यौनसम्पर्कको बेला आवाज आउँछ



– डा. राजेन्द्र भद्रा

म १९ वर्षकी किशोरी हुँ । मैले यौनसम्पर्क गरेपछि योनिबाट ग्यास बाहिर निस्केको जस्तो भई आवाज आउँछ । यसले गर्दा यौनसम्पर्कको बेलामा असजिलो महसुस हुन्छ । यस्तो आवाज आउनुको कारण के होला ? यसरी आवाज आउन रोक्ने केही उपाय छ कि ? कृपया बताइदिनुहोला ।       

– अर्पणा

क तिपय व्यक्तिले यौनसम्पर्कको बेलामा योनिबाट आवाज आएको अनुभव गरेका हुन्छन् । यसलाई असामान्य मानिदैन । यो विशेषतः यौनसम्पर्कको बेलामा लिङ्ग योनिमा प्रवेश गराउने कार्यको भौतिकी (physics) सँग सम्बन्धित छ । लिङ्ग प्रवेश गर्ने बेलामा योनिभित्र रहेको हावालाई दबाब दिन्छ र त्यसको चाप बढ्दै गएपछि यो बाहिर निस्कन खोज्छ । लिङ्गको वरिपरिबाट यो बाहिर आउँछ । लिङ्ग र योनिको भित्ताको बीचमा भएको सानो खालि ठाउँबाट हावा बाहिर निस्कने क्रममा आवाज आउँछ । आवाजको कुरा गर्दा यो एक किसिमले अपान वायु आएको बेलाजस्तो नै हुन सक्छ । तर सामान्यतया यो गन्हाउँदैन । यसलाई अंग्रेजीमा भजाइनल फ्लाटुलेन्स (vaginal flatulence) वा (क्वीफ) (queef) भनिन्छ ।

योनि एक नली आकारको अङ्ग भए पनि सामान्यतया योनिको भित्ता एक–आपसमा टाँसिएर रहने भएको हुनाले यसमा हावा हुँदैन । तर केही अवस्थामा यसमा हावा पस्न सक्छ । तपाईंले याद गर्नुभएकै होला, योनिद्वार बन्द अवस्थामा हुन्छ तर कारणवश यो केही मात्रामा खुला रहन गयो भने हावा भित्र जाने सम्भावना हुन्छ । तपाईंलाई थाहै हुनुपर्छ कि यौन उत्तेजनाको बेलामा लिङ्ग प्रवेशलाई सहज बनाउन योनिद्वार केही मात्रामा खुला हुन्छ । यस्तो स्थितिमा हावा भित्र पस्ने र लिङ्गको प्रवेशको साथसाथै सो दबाबका साथ बाहिर निस्कने सम्भावना रहन्छ । यसरी हावा बाहिर निस्कँदा आवाज आउन सक्छ ।

भगक्षेत्रका केही व्यायाम, त्यसमा पनि गोडा तन्काइने किसिमका व्यायामले योनिद्वारलाई केही खुला बनाउन सक्छ र मांसपेशी पनि तनावरहित अवस्थामा रहँदा योनिभित्र केही हावा पस्न सक्छ ।

फेरि यौनसम्पर्क गर्दागर्दै लिङ्ग पूरै बाहिर निकालेर पुनः प्रवेश गराएको स्थितिमा हावा भित्र पस्ने र दबाबका साथ बाहिर आउने स्थिति हुन्छ । त्यसका साथै केही निश्चित यौन आसनमा यो बढी हुन सक्छ । यो कुरा तपाईंले पनि याद गर्नुभएको हुन सक्छ । त्यसदेखिबाहेक केही महिलाले यौन चरमसुख प्राप्तिपछि यसरी योनिबाट आवाज आएको अनुभव गर्दछन् । किनकि चरमसुख प्राप्तिपछि योनि उत्तेजना नभएको पुरानै अवस्थामा आउँदा यसमा भएको हावा निस्कने क्रममा यस्तो आवाज आउँछ । यस्तै स्थिति लिङ्गको अलावा अन्य कुनै लिङ्गाकार वस्तु योनिमा प्रवेश गराउँदा पनि हुन सक्छ ।

योनिभित्रै राखिने टेम्पोन (tempon) को प्रयोग नगर्नु फाइदाजनक हुन्छ । नेपालमा खासै प्रयोगमा नभएको गर्भनिरोधको साधन डायफ्राम (diaphragm) प्रयोग गर्दा पनि यसमा हावा पस्न सक्छ । भगक्षेत्रका केही व्यायाम, त्यसमा पनि गोडा तन्काइने किसिमका व्यायामले योनिद्वारलाई केही खुला बनाउन सक्छ र मांसपेशी पनि तनावरहित अवस्थामा रहँदा योनिभित्र केही हावा पस्न सक्छ । त्यसै गरी यौनसम्पर्कको दौरान होस् वा योनिको परीक्षण गर्दा होस्, भगक्षेत्रको मांसपेशीमा तनाव आउन सक्छ र यो खुम्चिँदा योनिमा केही हावा बसेको हुन सक्छ । सामान्यतया यो अवस्था हुनुले स्वास्थ्य समस्यालाई संकेत गर्दैन । त्यसैले पनि अन्य कतिपय परिस्थितिका तुलनामा धेरै अध्ययन–अनुसन्धान भएको पाइँदैन । तर सन् २०१२ मा गरिएको एक अध्ययनले योनिमार्गबाट बच्चा जन्माउँदा, शरीरको तौल कम हुँदा र उमेर कम हुँदा यो समस्या तुलनात्मकरुपमा बढी हुने देखाएको थियो ।

समाधान के हुन सक्ला ?

यो असामान्य समस्या नभएपनि कतिपयले यस कुरालाई लिएर लज्जाबोध गर्दछन् तर लाज मान्नुपर्ने केही कारण म देख्दिन । कुरा जे भए पनि यसलाई कम गर्ने केही उपाय भने तपाईंले अवलम्बन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो यौनसाथीसँग कुरा गरेर यौन क्रियाकलापको आसनलाई केही परिवर्तन गर्नुपर्छ । कसो गर्दा आवाज आउँदैन, विभिन्न आसनको प्रयोग गरेर हेर्न सक्नुहुन्छ । कुनै निश्चित यौन आसनमा यौनसम्पर्क गर्दा बढी आवाज आउने गरेको छ भने त्यसलाई परहेज गर्नु एक सरल उपाय हो । यौनसम्पर्क गर्दागर्दै यदि तपाईंले यौन आसन परिवर्तन गर्न खोज्नुभएको छ भने लिङ्ग योनिबाट पूरै ननिकालिकन गर्नुभयो भने योनिमा हावा पस्दैन र यस्तो आवाज आउने सम्भावना पनि हुँदैन वा कम हुन्छ । अर्को कुरा, तपाईंको यौन साथीले लिङ्ग बिस्तारै योनिमा प्रवेश गरायो भने पनि आवाज निकै नै कम हुने वा नआउने हुन सक्छ । किनकि यसो गर्दा योनिमा भएको हावा बिस्तारै फुस्कन पाउँछ । यौनसम्पर्कको दौरान लिङ्गलाई वाहिरसम्म ननिकालेर यौनसम्पर्कलाई निरन्तरता दिँदा पनि यो समस्यालाई कम गर्न मद्दत गर्दछ ।

त्यसदेखि बाहेक पिसाब फेर्दा टुक्रुक्क बसेर गर्दा पनि योनिमा पसेको हावा बाहिर निस्कने हुँदा आवाज समस्या कम गर्न सहयोगी हुन सक्छ । योनिद्वार जहिले पनि राम्ररी बन्द हुन त्यसलाई बन्द गर्ने मांसपेशी बलियो हुनुपर्दछ । किगल व्यायाम (kegel excerise) गरी यसलाई बलियो बनाउन सकिन्छ । यसले योनिमा वायु भरिने क्रमलाई कम गर्न सक्छ । यी उपायहरू गर्दा पनि समस्या कम नभए तपाईंको योनिको संरचना केही फरक हुन सक्छ । यस्ता केही स्थितिहरू फिस्टुला हुनुलाई पनि मानिन्छ । योनिमा के–कस्ता खराबी छन् भन्ने यकिन गर्न एकपटक स्त्रीरोग विशेषज्ञवाट परीक्षण गराउनु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्