रजोनिवृत्ति र यौनजीवन



डा. राजेन्द्र भद्रा 

हाम्रो विवाह भएको २३ वर्ष जति भयो । मेरो उमेर ४९ वर्ष पुगेको छ भने श्रीमतीको ४७ वर्ष । हाम्रो यौनजीवन राम्ररी नै चलिरहेको थियो तर अहिले यस्तै एक वर्ष जति भयो, मेरी श्रीमतीमा यौनसम्बन्धी कार्यमा रुचि कम भएको अनुभव गरेको छु । यौनसम्पर्क शुरु गरे पनि योनिमा दुख्यो भनेर यौनसम्पर्क नै बन्द गर्नुपर्ने स्थिति आउँछ । यसका अलाबा स–साना कुरामा पनि रिसाउने र झर्किने गर्छिन् । अहिले उनको महिनावारी पनि अनियमित हुन थालेको छ । यो समस्याको समाधान पाए आभारी हुने थिएँ ।

– दीपक, पोखरा

उत्तर : पुरुषमा यौवनावस्थापछि पनि लगभग जीवनभपर नै प्रजनन क्षमता हुने गर्दछ, कम–वेसी हुन सक्ला तर हुन्छ । महिलामा चाहिँ यौवनावस्थापछि लामो समयसम्म प्रजनन क्षमता हुने भए पनि एक निश्चित समयपश्चात् बन्द हुन्छ । डिम्बाशयले मासिकरुपमा गर्ने डिम्ब उत्पादन एवं डिम्ब निष्कासन प्रक्रिया बन्द हुन्छ । साथै योसँगै सम्बन्धित महिनावारी पनि बन्द हुन्छ । महिनावारी बन्द हुने कुरा सामाजिक तथा सांस्कृतिकरुपमा महत्वको हुने भएकोले बोलिचालीको भाषामा महिनावारी बन्द हुने भन्ने गरिन्छ ।

महिनावारी बन्द हुनुभन्दा केही समय पहिलेदेखि नै महिलामा परिवर्तनहरू देखिन थाल्छन् । यसको बारेमा पर्याप्त जानकारी नहुँदा महिला र उसको परिवारले विभिन्न समस्या झेल्नुपर्ने हुन्छ । स्वाभाविकरुपमा यसको प्रभाव यौनजीवनमा पनि पर्छ ।

महिनावारी बन्द हुनुभन्दा केही समय पहिलेदेखि नै महिलामा परिवर्तनहरू देखिन थाल्छन् । यसको बारेमा पर्याप्त जानकारी नहुँदा महिला र उसको परिवारले विभिन्न समस्या झेल्नुपर्ने हुन्छ

रजोनिवृत्तिको शुरुवात

५० वर्ष उमेरको हाराहारीमा स्वाभाविकरुपमा नै महिलाको शरीरमा हर्मोनहरूको मात्रामा परिवर्तन आउने गर्दछ । यसै कारणले डिम्ब उत्पादन प्रक्रिया रोकिने, महिनावारी बन्द हुने गर्दछ । प्रायजसो यो ४५ देखि ५५ वर्षको उमेरमा हुने गर्दछ ।

यो प्रायः एकैपल्ट पूरै बन्द हुने नभई कैयौं महिना लाग्ने हुन्छ । शुरुमा कुनै महिना डिम्ब परिपक्व र निष्कासन हुने र कुनै महिना नहुने हुन्छ । यसको कारणले महिनावारी अनियमित हुन्छ । यो क्रम बिस्तारै–बिस्तारै बढेर लगातार १२ महिनासम्म पनि महिनावारी भएन भने यसलाई महिनावारी बन्द भएको अर्थात् रजोनिवृत्ति भएको भन्ने गरिन्छ ।

महिनावारी बन्द हुने प्रक्रिया शुरु भएर महिनावारी पूरा बन्द हुने समयलाई अंग्रेजीमा पेरिमेनोपाउज (peri-menopause) भनिन्छ । यो अवधि महिनावारी बन्द नभएसम्म जारी रहन्छ । सामान्यतया यसको अवधि ४ वर्षको हुन्छ र पछिल्ला २ वर्षका अवधिमा लक्षणहरू स्पष्टरुपमा देखिन्छन् ।

यसरी प्राकृतिकरुपमा बिस्तारै महिनावारी हुनेदेखि बाहेक अहिले चिकित्सा विज्ञानको प्रयोग गरेर पनि महिनावारी बन्द गराउन थालिएको छ । जस्तो– शल्यक्रियाद्वारा डिम्बाशय निकाल्ने, विकिरणको प्रयोग, केही औषधिको प्रयोग आदिबाट पनि महिनावारी बन्द गराउने गरिन्छ ।

 

महिनावारी बन्द हुने लक्षण

व्यक्ति–व्यक्तिअनुसार महिनावारी बन्द हुने लक्षण कम वा बेसी देखिने हुन सक्छ । यी निम्न लक्षणमध्ये केही लक्षण देखिने गर्दछन् ।

  • महिनावारी अनियमित हुने
  • अनुहार राँकिने (रातो, तातो) हुने
  • स्तन दुख्ने
  • यौनेच्छामा कमी हुने
  • थकाइ लाग्ने
  • योनि सुख्खा हुने र यौनसम्पर्कमा असजिलो हुने
  • खोक्दा वा हाच्छिउँ गर्दा पिसाब फुस्किने
  • पिसाब लाग्दा रोक्न गाह्रो हुने, गइहाल्नुपर्ने
  • मनस्थिति अचानक परिवर्तन हुने
  • निदाउन गाह्रो हुने
  • छाला र केशमा सुख्खापन हुने
  • टाउको दुख्ने
  • चिन्ता लाग्ने आदि ।

 

यौनजीवनमा के समस्या पर्छ ?

माथि उल्लेख गरिएका कतिपय लक्षणहरूले विभिन्न समस्या पारेको हुन सक्छ । यहाँ यौनजीवनमा पार्ने समस्याबारेमा केन्द्रित भएर चर्चा गरिँदै छ ।

  • अनुहार राँकिने (रातो–तातो भएर आउने), खलखल्ती पसिना आउने जस्ता लक्षणहरूले आराम र प्रेममय वातावरणमा नकारात्मक असर गर्दछ ।
  • योनि सुख्खा हुने र योनिको भित्री तह पातलिने भएको हुनाले यौनसम्पर्कमा असहजपन आउन सक्छ ।
  • महिनावारी अनियमित हुँदा यौनसम्पर्कमा बाधा नै हुन्छ ।
  • कहिलेकाहीँ यौनसम्पर्कको बेलामा वा चरम सुखको बेलामा पिसाब फुस्किन सक्छ, जसले यौनसम्पर्कमा बाधा पुर्‍याउन सक्छ ।
  • छाला सुख्खा हुनु वा कम लचिलो हुनु वा स्तनको आकारमा आएको परिवर्तन (सानो हुनु) प्रति कोही बढी नै संवेदनशील हुन सक्छन् । कसैलाई दुख्ने हुन सक्छ र त्यसको नकारात्मक असर यौनसम्पर्कमा पनि पर्न सक्छ ।
  • यौनेच्छामा नै कमी आउन सक्छ । यस्तो भएमा श्रीमान्ले बेवास्ता भएको अनुभव गर्न सक्छन् र सम्बन्धमा दरार पर्न सक्छ ।
  • मनस्थिति अकस्मात् आउने परिवर्तन, अनिद्रा वा निराशापनले यौनआनन्द प्राप्त गर्नलाई बाधा पुर्‍याउन सक्छ ।

समाधान

यी लक्षणहरुलाई कम गर्न सकिएमा सामान्य दैनिकी तथा यौनजीवनलाई सहयोग पुग्छ । व्यायाम, धूमपानबाट परहेज, पर्याप्त आराम तथा निद्रा, मद्यपानबाट परहेज, क्याफिन भएका खानेकुरा तथा यस्ता पेयपदार्थबाट परहेज, तौल सामान्य राख्ने, पर्याप्त मात्रामा क्याल्सियमको सेवन गर्ने जस्ता कुराले यी लक्षणहरूलाई कम गर्न फाइदा गर्दछ । सुतीको कपडाबाट बनेको पहिरन लगाउने, हावा चल्ने शीतल स्थानमा बस्ने, अनावश्यक तनाव नलिने जस्ता कार्यबाट पनि विशेष गरी अनुहार राँकिने समस्यालाई कम गर्न सहयोग गर्दछ ।
कतिपय महिलालाई केही हर्मोनयुक्त औषधिको प्रयोगले फाइदा पुर्‍याउँछ तर यसको लागि भने चिकित्सकको सल्लाह लिनुपर्दछ ।

तपाईंको अवस्था हेरी चिकित्सकले अन्य खाने औषधि पनि सिफारिस गर्न सक्छन् । यौनजीवनको सन्दर्भमा कुरा गर्दा, इस्ट्रोजन पर्याप्त मात्रामा शरीरमा नहुनुले पहिले जस्तो सजिलै यौन उत्तेजना नहुने, स्पर्श वा यौनसम्पर्कको घर्षण तुलनात्मकरुपमा कम संवेदनशील हुन सक्छ । इस्ट्रोजन कम हुँदा योनिमा रगतको बहावमा कमी हुन सक्छ, जसले योनि सुख्खा हुने वा पर्याप्त मात्रामा योनि रस नआउने हुनाले यौन सम्पर्क गर्दा केही बाधा पुग्ने वा पीडा हुने हुन्छ ।

महिलालाई शारीरिक तथा मानसिक दुवै सहयोग चाहिन्छ । महिलाको प्रजनन चक्रमा आउने यी परिवर्तनले महिलामा आउने समस्यालाई महिला आफैंले, उनका श्रीमान् तथा परिवारका सदस्यहरूले राम्ररी बुझेर सहयोग गरेमा महिलाका साथै परिवारका सबैलाई सजिलो हुन्छ । यी कुरा नबुझ्दा परिवारमा अनावश्यकरुपमा कलहको स्थिति आउँछ, जसले समस्यालाई झनै चर्को बनाउँछ ।

योनि सुख्खा भएर यौनसम्पर्कमा पीडा हुने समस्यालाई सजिलै समाधान गर्न सकिन्छ । के वाई जेली (K-Y jelly) वा अन्य चिप्लो पदार्थको प्रयोगले योनिको सुख्खापनको समस्यालाई सजिलै कम गर्न सकिन्छ । थुक राम्रो विकल्प हो । केही स्थितिमा श्रीमान्लाई पनि यौन चरम सुखसम्म पुग्न धेरै समय लाग्ने कुरा वरदान नै साबित हुन सक्छ । यौन क्रियाकलाप लामो समयसम्म लाग्नु र नयाँ कुरा खोज्नुले यौनजीवनलाई थप ऊर्जा प्रदान गर्दछ ।

तर के यो कुरा सबै इस्ट्रोजनको कमीले मात्र भएको होला त रु इस्ट्रोजनको भूमिका प्रमुख भए पनि अन्य कतिपय कारणले पनि यस्तो हुने गर्दछ । यौनप्रति व्यक्तिको धारणा, स्वास्थ्यको स्थिति, वैवाहिक स्थिति सबैले यस बेलाको यौनजीवनमा के–कस्तो प्रभाव पार्छ भन्ने कुरा भर पर्ने हुन्छ । कतिपय स्थितिमा इस्ट्रोजनलाई दोष दिने गरिए पनि यो नै प्रमुख कारण नहुन सक्छ । चिकित्सकको सल्लाहमा हर्मोन प्रयोग गर्न सकिन्छ । यस उपचार विधिलाई अंग्रेजीमा हर्मोन रिप्लेसमेन्ट थेरापी भनिन्छ । यस्ता औषधि चक्की, जेल वा प्याचहरूमा पाइन्छ । इस्ट्रोजनको साथै कुनै–कुनै औषधिमा प्रोजेस्टेरोन भन्ने औषधि पनि हुन्छ ।

विशेष गरी श्रीमान्ले यौनसम्र्पकबाहेकका क्रियाकलापलाई बढावा दिँदा त्यसको प्रभाव एकदमै सकारात्मक हुने गर्दछ । स्पर्श गर्नु र गराइनु शारीरिक तथा भावनात्मकरुपमा सहयोगी हुने गर्दछ । यस्ता कुराले आश्वस्त पार्न र चैन मात्र प्रदान गर्ने होइन, कोमलता, सहचारिता तथा प्रेम प्रदर्शन गर्ने मौका पनि दिन्छ । यसबाहेक यो उमेरमा घर, समाज र कार्यक्षेत्रका कतिपय जिम्मेवारी अनि त्यसैसँग आउने तनाव र थकानले पनि यौनजीवनमा नकारात्मक प्रभाव पर्न सक्छ । यदि त्यस्ता कुरा छन् भने सुखमय यौनजीवनको लागि ती कुराको पहिचान र समाधान पनि गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्