मुटुरोगीलाई कोरोना किन बढी खतरनाक?



विश्व मुटु दिवस २०२० का सन्दर्भमा

– लक्ष्मण अधिकारी

छाती दुखेर अस्पताल गएका एकजना कलाकार कोरोनाको डरले अस्पतालको गेटबाटै फर्के, तर उनलाई हृदयघातले छोडेन, केही समयपछि उनको मृत्यु भयो । छाती दुख्दा अस्पताल पुग्नुपर्छ भन्ने चेतका कारण उनी थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । अस्पताल गेटमा पुग्दा उनलाई छातीको दुखाइ कम भएको महसुस भयो, तर अस्पतालमा कोरोना सर्न सक्ने त्रासचाहिँ बढ्दै गयो । अनि अस्पतालभित्र नछिरी फार्मेसीमा सोधेर औषधि खाए । त्यसपछि घरतिर लाग्दै थिए, त्रिपुरेश्वरतिर नपुग्दै छातीमा पीडा बढ्न थाल्यो । उनी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालतिर लागे । त्यहाँ उपचार गराउन नपाउँदै उनी ढले । हृदयघातको कारण ५२ वर्षीय ती द्वन्द्व कलाकारको तत्कालै मृत्यु भयो । यो केही हप्ताअघिको घटना हो ।

यी कलाकारको मात्र होइन, कोरोना भाइरस (कोभिड–१९) को त्रास एवं संक्रमणको कारण मुटुसँग सम्बन्धित धेरै बिरामीहरुको स्वास्थ्यमा जटिलता उत्पन्न हुनुका साथै कतिपयको मृत्यु नै पनि भइसकेको छ । हाल विश्वमा नै यस किसिमका समस्या देखिएका छन् ।

विश्व स्वास्थ्य संघले कोरोना भाइरसको संक्रमण शुरु भएपछि मुटुलगायत नसर्ने खालका रोगको रोकथाम र उपचारमा पारेको प्रभावसम्बन्धमा १५५ वटा देशमा गरेको अध्ययनअनुसार ती मुलुकका ५३ प्रतिशत बिरामीलाई उच्च रक्तचापको उपचार गर्न, ४९ प्रतिशतलाई डायबिटिज तथा डायबिटिजसँग सम्बन्धित जटिलताको उपचार गर्न, ४२ प्रतिशतलाई क्यान्सरको उपचार गर्न र ३१ प्रतिशतलाई मुटुसम्बन्धी रोगको उपचार गर्न अवरोध पुगेको छ । कोरोना भाइरसको कारण उल्लिखित रोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण, उपचार सेवा कटौती हुँदा उनीहरु सेवा प्राप्त गर्नबाट वञ्चित भएका हुन् । यीमध्ये करिब २० प्रतिशतले औषधिको अभाव र रोगको निदान हुन नसकेका कारण सेवा पाउनबाट वञ्चित हुनुपरेको हो । त्यसमा पनि कम आय भएका नेपालजस्ता मुलुक बढी प्रभावित भएको पाइएको छ ।

अरु भाइरस लागिरहेका बेला कोरोना भाइरस पनि मिसियो भने अझ जटिलता थपिने सम्भावना भएकोले विशेषगरी मुटुरोगीहरुले चिकित्सकको सल्लाहमा यस्ता भ्याक्सिन लगाउनु राम्रो हो ।

 

नेपालमा कस्तो असर पर्‍यो ?

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर  (महाराजगन्ज)का वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला भन्नुहुन्छ, ‘लकडाउनको अवधिमा जन्मजात मुटुको रोग भएका, उच्च रक्तचाप भएका, डायबिटिज भएका, मुटुको अपरेसन गरेका धेरै बिरामी सेवा प्राप्त गर्नबाट वञ्चित भएको पाइएको छ । कोही कोरोनादेखि डराएर, कोही अस्पतालमा सेवा सहजै उपलब्ध नभएर र कोही यातायात सेवाको अभावले गर्दा यस्तो स्थिति उत्पन्न भएको देखिएको छ । कतिपय अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरेकाले अरु बिरामीले समयमै सेवा लिन नपाउने स्थिति बन्यो ।’

प्रा.डा. भगवान कोइराला

डा. कोइराला भन्नुहुन्छ, ‘शुरुको तीन–चार महिना कम्प्लिकेसनको स्थिति खासै देखिएन तर पछिल्लो समयमा त्यो असर देखिँदै छ । लकडाउनपछिको समयमा आएका मुटुरोगसँग सम्बन्धित अधिकांश बिरामी प्रायः सबै निकै अप्ठेरो परेर आउने गरेका छन् । कतिपय बिरामी त औषधि खान नपाएर कम्प्लिकेसन भएका छन् ।  रगत पातलो गर्ने औषधि नपाएर वा एकोहोरो औषधि खाएर भल्भ बिग्रिने, ब्लिडिङ हुने, बेहोस हुनेजस्ता समस्या  पछिल्लो समयमा धेरै भए । लकडाउनका कारण अस्पताल आउन नसकी समस्या परेर आत्तिदै फोन गर्ने गर्छन् । मनमोहन अस्पतालको हाम्रो टिमले फोन खुला राखेर बिरामीलाई आवश्यक जानकारी दिने नीति लिएकाले थुप्रै बिरामीलाई फोनबाटै परामर्श सेवा उपलब्ध गराइयो भने गम्भीर प्रकृतिका केही बिरामीलाई एम्बुलेन्स पठाएर अस्पताल ल्याई उपचार पनि गरियो ।’

प्रा.डा. प्रकाशराज रेग्मी

यस्तै गरी नेपाल हार्ट क्लिनिकमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मी लकडाउनको अवधिमा अस्पतालहरुको सेवाको दायरा खुम्चिनु, यातायातको समस्या र कोरोनाको त्रासको कारण जटिल प्रकृतिका मुटुरोगीहरुले समयमा उपचार सेवा नपाउँदा उनीहरुमा थप समस्या उत्पन्न भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सामान्य अवस्थामा पनि विश्वमा मुटुको रोगबाट सबैभन्दा बढी मानिस मर्ने गर्छन् । कोभिडको यस महामारीको अवधिमा कोरोनाबाट जति मानिस मरेका छन् त्यसमा मुटुका बिरामी १ नम्बरमै छन् । कोरोनाको कारणले मात्र उनीहरुको मृत्यु भएको होइन, पहिलेदेखि भइरहेको मुटुरोग पनि यसमा मिसिएको छ । कोभिड–१९ नलागेको भए धेरैको आयु अझ बढी हुन सक्थ्यो । साथै कोरोना नलागेका मुटुरोगीहरु पनि कोरोनाको त्रास र सहजै सेवा प्राप्त गर्न नसकेका कारण लकडाउन खोलेपछि रोगको गम्भीर अवस्था लिएर उपचारका लागि आइरहेका छन् ।’

यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी सो अस्पतालले इमर्जेन्सी, सर्जरीजस्ता सेवाहरु लकडाउनका अवधिमा समेत सञ्चालन गरे पनि विविध कारणले धेरै मुटुरोगका बिरामीहरु अस्पतालमा सेवा लिन आउन  नसकेको बताउनुहुन्छ । उहाँका अनुसार ‘अपरेसनको मिति तोकिइसकेका, भल्भको अपरेसन गरी महिनैपिच्छे रगत परीक्षण गरेर औषधि मिलाउनुपर्ने बिरामीहरु अस्पताल आउन नसक्दा उहाँहरुमा निश्चिय नै रोगको जटिलता थपिने हुन्छ । हृदयघात भएर अस्पताल आउनेहरुलाई गरिने प्राइमरी एनजियोप्लास्टी/एनजीओग्राफीको संख्या पहिलेको र लकडाउन अवधिको उस्तै भए पनि अरु सेवामा फरक भएको पाइएको छ । लकडाउनअघि इमर्जेन्सीमा दैनिक करिब ५५ जना बिरामी आउँथे भने लकडाउनपछि औसत ३८ जना बिरामी मात्र आए । यस्तै गरी ओपीडीमा पहिले दैनिक करिब ६५० जना बिरामी आउने गरेकोमा लकडाउनपछि १५० जनाभन्दा कम नै आए । यसको मतलब मुटुरोगका बिरामीलाई सेवा प्राप्त गर्नमा कोरोनाले निकै कठिनाइ उत्पन्न गरेको देखिन्छ ।’

कोरोना र जीवनशैली सुधार

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ, ‘स्वास्थ्यसम्बन्धमा लकडाउनका नराम्रा पक्ष मात्र छैनन्, राम्रा पक्ष पनि छन् । लकडाउनमा मानिसको जीवनशैली राम्रो भयो । अस्पतालमा बिरामी कम आउनुमा लकडाउन मात्र कारण नभएर राम्रो जीवनशैली पनि हो । धेरै मानिस खाना बाहिर खान्थे, घरमा खान थाले । बाहिर हिँड्दा धेरै प्रदूषण थियो, त्यसबाट जोगिए । घरको पारिवारिक वातावरणमा बस्न पाए । बाहिर दौडधुप धेरै हुने, तनाव हुने हुन्थ्यो, त्यो भएन । यसले गर्दा मुटुरोगीहरुमा सकारात्मक प्रभाव पनि परेको छ । हामीले रोग घटेको पनि अनुभव गरेका छौँ । यो सब राम्रो जीवनशैलीका कारण भएको हो । तर अहिले मानिसहरुमा डरचाहिँ थपिएको छ । मुटुरोग भएकाहरुमा कोभिड भयो भने मरिन्छ भन्ने त्रास एकाएक बढेकाले मानसिक समस्या बढेको छ । जीवनशैली राम्रो हुँदा जसरी सुधार भएको थियो, त्यो अहिले मनोवैज्ञानिक त्रासले गर्दा बिग्रन पुगेको छ ।’

 

कोरोनाले  मुटुलाई असर गर्छ ?

शरीरमा अक्सिजन व्यवस्थापन गर्न मुटु र फोक्सोले संयुक्तरुपमा काम गर्छन् । जब श्वास–प्रश्वासमा कोरोना भाइरसजस्ता कुनै विषाणुको संक्रमण भई फोक्सो प्रभावित हुन्छ, त्यस बेला मुटु पनि स्वभावतः प्रभावित हुन्छ । यसले गर्दा मुटुले रगत पम्प गर्ने कार्यमा बाधा उत्पन्न हुन्छ ।

मेडिकल न्युज टुडेका अनुसार स्टिमसेलसम्बन्धी पछिल्लो अध्ययन प्रतिवेदनमा नोभल कोरोना भाइरसले फोक्सोलाई जस्तै मुटुका कोषहरुलाई पनि प्रत्यक्ष असर गर्ने उल्लेख छ । कोभिड–१९ का कारण कहिलेकाहीँ रगत जम्ने, मुटुको ढुकढुकी गडबड हुने, मुटुका कोषहरुमा क्षति पुग्ने हुनसक्छ । चीनको वुहानमा गत मार्चमा गरिएको एक अध्ययनअनुसार अस्पताल भर्ना भएका कोभिडका बिरामीमध्ये २७.८ प्रतिशतको मुटुमा क्षति पुगेको पाइएको थियो । कोरोना भाइरसले मुटु सुन्निने समस्या गर्छ र मुटु फेल गराउन पनि सक्छ ।

प्रा.डा. भगवान कोइराला भन्नुहुन्छ, ‘कोरोनाले स्वस्थ मुटुलाई कम हानि गर्ने भए पनि विशेष गरी हार्ट फेलिएर, हार्ट अट्याक, जन्मजात मुटुका रोगहरु, सुगर, प्रेसर भएका र  अति मोटोपन भएका मानिसहरुलाई चाहिँ कोरोनाको असर अत्यधिक हुन्छ ।’

 

अब के गर्ने त ?

कोरोनाबाट बच्नका लागि मुटुरोगका बिरामीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु र  चिकित्सकले दिएको सल्लाहको पालना विशेषरुपमा गर्नुपर्छ । श्वास फेर्न गाह्रो भयो, ज्वरो आयो र खोकी लाग्यो वा मुटुरोगसँग सम्बन्धित कुनै समस्या भयो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला भन्नुहुन्छ, ‘मुटुको रोग लागेका वा सुगर, प्रेसर भएका दीर्घरोगीहरुले कोरोनाबाट बच्नका लागि तय गरिएका स्वास्थ्य सुरक्षा मापदण्डलाई अझ कडाइका साथ पालना गर्नुपर्छ । किनभने कोरोना लागिहाल्यो भने त्यसको असर धेरै पर्ने र चाँडै नै स्थिति खराब हुनसक्छ । यस्ता मानिसहरुले सकेसम्म काम नपरी बाहिर नजाने, सक्ने जति एक्सरसाइज गरिरहने, श्वास–प्रश्वाससम्बन्धी एक्सरसाइज जस्तो– अनुलोम विलोम, भस्त्रिका, कपालभाँती आदि गर्दा फाइदा पुग्छ ।’

डा. कोइराला भन्नुहुन्छ, ‘हाल कोरोनाको भ्याक्सिन त छैन तर निमोनिया, अरु भाइरसबाट हुने रुघाखोकीलगायतका अन्य प्mलुबाट बच्न लगाइने भ्याक्सिनहरु लगाइराख्दा फाइदा पुग्छ । यस्ता अरु भाइरस लागिरहेका बेला कोरोना भाइरस पनि मिसियो भने अझ जटिलता थपिने सम्भावना भएकोले विशेष गरी मुटुरोगीहरुले चिकित्सकको सल्लाहमा यस्ता भ्याक्सिन लगाउनु राम्रो हो ।’’

डा. चन्द्रमणि अधिकारी

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी सल्लाह दिँदै भन्नुहुन्छ, ‘मुटुरोगीहरुलाई कोरोना लाग्यो भने उनीहरुको मृत्यु हुने सम्भावना अरुको भन्दा ज्यादा भएकोले उनीहरुले सकेसम्म रोग लाग्नबाट बच्ने उपाय गम्भीरताका साथ अपनाउनुपर्छ । नेपाल सरकारले अहिले प्रचार गरिरहेको जनस्वास्थ्य सुरक्षा मापदण्डका उपायहरु अपनाउने, कुनै कारणले अस्पताल आउन सकिएको छैन भने हाल खाइरहेको औषधि नियमित खाने गर्नुपर्छ । केही गरी अति नै छाती दुख्ने, मुटुको चाल गडबडी हुने भएमा चाहिँ कोरोना लाग्छ भनेर नडराई नजिकैको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ ।’

 

‘मुटु बचाउन मन लगाऊँ’

हरेक वर्ष २९ सेप्टेम्बरमा विश्वभर मनाइने विश्व मुटु दिवस यस वर्ष कोरोनाको महामारी भइरहेको समयमा मुटुरोगीहरुलाई थप सावधानी अपनाउन आग्रह गर्दै फरक तरिकाले मनाइँदै छ । यस सन्दर्भमा विश्व मुटु महासंघले भनेको छ, ‘अहिले हामी अभूतपूर्व समयमा  बाँचिरहेका छौँ । कोभिड–१९ को महामारीले भविष्यमा कुन रुप लिन्छ भन्ने कुरा हामी कसैलाई थाहा छैन, तर अहिले हामीले हाम्रो मुटुको सुरक्षा गर्नु पहिलेभन्दा अझ महत्वपूर्ण छ भन्ने कुरा मनन गर्नुपर्छ । त्यसैले यो वर्ष हामीले मुटुको सुरक्षाका लागि पहिलेभन्दा बढी ध्यान दिन जरुरी छ ।’

विश्व मुटु महासंघले यस वर्षको विश्व मुटु दिवसको नारा ‘मुटु बचाउन मन लगाऊँ’ (Use Heart to Beat) तय गरेको छ । मुटु बचाउनका लागि स्वास्थ्यकर्मी मात्र होइन, व्यक्ति आफैँ, समुदाय, सरकार, संघसंस्था, सञ्चारमाध्यमलगायत सबै साधन–स्रोतको प्रयोग गरेर मुटु बचाऊँ भन्ने आशय रहेको देखिन्छ ।

विश्व मुटु महासंघको आह्वानमा नेपालमा पनि विश्व मुटु दिवस मनाउने गरिएको छ । नेपालमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिँदै नेपाल हार्ट फाउन्डेसनका पूर्वअध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ, ‘मुटुसम्बन्धी काम गर्ने करिब १८ वटा संस्थाहरुको सञ्जाल ‘नेपाल हार्ट नेट’ ले संयुक्तरुपमा बृहत् समारोह, र्‍याली गर्ने र हरेक संस्थाहरुले आफैँ पनि छुट्टै एक हप्ताभरि कार्यक्रम गर्ने गरिएकोमा कोरोना महामारीका कारण यस वर्ष सबैजसो कार्यक्रम जिजिटलरुपमा गर्ने तय गरिएको छ । जनचेतना वृद्धिका लागि मोटर र्‍याली गर्ने कार्यक्रम पनि रहेको छ । नेपाल हार्ट फाउन्डेसनले १० कक्षाका विद्यार्थीहरुको सहभागितामा मुटुको संरक्षणसम्बन्धमा डिजिटल माध्यमबाट निबन्ध प्रतियोगिता पनि गर्दै छ ।’

मुटुसँग सम्बन्धित रोग भएकाहरुका लागि यो महामारीको समय ज्यादै जोखिमपूर्ण भएकोले जनस्वास्थ्यका विशेष सुरक्षा मापदण्डहरुको पालना गर्नुपर्छ । बढी उमेर भएका व्यक्तिहरुको रोग–प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले उनीहरुलाई रोग संक्रमणको खतरा ज्यादा हुन्छ । त्यसैले सकेसम्म शारीरिक सक्रियताका साथ घरभित्रै बस्ने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गर्नुपर्छ । खाना स्वस्थ र सन्तुलित खाने बानी गर्नुका साथै  तनाव व्यवस्थापन गर्नुपर्छ र धूमपान गर्ने बानी छ भने त्याग्नुपर्छ । मुटु बचाउनका लागि सबैले मन लगाऊँ ।

प्रतिक्रिया दिनुहोस्