के लकडाउनले हामीलाई बचाउँछ ?



लकडाउन र निषेधाज्ञा जति थप्दै लग्यो, कोरोनाबाट संक्रमित हुनेहरुको संख्या र त्यसैको कारण मृत्यु हुनेको संख्या पनि वृद्धि भइरहेको छ । करिब सात महिनायता अपनाइएका रोकथामका अनेक उपायहरुलाई कमजोर पार्दै कोरोनाको महामारीले आफ्नो गति बढाइरहेको छ र आममानिसलाई निराश पारिरहेको छ । अब के यस्तै लकडाउन र निषेधाज्ञाका उपायले मात्र हाम्रो जीवनको गति सहज ढंगले अघि बढ्न सक्ला त ?

कोरोनाविरुद्ध विजय पाउने उपाय लकडाउन मात्र होइन भन्ने कुरा वैज्ञानिक अध्ययन र अन्य देशका अनुभवले सिद्ध गरिसकेको छ । त्यसैले सतर्कताका साथ बजार, गाउँ, व्यवसाय खोल्नै पर्ने हुन्छ । कोरोनाको औषधि र खोप बनिसकेको छैन र तुरुन्तै बजारमा आइहाल्ने स्थिति पनि छैन । यसको खोप वा औषधि बनिहाले पनि हाम्रो पहुँचमा पुग्न एक–डेढ वर्ष लाग्ने स्थिति छ । यस्तो परिस्थितिमा कोरोनाबाट जोगिने प्रमुख उपाय भनेको आ–आफ्नो बानी–व्यवहार, जीवनशैली एवं कार्यशैली परिवर्तन गर्नु नै हो । पश्चिमी मुलुकहरुले यसलाई ‘न्यू नर्मल’ भन्दै नयाँ बानी–व्यवहार अपनाउन आग्रह गरेका छन् ।

साथै विश्वका वैज्ञानिकहरुले अनुसन्धान गरी बानी–व्यवहार परिवर्तनसम्बन्धी विभिन्न थप विधिहरु सिफारिस गरेका छन् । यसलाई नेपाली आमजनसमुदायमा पुर्‍याउन वरिष्ठ दन्त चिकित्सक डा. सुशील कोइराला अध्यक्ष रहेको पुण्यार्जन फाउन्डेसन (www.punyaarjanfoundation.org.np) ले प्रचार सामग्री तयार गरी विभिन्न माध्यमबाट सम्प्रेषण गर्न थालेको छ । यी सामग्री अहिलेको सन्दर्भमा सबैको लागि उपयोगी हुने भएकोले प्रस्तुत गरिएको छ ।

विज्ञहरूको अनुभवका आधारमा हालसम्म कोरोनाको संक्रमणका लागि मुख्यतः निम्न चारवटा कारक तत्वलाई जिम्मेवार मानिएको छ :

१.          कोठा, सेमिनार हल, सिनेमा हल, होटेल, पार्टी प्यालेस, रेस्टुरेन्ट, डान्सबार, सपिङ कम्प्लेक्स, खेल कभर्ड हलजस्ता बन्द ठाउँ ।

२.         जनघनत्व र भौतिक दूरी कायम हुन नसक्ने भीडभाड र जमघटको अवस्था ।

३.         कति लामो अवधिसम्म कति नजिकको सम्पर्क गरिएको हो, सो सम्पर्क अवधि र निकटता ।

४.         तीव्र श्वासप्रश्वास हुने हाच्छिउँ, चर्को बोली, होहल्ला, गायन र खोकीजस्ता गतिविधि ।

यी कारकसँग गाँसिएका क्रियाकलापको सम्भावित जोखिमलाई पाँच स्तरमा वर्गीकरण गरिएको छ । यसअनुसार आफू रहेको ठाउँ र आफूले गरिरहेका क्रियाकलापमा कोरोना जोखिमको स्तर आँकलन गरी थप सतर्कता अपनाउन सकिन्छ ।

 

१. न्यून जोखिम

एक्लै वा घरपालुवा जनावरसँग घरबाहिर टहल्नु, एक्लै अथवा आप्mनो परिवारसँग घरमा बस्नु, तयारी खानेकुरा वा किराना सामान राखिएको ठाउँबाट लिनु, एक्लै वा अरुसँग दौडनु वा साइकल चलाउनु न्युन जोखिमयुक्त हो । तर यसमा पनि निकट सम्पर्कमा रहँदा, भीडभाड गर्दा, घर–आँगनमा पारिवारिक जमघट गर्दा जोखिम बढ्छ ।

 

२. न्यून–मध्यम जोखिम

खुला ठाउँमा पर्याप्त दूरीमा खेलिने गल्फ, टेनिसजस्ता खेल खेल्नु, खुद्रा किनमेल गर्नु न्यून–मध्यम स्तरको जोखिम हो । यसमा पनि बन्द ठाउँ, निकट सम्पर्क, धेरैजनाको जमघट भएमा, धेरै सतहहरुमा छोइएमा जोखिमको स्तर बढ्दै जान्छ ।

 

३. मध्यम जोखिम

अस्पतालको आकस्मिक विभागमा जानु, बाहिरी रेस्टुराँमा खान जानु, ट्याक्सी, भाडाका बाइक चढ्नु, प्रदर्शनी, मेडिकल क्लिनिक, डेन्टर क्लिनकमा जानु मध्यम स्तरको जोखिममा राखिएको छ । यसमा पनि क्लिनिकमा बिरामीले मास्क नलगाएमा, बसाइको अवधि लामो भएमा, बन्द ठाउँ भएमा, सवारीसाधनमा धेरै यात्रु भएमा र बसाइको निकटताले जोखिको स्तर बढाउँदै लान्छ ।

 

४. उच्च–मध्यम जोखिम

व्यायामशालामा कसरत, ब्युटी पार्लर तथा सैलुनमा जानु, कार्यालयमा काम गर्नु, भित्री रेस्टुराँ, चिया पसलमा जानुलाई उच्च–मध्यम स्तरको जोखिममा राखिएको छ । यसमा पनि बन्द ठाउँ, लामो समयसम्म निकट सम्पर्क, धेरैजनाको जमघट र उच्च श्वासप्रश्वास प्रक्रियामा व्यायाम गर्दा जोखिमको स्तर बढ्दै जान्छ ।

 

५. उच्च जोखिम

बार तथा रात्रि क्लबहरुमा जानु, हवाई यात्रा गर्नु, बन्द स्थानको भोजभतेरमा जानु, सिनेमा हल, रंगमञ्च, सांगीतिक कार्यक्रम, खेल, यात्रा मेला हेर्न जानु, धार्मिक कार्यक्रममा जानु, फुटबल, बास्केट बल, कबड्डी आदिजस्ता आपसमा छोइने खेल खेल्नु, बस, माइक्रोबस आदि सार्वजनिक यातायातमा चढ्नुलाई उच्च जोखिमको स्तर मानिएको छ ।

यसमा पनि जाँडरक्सी आदिको सेवनका कारण अनियन्त्रित हुनु र धेरै व्यक्तिले एउटै गिलास, हुक्का प्रयोग गर्नु, उच्च श्वासप्रश्वास प्रक्रियामा कराउनु, गाउनु, चिच्याउनु जस्ता क्रियाकलापले जोखिमको स्तरलाई बढाउँदै लान्छ ।

यसकारण हामीले आफू कति जोखिमयुक्त ठाउँमा छु वा जाँदै छु भन्ने कुरा मनन गरेर सोअनुसारका सावधानी अपनाउन जरुरी छ ।

मास्क, स्यानिटाइजरजस्ता बचावटका उपाय अपनाउँदा अपनाउँदै पनि बढी जोखिमयुक्त स्थानमा धेरै समय वा १० मिनेटभन्दा बढी बिताइयो भने त्यो आफ्नो स्वास्थ्यका लागि धेरै खतरनाक हुन सक्ने कुरा सधैँ स्मरण रहोस् ।

प्रतिक्रिया दिनुहोस्