स्वास्थ्य समाचार



डा. शेरचन सम्मानित

वरिष्ठ वैज्ञानिक प्राध्यापक डा. जीवन शेरचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वर्ण पदक र ताम्रपत्रसहितको ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड २०२०’ बाट हालै सम्मान गरेको छ ।

डा. शेरचन चार दशकभन्दा बढी समयदेखि विभिन्न संक्रामक रोग र परजीवीहरुबारे अनुसन्धान गर्दै आउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित दुईदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय सम्मेलनका अवसरमा उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । त्यस अवसरमा परिषद्का उत्कृष्ट कर्मचारी तथा विदेशमा बसेर विभिन्न विषयको अनुसन्धान गर्ने ३ जना नेपालीलाई पनि सम्मान गरिएको थियो ।

 

अधिक तौल भएकी महिलाबाट सन्तान

नर्भिक इन्टरनेसनल अस्पतालमा १ सय ६८ किलो तौल भएकी महिलाबाट शल्यक्रियामार्फत सन्तान जन्माइएको छ । नेपालमा यति धेरै तौल भएकी महिलाबाट सन्तान जन्माइएको यो पहिलो घटना भएको सम्बन्धित चिकित्सकले बताएका छन् ।

असार १० गते काठमाडौं, कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनुभएको थियो । असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भए पनि उच्च सावधानिपूर्वक ती महिलाको शल्यक्रियामार्फत सफल प्रसूति गराइएको बताउँदै डा. शर्माले यस सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको विचार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्