गाह्रो हुन्छ । त्यसैले आफ्नै किसिमले सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । हामी भन्छौं, दैनिक शक्तिको लागि बिहानको छाक चामलको भात खाने, त्यसपछि सुगर बढ्न सक्ने अरु कुनै खाना नखाने ।अथवा भात नखाने बरु दुवै छाक च्याँख्ला वा रोटी खाने हो भने अलि–अलि आलु, एक–दुई कप चिया खान सकिन्छ तर नियमित चिनीको मात्रा नियन्त्रित हुनुपर्‍यो । जे होस्, चिल्लो घिउ वा तेल अनि गुलियो वा कार्बोहाइड्रेटको नियन्त्रित मात्रा हुनुपर्‍यो । पहाडमा बस्ने हुनाले चामलको विकल्प प्रशस्त हुन्छ, मिलाएर खान सकिन्छ । हाम्रो उद्देश्य चिनीको मात्रा मियन्त्रणभन्दा बाहिर जानुभएन । त्यस्तै नियमित मिर्गौलाको परीक्षणमा पनि सही रिपोर्ट आउनुप¥यो । नियमित व्यायाम, सन्तुलित डायबेटिक खाना, नियमित स्वास्थ्य परीक्षण भयो भने चिनीरोगले कहिल्यै दुःख दिँदैन ।

१०. कोरोना भाइरस निर्जीव हो भन्ने सुनियो । के यो साँच्चै निर्जीव हो ? यदि निर्जीव हो भने सजीवको जस्तो कसरी हंगामा मच्चाउन सकेको होला ? साथै भाइरस र ब्याक्टेरियामा के फरक छ ? स्पष्ट पारिदिनुहुन्थ्यो कि ?
– सुमन तामाङ, रसुवा ।

सुमनजी, यो कोरोना भाइरस निर्जीव त होइन, तर यो सजीव भए पनि आफू पूर्णरूपमा अरु जीवितले जस्तो आफैं स्वतन्त्ररूपमा विकास नभएर अरुको कोशिकाभित्र गई हजारौं उत्पादित हुन्छ अनि रोग फैलिन्छ ।यसरी हेर्दा यो जीवित र निर्जीवको बीचको तत्व भने पनि हुन्छ ।यो भाइरस हो । त्यसैले यसमा एउटा मात्रै तत्व हुन्छ,जबकि ब्याक्टेरिया वा अन्य माथिल्ला जीवितहरुमा ( डबल थ्रेड) हुन्छ र यिनीहरु आफैं उत्पादन गर्ने क्षमता राख्छन् ।भाइरसको सर्ने, फैलिने, नष्ट नहुने लक्षण हेर्दा यो जीवितसँग मिल्दो भयो भने आफैँ उत्पादन गर्न नसक्नुले निर्जीवसँग मेल खायो । तर जीव विज्ञान अध्ययन गर्दा यसलाई जीवितमै वर्गीकरण अनि नामकरण गरिन्छ । त्यसैले यो बढी जीविततिरै जान्छ ।

प्रतिक्रिया दिनुहोस्