तपाईंका घरमा हाम्रा डाक्टर



१. म २६ वर्षको मात्रै भएँ । मेरो कताकति कपाल फुलेको देखियो । यस्तै हो भने केही वर्षमै पूरै कपाल फुल्ने हो कि भन्ने डर लागिरहेको छ । कपाल फुल्ने प्रक्रिया बेलैमा रोक्नका लागि केही उपाय भएमा बताइदिनुहुन्थ्यो कि र ?

– कुमार बुढाथोकी, खुर्कोट, सिन्धुली ।

कुमारजी, कपाल फुल्नुको पछाडि धेरै कारण हुन सक्छन् । वंशाणुगतरुपमा वा विभिन्न स्याम्पु, साबुन, केमिकल प्रयोग गरेर अथवा प्राकृतिकरुपमा कुनै पनि कारणले कपाल फुल्न सक्छ । हामीले गर्न सक्ने भनेको सुरक्षित र राम्रो ब्रान्डेड स्याम्पु प्रयोग गर्ने, सन्तुलित खाना खाने, अहितकारी खाद्यवस्तु नखाने गरेमा राम्रो हुनेछ । जहाँसम्म फुलिसकेको कपाललाई कालो गराउने भनेको कलर गरेर मात्रै हुन्छ । समग्रमा जीवनशैली राम्रो गर्ने उपाय अवलम्बन गर्ने सल्लाह दिन्छु ।

२. म १९ वर्षकी किशोरी हुँ । मेरो शरीरको तुलनामा पेट ठूलो देखिएको छ । यद्यपि साथीहरुले समेत भुँडे भनेर जिस्क्याउँछन् । पेट घटाउने कुनै औषधि वा उपाय भए बताइदिनुस् न डाक्टर साब ।

– बेनामी, ललितपुर ।

बेनामी बहिनी, ठूलो देखिने पेट घटाउन पेटकै व्यायाम गरेमा हुन्छ । यसको लागि उत्तानो सुतेर खुट्टा सीधै राखी कम्मरभन्दा माथिको भाग उठाउने अनि सुत्ने कार्य धेरैपटक गर्ने, त्यस्तै पेटको भाग घुमाउने व्यायाम गर्ने, ढाडमा सपोर्ट दिएर शरीर धनुसजस्तै गरी सकेजति घुमाउने व्यायाम गरेर हेर्ने गर्न सकिन्छ । त्यसबाहेक दगुर्ने, खेल्ने, उफ्रनेजस्ता साधारण व्यायाम गर्न पनि सकिन्छ । यदि यी सबै त्यति प्रभावकारी भएनन् भने फिजियोथेरापिस्ट वा खेलविज्ञ भेटेर सल्लाह गरी आवश्यक तयारी गर्न सक्नु हुनेछ ।

३. मेरो बुबा ६० वर्ष पुग्न लाग्नुभयो । उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या छ । औषधि नियमित खाइरहनु भएको छ । कहिलेकाहीँ रक्तचाप बढ्ने गरे पनि समग्रमा स्वास्थ्य ठिक्कै छ । उहाँ कहिलेकाहीँ थोरै चिनी राखेर चिया खानुहुन्छ । आलु पनि खान खोज्नुहुन्छ । उहाँका लागि म कतिसम्म खान दिन सक्छु रु सल्लाह पाऊँ ।

– अंगद खड्का, चरिकोट, दोलखा ।

अंगद खड्काजी, हेर्नुस् हाम्रो जस्तो खाना खाने प्रणालीमा खानाको प्रकृति अनि हरेक तत्वको मात्रा मिलाउन गाह्रो हुन्छ । त्यसैले आफ्नै किसिमले सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । हामी भन्छौं, दैनिक शक्तिको लागि बिहानको छाक चामलको भात खाने, त्यसपछि सुगर बढ्न सक्ने अरु कुनै खाना नखाने । अथवा भात नखाने बरु दुवै छाक च्याँख्ला वा रोटी खाने हो भने अलि–अलि आलु, एक–दुई कप चिया खान सकिन्छ तर नियमित चिनीको मात्रा नियन्त्रित हुनुपर्‍यो । जे होस्, चिल्लो घिउ वा तेल अनि गुलियो वा कार्बोहाइड्रेटको नियन्त्रित मात्रा हुनुपर्‍यो । पहाडमा बस्ने हुनाले चामलको विकल्प प्रशस्त हुन्छ, मिलाएर खान सकिन्छ । हाम्रो उद्देश्य चिनीको मात्रा मियन्त्रणभन्दा बाहिर जानुभएन । त्यस्तै नियमित मिर्गौलाको परीक्षणमा पनि सही रिपोर्ट आउनुपर्‍यो । नियमित व्यायाम, सन्तुलित डायबेटिक खाना, नियमित स्वास्थ्य परीक्षण भयो भने चिनीरोगले कहिल्यै दुःख दिँदैन ।

४. म एक छात्रा हुँ । मेरो तल्लो ओठछेउमा दाद देखियो । बढेर अनुहारभरि हुने हो कि भनेर चिन्ता लागिरहेको छ । अभिभावकले त्यति वास्ता नगरेकाले कुनै औषधि भए बताइदिनुहोस् न भनेर इमेल गरेकी छु ।

– सरिता, बालाजु, काठमाडौं ।

सरिता बहिनी, दाद भन्नाले फंगल इन्फेक्सन ९च्याउ जातिको जीवाणु० भन्ने बुझिन्छ । तर त्यो भएमा गोलो–गोलो आकारको दाद वरिपरि फैलिँदै जाने र बीचमा कम हुने अनि अत्यधिक चिलाउने हुन्छ । अनुहारमा अलि कम हुन्छ । विचार गर्दा शायत त्यो होइन होला । दाग नहेरी त्यसै यो–त्यो औषधि भन्ने अवस्था रहँदैन । किनभने अनुहारजस्तो संवेदनशील छालामा जे पायो त्यही केमिकल प्रयोग नगरेकै राम्रो । तसर्थ सही निदान अनि उपचारको लागि एकपटक छालारोग विज्ञ भेटेर परामर्श गर्नुपर्ने हुन्छ । यसका लागि वीर अस्पताल वा शिक्षण अस्पताल गएर दिखाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्