टाउको दुख्ने समस्या अहिले विश्वव्यापी समस्या मानिन्छ । जीवनमा एकपटक पनि टाउको नदुखेको व्यक्ति शायदै कोही होलान् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिमहिना १५ दिनसम्म टाउको दुख्ने व्यक्तिहरुको जनसंख्या विश्वमा १.७ देखि ४ प्रतिशतसम्म रहेको छ । सामान्यतः टाउको दुखाइको समस्यालाई व्यापक बेवास्ता गरिन्छ, पहिचान गरिँदैन र उपचार पनि गराइँदैन ।
टाउको दुख्नुको अनेक कारण हुन्छन् । माइग्रेन हुँदा पनि असाध्य टाउको दुख्छ । आयुर्वेदका आचार्य सुश्रुतले टाउकोको आधा भागमा १५ दिन अथवा १० दिन वा अचानक फुट्नेजस्तो गरी पीडा वा घोच्ने दुखाइ, चक्कर आउनुलाई अर्भावभेदक (माइग्रेन) भनेका छन् ।
माइग्रेन प्रायः किशोर अवस्थाबाट शुरु हुन्छ र ३५ देखि ४५ वर्ष उमेर समूहलाई बढी प्रभावित गर्दछ । महिलाको शरीरमा हर्मोनल उतारचढाव (गर्भावस्था, मिन्सुरेसन, मेनोपज आदि) बढी हुने भएकोले पुरुषभन्दा महिलाहरुमा माइग्रेनको समस्या दोब्बरजस्तै बढी देखिन्छ ।
आयुर्वेदका प्रसिद्ध वैद्य आचार्य वागवटले अधिक सुख्खा खाना, अत्यधिक भोजन, लामो समय भोकै बस्ने, पूर्वतिरबाट आएको हावामा लामो समय बस्ने, अति चिसो खानपिन गर्ने, अति मैथुन गर्ने, दिसापिसाब आदिको प्राकृतिक वेगलाई रोक्ने, अत्यधिक परिश्रम गर्ने, अत्यधिक कसरत गर्नेलाई माइग्रेन हुन्छ भनेका छन् ।
वागवटले टाउको दुखाइ १० प्रकारको हुन्छ भनेका छन् भने आधुनिक चिकित्सा विज्ञानमा टाउको दुखाइलाई ४ प्रकारको मानिन्छ । १. माइग्रेन, २. टेन्सन टाइप हेडेक, ३. कलस्टर हेडेक र ४. मेडिकेसन ओभरयुज टेन्सन हेडेक ।
माइग्रेन त्रिदोषज (वात, पित्त र कफ) अर्थात् तिनै दोषको कारण उत्पन्न हुने रोग हो । वातले स्नायु प्रणाली र पित्तले रक्तनलीहरुलाई प्रभावित बनाई माइग्रेन ल्याउँछ ।
आधुनिक चिकित्सा विज्ञानको दृष्टिमा बढ्दो तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाइ माइग्रेन पनि पैदा गर्छ । अतः तनावको कारण पनि माइग्रेनको समस्या हुन्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफीको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण देखिएको छ । अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि माइग्रेन सिर्जना हुने गर्दछ । वातावरणमा आउने परिवर्तन, निरन्तर लामो समयमा हल्लायुक्त स्थानमा बस्नु, तापमानमा हुने परिवर्तन, अधिक प्रकाश एवं अत्यधिक गर्मी आदि कारणले पनि माइग्रेन हुने गरेको पाइन्छ । यस्तै गरी धूमपान, अधिक मदिरापान, थरी–थरीका चकलेटहरु, मसलेदार खानेकुरा आदिले पनि माइग्रेन हुने गर्दछ ।
माइग्रेन हुनु आफैंमा एउटा मेडिकल कन्डिसन हो । यो वंशाणुगत पनि हुने गर्छ । यदि परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माइग्रेन हुने ८० प्रतिशत सम्भावना हुने गर्छ ।
समाजमा माइग्रेनसम्बन्धी धेरै किसिमका भ्रमहरु छन् । धेरैले यो निको नहुने रोग हो, सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने गलत धारणा राखेको पाइन्छ । कतिपयले माइग्रेनलाई मानसिक रोग ठान्छन् । माइग्रेनमा खाइने औषधिको साइड इफेक्ट धेरै हुन्छ भन्ने गलत विश्वासले औषधि नखाई टाउको दुखाएर जीवन व्यतीत गर्नेहरु पनि धेरै भेटिन्छन् ।
उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम, ध्यान, प्राणायाम, सप्लिमेन्ट्सहरु, एक्युपन्चर तथा एक्युप्रेसर आदिको सम्यक प्रयोगले माइग्रेनलाई जित्न सम्भव छ ।
पहिला–पहिला माइग्रेनलाई भास्कुलर (रक्तनलीगत) रोग भनिन्थ्यो तर अहिले यसलाई न्युरोलोजिकल (स्नायुगत) रोग भनिन्छ । माइग्रेन एक विशिष्ट प्रकारको टाउको दुखाइ हो, जुन दुखाइ निकै कडा हुने गर्दछ । यस प्रकारको टाउको दुखाइले दैनिक जीवनका सबै काम गर्न गाह्रो पार्छ । समग्रमा जीवनयापनलाई नै नकारात्मक बनाउँछ ।
कारण पत्ता लागेमा यो पूर्णरुपमा निको हुन सक्ने रोग हो । माइग्रेनको कारण र ट्रिगर गर्ने तत्वको पहिचान अनि त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम, ध्यान, प्राणायाम, सप्लिमेन्ट्सहरु, एक्युपन्चर तथा एक्युप्रेसर आदिको सम्यक प्रयोगले माइग्रेनलाई जित्न सम्भव छ ।
माइग्रेनका लक्षणहरु
- टाउकोको नसा धड्किरहेको आभास हुन्छ ।
- टाउकोको एउटा भागबाट दुख्न शुरु हुन्छ र पूरै टाउकोमा चर्को दुखाइले आक्रान्त पार्छ ।
- माइग्रेनको दुखाइले नियमित कार्य तालिका बिग्रिन्छ ।
- माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । साथै बान्तासमेत हुने गर्छ ।
- प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुने हुन्छ ।
- दुखाइले छट्पटी सिर्जना गर्छ ।
- शरीरमा थकान महसुस हुन्छ, राम्रोसँग निद्रा पर्दैन ।
- माइग्रेनले मुडमा तीव्र परिवर्तन आउँछ ।
- विनाकारण अकास्मात् उदास र
- उत्साहित गराउँछ ।
- माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति जाग्छ ।
- पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।
उपचार : आयुर्वेदानुसार माइग्रेनको चिकित्सा गर्दा पहिला टाउकोमा जमेर रहेको फोहोर निकाल्न शिरोविरेचन (जस्तै– नस्य, रक्तमोक्षण आदि) गर्नुपर्दछ । त्यसपछि पूरै शरीरको फोहोर सफा गर्न शोधन गरिन्छ अनि औषधिको धूप वा धुवाँको प्रयोग गरिन्छ । बिरामीलाई तातो खानपिन गराई राखिन्छ ।
खानपिन र जीवनशैली : तेल, घिउ वा बोसो नराखी पकाइएको खाना खान प्रोत्साहन गर्नुपर्छ । खानामा सकेसम्म बढी फलफूल र सब्जीको प्रयोग गर्नुपर्छ । सब्जीहरुको ताजा रस वा सूप, फलफूल, स्याउ, आँप, आदिको जुस अधिक मात्रामा सेवन गर्नुपर्छ । दिनको एकपटक वा दुईपटकभन्दा बढी भोजन लिनुहुँदैन । अङ्गुर, कागती, बन्दा आदिको बढी प्रयोग गर्नुपर्छ । मही र सलादको दैनिकजसो प्रयोग गर्नुपर्छ । ६ देखि ८ घण्टा अनिवार्यरुपमा सुत्नुपर्छ । धूमपान र मद्यपान छोड्नुपर्छ । दैनिक प्रातः भ्रमणमा जानुपर्छ । घरबाहिरको फास्टफुड, क्यान्ड फुड, चक्लेट आदि खान बन्द गर्नुपर्छ ।
दिनभरिमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुपर्छ । अधिक चिया वा कफी पिउन छोड्नुपर्छ । दैनिकरुपमा गाईको दूध र नरिवलको पानी पिउनु लाभदायक हुन्छ ।
कुनै–कुनै खानाले कसै–कसैलाई माइग्रेन हुने भएकाले माइग्रेनको रोगीले खानपिनप्रति पनि सचेत रहनुपर्छ ।
योग र पञ्चकर्म : माइग्रेनमा हुने टाउको दुखाइका लागि गहिरो श्वासप्रश्वासको क्रियालाई प्रभावकारी विधि मानिन्छ । योगनिद्राको प्रयोगले पनि तत्काल राहत दिन्छ । सावधानीपूर्वक खुट्टा माथि र टाउको तल पारी गरिएका आसनहरुले माइग्रेनमा लाभ हुन्छ ।
पञ्चकर्म विधिमा शिरोविरेचनका लागि नाकलाई उत्तेजित बनाउने औषधियुक्त नस्य विधिको प्रयोग गरिन्छ । यसले नाकभित्रको फोहोरको सफाइ गर्दछ । त्यसपछि फेरि केही औषधियुक्त (असुरो, मरिच, आदि) रस नाकमा महसहित राखिन्छ, जसले दुखाइ शान्त पार्दछ । त्यस अतिरिक्त महानारायण तेल वा तिलको तेल लगभग ५० मि.लि. नाकमा राखेर पनि नाक सफा गरिन्छ ।
आयुर्वेदीय औषधिहरु
सुवर्ण सुतशेखर रस (१२५ मि.ग्रा. दिनको दुईपटक दूधसँग), गोदन्ती भष्म (१ ग्राम दिनको तीनपटक महसँग), यस अतिरिक्त शिरसुलादि वज्र रस, अर्धनारीश्वर रस, महालक्ष्मी विलास रस, त्रिभुवनकीर्ति रस, भल्लातक आसव, त्रिफला गुग्गलु, पथ्यादि कसाई, दशमुलारिष्ट, चन्दनादि बटी आदिको प्रयोग पनि गरिन्छ । अदुवा, ब्राह्मी, जटामसी औषधीय जडीबुटीको प्रयोग पनि यसमा लाभकारी हुन्छ । चिकित्सकको सल्लाह लिएर यस्ता औषधिको प्रयोग गर्नुपर्दछ ।