– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) ।
नेपालमा दिनदिनै कोभिड–१९ को संक्रमण बढिरहेको छ । अहिलेसम्म यस भाइरसको न कुनै औषधि बनेको छ, न कुनै औषधि उपचार विधि नै विकास भएको छ । यस भाइरसको रुपरङ्ग अनि आकारप्रकार र बानी–बेहोराका बारेमा पनि नयाँ–नयाँ अनुसन्धान रिपोर्ट आइरहेका छन् । वास्तवमा यो भाइरस विश्वका लागि रहस्यमयी बनिरहेको छ ।
यस भाइरसलाई आफूमा सर्न नदिनु नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो । तर शरीरमा भाइरस प्रवेश गरिहाल्यो भने त्यसपछि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको ‘शरीरमा रोग प्रतिरोधात्मक क्षमता’ अर्थात् इम्युनिटी पावर बलियो हुनु हो । इम्युनिटी पावर बलियो भए मात्र भाइरस शरीरमा रहे पनि त्यसले केही हानि गर्न सक्दैन । इम्युनिटी वृद्धिको सन्दर्भमा जडीबुटीहरुको खोज र प्रयोग विश्वव्यापीरुपमा बढेको छ । नेपाल र भारतका आमसञ्चारमाध्यमहरुमा हिजोआज व्यापक चर्चा र जनचासोमा रहेको एउटा औषधीय वनस्पति हो गुर्जोको लहरा वा गुडुची ।
आयुर्वेदले गुर्जोलाई रसायन वर्गमा पर्ने वनस्पति भने पनि बहुगुणी वनस्पतिको रुपमा उल्लेख गरेको छ । यसैलाई हिन्दीमा गिलोय र संस्कृतमा गुडुची (नसड्ने, नगल्ने अर्थमा) तथा अमृता वा अमृतावल्ली पनि भनिन्छ । तराई–मधेसतिर यसलाई गुरुजलत्ती भन्ने गरिन्छ । अंग्रेजीमा पनि यसलाई गुडुची नै भनिएको पाइन्छ । यसको ल्याटिन नाम टिनोस्पोरा कोर्डियोफोलिया हो ।
बहुवर्षीय लहरा जातिको यो वनस्पति नेपाल र भारतमा एक हजार फिटको उचाइसम्म प्रायः सर्वत्र नै पाइन्छ । गुर्जोको डाँठ औषधिको रुपमा प्रयोग गरिन्छ । जसलाई काढा बनाएर, सुकाएर, पिसेर, पाउडर बनाएर र सत्व बनाएर (स्टार्च निकालेर) पनि प्रयोग गर्न सकिन्छ । यसबाट तेल निकालेर पनि प्रयोग गर्ने गरिन्छ । मूलतः यसमा हुने बर्बेरिन र गिलोइन नामक रासायनिक तत्वले शरीरमा विशेष प्रभाव पार्छन् ।
आधुनिक विज्ञानको विभिन्न अनुसन्धानअनुसार गुर्जोमा एन्टी–भाइरल गुण पनि पाइएको छ । यसको प्रयोगले खोकी शान्त हुन्छ । पुरानो ज्वरो, विषम ज्वरोमा उपयोगी गुर्जोले शरीरमा पोल्ने समस्यालाई शान्त गर्छ । शरीरको बल बढाउँछ । डायबिटिज, टी.बी., गाउट, आमवात, कुष्ठरोग आदि रोगमा विशेष उपयोगी हुन्छ । यसले रक्तशुद्धि एवं शुक्र–बल वृद्धि पनि गर्दछ ।
सावधानीहरु
- सादा गुर्जोको सेवन सदा खालि पेटमा मात्रा मिलाएर मात्र गर्नुपर्दछ ।
- कुनै दीर्घरोगी, निम्न रक्तचाप भएका व्यक्ति, गर्भवती एवं सुत्केरीले गुर्जोको सेवन गर्नुपूर्व चिकित्सकको सल्लाह लिनुपर्छ ।
- अनधिकृत स्थान एवं व्यक्तिसँग किनबेच गरिएको गुर्जोको खरिद एवं प्रयोग गर्नुहुँदैन ।
- इम्युनिटी वृद्धिका लागि गुर्जोको सेवन गर्दा त्यसमा अन्य केही स्वाद वा बास्ना दिने वस्तु मिसाउनु उपयुक्त मानिदैन ।
- लामो समयदेखि संग्रह गरिएको गुर्जोको काँचो डाँठ प्रयोग गर्नुहुँदैन । त्यसभित्र ढुसी हुनसक्छ, सडेको हुनसक्छ, जसको प्रयोगले नयाँ खालको संक्रमण हुनसक्छ ।
पाचन प्रणालीको समस्याहरु जस्तै– अपच, अम्लपित्त, जन्डिस, डिसेन्ट्री, कोलाइटिस, जुका परेकोमा अति लाभकारी छ । यसले रक्तशुद्धि पनि गर्दछ । यसको काढा ५० देखि १०० मि.लि. प्रतिदिन ५ पटकसम्म प्रयोग गर्न सकिन्छ । यसको पाउडर प्रतिदिन ३ देखि ६ ग्राम ३ पटकसम्म प्रयोग गर्न सकिन्छ । सत्वको रुपमा १ देखि २ ग्राम दिनको ४ पटकसम्म प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा यससँग अन्य चिज नमिसाई शुद्ध प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ । इम्युनिटी वद्र्धनको लागि यसको काढा नियमितरुपमा बिहान–साँझ खालिपेटमा सेवन गर्दा चामत्कारिक लाभ हुन्छ ।गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध छ । धूलो खाने भए पाँच ग्राम गुर्जोको पाउडर चार गिलास पानीमा हाली उमालेर र एक गिलास भएपछि छानेर खान सकिन्छ ।
डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा पानी घटाई खान सकिन्छ । गुर्जो खाना खानुभन्दाअघि खाँदा त्यसले अधिक फाइदा गर्छ । आयुर्वेदका अनुसार वात, पित्त र कफ तीनवटै दोषलाई सन्तुलन गर्ने गुण गुर्जोमा हुन्छ । घिउसँग खाँदा वात सन्तुलन हुन्छ, सख्खरसँग खाँदा पित्त सन्तुलन हुन्छ र महसँग खाँदा कफको सन्तुन गर्छ । कोरोनाकालमा अहिले शहरमा बस्ने धेरैले गाउँबाट गुर्जो मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन् । यसरी गुर्जोको खोजी यत्रतत्र भइरहेको छ ।
गुर्जोले कोरोना निको पार्छ भन्ने भ्रम पनि फैलिएको छ तर यो सही होइन । गुर्जोले कोरोना निको पार्दैन । यसले भाइरससँग लड्न सक्ने मानवशरीरको क्षमता मात्र बढाउँछ ।
गुर्जो लहराको पात पहेँलो भएर झरेपछि मात्र यसको लहरे डाँठलाई औषधिको प्रयोगमा ल्याउनुपर्छ । लहैलहैमा हिजोआज मानिसहरु हरियो, कलिलो डाँठ र पातलाई प्रयोग गर्दै छन्, जुन त्यति लाभकारी हुँदैन । नियमित सेवनका लागि सामान्यतया यसको सुकेको डाँठ पिसेर धूलो पार्ने अनि त्यसलाई पानीमा भिजाउने र बिहानै खालि पेटमा त्यो पानी पिउने हो ।
कोरोनाको संक्रमण दर बढेसँगै बजारमा आजकल तरकारीजस्तै गुर्जोे पनि बिक्री भइरहेको छ । बजारको आवश्यकतामा व्यापार गर्नेहरु अनधिकृतरुपमा जंगलबाट जस्तो पायो त्यस्तो गुर्जो खोजेर बजारमा बेचिरहेको पाइन्छ । यो सरासर गलत छ, सरकारले यसलाई नियमन गर्नुपर्छ । किनकि त्यसरी बजारमा गुर्जो भनेर बेच्न राखिएको वनस्पति गुर्जो नहुन पनि सक्छ । अनधिकृत स्थान र व्यक्तिसँग गुर्जो किनेर खाँदा त्यसले कहिलेकाहीँ दुर्घटना पनि निम्त्याउन सक्ने हुन्छ । सरकारी आयुर्वेद चिकित्सालय नरदेवीलगायत अन्य देशभरका आयुर्वेद औषधालयहरुमा रोगीहरुको आवश्यकताका आधारमा गुर्जोे निःशुल्क पाइन्छ । कोरोनाकालमा गुर्जोको प्रयोग गर्दा निकै सावधान हुनुपर्ने देखिन्छ । अन्यथा गुर्जोको नाममा अर्कै विषालु वनस्पति खान पुग्दा त्यसले रोग–प्रतिरोधात्मक क्षमता प्राप्त हुनु कता हो कता, ज्यान नै समेत जान सक्ने हुनसक्छ ।