टन्सिलले बिगारेको मुटु



– रोहिणी घिमिरे

टन्सिललाई घाँटीको सामान्य स्वास्थ्य समस्या त हो नि भनेर हेलचेक्र्याइँ गर्दा ज्यान नै जान सक्छ । टन्सिलकै कारण बाथ–मुटुरोग भई बचाइदिनुस् भन्दै उपचारका लागि आएका बिरामीहरुको रोदनले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको मन छोयो । आखिर नेपाल हृदयरोग निवारण प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहनुभएका डा. रेग्मीले यसबारे पुस्तक नै तयार गर्नुभयो ।

‘टन्सिलले बिगारेको मुटु’ नाम दिइएको उक्त पुस्तकमा लेखक डा. रेग्मीले भन्नुभएको छ– ‘मुलुकका तराई, पहाड र हिमाली क्षेत्रका दुर्गम गाउँहरूमा समेत स्कुले बालबालिकाको मुटु परीक्षण गर्न पुगेँ । जता जाँदा पनि न त बाथ–मुटुरोगीहरूको कमी थियो, न उनीहरूले भोग्नुपरेका पीडा नै । अझ कतिपय अवस्थामा त म आफैँ निरीह बनेर उनीहरूको असामयिक निधनको साक्षी बन्न बाध्य हुनुपर्‍यो ।’

लेखक एवं वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीद्वारा सम्पादित यस पुस्तकमा १७ मुख्य शीर्षक र ९० वटा उपशीर्षक दिई बाथ–मुटुरोगसँग सम्बन्धित विषयवस्तुहरु समेटिएका छन् । विषयवस्तुको गाम्भीर्यता र प्रस्तुतीकरणको शैलीले कुनै–कुनै प्रसङ्गमा पाठकले आँसु नचुहाऊलान् भन्न सकिन्न ।

केटाकेटी अवस्थामा प्रायको घाँटी दुख्छ, टन्सिल बढ्छ । नुन–पानी र बेसार–पानी पिएर धेरैले यसको उपचार गरेको हामी पाउँछौँ । सही उपचार नपाउँदा आज लाखौंँ बालबालिका बाथ–मुटुरोगजस्तो समस्याबाट पीडित हुन पुगेका छन् । पैसा भएर पनि चेतनाको कमीले उपचार नपाई अन्तिम अवस्थामा आफ्नो क्लिनिकमा आइपुगेकी ओखलढुङ्गाकी एक किशोरीको अवस्था, नुवाकोटका एक किशोरको जायजेथा सकेर पनि थप उपचार गर्न नसक्दाको पीडा लेखक डा. रेग्मीले बडो मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । रोगसँग सङ्घर्ष गरेर बाँचेकी चितवनकी इन्दिरा अनि त्रुटिपूर्ण शल्यक्रियापछि पनि उपचार पाएर बाँचेका रामेछापका एक युवाका सङ्घर्षका कथाहरु बाथ–मुटुरोगीका लागि पथप्रदर्शक बन्न सक्छन् ।

उपचारका क्रममा बिरामी ठगिएको प्रसङ्ग त्यत्तिकै टिठ लाग्दो छ । नवलपरासीकी नौ वर्षीया एक बालिकाको मुटुको भल्भ बिग्रिएकाले शल्यक्रिया गर्नुपर्ने देखियो । दिल्लीबाट एक डाक्टरले चिठीमार्फत उपचारका लागि बोलाए । ती डाक्टरले नेपालमा आउँदा एक स्वास्थ्य शिवरमा ती बालिकालाई जाँचेका रहेछन् । बालिकाका बाबु दिल्लीको सेन्ट स्टिफन्स अस्पतालमा पुगी ती डाक्टरलाई भेटेर छोरीलाई भर्ना गरे । डाक्टरले ‘तिम्री छोरीको मुटुको भल्भ फेर्नुपर्छ, ४० हजार भारू खर्च लाग्छ’ भने । शुरुमा आफूलाई भनेको भन्दा चार गुणा बढी पैसा मागेपछि बाबु छाँगाबाट खसेजस्तै भए । तर पनि जसोतसो उनले पैसा जम्मा गरे ।

शल्यक्रिया गर्ने समयमा ‘यति रकमले नपुग्ने भयो, थप ६० हजार जम्मा गर्नू’ भनियो । नेपालमा मान्छे पठाएर सरसापट, बेचबिखन गरी थप ६० हजार भारू पनि जम्मा गरियो । अझै त्यहाँ पैसा माग्ने शृङ्खला रोकिएन । थप ४९ हजार भारू जम्मा नगरेमा शल्यक्रिया हुन नसक्ने भनेर पुनः धम्क्याइयो ।

शुरुमा १० हजारमा हुन्छ भनेको अपरेसनका लागि १ लाख ४९ हजार लिएपछि मात्र शल्यक्रिया गर्न तयार भए । यत्रो पैसा लिए पनि मुटुको भल्भ भने फेरेनछन्, मर्मत मात्र गरेर छोडिदिएछन् । नेपाल फर्किएपछि ती बालिकाको अवस्था चिन्ताजनक हुँदै गयो । उपचारकै क्रममा उनको दुःखद निधन भएको प्रसङ्ग डा. रेग्मीले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

पुस्तकमा विस्तृतरुपमा उल्लेख गरिए पनि घटनाको यो सार मात्र हो । उपचार गर्दा सम्पत्ति पनि सकिएको र बचाउन पनि नसकिएको यस्ता दर्दनाक घटना समावेश गरिएकाले पुस्तक पठनीय बनेको छ । सलल नदी बगेझैँ पाठकलाई बगाउन सक्नु लेखक र सम्पादक दुवैको खुबी एवं क्षमतालाई मान्नै पर्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा नेपालमा मुटुरोगको उपचार र बाथ–मुटुरोग रोकथामका लागि गरिएका सङ्घर्षका अनुभूतिहरू सप्रसङ्ग समेटिएका छन् । पुस्तकमा वर्णन गरिएका बाथ–मुटुरोगीका कथा–व्यथाले पाठकका आँखाहरु रसाउनेछन् भने नीति–निर्माताहरुको उदासीपनप्रति पाठकमा विद्रोहको भावना जाग्नेछ ।

शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा विश्व मुटु दिवस २०२० का अवसरमा गत असोज १३ गते लोकार्पण गरिएको यस कृतिमा नेपाली समाजको चित्र छ, मुटुरोगीको वेदना छ, सङ्घर्षको कथा छ । लेखक डा. रेग्मीका अनुसार बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रताडितहरुको मुद्दा हो । यसको सबैभन्दा ठूलो सिकार विपन्नतामा हुर्किएका बालबालिकाहरु भइरहेका छन् । मुटुरोगको उपचारमा सेवा पुर्‍याउँदै आएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानसहित वीर अस्पताल, गङ्गालाल हृदय केन्द्रलगायतका स्वास्थ्य संस्थाका बारेमा समेत जानकारीहरु समावेश गरिएकाले यो पुस्तकलाई ऐतिहासिक दस्ताबेजका रुपमा पनि लिन सकिन्छ । डा. रेग्मीका स्वास्थ्यक्षेत्रका झन्डै एक दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । गहनता र पृष्ठसङ्ख्या (३ सय पृष्ठ) को हिसाबले यस पुस्तकको मूल्य रु. ३५०/– उचित देखिन्छ । पुस्तकमा समाविष्ट जानकारीहरु बाथ–मुटुरोगका बिरामी, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, नीति–निर्माता सबैका लागि उपयोगी हुने देखिन्छ ।

पुस्तकबारे अन्तरक्रिया

नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा केही हप्ताअघि काठमाडौंमा आयोजित ‘टन्सिलले बिगारेको मुटु’ पुस्तकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा लेखक डा. रेग्मीले एक सय रुपियाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा पछि लाखौँ खर्च लाग्ने गरेकाले आम नेपाली सचेत हुन सकून् भनी पुस्तक सृजना गरेको बताउनुभयो । सो अवसरमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका बालमुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्यले टन्सिल सामान्य रोगजस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्नेतर्फ सचेत गराउन पुस्तक उपयोगी हुने बताउनुभयो ।

सोही क्रममा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले बाथ–मुटुरोगको उपचारबारे उदासीन हुने नीति–निर्माता एवं चिकित्सकले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साहित्यकारद्वय तुलसी दिवस र श्रीओम ‘रोदन’ले भौतिकरुपमा उपस्थित भएर उपचार गर्ने मात्रै नभई पुस्तकमार्फत पनि डा. रेग्मीले जनजचेता अभिवृद्धिमा गरेको योगदानको चर्चा गर्नुभएको थियो । यस्तै हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा. खेम कोइरालाले दीर्घ जीवनका लागि उपयोगी यो पुस्तक दीर्घजीवी एवं संस्कृतिविद्कै हातबाट विमोचन गराउन पाउँदा खुशी लागेको धारणा व्यक्त गर्नुभएको थियो ।

पहिलो अन्तरक्रिया कार्यक्रममा प्रत्यक्षरुपमा सम्लग्न भई आफ्ना धारणा राख्न वञ्चित भएकाहरुका लागि हालै भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको थियो । यस अन्तरक्रियामा डा. रवीन्द्र पाण्डेलगायत काठमाडौंबाहिरका व्यक्तित्वहरुबाट समेत यस पुस्तकलाई पाठ्यक्रममा राखिनुपर्नेमा जोड दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्