निरन्तर यौनसम्पर्ककोे चाहना किन हुन्छ ?



डा. राजेन्द्र भद्रा

म अहिले १७ वर्षको भएँ । करिब ६ महिनापहिले एक केटी साथीसँग भेट भयो । यौनसम्पर्क गर्दा निकै नै आनन्द आयो र फेरि पनि गर्ने चाहना भयो । हामीले बारम्बार यौनसम्पर्क गर्‍यौं । विवाहभन्दा पहिले यसरी यौनसम्पर्क गर्दा अनेक समस्या हुने भन्ने थाहा भएपछि यौनसम्पर्क नगरौं भन्ने लाग्छ तर रोक्न सकिरहेको छैन । यसरी यौनसम्पर्क गरेपछि किन फेरि अर्कोचोटि गर्न मन लाग्छ ?

-विकास

उत्तर : तपाईंको प्रश्नको जवाफको लागि यौन उत्तेजनाको सञ्चालन कसरी हुन्छ भन्ने बारेमा चर्चा गरौं ।

यौन उत्तेजना र यौनसम्पर्कको सञ्चालन

यौन चाहना हामीलाई प्रकृतिले दिएको एक विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताको लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । मस्तिष्कको हाइपोथालमस (hypothalamus) भन्ने सानो अंगले प्राणीमा यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न गर्दछ भने अर्को अंग सेरेब्रल कोरटेक्स (Cerebral Cortex) ले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई अभिलेख राख्ने कार्य गर्दछ । यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित हुन्छन् । यौनइच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ ।

यी सबै कुराको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौनसम्पर्क होस् वा अन्य यौनक्रियाकलाप, ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । मोटामोटीरुपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रिय प्रणालीका अनि मस्तिष्कले ।

रागरस (हर्मोन) को प्रभाव : यौनेच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । सामान्यतया पुरुष हर्मोनको रुपमा चिनिने गरे पनि महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताको लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन व्यग्रता वा चाहनाको लागि यो हर्मोनको निश्चित मात्रा व्यक्तिमा हुनु आवश्यक छ ।

यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । यसरी सोच्ने हो भने, मस्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौनाङ्ग हो ।

टेस्टेस्टेरोनको मात्राको कुरा गर्दा, ९ वर्षभन्दा मुनिको केटामा ७–२० युनिट (ng/dl) हुन्छ भने १७–१८ वर्षको हुँदा ३००–१२०० युनिट पुग्दछ । त्यसै गरी ९ वर्षभन्दा मुनिको केटीमा ७–२० युनिट र १७–१८ वर्षको हुँदा २०–७५ युनिटसम्म पुग्दछ । त्यसपछि भने यसको उच्च नै भए पनि १७–१८ वर्षको उच्चतम विन्दुभन्दा केही कम हुन्छ र प्रौढावस्थामा पुगेपछि भने बिस्तारै अझै कम हुन थाल्छ । अहिले समाजमा आएको परिवर्तनअनुसार विवाह गर्ने उमेर नै पछिल्तिर धकेलिएको छ । १८ वर्षभन्दा मुनि उमेरका व्यक्तिलाई बालबालिका नै ठान्ने गरिएको छ तर प्राकृतिकरुपमा टेस्टेस्टेरोनको प्रभावमा यौनेच्छा तीव्र हुने उमेर किशोरावस्था हो भनेर ख्याल गर्दैनौं ।

इन्द्रियहरू : यौनक्रियाको लागि पनि हाम्रा इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाको लागि हाम्रा इन्द्रियहरू नभई नहुने कुरा हुन् । हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो । यो हाम्रो शरीरको पाँच इन्द्रियहरु– दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित छ । यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । पुरुषको लिंग, अण्डकोष थैली र वरिपरिको क्षेत्र र महिलाको भगाङ्कुर, योनि अनि भगक्षेत्र छाला आदि ।

मस्तिष्कको आफ्नै कुरा : यौनसम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भन्ने गरे पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिमरुपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ ।

वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ । हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । यसरी सोच्ने हो भने, मस्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौनाङ्ग हो । हामीमा स्वाभाविकरुपमा नै विचार, भावना अनि स्मरणहरू आउँछन् तर यी कुराहरु एक जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन् । यौन उत्तेजना कुनै इन्द्रियको संलग्नताविना नै हुन सक्छ । परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुन सक्छ ।

 

हामी किन बारम्बार यौनसम्पर्क राख्न लालायित हुन्छौं त ?

यौन उत्तेजनाको शुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौनप्रतिक्रिया चक्र अर्थात् ह्युमन सेक्सुअल रेस्पोन्स साइकल भनिन्छ । यसका ४ चरणहरू एक्साइटमेन्ट फेज, प्लेटो फेज, अग्र्याजम फेज अर्थात् चरमसुखको चरण तथा रिजोलुसन फेज हुन् ।

यदि हामीले मानव यौनप्रतिक्रिया चक्रलाई केलाएर हे¥यौं भने त्यसमा प्राप्त हुने सुखलाई स्वर्गीय सुख भनिन्छ । त्यसैले यसलाई चरमसुख नै नाम दिइएको छ । भनिन्छ, यो मानवले प्राप्त गर्ने सुखहरूमध्ये सबैभन्दा उत्तम सुख हो । त्यसैले यो स्वाभाविक हो कि कुनै पनि व्यक्ति यस्तो सुख प्राप्त गर्न लालायित हुन्छन् । उसले सो सुख पुनः प्राप्त गरेमा उसले सो सुख फेरि पनि प्राप्त गर्ने प्रयास गर्दछ र यसले निरन्तरता पाउँछ ।

यो कसरी सञ्चालित हुन्छ त भन्ने सन्दर्भमा पनि एकपल्ट नियालेर हेरौं । यस्ता प्रक्रियालाई सञ्चालन गर्ने प्रणालीलाई पुरस्कार प्रणाली भनिन्छ । यो प्रणालीले हामीलाई सुख वा आनन्द दिने कुरातिर निरन्तररुपमा आकर्षित गर्दछ । यस्तो निरन्तर आकर्षण खाना, नशालु वस्तुको प्रयोग होस् वा यौनसम्पर्कजस्ता कुरामा लागू हुने गर्दछन् । त्यसै गरी यो प्रणालीले दुःख वा पीडादायक कुराबाट टाढा बस्न लगाउँछ । यस क्रममा हाम्रो मस्तिष्कको विभिन्न भागबाट हुने कार्यको संयोजनको कार्य भने मस्तिष्कको स्ट्रियाटम भन्ने भागले गर्दछ ।

यो प्रक्रियामा डोपामिन भनिने न्यूरो–ट्रान्समिटरको महत्वपूर्ण भूमिका हुन्छ । कुनै आनन्ददायी क्रियाकलापभन्दा पहिले जति बढी मात्रामा डोपामिन मस्तिष्कमा निस्कन्छ त्यति नै बढी आनन्द प्राप्त गर्ने सम्भावना हुन्छ । यसको केही मात्रामा अनुभव भएपछि, मस्तिष्कमा स्मृति (memory) बन्दछ र यही स्मृतिको आधारमा हामीले केही निश्चित क्रियाकलाप आनन्ददायी हुने अपेक्षा गर्दछौं । हामीले प्राप्त गर्ने आनन्द हाम्रो शरीरमा प्राकृतिकरुपमा नै हुने ओपिओइडको कारणले प्राप्त हुन्छ । डोपामिन निस्किएपछि ओपिओइड निस्कन्छन् ।

अब त पक्कै नै बुझ्नुभयो होला कि किन एकपल्ट यौनसम्पर्क गरेपछि फेरि–फेरि यौनसम्पर्क गर्न मन लाग्छ । गहिरिएर हेर्ने हो भने मस्तिष्कको यस्तो पुरस्कार प्रणाली मानवलगायत सबैजसो नै प्राणीमा हुनुले उक्त प्राणीको वंशजलाई निरन्तरता दिन प्रकृतिले नै दिएको वरदान हो भन्न सक्छौं ।

यौन भावनाको व्यवस्थापन

जैविकरुपमा एक किसिमको कुरा भए पनि सामाजिक मूल्य–मान्यता अनि नियमलाई मान्नुको आफ्नै सकारात्मक पक्ष पनि छन् । तपाईं आफैं यस सन्दर्भमा जानकार छु भनेर उल्लेख गर्नुभएको नै छ । तपाईं, तपाईंको केटी साथी अनि दुवैको स्वास्थ्य, अध्ययन तथा वृत्ति विकास सबैलाई ध्यानमा राखेर यौन भावनालाई व्यवस्थापन गर्न सकियो भने भविष्य उज्ज्वल पार्न सहयोगी हुन्छ । अहिलेको सामाजिक नियममा मन लाग्नुको पछिल्तिर मात्रै अन्धो भएर नदौडेर विवेकको प्रयोग गर्नु आवश्यक मानिन्छ । त्यसले यी जैविक प्रक्रियाका बाबजुद पनि यौन भावनाको व्यवस्थापन राम्ररी गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्