सेवाबाट आनन्द लिन सक्नुपर्छ



बीस वर्षदेखि नर्सिङ सेवामा संलग्न पोखराकी सोचनाले आईएस्सी र बीएस्सी नर्सिङ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत पोखरा नर्सिङ क्याम्पसबाट र बालस्वास्थ्य विषयमा स्नातकोत्तर पनि त्रिवि (आईओएम)बाटै गरी अध्यापन र नर्सिङ पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । हाल राष्ट्रिय ट्रमा सेन्टरको अस्पताल नर्सिङ प्रशासक (नर्सिङ प्रमुख) को जिम्मेवारी सम्हाल्नुभएकी सोचना सापकोटासँग नर्स अफ द मन्थका लागि साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार

नर्सिङ पेसातर्फ लाग्न कसरी प्रेरित हुनुभयो ?

बाल्यकालमा लामो समय बिरामी भई झन्डै २ वर्ष अस्पताल भर्ना भएरै उपचार गराउनुप¥यो । त्यति बेला वरिष्ठ अर्थोपेडिक डा. अशोक बास्कोटाको टिम र सिस्टरहरुसहितको टिमले उपचार गरेको थियो । म उहाँहरुले दिनुभएको सेवाबाट प्रभावित भएँ र मेडिकल फिल्डलाई सम्मान गर्न थालँे । जब म एसएलसी पास भएँ, नर्सिङ नै पढ्न मेरो बुबा र दाजुले उत्प्रेरणा जगाउनुभयो अनि म नर्सिङको अध्ययनतिर लागेँ ।

यो अवधिमा तपाईंले कुन–कुन क्षेत्रमा रहेर सेवा दिनुभयो ?

आईएस्सी नर्सिङ सकिनासाथै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ वर्ष काम गरेँ । ३ वर्ष शहीद गंगालाल हृदय केन्द्रमा आफूले पढेको र सिकेको शिक्षालाई व्यावहारिकरुपमा उतार्ने मौका पाएँ । साथै ६ वर्ष निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमा पनि अध्यापन गरँे । विगत डेढ वर्षअघि म वीर अस्पताल नर्सिङ कलेजमा फ्याकल्टीको रुपमा कार्यरत थिएँ । डेढ वर्षदेखिचाहिँ राष्ट्रिय ट्रमा सेन्टरमा नर्सिङ प्रमुखका रुपमा कार्यरत छु ।

फरक नेचर भएका अस्पतालमा लामो समय सेवा गर्नुभयो, कस्तो महसुस गर्नुभएको छ ?

नेपालमा आर्थिक अवस्था कमजोर र फरक–फरक जनतातिले बनेको समाज छ । यसले गर्दा अपेक्षा फरक हुन्छ र नर्सहरुसँग गर्ने व्यवहार पनि फरक हुन्छ । बिरामी र बिरामी कुरुवाको ठूलो अपेक्षा हुँदैन, गुणस्तरीय सेवा, मीठो बोली, माया र हेरचाह राम्रो होस् भन्नेमै केन्द्रित हुन्छ । मैले सेवा अवधिभर यस्ता कुरामा ध्यान दिएको छु र मूल्यांकन पनि बिरामीले गरेकै छन् । उहाँहरु घर जाने बेलामा खुशी हुँदै बिदा भएर जानुहुँदा खुशी लाग्छ । मुख्य गरी बिरामी र बिरामीका आफन्तका भावना र आवश्यकता बुझेर काम गर्नुपर्छ । नर्सले बिरामीको सेवा नै महत्वपूर्ण कुरा हो भनेर महसुस गर्नुपर्छ ।

अरुले नेतृत्व लिएको ठाउँमा बसेर काम गर्नु र आफैंले नेतृत्व लिनुमा के भिन्नता पाउनुभयो ?

नेतृत्व तहमा हुनु एउटा चुनौती र अवसर पनि हो । भिन्नता धेरै छ, सर्भिस प्रोभाइडर भएर काम गर्दा आफ्नो कामको मात्र जवाफदेहिता हुन्थ्यो भने नेतृत्वमा बस्दा थप उत्तरदायित्व बहन गर्दै जनशक्तिको व्यवस्थापन, गुणस्तरीयता, नीति नियम बनाउने र त्यसको पालना भए÷नभएको अनुगमन गर्ने, सहजीकरण गर्नुपर्ने चुनौती हुन्छन् । अझ नेपालजस्तो पितृसतात्मक मुलुकमा स्वास्थ्य क्षेत्रको प्रमुख भनेको त डाक्टर नै हो भन्ने सोच बोकेका बिरामीहरुको अगाडि महिला नर्स प्रमुख भएर नेतृत्व लिनुपर्दा निकै ठूलो चुनौती हुन्छ । नर्सले गरेको निर्णय कार्यान्वयनमा समेत चुनौती छ । तर पनि पहिलाभन्दा परिवर्तन भने पक्कै भएको छ ।

नीति निर्माण तहमै डाक्टर र नर्सलाई विभेद छ भन्ने सुनिन्छ नि ?

केही हदसम्म ठीक पनि हो, सबै नीति नियमले विभेद गरेको भन्दा पनि नीति नियममा स्वास्थ्यकर्मी भनिएको छ, तर व्यवहारमा नर्सलाई विभेद गरिएको छ । नेतृत्व गर्ने र नीति निर्माण तहमा नर्सको सहभागिता अत्यन्त न्यून छ र न्यूनको आवाजको सम्बोधन गरिएको पाइन्न । त्यसैले नीतिमा नै नर्सलाई प्राथमिकतामा कम समेटिएको महसुस भएको छ । नर्सहरुको अथक प्रयासपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा गठन गरेको छ । तर विभागमा छ, मन्त्रालयमा भएको भए नीति निर्माण बनाउने बेला छलफल हुन्थ्यो । स्वास्थ्यको ६० प्रतिशत हिस्सा नर्सले ओगटेका छन् । यति हुँदाहुँदै पनि विश्वमा जुन तहको इज्जत, सम्मान नर्सको हुन्छ त्यस्तो नेपालमा छैन ।

नर्सिङ सेवामा के–के सुधार भइरहेका छन् ?

जुन तहमा हुनुपर्ने त्यति भएको छैन । नर्सको क्षमता विकासका लागि थोरै भए पनि कामको शुरुवात भएको छ । नर्सको महत्व र जिम्मेवारी अरु निकायको भन्दा कम छैन भन्ने एजेन्डाहरु अघि सारिएका छन् । नर्स अस्पतालमा मात्र नभई ‘स्कुल हेल्थ नर्स’ नीतिमा राख्न सफल भएको छ । नर्सले अस्पतालको साथै समुदाय, विद्यालय, पुनस्र्थापना केन्द्र, निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था हरेक ठाउँमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यो सकारात्मक पक्ष हो । नर्सको आवश्यकता छ भन्ने राज्यलाई र आमनागरिकलाई महसुस भैसकेको अवस्था छ । यसमा मलाई खुशी लागेको छ ।

डाक्टर र नर्समा कसको भूमिका महत्वपूर्ण हुन्छ ?

स्वास्थ्य सेवा भन्नेबित्तिकै टिमवर्क हो । त्यसैले डाक्टर, नर्स, ल्याब, पारामेडिक्स लगायतको आवश्यकताअनुसारको टिमको काम हो । एकजनाको मात्र अनुपस्थिति भयो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्न ।

बिरामीसँग पूर्णकालीनरुपमा रहने नर्स हो तर पनि नर्स छायामा पर्छन् नि ?

हो, डाक्टर हुँदा पनि नर्स त सँगै हुन्छन् । शतप्रतिशत समय बिरामीसँग बिताउने भनेकै नर्स हुन् । बिरामीको आवश्यकता, समस्या ख्याल गर्ने, आकस्मिक व्यवस्थापन गर्ने र डाक्टरलाई बोलाउने निर्णय गर्ने पनि नर्स हुन् । अन्य बेलामा डाक्टहरु रुटिनअनुसार आउनुहुन्छ, अप्रेसन गर्नुहुन्छ, त्यो फरक पाटो हो । अप्रेसन पनि नर्सविना त हुँदैन । स्वास्थ्य सेवा भनेकै टिमवर्क हो, अगाडि को देखिन्छ भन्ने मात्र हो ।

बिरामी र नर्सको सम्बन्ध कस्तो हुनुपर्छ ?

बिरामी र नर्सको सम्बन्ध अत्यन्तै राम्रो हुनुपर्छ । बिरामीले नर्ससँग आफ्ना समस्या राख्न सकोस् र नर्सले पनि बिरामीको उपचारका लागि डाक्टरले दिएको प्रेस्कृप्सनको आधारमा सहज हुने वातावरण बनाउनै पर्छ । थेरापिटिक प्रस्तावबाट उपचारका लागि एक–अर्कामा आफ्ना कुरा राख्न सक्ने, बिरामीलाई सेवा दिन सक्ने हुनुपर्छ । बिरामी र नर्सको सम्बन्ध थेरापिटिक सम्बन्ध हुनुपर्छ । एक–अर्कालाई बुझ्ने, सुन्ने, परामर्श दिने हुनुपर्छ ।

बिरामीको चाहना नर्स आफ्नो नजिक आइरहोस् भन्ने हुन्छ, व्यावहारिकरुपमा कत्तिको सम्भव हुुन्छ ?

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार आईसीयुमा एउटा बिरामीलाई एकजना नर्स हुनुपर्छ र सामान्य अवस्थामा एकजना नर्सले ६ जनासम्म बिरामीलाई हेर्न सक्ने प्रावधान रहेको छ । तर नेपालमा एकजना नर्सले ४० देखि ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ । त्यसले गर्दा वास्तवमै बिरामीले पाउने सेवा पाएका छैनन् । तर बिरामीले पनि आफू कस्तो सेवा–सुविधा भएको अस्पतालमा छु भन्ने बुझ्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बिरामी कुरुवा परिवर्तन भैरहने र पटक–पटक एउटै बिरामीका बारेमा भनिरहँदा पनि नबुझ्ने पनि समस्या छ । वास्तवमा कामको लोड, पर्याप्त उपकरण नहुनु पनि समस्याको रुपमा रहेको छ ।

अरु अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आउने बिरामीमा के फरक छ ?

राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटना, चोटपटक लागेर आउने बिरामी धेरै हुन्छन् । आकस्मिक सेवाको आवश्यकता पर्ने बिरामी बढी हुन्छन् । धेरै बिरामी एकैपटक आउँदाको अवस्थामा तत्काल उपचार गरिहाल्नुपर्नेलाई प्राथमिकता दिन्छौं । यस्तो अवस्थामा नर्सहरुमा सबैभन्दा धेरै धैर्यता हुनुपर्छ । साथै नर्सिङ कर्मचारी र अरु कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि थप तालिमहरु पनि चाहिन्छ । यो नयाँ अस्पताल हुनुका साथै युवा समूहहरुको सक्रियता रहेको अस्पताल हो । यो सबैभन्दा राम्रो पक्ष हो ।

बिरामीको उपचार गर्दागर्दै समस्या आयो भने कसरी बुझाउनुहुन्छ ?

यस्तो अवस्था आउँछ तर बिरामीलाई सम्झाइ–बुझाइ गरेर यथार्थता बताउनुपर्छ । एक्लैले सकिएन भने स्वास्थ्य सेवा भनेको सामूहिक कार्य हो, जिम्मेवार व्यक्तिले बिरामीका आफन्तलाई राखेर सबै कुरा स्पष्ट पारेको खण्डमा सम्झिन्छन् र सौहाद्रपूर्ण वातावरणमा काम गर्न सकिन्छ । कहिलेकाहीँ बिरामी पक्ष र कर्मचारीका बीच भएको असमञ्जस्यलाई व्यक्तिगतरुपमा सम्झाउँछु । त्यसो गर्दा पनि भएन भने मात्र टिमको सहयोग लिनुपर्छ ।

चाडपर्वका बेला नर्सलाई निकै गाह्रो हुन्छ भन्छन् नि ?

चाडपर्वका लामो बिदामा बिरामीको चाप बढ्छ, निजी क्षेत्रका अस्पतालका बिरामी पनि यतै आउँछन् । त्यति मात्र नभई पर्व मनाउने नाममा मापसे गरेर र दुर्घटनामा परेर अझ धेरै बिरामी आउँछन् । यो चुनौतीकै विषय हो । तर हाम्रो टिम सबैको समस्या बुझ्ने र सहयोग गर्ने खालको नै छ । चाडपर्वमा पालो मिलाएर काम गर्छौं । यस्तोमा काम गर्नेले पछि सट्टा बिदा लिन पाउने व्यवस्था छ ।

नर्सिङ पेसा अपनाउन चाहने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?

नर्सिङ भनेको एकदमै चुनौतीपूर्ण काम हो । यसमा लगनशीलता, प्रतिबद्धता, धैर्यता हुनुपर्छ । सेवामा निरन्तरता दिन सक्नुपर्छ । सेवाबाट आनन्द लिन सक्छु भन्ने अठोट हुनुपर्छ । हामीले जबसम्म गुणस्तरीय सेवा दिन सक्दैनौं तबसम्म बिरामीले विश्वास गर्दैनन् । जनविश्वास नभएसम्म हाम्रो सेवा उच्च हुँदैन । पढाइ र प्रयोगात्मक अभ्यासको प्रयोगले नै नर्सिङ पेसालाई सफल बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्