तपाईंका घरमा हाम्रा डाक्टर



१. डाक्टर साब, अहिले कोरोनाको महामारी छ । ढलमा समेत देखियो, छोएमा सर्छ भन्छन् । खासमा यो सर्ने तरिका के होला रु साथै रोकथाम र उपचारबारेमा पनि प्रस्ट पारिदिनुहोला ।

– सन्तोष पोख्रेल, कुलेश्वर, काठमाडौं ।

सन्तोषजी, यो खासमा हावाबाट सर्ने श्वास–प्रश्वाससम्बन्धी भाइरल रोग हो । यसको संक्रमणको दायरा अलि धेरै छ । रोगीले श्वास फेर्दा, खोक्दा, हाछ्यौं गर्दा नाक–मुख नछोपेमा र रोगी एवं त्यहाँ रहनेहरुले मास्क लगाएको छैन भने सीधै अर्को व्यक्तिमा २ मिटरको दूरीसम्म सजिलै सर्छ । साथै त्यो भाइरस भएको छिट्टा बाहिर कतै अन्य वस्तुमा भएमा, अड्केमा, टाँसिएमा स्पर्श गर्दा त्यसबाट पनि सर्ने थाहा पाइएको छ । हाम्रो हात अनुहार, मुख वा नाकमा गैरहने हुनाले स्पर्शबाट सरेको सीधै नाक–मुखमा पुगिहाल्छ । यसको दायरा ठूलो भएकाले नै संसार वा मानव जाति यो महामारीबाट प्रताडित छ । यसको रोकथाम वा नियन्त्रणको लागि मास्क लगाउने, समय–समयमा मिची–मिची हात धुने, सामाजिक दूरी २ मिटरको कायम गर्ने, यदि शंका लागेमा अलग्गै आइसोलेसनमा बस्ने वा चिकित्सक भेट्ने गर्नुपर्छ । यो भाइरल रोग हो । अहिलेसम्म यसको प्रभावकारी उपचारका उपाय पत्ता लागिसकेको छैन । खाली सहजताका लागि सहयोगी उपचार मात्रै गरिन्छ । यसको भ्याक्सिनको विकासको क्रम आशा लाग्दोरूपमा अघि बढेको छ ।

२. मैले उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको धेरै वर्ष भयो । समय–समयमा अस्पतालमा फलोअपमा पनि जाने गरेको छु । तर कहिलेकाहीँ रक्तचाप बढेर टाउको दुख्छ । तुरुन्तै अस्पताल जान पनि गाउँमा समस्यै हुन्छ । यसरी टाउको दुखेको बेलामा के गर्दा कम
गर्न सकिएला ?

– शिव पौडेल, रामेछाप ।

शिवजी, रक्तचापको औषधि सेवन गर्ने अनि नियमित फलोअपमा जाने गर्नु निकै नै राम्रो पक्ष हो, यो नियमित जारी राख्नुस् । जहाँसम्म टाउको दुख्नुको कारण रक्तचाप नै हो वा होइन, यसै भन्न सकिन्न । टाउको दुखेको बेलामा रक्तचाप बढेमा त्यो कारण हो रहेछ भन्न सकिन्छ । होइन भने टाउको दुख्ने हजारौं कारण हुन सक्छन् । जस्तै– आँखाको कारण, पिनासको कारण, टाउकोभित्रको चापको कारण, माइग्रेन, टेन्सनले दुख्ने टाउको, स्नायुको कारण आदि हुन्छ । त्यस्तो बेलामा हेल्थपोस्टमा गएर रक्तचाप नाप्न सकिन्छ । साथै टाउको दुख्दा सिटामोल भन्ने औषधि खान सकिन्छ । त्यस्तै धेरै नै रक्तचाप बढेमा हेल्थपोस्टबाट पनि आजकल औषधि दिने गरिन्छ । त्यो इमर्जेन्सीको लागि लिन सकिन्छ । त्यसपछि छिटोभन्दा छिटो सम्बन्धित मुटुरोग विशेषज्ञ भेटेर औषधि व्यवस्थित गर्न सकिन्छ ।

३. म ३० वर्षीय काम गर्ने युवक हुँ । मलाई १०–१२ वर्षदेखि महिनामा ४–५ पटक आत्तिने, टाउको दुख्ने गरेको छ । प्रायः आधा टाउको दुखाइ हुन्छ भने साथमा वाकवाकी पनि लाग्छ । दुई–तीन दिनसम्म दुखिरहने हुँदा पेनकिलर खाने गरेको छु । तनाव भएमा, कामको प्रेसर परेमा, घाममा परेमा, धेरै थाकेमा अरु धेरै दुख्छ । कतै ब्रेन ट्युमरले त होइन रु उचित सल्लाहको अपेक्षा गरेको छु ।

– लक्ष्मण मण्डल, हाल : सातदोबाटो, ललितपुर ।

लक्ष्मणजी, तपाईंको सबै लक्षण ‘माइग्रेन’ भन्ने रोगसँग ठ्याक्कै मिल्छ । ब्रेन ट्युमर भएको भए १०–१२ वर्ष यत्तिमा सीमित हुने थिएन । त्यसले माइग्रेनको समस्या हुनेहरुले घाममा नहिँड्ने, अक्सिजन कम भएको स्थानमा धेरै नबस्ने, रक्सी–चुरोट नखाने, भोको नबस्ने, तनाव–दबाबबाट टाढा रहने, दही नखाने, अमिलो वा च्यापेको अचारहरु नखाने, कफी धेरै नपिउने अनि जथाभावी पेनकिलर नखाने गर्नुपर्छ । धेरै मनपरि पेनकिलर खाएमा मृगौलामा हानि गर्न सक्छ । यसको उपचारका लागि एकपटक नसारोग विशेषज्ञ वा फिजिसियन भेटेर परामर्श गर्नुस् । त्यसपछि यसको सहजीकरण, उपचार, नियन्त्रण
सबै मिल्नेछ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्