जंकफुडले शुक्रकीट घटाउने



अध्ययनकर्ताहरु भन्छन्, ‘पुरुषहरुमा हाल लगातारजस्तो शुक्रकीटको संख्या घटिरहनुको एउटा प्रमुख कारण पश्चिमा शैलीको खानपान पनि हो ।’ अहिले विश्वभरका पुरुषहरुको शुक्रकीट लगातार घटिरहेको छ । वैज्ञानिकहरुले हालै गरेको सोधपछि सुझाव दिँदै भनेका छन्, ‘यदि युवा पुरुषहरुले आफ्नो वीर्यमा शुक्रकीटको संख्या बढाउन चाहन्छन् भने चीज, बर्गर, तारेका खाना आदि छोडेर स्वस्थकर खाना खानुपर्छ ।’ उनीहरुका अनुसार शुक्रकीटको संख्या घटबढको सम्बन्ध सीधा खानपानसँग छ । त्यसकारण जति स्वस्थ खाना खाइन्छ त्यति नै राम्रो एवं स्वस्थ शुक्रकीट उत्पादन हुन्छ ।

अध्ययनअनुसार जुन पुरुषहरुले खानामा ज्यादा पश्चिमी शैलीको खाना जस्तो– पिज्जा, फ्राइ खानाहरु, मिठाइहरु, सोडा, रेडमिट वा प्रशोधित मासु आदि समावेश गरेका थिए उनीहरुको शुक्रकीटको संख्या सामान्य स्वस्थ खाना खानेहरुको तुलनामा लगभग २ करोड ६० लाखसम्म कम पाइएको थियो । यसका अतिरिक्त जसले पश्चिमी शैलीका खाना ज्यादा खाएका थिए उनीहरुमा प्रजनन क्षमता बढाउने रिप्रोडक्टिभ हर्मोन पनि कमी भएको पाइएको थियो ।

यसको विपरीत जसले खानामा स्वस्थ खानाहरु जस्तो– माछा, कुखुरा, हरियो तरकारी, फलहरु, प्रशस्त पानी आदि समावेश गरेका थिए उनीहरुमा औसत शुक्रकीटको संख्या करिब ४ करोड ३० लाख पाइएको थियो । चार–पाँच दशकयता युवाहरुमा बाँझोपनको समस्या कैयौँ गुणा बढिरहेको छ । यसको मुख्य कारण शुक्रकीटको संख्यामा ठूलो मात्रामा कमी आउनुलाई मानिएको छ ।

यस अध्ययन टोलीका सहलेखक हार्डवर्ड स्कुल अफ पब्लिक हेल्थका डा. एफ नास्सन भन्छन्, ‘तपाईंको शुक्रकीट त्यसबाट बन्छ जो तपाईं खानुहुन्छ । यदि आफ्नो शुक्रकीटको संख्या राम्रो राख्न चाहने हो भने युवाहरुले प्रजनन उमेरको अवस्थासम्म आप्mनो खानामा समुद्री खाना, पन्छी, नट्स, फलहरु, हरियो तरकारी आदि प्रशस्त मात्रामा समावेश गर्नुपर्छ ।’

यो अध्ययनका लागि वैज्ञानिकहरुले डेनमार्कका १९ देखि २० वर्ष उमेरका २ हजार ९ सय ३५ पुरुषहरुलाई छनोट गरेका थिए । उनीहरुलाई उनीहरुको नियमित खानाको आधारमा चार समूहमा विभाजन गरेका थिए । यसमा सबैभन्दा खराब अर्थात् शुक्रकीटको संख्या कम भएकाहरु ती थिए जसका खानामा पश्चिमी शैलीका खाना जस्तो– पिज्जा, कोल्ड ड्रिंक्स, सोडा, डोनट्स, फ्राइज आदि समावेश गरेका थिए । शोधकर्ताहरु भन्छन्, ‘जुन महिला तथा पुरुषहरुले बच्चा चाहन्छन् उनीहरुले स्वस्थ खाना खान शुरु गर्नुपर्छ । यसका साथै मदिरापान र धूमपान पनि छोड्नुपर्छ ।’

स्रोत :ओएमएच
प्रतिक्रिया दिनुहोस्