तपाईंका घरमा हाम्रा डाक्टर



मेरो उमेर ४० वर्ष भयो । मैले ब्लड प्रेसरको औषधि खाएको १५–१६ दिन भयो । अहिले प्रेसर नियन्त्रणमै छ, औषधि पनि खाइरहेकै छु, तर दुवै खुट्टाको गोलिगाँठातिर धेरै सुन्निएको छ । के गर्ने होला ?

– शान्ति प्रधान, थानकोट ।

शान्तिजी, तपाईंको खुट्टा सुनिनुको कारण सम्भवतः प्रेसरको औषधि हो । एमलोडिपिन भन्ने औषधि साह्रै प्रभावकारी, सुरक्षित, सस्तो, राम्रो भैकन पनि ३–४ प्रतिशत सेवन गर्नेको खुट्टा सुन्निने गर्छ । जुन औषधि छोडेपछि सुन्निएको हराएर जान्छ । यो औषधिले अरु केही खराबी गर्दैन । तपाईंले एकपटक मुटुरोग विशेषज्ञ भेटेर परामर्श लिएको खण्डमा मिल्दो, सुरक्षित, राम्रो औषधिले प्रतिस्थापन गर्ने तथा सही परामर्श दिनुहुनेछ । त्यसैले त्यो सुन्निएकोमा धेरै डराउनु नपर्ला । तर पनि छिटो चिकित्सक भेटिहाल्नुस् । सुन्निने अन्य कारण छ कि भनेर पनि जाँच पड्ताल गर्नुपर्ने हुन्छ ।

मलाई पेटको समस्या भएको ६ महिना जति भयो । अघिल्लो दिन ३ पटक दिसा लाग्छ भने भोलिपल्ट एकपटक मात्रै लाग्ने पनि हुन्छ । दिसा पचेको हुँदैन । अस्पतालमा जँचाउँदा त्यो दिनको दिसामा समस्या नै देखिएन । मलाई के भएको र उपचार के होला ?

– जीवन श्रेष्ठ, बनेपा, काभ्रे ।

जीवनजी, दिसा नपचेको भन्नुको मतलब जे–जस्तो खायो त्यस्तै दिसा हुनु हो । यदि त्यस्तो हो भने खाना पचाउने एन्जाइमको कमी वा नपुग हुन सक्छ वा आन्द्राले पूर्ण भोग गर्दैन भन्ने हुन्छ । दिसा जाँच्दा समस्या नदेखिन सक्छ । किनकि परीक्षणको लागि सानो मात्रा मात्रै निकालेर उपयोग गरिन्छ । त्यस्तै पेटमा अम्लीय पदार्थको पनि कमी हुन सक्छ । कसैको दिसाको बानी नै त्यस्तो हुन पनि सक्छ । यकिन गर्नको लागि अरु थप परीक्षण गर्नुपर्ने हुन्छ । बनेपाबाट धुलिखेल वा काठमाडौँ आएर अस्पतालमा पेटको विशेषज्ञसँग परामर्श गर्न सल्लाह दिन्छु । अहिलेलाई दही र केरा वा उसिनेको आलु वा अण्डा खाएर हेर्न सकिन्छ ।

कोरोना भाइरस निर्जीव हो भन्ने सुनियो । के यो साँच्चै निर्जीव हो रु यदि निर्जीव हो भने सजीवको जस्तो कसरी हंगामा मच्चाउन सकेको होला रु साथै भाइरस र ब्याक्टेरियामा के फरक छ रु स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

– सुमन तामाङ, रसुवा ।

सुमनजी, यो कोरोना भाइरस निर्जीव त होइन, तर यो सजीव भए पनि आफू पूर्णरूपमा अरु जीवितले जस्तो आफैं स्वतन्त्ररूपमा विकास नभएर अरुको कोशिकाभित्र गई हजारौं उत्पादित हुन्छ अनि रोग फैलिन्छ । यसरी हेर्दा यो जीवित र निर्जीवको बीचको तत्व भने पनि हुन्छ । यो भाइरस हो । त्यसैले यसमा एउटा मात्रै RNA तत्व हुन्छ, जबकि ब्याक्टेरिया वा अन्य माथिल्ला जीवितहरुमा DNA (डबल थ्रेड) हुन्छ र यिनीहरु आफैं उत्पादन गर्ने क्षमता राख्छन् । भाइरसको सर्ने, फैलिने, नष्ट नहुने लक्षण हेर्दा यो जीवितसँग मिल्दो भयो भने आफै उत्पादन गर्न नसक्नुले निर्जीवसँग मेल खायो । तर जीव विज्ञान अध्ययन गर्दा यसलाई जीवितमै वर्गीकरण अनि नामकरण गरिन्छ । त्यसैले यो बढी जीविततिरै जान्छ ।

मेरो एक्कासि पेट दुखेकाले साथीभाइले हर्नियाको शंका गरे । हर्निया शब्दले डर लागेर तुरुन्तै जँचाउन गएँ तर ग्यास्टिकको समस्या रहेछ । यो हर्निया भन्ने
कस्तो समस्या होला ?

विजय राना, गोरखा ।

विजयजी, पेटमा आन्द्राजस्ता धेरै अंग हुन्छन् । यस्ता अंगहरु पेटमा सुरक्षित किसिमले रहेका हुन्छन् । यस्ता अंगलाई अनेक झिल्ली, मांसपेशी र त्यसभन्दाबाहिर छालाले ढाकेको हुन्छ । तर पेटमा प्राकृतिकरुपमा दबाब भएमा अथवा कन्दा, खोक्दा, हाच्छ्यूँ गर्दा पेटभित्रको कुनै सानो भाग डल्लोजस्तो भएर बाहिर निस्कने प्रक्रिया नै हर्निया हो । शरीरको कुनै बाहिरी भागमा कमजोर हुँदा पनि पेटभित्रको भाग बाहिर निस्कने हुन्छ । जाँघ, नाभी क्षेत्रमा यसरी बाहिर निस्कने गरेको पाइन्छ । यो समस्या जटिल पनि हुन सक्छ, हेलचेक्र्याइँ गर्नुहुँदैन । तर शुरुमै उपचार भएमा यो समस्या अहिले सामान्य मानिन्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्