रातारात बढ्ने होइन इम्युनिटी !



– डा. रामदेव पण्डित
आयुर्वेद चिकित्सक ।

कोभिड–१९ को विश्वव्यापी महामारीको वर्तमान समयमा इम्युनिटी विषय चर्चाको केन्द्रमा छ । मानिसहरुले आफ्नो इम्युनिटी बढाउनका लागि अनेक विधि र प्रयत्नहरु गरेका छन् । इम्युनिटी यस विधि वा वस्तुले बढ्छ वा त्यस विधि वा वस्तुको प्रयोगले घट्छ भन्ने प्रचार गरिएका छन् । यसमध्ये कतिपय सत्य पनि होलान् भने कतिपय भ्रामक । इम्युनिटी वृद्धि गर्ने, गराउने होडमा धेरैले राम्रै कमाइरहेका पनि छन् । केहीले सत्यतथ्य नबुझेर अनेक थरी प्रयत्न गरी आफ्नो स्वास्थ्य पनि बिगारेको पाइएको छ । यहाँसम्म कि रक्सी खाएर इम्युनिटी बढ्छ भन्ने हल्लासमेत चलाइएको छ ।

इम्युनिटी रातारात बढ्दैन । यो शरीरको धेरै कुरामा निर्भर रहेको हुन्छ । कुनै औषधि वा विधिले चमत्कारी शैलीमा पनि इम्युनिटी बढ्दैन । इम्युनिटी बढ्नु, बढाउनु भनेको शरीरमा निहित इम्युनिटी बढाउने प्रणालीले छरितो कार्य गर्नु हो । शरीरको कुनै प्रणाली स्वतन्त्र हुँदैन । एउटा प्रणाली अर्को प्रणालीसँग जोडिएको हुन्छ । शरीरको कुनै एउटा प्रणालीमा समस्या छ भन्नुको अर्थ अन्य प्रणाली पनि समस्यामा तानिनु हो । अतः इम्युनिटीको आधारभूत कुरा भनेको शरीरका सबै प्रणाली स्वस्थ राख्नु हो । सारमा स्वस्थ शरीर नै सबल इम्युनिटीको जग हो ।

इम्युनिटी भनेको शरीरको एक विशेष खालको क्षमता वा शक्ति हो । यसले शरीरलाई रोग लाग्नबाट बचाउँछ वा बचाउने प्रयास गर्दछ । साथै शरीरमा लागिसकेको रोगविरुद्ध शरीरभित्रै लड्ने शक्ति पनि इम्युनिटी नै हो । इम्युनिटी बढ्नु वा बढाउनुको अर्थ रोग लाग्ने कारणलाई रोक्नु वा छेक्नु हो ।

हरेक मानिसको इम्युनिटी फरक हुन्छ । दुईजना व्यक्तिलाई एउटा रोगको सम्पर्कमा ल्याउँदा, एउटामा रोग लाग्न सक्छ भने अर्कोमा नलाग्न सक्छ । किनकि ती दुई व्यक्तिमा रोग–प्रतिरोधात्मक क्षमता फरक हुन्छ । त्यस्तै हरेक लिंग, उमेर, जात, धर्म, एवं प्रजातीमा पनि फरक–फरक रोग र इम्युनिटी रहेको हुन्छ । भौगोलिक हिसाबले पनि मानिसहरुमा इम्युनिटी फरक हुन्छ ।

सुश्रुत संहिता सूत्रस्थानमा ‘मानव शरीर दोष, धातु र मलले बनेको हुन्छ, मानव शरीरमा हुने धातु, अग्नि, मल आदिको सन्तुलन र आत्मा एवं मनको प्रसन्नता नै स्वास्थ्य हो’ भनिएको छ ।

कोरोनाविरुद्ध व्याधिक्षमत्व वृद्धि कसरी गर्ने ?

-सबेरै उठेर नित्यकर्म सकी कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ ।

-बिहान सधैँ १५ मिनेट सूर्यकिरणको स्नान गर्नुपर्छ, जसले शरीरमा आवश्यक भटामिन ‘डी’ आपूर्ति गराउँछ ।

-बिहान खालि पेटमा फलफूल वा यसको रस अथवा घिउकुमारी, जमरा, गुर्जो, अमला, तुलसी आदिको काढा वा रस ५० देखि १०० मि.लि. पिउनुपर्छ ।

-ऋतुअनुसार मानवशरीरको पाचक अग्निको शक्ति घट्ने÷बढ्ने हुनाले मौसमअनुसार सागसब्जी वा फलफूल आहार गर्नुपर्छ । एकै खालको खानपिनको बानी पार्नुहुन्न ।

-खाना खाने बेलामा मोबाइल चलाउने, टिभी हेर्ने, कुराकानी गर्ने जस्ता कार्य गर्नुहुँदैन । हरेक गाँस २०–३० पटकसम्म चपाएर निल्ने गर्नुपर्छ ।

-दैनिक २ देखि ३ लिटर पानी पटक–पटक गरी पिउनुपर्छ । सकेसम्म मनतातो पानी पिउनु राम्रो हो । तातोपछि लगत्तै चिसो वा चिसोपछि लगत्तै तातो सेवन गर्नुहुँदैन ।

-दिसा, पिसाब, भोक, प्यास, निद्रा आदिको वेग रोक्नुहुँदैन । दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ ।

-तारे–भुटेको, अधिक चिल्लो, पाकेटबन्द तयारी खाना वा अधिक मैदायुक्त खाना छोड्नुपर्छ । बासी वा फ्रिजको खाना पनि सकेसम्म उपयोग गर्नुहुँदैन ।

-बेसार, अदुवा, लसुन, प्याज, जिरा, मरिच, दालचिनी, तेजपात आदि मसलाको गुण नष्ट नहुने गरी भोजनमा प्रयोग गर्नुपर्छ ।
मह, घिउ र दूधको इम्युनिटी वृद्धिमा अधिक भूमिका हुने हुनाले यी चीज निश्चित मात्रामा दैनिक सेवन गर्नुपर्छ ।

-उपवासले शरीरको पाचक अग्निबल बढाउने, धातु निर्माण प्रक्रियालाई छरितो बनाउने र शारीरिक मलहरुको सम्यक् निष्कासन गरी इम्युनिटी बढाउने हुँदा हप्ताको एक दिन उपवास गर्नु हितकर मानिन्छ ।

-धूमपान–मद्यपान नगर्नु, अधिक मात्रामा चिया–कफी नपिउनु, शाकाहार भोजन गर्नु शरीरका लागि सर्वथा राम्रो हुन्छ ।

-दैनिक ३० देखि ४५ मिनेट ध्यान गर्नुका साथै सकारात्मक सोच एवं सद्भावका साथ पारिवारिक जीवनयापन गर्नुपर्छ ।

शरीरको स्वास्थको कारक तत्वलाई सम अवस्थामा राख्नु र रोग लाग्ने विषम अवस्थामा जान नदिनु नै आयुर्वेदमा व्याधिक्षमत्व (इम्युनिटी) हो । शरीरको सप्तधातुको साररुप ओज हो । ओजको कार्यरुप बल हो । ओजले शरीरको अपक्षय (विदरिङ्ग), व्यपजनन (डिजेनेरेसन) तथा उपसर्गहरु (इन्फेक्सन) बाट रक्षा गर्दछ, त्यो भनेको नै व्याधिक्षमत्व अर्थात् रोग–प्रतिरोधात्मक क्षमता हो । आयुर्वेदानुसार व्याधिक्षमत्व तीन प्रकारको मान्न सकिन्छ– सहज बल (जन्मजात प्राप्त बल), कालज बल (समय, ऋतु र उमेरको बल) र युक्तिकृत बल (आर्जित बल) ।

त्रय–उपस्तम्भ– आहार, निद्रा र ब्रह्मचर्यको पालनले व्याधिक्षमत्व बढ्छ । वय शक्ति, आहार शक्ति र व्यायाम शक्तिले पनि व्याधिक्षमत्व बढ्छ । पञ्चकर्म विधिबाट शरीरको शोधन गर्नु इम्युनिटी बढाउनु हो । शरीरमा पञ्चमहाभूतको सन्तुलन मिलाउनु ओज वृद्धि गर्नु हो । ओज एवं बलबर्धक औषध द्रव्य, रसायन द्रव्य, बाजीकरण द्रव्य र आचार रसायनको प्रयोग गरी शरीरको धातुलाई समन गर्नु व्याधिक्षमत्व हो । रज र तम विकारबाट मनलाई सत्वमा स्थापित गर्नु व्याधिक्षमत्व हो ।

आधुनिक चिकित्सा विज्ञानको इम्युनोलोजीको भाषामा इम्युनिटीका लागि मानवशरीरमा छुट्टै एउटा इम्युन सिस्टम नै हुन्छ । जसमा शरीरको इम्युनिटी व्यवस्थापनका केही विशेष इम्युन कोषहरु तैनाथ भएका हुन्छन् । यसर्थ इम्युनिटी भनेको प्राणीभित्र हुने एक क्षमता हो । जसमा शरीर कुनै संक्रमण विशेष वा विषाणुविरुद्ध एन्टिबडी कोषहरु बनाएर वा सेतो रक्तकोषहरुलाई सक्रिय बनाएर लड्छ ।

निश्चितरुपमा मानवजीवन हावा, पानी र आहारको सम्यक आपूर्तिबाट चलिरहेको हुन्छ । शरीरमा पर्याप्त मात्रामा स्वच्छ हावाको आपूर्ति, सही मात्रामा स्वच्छ जल र सन्तुलित एवं पौष्टिक भोजनको सम्यक आपूर्तिले शरीर स्वस्थ राख्न सकिन्छ । स्वस्थ शरीरलाई परिष्कृत र व्यवस्थित बनाइराख्न गरिने प्रयत्नहरु इम्युनिटी वद्र्धक हुन्छन् । यसका लागि व्यायाम (आसन, प्राणायाम, प्रातभ्रमण आदि), उपवास, ब्रह्मचर्य, औषधीय जडीबुटीहरु (गुर्जो, अमला, बेसार, तुलसी, अश्वगन्धा आदि) सेवन पनि सहायक भने अवश्य हुन्छ । त्यस अतिरिक्त इम्युनिटी वृद्धिका लागि मनमा एकाग्रता, शान्ति, सकारात्मक भाव र विचार जरुरी हुन्छ । इन्द्रियहरुलाई आफ्नो बुद्धिको नियन्त्रणमा राख्न सक्नुपर्छ । आत्मिक उन्नयनका लागि जीवनमा ध्यानलाई जोड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्