– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)
नेपालमा देखिने छालासम्बन्धी रोगका सम्बन्धमा विशेषज्ञ डा। रवीन्द्र बास्कोटा भन्छन्, ‘नेपालमा छालारोगको समस्या धेरै छ । कुल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ, जसको तत्काल उपचार जरुरी छ ।’
छालारोग मौसमअनुसार पनि मानिसमा देखिने हुन्छ । हिमाल, पहाड र तराईको फरक–फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक–फरक हुन्छ । जाडो र गर्मी मौसममा छालाका फरक–फरक समस्या देखा पर्छन् ।
पछिल्लो समय नेपालमा स्वास्थ्य संस्थाका बहिरंग सेवामा उपचारार्थ आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका समस्याबाट पीडित हुन्छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका चर्म तथा यौनरोग विभागका पूर्वप्रमुख प्रा.डा. दिनेशविनोद पोखरेलका अनुसार वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोगलगायतका कारण छालाका समस्या बढेर गएको छ । उनका अनुसार दाद, संक्रमण, डण्डिफोर, चाया–पोतो, कत्लेरोग र दुबी बढी देखिने समस्या हुन् ।
मौसमीरुपमा हुने विभिन्न एलर्जीको प्रत्यक्ष सम्बन्ध शरीरको इम्युन सिस्टमसँग हुन्छ । जब इम्युन सेलहरुले वातावरणमा रहेका केही पदार्थप्रति अत्यधिक संवेदनशीलता देखाउँछ त्यसपछि एलर्जी हुने हुन्छ । सबै मानिसको शरीरको आफ्नै खालको प्रकृति र संवेदनशीलता हुने भएकोले सबै जनामा एउटै खालको एलर्जी नदेखिने हुन्छ । तसर्थ व्यक्तिपिच्छे एलर्जीको प्रकृति र कारण फरक–फरक हुने गरेको पाइन्छ ।
साउन–भदौ वर्षा ऋतु हो । वर्षातमा छाला अधिक आद्रतासँग सम्पर्कमा हुन्छ, जसका कारण छालाले पानी संग्रह गर्न सक्दैन । फलस्वरुप छाला सुख्खा हुने, चिलाउने, रातो हुने, फोका उठ्ने समस्या सामान्यरुपमा देखिन्छ । त्यस अतिरिक्त आँखा चिलाउने, नाक चिलाउने र पानी बग्ने समस्या पनि हुने गर्दछ ।
वर्षाको मौसममा विभिन्न खालाका धूलोका कण, फूलका पराग (पोलेन ग्रेन), परजीवी, कीरा वा जीवाणु वा विषाणुहरु (लामखुट्टे, पुतली, भुसुना, माइटस् आदि) वातावरणमा देखिन्छन् । जसको टोकाइ वा छालासँगको सम्पर्कले छालामा अनेक खालका समस्या देखिन्छन् । यस्ता समस्यालाई मानिसले खासै वास्ता गरेको देखिँदैन । किनकि यी समस्या आउने र जाने भइरहन्छन् । तर पटक–पटक यस्तो समस्या आउँदा छालामा गम्भीर खालको रोग लाग्ने सम्भावना हुन्छ ।
वर्षातमा छाला अधिक आद्रतासँग सम्पर्कमा हुन्छ, जसका कारण छालाले पानी संग्रह गर्न सक्दैन । फलस्वरुप छाला सुख्खा हुने, चिलाउने, रातो हुने, फोका उठ्ने समस्या सामान्यरुपमा देखिन्छ ।
छालाको सुख्खापनका साथै गलत जीवनशैली र आहारले पनि वर्षा याममा छाला चिलाउने गर्दछ । यसको उपचारका लागि सामान्यतया एन्टिएलर्जिक औषधिहरु (सिटिजेड, एलेग्रा आदि) वा एन्टी–हिस्टामिइनिक वा स्टेरोइडसम्म औषधि पसलबाट सीधै किनेर खाने चलन शहरदेखि गाउँसम्म देखिन्छ । लामो समयसम्म एन्टिएलर्जिक औषधिहरुको प्रयोग गर्दा त्यसले स्वास्थ्यलाई नकारात्मक असर गर्दछ । त्यस्ता एन्टिएलर्जिक औषधिहरुको लामो समयसम्म प्रयोग गर्दा झुम्म पार्ने, मुख सुक्ने, अधिक निद्रा लाग्ने, चक्कर लाग्ने, वाकवाक वा उल्टी हुने, बेचैनी हुने, आँखाको दृष्टिमा धमिलोपना आउने, कन्फ्युजन हुने, कलेजो तथा मुटुमा समस्या आउने आदि समस्या देखिने हुन्छ । अतः विनापरामर्श त्यस्ता औषधि खानु घातक हुन्छ ।
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज क्याम्पस, छालारोग विभागका प्राध्यापक डा। डी।पी। श्रेष्ठको नेतृत्वमा ‘छालारोगहरु : ग्रामीण विकास समितिका सामुदायिक सदस्यहरुको गुणस्तरीय जीवनमा व्यापकता र प्रभाव’ शीर्षकमा सन् २००९ मा अनुसन्धान गरी प्रकाशित प्रतिवेदनअनुसार नेपालमा निम्न १० वटा छालारोगहरुको व्यपाकता ग्रामीण क्षेत्रमा देखाइएको छ । ती १० वटा छालारोगहरुमा एक्जिमा (दाद), पिग्मेन्टरी डिस्अडर्स, पी। अल्बा, एक्नी (डण्डिफोर), युट्रिकेरिया (डाबर), मोल्स एन्ड लम्पस (मुसा/कोठी र मासुको डल्लो), प्रुराइटिस (चिलाउने), भाइरल इन्फेक्सन (दाद), पायोडर्माज र फंगल इन्फेक्सन रहेका छन् । यस अध्ययनले नेपालीहरुमा पनि छालाको समस्या व्यापक रहेको देखाएको पुष्टि गर्दछ । जसले दैनिक जीवन र अर्थतन्त्रलाई प्रत्यक्षरुपमा असर पारेको देखिन्छ ।
आयुर्वेदमा छालासम्बन्धी रोगहरुलाई बृहत्रुपमा कुष्ठरोगअन्तर्गत चर्चा गरिन्छ । जहाँ छाला रोगहरुको कारणमा विरुद्ध आहार (तातो–चिसो, हलुका–गरिष्ठ, गुलियो–नुनिलो, चिल्लो–सुख्खा आदि) गर्नाले, अधिक गरिष्ठ भोजन गर्नाले, नयाँ अन्न अधिक खानाले, दूधसँग माछा खानाले, खाना खाएर व्यायाम गर्नाले, पसिना–पसिना भएको बेला नुहाउनाले, खाना खाएर मैथुन गर्नाले, मलमूत्रको वेगलाई रोक्नाले, रगतमा किटाणु परेमा वा वंशाणुगत कारणले छालासम्बन्धी रोग लाग्दछ । छालारोग त्रिदोष (वात, पित्त र कफ) को कारणले हुने हुन्छ र चिरकारी (क्रोनिक) मानिन्छ ।
छालारोगको चिकित्सा गर्दा सबैभन्दा पहिले उक्त रोगको कारणको पहिचान गरिन्छ । कारणको पहिचानपछि सो कारणबाट हरसम्भव टाढा रहने प्रयास गराइन्छ । त्यसपछि रोग कारक विकारहरुको शरीरबाट निष्कासन गरिन्छ, जसलाई शोधन (पञ्चकर्म) भनिन्छ । अन्तिममा समन (घटे–बढेको दोष धातुको सन्तुलनका लागि) औषधि, आहार र विहारको खानका लागि (अन्तः परिमार्जन) वा लगाउनका लागि (बहिः परिमार्जन) उचितरुपमा व्यवस्था गरिन्छ ।
आयुर्वेदको हिसाबमा मौसमी एलर्जीलाई ३ प्रकारमा विभाजन गर्न सकिन्छ ।
१. वातज एलर्जी :
वात प्रकृतिको एलर्जीको अनुभूति पेटमा हुने गर्दछ । डकार, पेट फुल्नु, पेटमा ग्यास भरिनु, पेट कराउनु, नराम्रोसँग पेट दुख्नु, हिच्की आउनु, टाउको दुख्नु, नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, कानमा बज्नु, जोर्नी दुख्नु, अनिद्रा आदि लक्षणहरु देखिन्छ ।
२. पित्तज एलर्जी :
पित्त प्रकृतिको एलर्जीलाई छालामा हुने प्रतिक्रियाको रुपमा अनुभव गर्न सकिन्छ । जसमा छाला लाटोे हुने, फोका आउने, चिलाउने, छाला सुन्निने, छालामा घाउ हुने, छालामा रगत जम्ने, आँखा रातो हुने लक्षण देखिन्छ । पित्तज एलर्जी भएको बेला मुटु भएको स्थानमा पोल्छ, पेट पोल्छ, वाकवाक लाग्छ वा उल्टी आउने हुन्छ ।
३. कफज एलर्जी :
कफज प्रकृतिको एलर्जीमा म्युकस मेम्रेनहरुमा असहजता हुने हुन्छ । यसका लक्षणहरुमा फिभर, चिसो लाग्नु, संकुचन, पिनासको संक्रमण, पानी जम्नु, फोक्सो संकुचन, दम, निद्राको समस्याहरु पर्दछ ।
वात प्रधान छालारोगमा घिउको सेवन गराइन्छ । पित्त प्रधानमा रक्तमोक्षण वा विरेचन गराइन्छ भने कफ प्रधानमा वमन गराइन्छ ।
छालारोगको लागि मञ्जिष्ठा, सारिवा, खदिर, हर्रो, बर्रो, अमला, बेसार, भिलाव, विडंग, अमलतास, करवीर, चमेलीपत्र, बाकुची आदिको औषधीय वनस्पतिको चूर्ण वा काँढा वा वटी वा लेप प्रयोग गरिन्छ ।
बाह्य प्रयोगको लागि बाकुची तेल, करंज निम्ब तेल, जरिचाद्य तेल, कनक क्षीरी तेल, चाउलमोगरा तेल, कुष्ठराक्षस तेल आदिको अवस्थाअनुसार प्रयोग गरिन्छ ।
सुन्दरता बढाउन र सामान्य ठानेर आफैं औषधि किनी खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी राम्रो होइन ।
छालाको ख्याल गर्न र घामबाट बच्न अनुहारमा छालाको प्रकृति सुहाउँदो सन ब्लक, सनस्क्रिन क्रिम लगाउने गर्नुपर्छ । साथै प्रशस्त पानी पिउने र छालालाई चिल्लो (मोइस्चर) बनाएर राख्ने गर्नुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाह लिई सनस्क्रिन क्रिम लगाउनुपर्दछ । त्यसै गरी जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी खान पनि बिर्सिनुहुँदैन ।