सिजेरियन शल्यक्रियाको आवश्यकता र हानि



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) 

एक समय थियो, त्यस बेला योनिद्वारबाट नै बच्चा पाउनुको विकल्प थिएन । समयक्रमसँगै योनिद्वारमाथिको कुरकुरे हड्डीलाई टुक्र्याएर भए पनि बच्चा आउने बाटो फराक बनाउने उपाय प्रचलनमा आयो, जुन अफ्रिकामा अझै छ ।

अघिल्लो शताब्दीमा चिकित्सा विज्ञानमा धेरै चामत्कारिक अन्वेषण भए । बेहोस पार्ने औषधिको विकास, प्रतिजैविक (एन्टिबायोटिक) औषधिको उत्पादन, शल्यक्रिया गर्ने सामग्रीहरुको निर्माण, सुरक्षित रक्तदानको सुविधासँगै दक्ष जनशक्तिको उत्पादनले पनि गति लियो । यसै कारण योनिद्वारबाट मात्र बच्चा पाउनुपर्ने बाध्यताको सुरक्षित विकल्पका रुपमा सिजेरियन अपरेसन चलनचल्तीमा आयो ।

गर्भावस्थाको २८ हप्तापछि तल्लो पेट र पाठेघरमा घाउ बनाई बच्चा निकाल्ने शल्यक्रियालाई ‘सिजेरियन’ भन्ने गरिन्छ । इसापूर्व ७१५ ताकाको रोमन कानुन ‘लेक्स सिजेरिया’ बाट यो शल्यक्रियाको नामाकरण गरिएको अनुमान छ । बच्चा बाँच्ने आशमा मर्न लागिरहेकी गर्भवतीको पेटबाट चिरेर बच्चा निकाल्न वा गर्भवती महिलाको मृत्युपछि छुट्टाछुट्टै तरिकाले गाड्न यो कानुन बनाइएको थियोे । पहिलो पटक रिपोर्ट गरिएको सिजेरियनचाहिँ सन् १६६८ मा फ्रान्सिस माउरिसिउले गरेको सिजेरियन थियो ।

उन्नाइसौं शताब्दीमा आएर गर्भवती महिलालाई अकाल मृत्युबाट बचाउन सिजेरियन शल्यक्रिया गर्न थालियो । सन् १८८२ देखि म्याक्स स्याडरले बच्चा निकालेपछि पाठेघरमा बनाइएको ठाडो घाउ सिलाइदिने गरेपछिचाहिँ सिजेरियन शल्यक्रियाका कारण महिलाको मृत्यु हुने दरमा उल्लेख्य सुधार आयो । यस्तो खालको सिजेरियन शल्यक्रिया विधिपछि अर्को पटकको गर्भमा रक्तश्राव हुने, संक्रमण हुने, पाठेघर च्यातिने समस्यामा पनि निकै कमी आयो ।

सन् १८८२ मै केहररले प्रतिपादन गरेको पाठेघरको तल्लो भागमा तेर्सो घाउ बनाई गरिने सिजेरियन शल्यक्रियालाई सन् १९११ मा आएर मुनरो करले प्रख्यात बनाए । यस खालको सिजेरियन पहिलेको सिजेरियन शल्यक्रियाभन्दा बढी सुरक्षित पाइएको छ । बच्चा आउने बाटो साँघुरिने समस्याका लागि मात्र विकसित सिजेरियन शल्यक्रियाको दरमा पछिल्लो समय अत्यधिक वृद्धि भएको छ ।

संयुक्त राज्य अमेरिकामा ३० को दशकमा १ देखि २ प्रतिशत मात्र हुने गरेको सिजेरियन शल्यक्रिया सन् १९६५ तिर ४ देखि ५ प्रतिशत हुँदै सन् १९८८ मा २४.७ प्रतिशत पुग्यो । त्यसै गरी इटालीमा १९८० तिर ४।२ प्रतिशत मात्र रहेको सिजेरियनको दर सन् १९९१ मा २२।४ प्रतिशत पुग्यो ।

सिजेरियन शल्यक्रियापश्चात् लामो समयसम्म थप पीडा खप्न बाध्य हुनुका साथै सामान्य प्रसव व्यथामा भन्दा सिजेरियनको कारण गर्भवती महिलाको मर्ने दर ३ देखि १० गुणा बढी छ भन्ने हेक्का नहुन सक्छ ।

संसारमै सबभन्दा बढी सिजेरियन ब्राजिलमा हुने गरेको पाइयो । त्यहाँ सन् १९७४ तिरै करिब १५ प्रतिशत रहेको सिजेरियनको दर सन् १९९५ मा त ३२.५ प्रतिशत पुग्यो । अझ कुनै–कुनै राज्यमा त यसको दर ८५ देखि ९५ प्रतिशतसम्म पुग्यो । विकसित मात्र नभई विकासोन्मुख तथा विकासशील देशहरुमा पनि सिजेरियनको दर बढी नै छ । बंगलादेशमा २१ प्रतिशत, भारतमा ९ देखि २४ प्रतिशत (चेन्नईमा करिब ३६ प्रतिशत) तथा सिंगापुरमा १७ प्रतिशत छ ।

त्यसो त करिब १५ देखि २५ प्रतिशत गर्भवती महिलाहरुमा बच्चा जन्माउन यो शल्यक्रियाको आवश्यकता पर्दछ । नेपालका शहरी क्षेत्रमा सिजेरियन अपरेसनद्वारा बच्चा जन्मिने क्रम बढ्दो छ । अफिस समयमा मात्र सिजेरियन शल्यक्रिया हुने तथा निजी अस्पतालमा सिजेरियन शल्यक्रिया बढी हुने गरेबाट सिजेरियन शल्यक्रियाको बढोत्तरी कतै आर्थिक प्रलोभनसँग त जोडिएको छैन भन्ने शंका गर्न थालिएको छ ।

नियमित गर्भजाँच सेवाको अभाव, रेफरल सेवाको नाजुकपना, स्वास्थ्य संस्था टाढा हुनुजस्ता कारणले अफ्रिकी मुलुकहरुमा तुलनात्मकरुपमा सिजेरियनको दर कम देखियो । जसले गर्दा मातृमृत्यु तथा महिला रोगी हुने दर बढी छ । यसको ठीक विपरीत मातृ मृत्यु तथा नवजात शिशुको मृत्युदर कम भएर पनि स्वीडेन, डेनमार्क, नेदरल्यान्डलगायतका युरोपेली मुलुकहरुमा सिजेरियन हुने दर निकै कम अर्थात् करिब १० प्रतिशत मात्र छ । किनकि ती राष्ट्रहरुमा अनुगमन निकाय तथा नियामक संस्थाहरु निकै सशक्त छन् ।

 

सिजेरियनको आवश्यकता

गर्भे शिशुसँगैको साल पाठेघरको तल रही बच्चा आउने बाटो पूर्णरुपमा ढाकेको अवस्थामा, पुठ्ठाको हड्डी साँगुरो भएको अवस्थामा, गर्भवती महिलाको उचाइ १४० से।मि।भन्दा कम भएको अवस्थामा सिजेरियनको आवश्यकता पर्छ ।

यस्तै गरी पहिला दुई पटकभन्दा बढी सिजेरियन गरिसकेको, बच्चा जन्मिनुअघि नै साल पाठेघरबाट छुट्टिएको, बच्चा उल्टो वा तेर्सो बसेको, सुत्केरी बेथा लामो भएको वा बेथाको क्रममा पाठेघरको मुख राम्ररी नखुलेको अवस्थामा पनि सिजेरियन गर्नुपर्छ । त्यस्तै गरी गर्भवती महिलालाई अनियन्त्रित उच्च रक्तचाप हुनु, अनियन्त्रित मधुमेह हुनु, कम्पन छुट्नु, मुटुको समस्या हुनु, पाठेघरको तल्लो भागमा मासु बढ्नु, पाठेघरको मुुखमा क्यान्सर हुनु एवं योनिद्वारवरिपरिका नसा फुल्नु, पानीको थैलो फुटेको २४ घण्टासम्म पनि बेथा नलाग्नु जस्ता कारणले सिजेरियन गर्नुपर्ने हुन्छ ।

सुत्केरी बेथा लाग्दै गर्दा बच्चालाई सकस भएका चिह्नहरु जस्तो– पाठेघरको मुख राम्ररी नखुल्दै पेटभित्रको बच्चाको मुटुको धड्कन निकै बढी वा कम भएमा, निस्सासिएमा वा पानीको थैलो फुट्दा खैरो, हरियो पानी देखा परेमा पनि सिजेरियन गर्नुपर्ने हुन्छ ।

पुनः दोहोर्‍याएर गर्नुपर्ने सिजेरियन, सुत्केरी व्यथाका बेला बच्चाको मुटुको धड्कन अनुगमन गर्न (मुटुको चाल तल–माथि भएको छिट्टै थाहा पाउने) मेसिनको प्रयोग, बच्चाको बसाइ उल्टो, व्यथा शुरु गर्नको लागि औषधिको प्रयोग, आधुनिक प्रसूति रोग विज्ञानमा औजारको प्रयोगभन्दा सिजेरियन बढी सुरक्षित हुन्छ भन्ने धारणा, अल्ट्रासाउन्डबाट गर्भे शिशुको तौल अनुमान गर्न सक्ने सुविधा, गर्भे शिशुको तौल कम वा निकै कम भए पनि सिजेरियन गर्नाले बच्ने प्रबल सम्भावना, व्यथापूर्व रक्तश्राव हुने तथा गर्भावस्थामा उच्च रक्तचाप एवं कम्पन छुट्ने समस्याका लागि, अनावश्यक कानुनी झन्झटबाट बच्न, गर्भवती महिला तथा चिकित्सकमा धैर्यताको कमी, महिला अधिकार (प्रसव पीडाबाट बच्न, सुत्केरी व्यथाका कारण योनिद्वारमा पुग्ने नकारात्मक असर कम गर्न) का कारण हालैको दशकमा सिजेरियन शल्यक्रियामा अत्यधिक वृद्धि भएको छ ।

 

सिजेरियनका बेफाइदा

सामान्य प्रसूतिमा औसतमा १२ घण्टा प्रसव व्यथा सहे पुग्छ । तर पनि धेरै आधुनिक महिलाहरुमा यस्तो धैर्यता देखिँदैन । केही समयको पीडा पनि सहन तयार हुँदैनन् । सजिलो हुन्छ भन्ने भ्रममा सिजेरियनको माग गर्ने गरेको पाइन्छ । त्यसो त स्वैच्छिकरुपमा सिजेरियन गर्न पाउनुपर्ने पनि महिला अधिकारभित्र पर्दछ । तर गर्भवती महिलाको अनुरोधमा गरिने सिजेरियन सामान्य सुत्केरीको दाँजोमा खर्चिलो र हानिकारक पनि हुन्छ । सिजेरियन शल्यक्रियापश्चात् लामो समयसम्म थप पीडा खप्न बाध्य हुनुका साथै सामान्य प्रसव व्यथामा भन्दा सिजेरियनको कारण गर्भवती महिलाको मर्ने दर ३ देखि १० गुणा बढी छ भन्ने हेक्का नहुन सक्छ । कतिपय अध्ययन रिपोर्टहरुमा प्राकृतिक बाटोबाट जन्मिएका बच्चाभन्दा सिजेरियन शल्यक्रियाबाट जन्मिएका बच्चाहरु कमजोर हुने गरेको पाइएको छ ।

पहिला गरेको सिजेरियन अनुभवी प्रसूति रोग विशेषज्ञबाहेकले गरेको वा तिनीहरुको निगरानीविना गरिएकोमा पछि दोहोर्‍याएर गर्नुपर्दा पाठेघर र भित्री पेटमा तथा पाठेघर र पिसाबको थैलीमा मासु टाँसिने समस्या हुन्छ । यसरी मासु टाँसिएको समस्यामा बाध्यताले बच्चा निकाल्नुपर्ने अवस्था आइपर्‍यो भने आन्द्रा, पिसाब थैली तथा मूत्रनलीमा चोट पुग्ने, घाउ पाक्ने सम्भावना बढी हुन्छ । मोटोपना तथा अन्य मेडिकल समस्या भएका महिलामा सामान्य सुत्केरीभन्दा सिजेरियन शल्यक्रियाले छाती पाक्ने समस्या, पिँडौलाको नसामा रगत जम्ने समस्या बढी हुन्छ ।

 

सिजेरियन कम गर्न सकिन्छ ?

मुख्य कुरा सेवाप्रदायक र सेवाग्राही दुवैले सिजेरियन शल्यक्रिया जोखिममुक्त छैन भनेर बुझाउनुपर्‍यो, बुझ्नुपर्‍यो । अर्को, नियामक निकाय प्रभावशाली र शून्य सहनशीलता भएको हुनुपर्‍यो । सेवाप्रदायक संस्थाहरु विशेषतः निजी अस्पतालहरुले सिजेरियन शल्यक्रियालाई आर्थिक लाभका स्रोत मात्र नमानेर सम्बन्धित विशेषज्ञहरुबीच एक–अर्काले गर्दै आएको सिजेरियन शल्यक्रियाहरुको औचित्यतामाथि नियमित छलफल गर्ने प्रणालीको विकास गर्नुपर्छ ।

यस्तोमा प्रसूति रोग विशेषज्ञहरुको संस्था (नेसोग) तथा नेपाल मेडिकल काउन्सिलको समन्वयकारी एवं सुपरीवेक्षण भूमिका हुनुपर्छ । साथै पहिले कुनै कारणका लागि सिजेरियन गरिएको भए पनि यसपटकको सुत्केरी योनिद्वारबाट गराउने अस्पताल तथा अस्पतालकर्मीलाई आर्थिकरुपमा प्रोत्साहन गरेको खण्डमा सिजेरियनको उच्च दर घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्