कम उमेरमा यौनसम्पर्क राख्नु किन नहुने ?



– डा. राजेन्द्र भद्रा

म १४ वर्षीया केटी हुँ । एकजनाले मसँग यौनसम्पर्क राखौँ भनेर कर गरेको छ । यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्छु, यसो गरेमा केही नराम्रो हुँदैन भन्छ । मलाई पनि यौनसम्पर्क राखौँ जस्तो लाग्छ । यसो गर्दा मेरो स्वास्थ्य तथा यौनाङ्गमा केही असर पर्ला ? बताई दिनुभयो भने आभारी हुने थिएँ ।

किशोरावस्थामा हुने परिवर्तनमध्ये यौनिक परिवर्तन एक महत्वपूर्ण परिवर्तन हो । किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेरलाई लिइन्छ । यस अवस्थामा यौनका साथै शारीरिक, मानसिक तथा बौद्धिकरुपमा पनि परिपक्व होइन्छ । परिवर्तन शुरु भए पनि तपाईंको उमेर भर्खर १४ वर्ष पुगेकोले परिपक्व हुन बाँकी नै छ ।

सानो उमेरमा सही र गलत छुट्याउन सक्ने क्षमताको विकास भइसकेको हुँदैन र पाको उमेरका व्यक्तिले सजिलै फकाउन सक्छन् । कन्डमको प्रयोगको बाचा गरेकोले यौनसम्पर्कको कारणले नकारात्मक असर पर्दैन भन्ने कुरामा तपाईंलाई विश्वस्त पारेको हुन सक्छ । यो पक्कै हो कि कन्डमको प्रयोगले गर्भ रहन तथा एच.आई.भी.लगायत यौनसम्पर्कका संक्रमणबाट बचाउन सहयोग गर्दछ । तर गर्भ निरोध एक पक्ष मात्रै हो । सही तरिकाले प्रयोग गर्न नसकिएको स्थितिमा भने यसको प्रभावकारिता पनि कम हुन्छ ।

सानै उमेरमा यौनसम्पर्क राख्दा गर्भ रहन गयो भने आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्छ । यस्ता गर्भ प्रायजसो अनिच्छित हुने गर्दछन् र गर्भपतन गराउनुपर्ने हुन्छ । गर्भपतन असुरक्षित भएमा त्यसको अत्यधिक रक्तश्राव वा संक्रमणजस्ता गम्भीर स्वास्थ्य समस्या हुन सक्छन् । गर्भावस्थाका उच्च रक्तचाप, रक्तश्राव, बच्चा जन्माउन नसक्ने, शिशु कम तौलको हुने जस्ता समस्याले ज्यानै जान पनि सक्छ ।

सानो उमेरमा शरीर र यौनाङ्ग राम्ररी विकसित भई नसक्ने हुनाले यौनसम्पर्क राख्दा चोटपटक लाग्न सक्छ । यौनाङ्गमा चोटपटक लाग्दा एच.आई.भी. तथा अन्य यौनरोग संक्रमण हुने सम्भावना धेरै हुन्छ । समयमै सही उपचार गरिएन भने यौनरोगमध्ये केही संक्रमण पाठेघर तथा डिम्बवाहिनी नलीसम्म फैलिन सक्छ । यस्तो हुँदा बाँझोपन हुन सक्ने सम्भावना बढ्छ ।

अहिले तपाईंको उमेर १४ वर्ष मात्र भएकोले तपाईंको मञ्जुरीमा नै यौनसम्पर्क भए पनि नेपालको कानुनी व्यवस्थाअनुसार यो बलात्कार ठहरिन्छ । तपाईं आफैंलाई आफू बलात्कृत भएको कत्तिको मन पर्ला ?

नेपालमा अहिले विवाहको उमेर बढी हुँदै गएको भए पनि धेरैको विवाह सानै उमेरमा हुने गर्दछ । विवाहभन्दा पहिले नै पनि कतिपयको यौनसम्पर्क हुने स्थिति छ । विवाहपूर्व हुने यौनसम्पर्क सामाजिकरुपमा अमान्य भएकोले परिवार, छरछिमेक तथा समुदायमा थाहा भएमा चरित्रहीनताको आरोप लाग्ने, हेलाको सामना गर्नुपर्ने हुन्छ । यस्तो स्थितिले पछि विवाह गर्न वा वैवाहिक जीवनमा समेत नकारात्मक असर पर्न सक्छ । यस्तो स्थितिमा तपाईंको पढाइ र वृत्ति विकासको बाटो नै कष्टकर हुन सक्छ ।

जति सानो उमेरमा यौनसम्पर्क राख्न शुरु गर्‍यो त्यति नै धेरैजना यौनसाथी हुने सम्भावना हुन्छ, जसले विभिन्न संक्रमण तथा सामाजिक समस्याको जोखिमलाई बढाउँछ । त्यसबाहेक, सानै उमेरमा अभिभावकत्व ग्रहण गर्नु सजिलो हुँदैन । मानसिक, शारीरिक, आर्थिक, सामाजिकरुपमा परिपक्व नहुँदा सन्तानको राम्ररी हेरचाह गर्न सकिँदैन । सानै उमेरमा बच्चाको हेरचाहको अभिभारा लिनुपर्दा निकै कष्ट हुन्छ । आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको सामना गर्नुपर्ने र भावी सन्ततीको भविष्य पनि अन्धकार बन्ने स्थिति बन्छ ।

 

यौनसम्पर्क राखिने व्यक्तिसँगको सम्बन्ध

अन्तर व्यक्ति सम्बन्ध विभिन्न आयाममध्ये यौनसम्पर्क एक पाटो हो । यो सम्बन्ध कस्तो किसिमको हो, कत्तिको प्रगाढ छ र निरन्तरता पाउँछ कि पाउँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । सानो उमेरमा क्षणिक यौन आकर्षणलाई नै प्रेम ठान्ने हुन सक्छ । प्रेम वास्तव बिस्तारै हुने प्रक्रिया हो र दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ । यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ । सो व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । यौनसम्पर्क राख्ने कुरा सर्वोपरि हुँदैन ।

कतिपय केटाले यौनसम्पर्कको लागि प्रेम गर्छु भनिदिन सक्छ तर यौनसम्पर्क राखेपछि तिरस्कार गर्न सक्छ । अझ त्योभन्दा पनि खराब तपाईंसँगको सम्बन्धको बारेमा सार्वजनिकरुपमा भनिदिन, ब्लाकमेल गर्न सक्छ । यस्ता समस्यालाई झेल्न नसक्दा मानसिक समस्या हुन्छ । कतिपय स्थितिमा आत्महत्या नै गर्नेे अवस्थासम्म हुन्छ ।

 

कौमार्यका कुरा

कतिपय व्यक्तिले आफ्नो कौमार्यलाई निकै महत्व दिन्छन् । विवाहपछि आफ्नो जीवन साथीलाई सबैभन्दा राम्रो उपहारको रुपमा साँचेर राखेका पनि हुन्छन् र कतिपयले आफ्नो जीवन साथीबाट त्यसको अपेक्षा गर्दछन् । तर अहिले कुमार केटा र कुमारी केटीको बीचमा मात्र विवाह हुनुपर्छ भन्ने मान्यता खुकुलो हुँदै गएको छ । तर पनि यो एक विचार गर्नुपर्ने पक्ष भने हो । तपाईंलाई थाहा होला कि एकपल्ट यौनसम्पर्क राखेपछि कौमार्यता भङ्ग हुन्छ अर्थात् ऊ कुमार वा कुमारी हुँदैन ।

बलात्कारको कुरा

कसैको मञ्जुरीविना नै यौनसम्पर्क राख्नु बलात्कार हो । तर मञ्जुरी दिन नसक्ने स्थितिमा कसैले यौनसम्पर्क राखेमा सो पनि बलात्कार नै मानिन्छ । अहिले नेपालको कानुनले १८ वर्षसम्मलाई बालबालिकाको रुपमा लिएको छ । बालबालिका अर्थात् नाबालिगको हकमा यस्तो कुरामा मञ्जुरी दिन सक्ने स्थिति हुँदैन । त्यसैले अहिले तपाईंको उमेर १४ वर्ष मात्र भएकोले तपाईंको मञ्जुरीमा नै यौनसम्पर्क भए पनि नेपालको कानुनी व्यवस्थाअनुसार यो बलात्कार ठहरिन्छ । तपाईं आफैंलाई आफू बलात्कृत भएको कत्तिको मन पर्ला ?

 

यौन भावनाको व्यवस्थापन

किशोरावस्थामा यौनचाहना तीव्र हुन्छ । कुनै सुखद अनुभूतिको लागि सबै व्यक्ति लालायित हुन्छन् । किशोरावस्थामा आफूले चाहेको कुरा तुरुन्तै पाउन आतुर भइन्छ र धैर्यता हुँदैन । यौनको मामिलामा परिस्थितिवश जिज्ञासा शान्त पार्न गलत कदम चाल्न पुगियो भने अनेक समस्या पर्न सक्छ ।

कुन उमेरसम्म यौनसम्पर्क गर्दा ठीक होला भन्ने सन्दर्भमा कानुनीरुपमा नै १८ वर्षभन्दा कम उमेरमा बलात्कार मानिएको स्थितिमा कम्तीमा १८ वर्षभन्दा माथि भन्ने अर्थ लगाउन सकिन्छ । त्यसै गरी विवाह गर्ने उमेर भने कानुनीरुपमा नै २० वर्ष तोकिएको छ । यसको जैविक आधार भनेको शारीरिक तथा मानसिकरुपमा परिपक्व भइसक्छ भन्ने नै हो । त्यसको अलावा सामाजिकरुपमा पनि एक किसिमको परिपक्वता हासिल गर्दछ । त्यसैले धेरैजसो स्थितिमा २० वर्ष पुगेपछि यौनसम्पर्क राख्नु उत्तम हुने कुराको वकालत गरिन्छ । यसका साथै विवाहपूर्व यौनसम्पर्क गर्दाको जोखिम अति नै बढी हुने गर्दछ ।

त्यसैले यौनभावना तथा यौनेच्छाको व्यवस्थापन सही तरिकाले गरिनु आवश्यक हुन्छ । यौनचाहना शान्त पार्न यौनसम्पर्कलाई नै एकमात्र उपाय ठान्नु उचित होइन । यौन तथा यौनिकताको सन्दर्भमा यस बेला निकै अलमल हुने गर्दछ । तर यस्तो बेलामा यौनचाहना शान्त पार्न हस्तमैथुन तथा अन्य वैकल्पिक उपाय अपनाउन श्रेयष्कर हुन्छ । आफ्ना रुचिका विषयमा समय बिताउने, यौन साहित्यबाहेकका अन्य कुरा पढ्ने, शारीरिक परिश्रम हुने किसिमको काम तथा खेलकुदमा भाग लिने जस्ता कतिपय कुराले पनि यौनभावनाको व्यवस्थापनमा सहयोगी भूमिका खेल्छ । कसैको पनि जीवनमा पहिलो यौनसम्पर्क एक विशिष्ट घटना हो । यसको विशिष्टतालाई ध्यानमा राखी यौनसम्पर्कलाई सक्दो ढिलो गर्न सकियो भने शारीरिक, मानसिक स्वास्थ्यमा मात्रै होइन सामाजिक जीवनमा पनि सकारात्मक असर नै पर्दछ ।

अरु के गरिनुपर्छ त ?

आफ्नो शरीर तथा अंगप्रत्यंगमा भइरहेका परिवर्तनहरू, यौन तथा यौनिकता, त्यससँग सम्बन्धित व्यवहारहरू अनि त्यसबाट पर्न सक्ने जोखिमका बारेमा राम्रोसँग थाहा हुँदैन । त्यसैले उनीहरूले विद्यालयभित्रै र बाहिर यौनशिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्दछ । राम्रो यौनशिक्षाले किशोर–किशोरीहरूको यौन व्यवहारलाई बढी जिम्मेवारीपूर्ण बनाउने तथा खतरापूर्ण यौन व्यवहारबाट टाढै बस्ने बनाउँछ । यौनशिक्षा मात्रैले सबैको जिज्ञासा, चासो वा समस्या समाधान गर्न पर्याप्त नहुन सक्छ । त्यसैले त्यसका साथै किशोर–किशोरीले मैत्रीपूर्णरुपमा मनोपरामर्श तथा सेवा प्राप्त गर्ने व्यवस्था गरिनुपर्छ । यौन शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य सेवालाई सुलभ बनाउनुपर्दछ । यसो गर्दा नक्कली स्वास्थ्यकर्मीको फन्दाबाट बच्न सहयोग पुग्छ ।

साथै यौन तथा यौनिकताप्रति नकारात्मक मूल्य–मान्यतामा परिवर्तन गरिनु आवश्यक छ । यस सन्दर्भमा सहयोगी वातावरण सिर्जना गरिनुपर्दछ । मातापिता, अभिभावक, धार्मिक तथा सामाजिक नेता, शिक्षकहरु सबैसँग मिलेर काम गर्न सकेमा यस्तो जोखिमको व्यवस्थापन गर्न वा जोखिम कम गर्न निकै मद्दत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्