कोरोनाकालीन दिनचर्या कस्तो ?



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

कोरोना भाइरसको समस्या बढ्दो छ । यस समयमा घरमै बसेर अपनाउन सकिने कोरोनाकालीन जीवनशैली, सुरक्षात्मक उपाय र नियमका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।

 

सुरक्षाका उपायहरु

अनावश्यकरुपमा भीडभाडमा नजाने, जो–कोहीलाई पनि कोरोना लागेको हुन सक्छ भन्ने शंका गरेर स्वयं सतर्क बन्ने, शारीरिक दूरी कायम राख्ने, बाहिर निस्कँदा अथवा मानिसहरूसँग भेटघाट गर्दा टाढैबाट बोल्ने, मास्क लगाएर हिँड्ने, पसल जाँदा भीडभाड नगरी टाढैबाट किनमेल गर्ने, सेनिटाइजर प्रयोग गर्ने, बेला–बेलामा साबुन–पानीले हात धुने जस्ता नियमहरु पालना गर्नु अति आवश्यक छ । हाच्छ्युँ आउँदा नाक–मुख छोप्ने, जथाभावी नथुक्ने, जे पायो त्यसमा हातले नछुने, सार्वजनिक स्थानमा जाँदा लापरबाही नगर्ने जस्ता नियम पनि पालना गर्नुपर्छ ।

खानपान

खानपानसम्बन्धी नियमको पालना ठीकसँग भयो भने स्वास्थ्य पनि राम्रो हुन्छ । अप्राकृतिक खानाहरु त्याग्नुपर्छ । स्वस्थकर, प्राकृतिक र पोषणयुक्त खाना खाने गर्दा शरीरमा जमेका विषाक्त तत्व निष्कासन हुन्छ । साथै शरीरका प्रमुख अंगहरूको कार्यक्षमतामा वृद्धि हुने र रोग–प्रतिरोधक क्षमतासमेत वृद्धि हुने हुन्छ । यसबाट रोग लाग्नबाट जोगिन सकिन्छ । यस्ता व्यक्तिलाई रोग संक्रमण पनि कम भएको पाइएको छ ।

जसको खानपानमा अत्यधिक गडबडी छ, उसलाई रोगहरुले बढी सताएको पाइन्छ । यस समयमा एकनासको खानपान नगरी फरक–फरक खालका खानाको मिश्रण प्रयोग गर्नु लाभदायक हुन्छ । जस्तै– मकै, फापर, जौ, कोदो, चामल, गहुँ आदिमध्ये केहीलाई मिसाएर वा प्रत्येक छाकमा आलोपाले गरी रोटी, ढिँडो, भात, च्याँख्ला, खोले आदिको रुपमा प्रयोग गर्न सकिन्छ । यसरी नै मौसमअनुसारका फलफूल, तरकारीहरु, टुसा उम्रेका गेडागुडीहरु जस्तै– मुग, चना, मेथी आदि (काँचै), सलाद, सागपातहरु खाने बानी बसाल्नुपर्छ । तर खोकी लागेको र रुघा बढी लागेको अवस्थामा फलफूल एवं सलादहरू खाइएको छ भने तातो पानी पिउनुपर्छ । दैनिक धेरैपटक गरेर ३–४ लिटरसम्म तातो पानी पिउनु लाभदायक छ । अमिलो जातका फलपूmल दिनदिनै खानुपर्छ । पोषिलो खाना खानु जरुरी छ । यदि ज्वरो आएको छ भने हरियो तरकारी र दालको सादा पातलो सुप खानुपर्छ । फलफूलको रस, तरकारीको झोल पिउनुपर्छ र अन्त्यमा तातो पानी, तुलसी–चिया वा ग्रीन टी पिउन सकिन्छ । कुरिलो, अमला, कागती, सुन्तला, मौसम, कढिपत्ता अथवा मीठो नीमको पनि प्रयोग गर्न सकिन्छ । अप्राकृतिक, बट्टा बन्द एवं पत्रु खाना खानुहुँदैन ।

जसको खानपानमा अत्यधिक गडबडी छ, उसलाई रोगहरुले बढी सताएको पाइन्छ । यस समयमा एकनासको खानपान नगरी फरक–फरक खालका खानाको मिश्रण प्रयोग गर्नु लाभदायक हुन्छ ।

व्यायामको अभ्यास

शारीरिक व्यायामले शरीरमा रक्तसञ्चार बढ्ने, विकारको निष्कासन गर्न मद्दत पुग्ने, शरीरका नसा–नाडीहरु बलियो हुने, रोगसँग लड्ने (प्रतिरोधक प्रणाली)को क्षमता वृद्धि हुने हुन्छ । यसका साथै व्यायामले शरीरमा मात्र हैन मनमा पनि सकारात्मक लाभ पुग्दछ । तसर्थ मनोरोगसँग लड्न र मनोबल उच्च पार्नको लागि नियमितरुपमा २० मिनेटदेखि बढीमा डेढ घण्टासम्म व्यायाम गर्नुपर्छ । सकेसम्म पसिना निस्कने गरी व्यायाम गर्नुपर्छ तर बढी उमेर, कमजोर, गर्भावस्था, रोगको अशक्तावस्थामा भने हल्का व्यायाम गर्नुपर्दछ ।

योगको अभ्यास

योगका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान आदि महत्वपूर्ण अष्टांगहरू हुन्छन्, जसलाई नियम पुर्‍याएर अभ्यास गर्नुपर्दछ । यमका अभ्यासहरु अहिंसा, सत्य, अस्तेय, अपरिग्रह एवं ब्रह्मचर्यले व्यक्तिलाई सकारात्मक र सामाजिकरुपमा अनुशासित बनाउँछ । यसरी नै नियमअन्तर्गत शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधान विधिहरु पर्दछन्, जसको पालनाबाट व्यक्तिमा शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक विकारहरु हट्न सहयोग मिल्छ । आसनको अभ्यासले शरीरलाई बलियो र अंप्रत्यंगलाई स्वस्थ बनाउँछ । साथै मानसिकरुपमा पनि एकाग्र बनाउन सहयोग गर्छ । विशेष परिस्थितिमा आसनको अभ्यास गर्नुअघि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

रोग नलागेको अवस्थामा कोरोनाकालमा दैनिक आधादेखि एक घण्टासम्म यौगिक व्यायाम एवं आसनहरूको अभ्यास गर्न सकिन्छ । यसमा उत्तानो र घोप्टो सुतेर, विपरीत भएर, बसेर एवं उठेर श्रमदायक, विश्रामदायक र ध्यानात्मक आसनहरूको अभ्यास नियमपूर्वक गर्नुपर्दछ । नाक, घाँटी, छाती, पेटलगायतका अंगहरुलाई विकारमुक्त र समग्र शरीरलाई बलियो पार्ने खालका आसनहरू जस्तै– सूर्य नमस्कार, शवासन, उत्तानपादासन, पवनमुक्तासन, नौकासन, शलभासन, भुजंगासन, धनुरासन, सर्वांगासन, मत्स्यासन, मकरासन, बालसयनासन, सिंहासन, उष्ट्रासन, मण्डूकासन, ताडासन, वृक्षासन, परिवृत्तत्रिकोणासन आदि आसनहरुको अभ्यास गर्न सकिन्छ । यदि कोरोनाको संक्रमण भइहालेमा कडा लक्षण नभएका व्यक्तिहरूलाई पनि यी आसनहरु अभ्यास गर्न मिल्छ तर विशेष कडा खालका लक्षणहरू भइहालेमा विज्ञको सल्लाह लिएर मात्र योग अभ्यास गर्न मिल्ने वा नमिल्ने जान्नुपर्छ । कतिपय आसनहरुले श्वासप्रश्वासलाई सहज बनाउने, निष्कासनमा सहयोगी बन्ने, जीवनी शक्ति बढाउन सहयोग गर्ने, मनोबल बढाउने, तनाव कम गर्ने, दुखाइ र असहज परिस्थितिलाई घटाउने आदि फाइदाहरु प्रदान गर्दछन् ।

योगको अर्को महत्वपूर्ण विधि प्राणायामले प्रतिरोधक क्षमता बढाउँछ भने संक्रामक अवस्थामा पनि जटिलताको सम्भावना घटाउन वा सुधार ल्याउन सक्छ । यसरी नै प्राणायामले मनलाई तनावमुक्त एवं डरलाई कम गर्न सघाउँछ र मनोबल उच्च पार्छ । सूर्यभेदी, चन्द्रभेदी, नाडीशोधन, अनुलोमविलोम, उद्गीत र भस्त्रिकाजस्ता प्राणायामले पनि स्वस्थ–अस्वस्थ दुवै अवस्थामा फाइदा गर्न सक्छ । योगको पाँचौ अंग प्रत्याहारले मनमा भएको चञ्चलता कम गर्छ र इन्द्रियहरूलाई नियन्त्रण गर्दछ, जसले गर्दा नकारात्मक व्यवहारहरुलाई सुधार्ने मौका मिल्छ । यसरी नै धारणा र ध्यानजस्ता विधिहरुले मनलाई नियन्त्रण गर्ने, एकाग्रता बनाउने, मनोसमस्याहरू कम गर्ने, सकारात्मक भावनाको वृद्धि गर्ने, मस्तिष्कका तर·हरुमा उचित परिवर्तन ल्याउने आदि लाभ पाइने हुनाले शरीरमा रोग–प्रतिरोधक क्षमता बढाउन र कोरोना संक्रमण वा लक्षण तथा समस्याहरु रहेको अवस्थामा उपचारमा सहयोग गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । योगमय जीवनशैलीले आफूभित्रै खुशी ल्याउँछ ।

यौगिक शोधन विधिहरु

कोरोनाकालमा निम्न यौगिक शोधन विधिहरु प्रयोग गर्न सकिन्छ :

जलनेति : करुवाजस्तो टुटी भएको जलनेतिको भाँडोमा मनतातो पानी (अथवा आवश्यकताअनुसार नीम, तुलसी, चिराइतो आदि जडीबुटीयुक्त पानी) मा नून मिसाएर टाउको केही ढल्काई नाकको एउटा प्वालबाट उक्त पानी छिराएर अर्को प्वालबाट निकाल्ने विधिलाई जलनेति विधि भनिन्छ । यसले नाकभित्र भएको फोहोरलाई निकाल्ने, कोरोनाको प्रमुख प्रवेशद्वार एवं हुर्कने ठाउँ तथा कीटाणु वा विषाणुहरु बस्ने वातावरणलाई निमिट्यान्न पार्ने काम गर्दछ । यसरी नै नाकभित्र जमेका सिँगान, रगत, पीप एवं फोहोरहरुलाई बाहिर निकाल्छ । यसबाट पिनास, रुघा, एलर्जिक राइनाइटिस, मानसिक तनाव, टाउको दुखाइ आदि समस्यालाई निको पार्न सहयोग गर्दछ । यसको प्रयोगले घाँटीमा कीटाणु, जीवाणु एवम् फोहोरहरु जानमा पनि कमी आउँछ । कोरोना भाइरसको उपचारको क्रममा पनि नियमित जलनेतिको प्रयोगले फाइदा गर्ने अनुभव एवं अनुसन्धानले देखाएको छ ।

धौति : दन्तमूल धौति (मुख–घाँटी सफा गर्ने), जलधौति (पानी पिएर वमन क्रिया) हरुबाट कुल्ला, गरर्र गर्ने विधिले पेट तथा घाँटीको सफाइ गर्छ । यसका लागि खालि पेटमा मनतातो पानी पिएर मुखभित्र औंला छिराई पिएको पानी बान्ता गरी बाहिर निकाल्ने, तातो पानीमा नून, बेसार, नीम आदि मिसाई कुल्ला गर्ने, गरर्र गर्ने आदि विधिबाट सफाइ गर्न सकिन्छ ।

 

स्वस्थकर जीवनशैली

हामीले दिनदिनै अपनाउने क्रियाकलाप नै जीवनशैलीको हिस्सा हो । खाने, बस्ने, सुत्ने, हिँड्ने, काम गर्ने, सोच्ने आदि प्रत्येक कर्महरु जीवनशैलीका स्वरुपहरु हुन् । यी कर्महरूलाई यदि हामीले ठीक ढंगले सम्पन्न गर्‍यौं भने त्यसबाट नकारात्मक असर पर्दैन तर तिनै कामहरुलाई हामीले अव्यवस्थितरुपले अस्तव्यस्तरुपमा गर्न थाल्यौं भने त्यो जीवनशैली हानिकारक र अस्वस्थकर बन्दछ । कोरोना वा अन्य संक्रमणको अवस्थामा पनि उच्च मनोबलका साथ सही ढंगले जीवनशैली अपनाउने र समयको व्यवस्थापन गर्ने हो भने त्यसबाट अवश्य पनि रोग निको हुन सहयोग पुग्ने सम्भावना छ र प्रयोग गरिरहेको उपचार पनि बढी लाभदायक हुन सक्छ ।

खुशी र रमाइलो

हामी जति दुःखी भयौं त्यत्तिकै झन् डर र त्रासले सताउँछ । यसले तनाव, चिन्ता र डिप्रेसनमा पुर्‍याउँछ, जसबाट मनोबल कमजोर हुन्छ । मन कमजोर हुँदा सानो कुरा पनि ठूलो र नकारात्मक लाग्न थाल्छ । यसबाट शरीरले पनि नकारात्मक हर्मोनहरु उत्पादन गर्दछ र यो चक्र छन् बढी हुन्छ । त्यसैले रोग लाग्दा होस् वा नलाग्दा, नराम्रा कुराहरुबाट अलग्गिने प्रयास गर्नुपर्दछ । घरभित्रै, परिवारभित्रै र आफूभित्रै खुशीको संसार छ, त्यसलाई पहिल्याउन र प्रयोग गर्न जान्नुपर्दछ ।

 

जडीबुटीहरुको प्रयोग

हाम्रो घरवरिपरि तथा भान्सामा प्रयोग हुने खालका मसला र जडीबुटीहरुलाई हामीले सही किसिमले प्रयोग गर्‍यौँ भने पनि त्यसबाट हाम्रो शरीरको प्रतिरोधक क्षमता बढ्ने हुन्छ । बेसार, अदुवा, लसुन, मरिच, ज्वानो, सुठो, पिप्ला, दालचिनी आदि भान्छामा प्रयोग हुने मसलाहरुलाई रोग नलाग्दै अथवा भाइरसजन्य रोगहरु लागिसकेपछि पनि प्रयोग गर्न सकिन्छ । यसरी नै पुदिना, तुलसी र धनियालाई पनि यथोचितरुपमा प्रयोग गर्दा लाभ पाउन सकिन्छ ।. तर प्रयोग गर्दा आवश्यकताभन्दा बढी प्रयोग गर्नुहुँदैन । आयुर्वेद एवं प्राकृतिक चिकित्सा आदिमा प्रयोग हुने जडीबुटीहरु अश्वगन्धा, गुर्जो, असुरो आदिलाई पनि रोग लाग्न नदिन र लागिसकेपछि पनि शरीरलाई कमजोर हुन नदिन तथा उपचारमा सहयोग होस् भनेर उचितरुपमा प्रयोग गर्न सकिन्छ ।

 

प्राकृतिक चिकित्सा विधि

प्राकृतिक चिकित्सा भनेको वास्तवमा स्वस्थ व्यक्तिहरूको लागि स्वस्थकर जीवनशैलीको महत्वपूर्ण अभ्यास हो भने बिरामीहरूको लागि शरीरको क्षमता बढाउने, निर्विषीकरण कम गर्ने र शरीरको जीवनी शक्ति बढाउने महत्वपूर्ण विधि हो । कोरोना महामारीको यस समयमा प्रयोग गर्न सकिने प्राकृतिक चिकित्सा विधिको प्रोटोकल पनि बनाइएको छ । स्थानीय उपचारको लागि जलचिकित्सा जस्तै– अनुहारमा बाफ लिने, तातो पानीमा खुट्टा डुबाउने, घाँटी–छातीमा सेक्ने, मालिस गर्ने गर्न सकिन्छ । पोषण चिकित्सा जस्तै– रसाहार, फलाहार, अमृताहार आदिको प्रयोग गर्न सकिन्छ । उपवास, सूर्यकिरण चिकित्सा, चुम्बक चिकित्सालगायत अन्य पञ्चमहाभूत विधिहरुको प्रयोगले रोग नलाग्दै सुरक्षा शक्ति बढाउन सकिन्छ भने रोग लागिसकेको अवस्थामा पनि उपचारमा सहयोग पुग्दछ । अहिले विभिन्न प्राकृतिक चिकित्सकहरुले यससम्बन्धी सेवा दिइरहनुभएको छ । साथै रजहर र चितवनको बागेश्वरीमा योग तथा प्राकृतिक चिकित्सा विधिको कोरोना अस्पताल प्रभावकारीरुपमा सञ्चालित छ ।

 

भ्रमबाट बचौं

कोरोना भाइरसबारे सोसल मिडियाहरुमा थुप्रै किसिमका भ्रमहरु आएको देखिन्छ । मास्क लाउने÷नलाउने बारेमा, भाइरस फैलिने माध्यम, उपचार तथा सावधानीहरुका सम्बन्धमा पनि अनेक किसिमका भ्रम तथा विचारहरू व्यापकरुपले आएका छन्, जसबाट के ठीक, के बेठीक भन्ने कुरा छुट्याउन कठिनाइ परेको देखिन्छ । त्यसैले जोखिम उत्पन्न गर्ने यस्ता भ्रमहरुबाट बच्नु आवश्यक छ । अनधिकृत व्यक्तिहरूबाट आएका यस्ता हल्लालाई पत्याइहाल्नुहुँदैन । खास विज्ञहरु, अधिकृतहरु, सूचनाहरु प्रदान गरिने निकायहरुबाट आएका आधिकारिक कुराहरुलाई मात्र विश्वास गर्नुपर्दछ । यस्ता विषयमा सन्देह भएमा सम्बन्धित निकायमा सोझै सम्पर्क गरी राम्ररी बुझेर स्पष्ट हुनुपर्दछ ।

योग मोडेल : मिरी बराकोटी
प्रतिक्रिया दिनुहोस्