कोभिडलाई हलुकारुपमा नलिऊ



सीमा शर्मा सेती प्रादेशिक अस्पतालको नर्सिङ अफिसर तथा नर्सिङ इन्चार्ज (मेट्रोन) हुनुहुन्छ । अछाममा जन्मिएकी सीमाले वीर अस्पताल नर्सिङ कलेजबाट नर्सिङमा मास्टर्स उत्तीर्ण गरी २०६५ सालबाट नर्सिङ पेसा शुरु गर्नुभएको हो । उहाँले जिल्ला अस्पताल डोटी, सेती अञ्चल अस्पताल र बझाङ जिल्ला अस्पतालमा काम गरिसक्नुभएको छ । उहाँ लोकसेवा पास गरी हाल डडेलधुराको सेती प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ । नेपालको सदूरपश्चिम अछाममा जन्मनुभएकी सीमा बिरामीको सेवालाई आफ्नो जीवन सम्झनुहुन्छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

तपाईंले नर्सिङ पेसा नै किन छनोट गर्नुभयो ?

म एसएलसी दिने तयारी गर्दै थिएँ, त्यति नै बेला मलाई एपेन्डिसाइटिस भएकोले उपचारका लागि नेपालगन्ज नर्सिङ होममा लगियो । त्यति बेला नर्सहरुले बिरामीलाई गर्नुभएको स्याहारसुसारले मलाई नर्सिङ पेसाप्रति उत्प्रेरणा जगायो । नर्सहरुले मलाई अत्यन्तै राम्रो हेरचाह गरेकाले नर्स बन्ने अठोट मेरो मनमा बस्यो । घर–परिवारबाट पनि मेरो चाहनाको कदर भयो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप निकै बढेको छ । नर्सिङ सेवा कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

सेती प्रादेशिक अस्पतालमा कोरोनाको संक्रमित बिरामीको चाप झन्डै काठमाडौंमा जस्तै छ भन्दा पनि हुन्छ । मुलुकमा २०७६ चैत्र ११ गते पहिलोपटक लकडाउन शुरु भएसँगै हामी नयाँ रोगका बारेमा खासै जानकार नभए पनि तयारी अवस्थामा थियौँ। स्थानीय निकाय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, अस्पतालका चिकित्सक–नर्सहरुले छुट्टाछुट्टै बैठक गरी कार्य विभाजन गरेका थियौँ । चैत्र १४ गते विदेशबाट फर्किएका १ युवा कोरोना संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा आउनुभयो । त्यसपछि अब बिरामी फटाफट थपिन्छन् भन्ने हामीले अनुमान गर्‍यौँ । त्यति बेला विश्व स्वास्थ्य संगठन र राज्यबाट खासै गाइड लाइन तयार भएको थिएन ।

विदेशी मुलुकहरुमा कोरोनाका बिरामी धेरै बढ्नुका साथै मृत्यु पनि उत्तिकै बढिरहेको थियो । हाम्रोमा संक्रमितलाई कहाँ आइसोलेसन तयार गरेर राख्ने, क्वारेन्टाइन कहाँ बनाउने, मृत्यु भयो भने कहाँ व्यवस्थापन गर्ने भन्ने निकै अन्योलको अवस्था थियो । हामीलाई काम गर्न निकै हम्मेहम्मे भएको थियो । तर स्वास्थ्यकर्मीहरुले चिकित्सक, नर्सको ड्युटी ३ सिफ्टमा बाँडेका थियौँ र अहिलेसम्म त्यसरी नै गरेका छौँ । संक्रमितलाई कसरी रेखदेख गर्नेभन्दा पनि संक्रमितले प्रयोग गरेका सामानलाई कसरी क्लिनिङ गर्ने ? भाइरस ६ महिनासम्म पनि बस्न सक्छ भनेको छ । पीपीई, मास्क, स्यानिटाइजरको अभाव थियो । शुरुका दिनमा काम गर्न अत्यन्तै गाह्रो भएको थियो । अहिले सबैतिरबाट सहयोगस्वरुप आवश्यक सामग्री पायौँ र सहज भएको छ । पहिलाजस्तो नर्सिङ व्यवस्थापनमा त्यति धेरै चुनौती छैन । सेती प्रादेशिक अस्पताल रिसर्च सेन्टर पनि भएकाले गम्भीर प्रकृतिका कोभिडका बिरामी पनि धेरै आएका छन् । तर जनशक्तिको अभाव नभएकोले खासै समस्या भोग्नुपरेको छैन । आईसीयु, भेन्टिलेटर चाहिने बिरामीको चाप बढी छ । यो रिफरल सेन्टर भएकाले अन्तभन्दा थप जोखिम छ ।

अन्य रोगका समस्या पनि आइरहेका छन् कि ?

कोभिड केन्द्रित अस्पताल भने पनि यो अस्पतालमा भएको सेवा–सुविधा अन्य अस्पतालमा सार्न सकिने सम्भावना छैन । त्यसैले कोभिड, ननकोभिड सबै खाले बिरामीको चाप छ । यसरी नै बिरामीको चाप बढ्दा एकपटक आईसीयु नै सिल गर्नुपर्ने अवस्था आयो । दुवै खालका बिरामीलाई हेर्ने हुँदा गाह्रो भैरहेको छ । कोभिड र ननकोभिड अस्पताल छुट्टाछुट्टै भएको भए स्वास्थ्यकर्मीहरु र अन्य बिरामी तथा बिरामी कुरुवा संक्रमित हुनबाट जोगिने थिए । यिनै कारणले प्यारामेडिक्स, हेल्पर, नर्सिङ स्टाफहरु संक्रमित भैरहेको अवस्था छ । टेकुमा कोभिडको मात्र बिरामी हेर्ने हुनाले त्यहाँ डाक्टर, नर्स संक्रमित भएका छैनन् ।

अरु अस्पतालमा जस्तो सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कत्तिको संक्रमित हुनुहुन्छ ?

एक चरण सबैको परीक्षण गर्दा हेल्पर, नर्सिङ स्टाफ, प्यारामेडिक्स, ओटीमा काम गर्नेहरुमा पोजेटिभ देखियो । त्यसपछि नेपाल सरकारले स्वस्थ्यकर्मीलाई पनि लक्षण नदेखिई पीसीआर नगर्ने भन्ने नियम ल्याएकाले परीक्षण नै नभएको अवस्था छ । कोरोना संक्रमण त भएको होला, लक्षण नै नदेखिएका कति कोरोना संक्रमित छन् । स्वास्थ्यकर्मीलाई कुनै लक्षण देखियो भने क्वारेन्टाइन राख्छौं । सरकारको नीति नियमको पूर्ण पालना गर्दै आएका छौं ।

महामारीको यो अवधिमा सेती प्रादेशिक अस्पतालका नर्सहरुले कुनै पीडाको सामना गर्नुपर्‍यो कि ?

समस्या धेरै छन्, सरकारलाई हामीले आग्रह पनि गरिरहेका छौं । कोरोना भन्नेबित्तिकै घरभाडामा बस्नेदेखि लिएर समाजका जान्ने–बुझ्ने मान्छेले समेत घर छोड्न दबाब नदिएका होइनन् । ‘अस्पतालमा काम नगर कोरोना आउँछ, कोरोना आयो भने के गर्ने ?’ भन्ने खालका दबाबको सामना गर्नुपरेको अवस्था थियो । पहिलाको तुलनामा अहिले कम भएको छ ।

कोभिड–१९ को महामारीमा टिमवर्क कस्तो पाउनुभयो ?

यो काम गर्ने भनेकै टिमवर्कमा हो । एकजना डाक्टर, नर्सले गरेर हुँदैन । डाक्टर, नर्सदेखि लिएर स्वीपर, हेल्पर, फार्मेसी सबैको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व छ ।

यो महामारीका अवधिमा परिवारको व्यवहार कस्तो पाउनुभयो ?

व्यक्तिगतरुपमा मेरो परिवारका श्रीमान्, भाइलगायत धेरैजना मेडिकल फिल्डको हुनुभएकाले कोरोनाको बिरामीको सेवामा जुट्न मलाई खासै अप्ठ्यारो भएन । तर बच्चा सानो भएकाले बच्चालाई माइतीमा छोडेर काम गर्नुपरेको अवस्था छ ।

महामारीका विषयमा कोर्समा पढाइ हुन्थ्यो कि ?

यस्तो खालको महामारीका विषयमा कोर्समा पढिएको पनि थिएन र यो नितान्त नयाँ रोग भएकाले सिक्दै काम गर्नुपरेको अवस्था छ । अहिलेको यो अवस्थाले भने प्रत्येक प्रदेशमा सरुवा रोग अस्पताल छुट्टै चाहिने रहेछ भन्ने सिकाइ भएको छ । यति मात्र नभई दक्ष जनशक्ति हरेक फिल्डको हुनुपर्ने रहेछ, त्यस्तो भैदिएको खण्डमा अहिले जस्तो समस्या नआउला भन्ने लाग्छ ।

सेती प्रादेशिक अस्पताल त सरुवा रोग अस्पताल होइन तर सिक्दै नसिकेको कुरा जिम्मेवारी लिएर पूरा गर्नुपरेको छ । सरुवा रोग अस्पताल छुट्टै हुने हो भने उपयुक्त हुन्छ । कोभिड त अहिले आएको हो, पहिला इबोला, सार्स आयो, अब भोलि फेरि नयाँ खालको सरुवा रोग नआउला भन्न सकिन्न । कोर्स नै बनाएर सरुवा रोगका विषयमा पनि बच्चा, गर्भवती, वृद्ध, महिलाका लागि छुट्टै तालिम, शिक्षा दिएजस्तै सरुवा रोगका विषयमा पनि शिक्षा दिन आवश्यक भइसकेको छ ।

अहिलेसम्म सेती प्रादेशिक अस्पतालमा कस्ता–कस्ता कोरोनाका बिरामी उपचारमा आएका छन् ?

यहाँ ५ वर्षको बच्चादेखि ६० वर्षका वृद्धवृद्धामा कोरोना संक्रमण देखियो । विशेष गरी समस्या निम्तिने भनेको उच्च रक्तचाप, मधुमेह, दम, मुटु, मृगौला, क्यान्सरको औषधि सेवन गरेका बिरामीमा हो । उनीहरुमा कोरोना संक्रमण हुँदा जोखिम पनि बढी हुने र उपचारमा पनि बढी समय लागेको छ । अहिलेसम्मको अवस्थामा यस्ता व्यक्तिलाई नै आईसीयु, भेन्टिलेटर, अक्सिजनको मात्रा बढी प्रयोग गर्नुपर्ने भएको छ ।

त्यस अस्पतालमा कोरोनाका कति बिरामी दर्ता छन् ?

अहिलेसम्म ३ सय ३० जना (असोज २० सम्म)को रेकर्डमा देखिन्छ । यीमध्ये २५ जनालाई आईसीयुमा राखेर उपचार गरियो । यसमध्ये ४ जनाको मृत्यु भयो । ४ जना काठमाडौंमा रिफर गरिएको छ ।

सुदूरपश्चिम खुल्ला सिमाना भएको र भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र, महामारीको उपचारका सन्दर्भमा तपाईंका कुनै सुझाव छन् कि ?

यो क्षेत्रमा सबैभन्दा राम्रो काम स्थानीय तहले गरेको छ । लक्षण नदेखिएका बिरामीलाई स्थानीय तहले नै व्यवस्थापन गर्दै आएका छन् । तर इन्जेक्सन लगाउने, आईसीयु, भेन्टिलेटर चाहिने बिरामीको भने चाप यहीँ नै बढेको छ । स्वास्थ्य निर्देशनालयको संयोजन राम्रो भएका कारण व्यवस्थापन राम्रो भएको छ ।

कोभिडलाई हलुकारुपमा नलिऊँ, कोभिडलाई यो सामान्य रुघाखोकी त हो नि, लाग्छ–जान्छ भन्न हुन्न । यसले भोलिका दिनमा अरु समस्या निम्त्याउँदा धेरै गाह्रो अवस्था हुन्छ । सामान्य अवस्थामा आएका कोरोना संक्रमित पछि भेन्टिलेटरमै बस्नुपरेको र कतिको ज्यान नै गुमेको अवस्था पनि छ । त्यसैले कोरानालाई सामान्यरुपमा नलिई सावधानीपूर्वक व्यक्तिगत, सामाजिक दूरी कायम गरेर मास्क अनिवार्य लगाउने, साबुन–पानीले बारम्बार हात धुने कार्यलाई निरन्तरता दिनु नै उपयुक्त हुन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

कोरोना एक्लैले नियन्त्रण गर्न सकिन्न । यो लामो समय रहन सक्छ । त्यसैले अस्पताल, अफिस, कलकारखाना, खेती–किसानी सबैले आफ्नो स्वास्थ्यको जिम्मेवार व्यक्ति म आफैं हो भन्ने सोचेर व्यक्तिगत, सामाजिक दूरी कायम गर्ने । स्वास्थ्य संस्थाहरुले डाक्टर, नर्स, प्यारामेडिक्स, स्वीपर सबैलाई जिम्मेवार बनाएर अघि बढे अझ राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्