स्वास्थ्यमा बजेट वृद्धि



कोभिड–१९ को महामारीको कारण स्वास्थ्यमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट उल्लेख्यरुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको वार्षिक स्वास्थ्य बजेट करिब ४४ अर्ब रहेकोमा आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड रुपियाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसद्मा गत जेठ १५ गते प्रस्तुत गर्नुभएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटमध्ये स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको उल्लेख गर्नुभएको थियो । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमध्ये कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मात्र रु। ६ अर्ब छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा सम्पन्न गरिने महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरुमा कोभिड–१९ को नियन्त्रण तथा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको लागि ५ लाखको बिमा गर्ने, काठमाडौंमा ३ सय बेड र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माण गर्ने, उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहित बेड थप गर्ने कार्यक्रम रहेका छन् ।

 

यस्तै गरी स्थानीय तहमा ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने, विपद्का बेला निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सकिने व्यवस्था गर्ने, निरोगी नेपाल अभियान चलाउने कार्यक्रम तय गरिएको छ । साथै आगामी आर्थिक वर्षको स्वास्थ्य क्षेत्रको कार्यक्रममा राष्ट्रिय रोग निदान केन्द्रको स्थापना गर्ने, केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने, प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने, सबै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना गर्नेजस्ता महत्वपूर्ण कार्यक्रम समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्