तपाईंका घरमा हाम्रा डाक्टर



म ५६ वर्षको भएँ । मेरो हातका औँलाका अन्तिम जोर्नीहरु काम गर्दा दुख्ने गर्छन् तर अरु कुनै जोर्नी दुखेका छैनन् । के भएर यसो भएको होला ? केही सामाधान बताइदिनुहुन्छ कि ?

– सुलभ थापा, सिन्धुलीमाडी ।

सुलभज्यू, औंलाका साना जोर्नीहरु दुख्नु बाथको, युरिक एसिडको वा साधारण काम गराइको दुखाइ जे पनि हुन सक्छ । बाथमा अन्य जोर्नी पनि दुख्न सक्छन् । युरिक एसिड बढेमा दुख्नुको साथमा सुन्निएको वा जोर्नीमा पानी जमेको पनि हुन सक्छ । त्यो सबै चिकित्सकले नहेरी यसै भन्न सक्ने कुरा भएन । अहिलेलाई तातोले सक्ने र दुखाइको लागि ‘कोडोमोल’ भन्ने चक्की खाने गर्नुस् । रातो मासु, कालो दाल, टमाटर, गेडागुडी कम खाने गर्नुस् । सकेसम्म चाँडो हड्डी तथा जोर्नी रोग विशेषज्ञ देखाउनुस् । त्यसपछि समास्याको निदान अनि समाधान हुनेछ । सिन्धुलीबाट काठमाडौं नजिकै छ । यहाँ आएर शिक्षण अस्पताल वा वीर अस्पतालमा चिकित्सक भेटेर परामर्श गर्न सक्नु हुनेछ ।

 

मेरो सुगर, कोलेस्ट्रोल र रक्तचाप माथिल्लो बोर्डर लाइनतिर भए पनि औषधि नै खानुपरेको थिएन । ६–६ महिनामा जँचाउने गरेको थिएँ तर विगत १० महिनादेखि जँचाउन पाएको छैन । अस्पताल जानै डर लाग्छ । म आफैंले यसलाई नियन्त्रणमा राख्न केही गर्न सक्छु कि ? सुझाव पाऊँ ?

– सुवास, सानोठिमी, भक्तपुर ।

सुवासजी, तपाईंले भनेको राम्रै हो, अत्यावश्यक नभईकन अस्पताल नजानु नै राम्रो । सुगर, कोलेस्ट्रोल र रक्तचाप बढेको थिएन भने आत्तिन परेन । आफैंले जीवनशैलीमा सुधार ल्याएर नियन्त्रणमा राख्न पनि सकिन्छ । जस्तो किः खानामा नून कम गर्ने, चिल्लो बन्द गर्ने, दैनिक कमसे कम ३०–४५ मिनट पसिना आउने गरेर व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, तनाव र आवेशमा नआउने, सकारात्मक सोच्ने आदि गर्नु उत्तम हुन्छ । नियमित रक्तचाप जाँच्न डिजिटल प्रेसर नाप्ने मेसिन किन्न सकिन्छ । त्यस्तै ल्याबमा गएर सुगर, कोलेस्ट्रोलको स्तर जाँच्न रगत दिनै नहुने अवस्था अझै छैन, रगत दिएर अहिलेको अवस्था हेर्न पनि सकिन्छ ।

 

म ३४ वर्षकी महिला हुँ । मलाई कहिलेकाहीँ त्यत्तिकै बसिरहँदा पनि मुटुको ढुकढुकी बढेको जस्तो हुन्छ । डाक्टरकहाँ गइहाल्न पनि आँट आएको छैन । सुझाव पाए आभारी हुन थिएँ ।

– मनिता क्षत्री, महाराजगन्ज, काठमाडौं ।

मनिताजी, मुटुको ढुकढुकी बढाइ दुई प्रकारको हुन्छ । एउटा साँच्चिकै मुटुको चाल बढेर महसुस गरिने ढुकढुकी हो । स्मरण रहोस्, स्वस्थ मान्छेले आफ्नो मुटुको ढुकढुकी महसुस गर्दैनन्, गर्नु पनि हुँदैन । अर्को मनोवैज्ञानिकरुपमा पाइने साधारण चिन्ता, डिप्रेसन, तनाव, मानसिक रोगले महसुस हुने ढुकढुकी हो । यो दोस्रो किसिमको ढुकढुकी धेरैजसो महिलामा पाइन्छ । त्यो ढुकढुकीको प्रकार, प्रकृति तथा यसको निदान मुटुको कामको सम्पूर्ण अध्ययन गरेपछि मात्रै भन्न सकिने हुनाले मुटुरोग परीक्षण गर्न गंगालाल वा मनमोहन मुटु केन्द्र वा वीर अस्पताल मुटु विभाग जान सल्लाह दिन्छु । अहिलेको लागि ध्यान गर्ने, योग गर्ने, व्यायाम गर्ने, चिन्ता नगर्ने, हरेक कुरालाई विश्लेषण गरेर मन बुझाउने, सकारात्मक सोच्ने, सादा खाने गरी जीवनशैली परिवर्तन गरेर हेर्नुस् । अनि समय मिलाएर वा बढी समस्या भएमा तुरुन्तै मुटुरोग विशेषज्ञलाई देखाउनुस्, सही परामर्श मिल्नेछ ।

 

म ४२ वर्षको भएँ । तौल ७५ केजी छ र उचाइ साढे ५ फिट छ । सबैले सुगर–प्रेसर हुन्छ, तौल घटा भन्छन् तर मेरो बा–आमा कसैलाई सुगर छैन । तैपनि मलाई खतरा हुन्छ र ?

– जीवन कार्की, बुढानीलकण्ठ, काठमाडौं ।

जीवनजी, उच्च तौल प्रेसर–सुगर वा हृदयघातको लागि एउटा कारक तत्व हो । तपाईंको शरीरको तौल अनुपात चाहिनेभन्दा बढी हुन्छ । तपाईंको हुनुपर्ने तौल उचाइअनुसार ६५ किलो ग्रामभन्दा कम हो । त्यसको साथै निष्क्रिय जीवनशैली तथा नियमित व्यायामको अभाव भएमा त्यहाँ अरु पनि कारक तत्वहरु थपिन्छन्, जसको फलस्वरूप मुटुको रोग लाग्न सक्छ । तपाईंले तौल घटाउने योजना बनाउनुस् र जसरी पनि घटाउनुस् । नियमित व्यायाम गर्नुस् र खानामा ख्याल गर्नुस् । चिल्लो, मसला, नून कम खानुस् । स्वस्थ जीवन बिताउनुस् । बुझ्नुस्, सुगर हुने खतरा तपाईंलाई छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्