तपाईंका घरमा हाम्रा डाक्टर



म ५१ वर्षको भएँ । मलाई पाचन प्रणालीको समस्या छ । दिसा नियमित नहुने, पेटमा ग्यास भरिने र पेट दुख्ने गर्छ । सुझाव पाए आभारी हुने थिएँ । 

– रमण केसी, धुम्बाराही, काठमाडौं ।

रमणजी, यो पेटको समस्या धेरै किसिमको हुन्छ । साधारण ग्यास्ट्राइटिसदेखि लिएर अन्य जटिल पनि हुन सक्छ । आन्द्राको समस्या पनि हुन सक्छ । त्यसैले तपाईं काठमाडौंमै भएकोले पेटरोग विशेषज्ञ भेटेर परामर्श गर्ने सल्लाह दिन्छु । त्यति बेलासम्म ‘प्यानटोप्राजोल’ भन्ने ४० मि.ग्रा.को चक्की दिनको दुईपटक खालिपेटमा खानुस् ।

 

कोरोनाको डरले सध}F मास्क लगाएर बस्ने गरिएको छ । यसरी मास्क लगाइरहँदा मुटु र फोक्सोमा समस्या हुन्छ भन्छन् । के गर्दा ठीक पर्ला डा. साब ?

– देविका कार्की, इनरुवा, सुनसरी ।

देविकाजी, मास्क लगाएर स्वास्थ्यमा राम्रो प्रभाव पर्छ, नराम्रो पर्दैन । त्यसमाथि घरमा राति सुत्दा लगाइँदैन होला नि । बाहिर कमभन्दा कम निस्कने, निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम गर्ने, हात मिचिमिची साबुनले धुने, कोरोनाबाट आफू पनि बच्ने, अरुलाई पनि बचाउने गर्नुपर्छ । मास्कबारे भ्रममा नपर्नुस् ।

 

मोबाइल काननजिक राखेर धेरैबेर कुरा गरिरहनुहुँदैन भन्छन् तर कुरा गर्नुपर्ने बाध्यता नै हुन्छ । के यसरी लामो समय मोबाइलबाट कुरा गर्दा असर पर्छ ? सुझावका लागि अनुरोध गर्दछु ।

– शैलेश, कोटेश्वर, काठमाडौं ।

शैलेशजी, विभिन्न समयमा भिन्न–भिन्न अनुसन्धान गरेर भनिएका कुराअनुसार मोबाइल फोनको उपयोग गर्दा सानो मात्राको रेडिएसन निस्कन्छ । त्यस्तै हरेक विद्युतीय उपकरणमा इलेक्ट्रोम्याग्नेटिक क्षेत्र हुन्छ । त्यसैले मानव शरीरमा त्यसको पनि प्रभाव पर्छ । त्यो सबै भईकन पनि विनामोबाइलको जीवन असम्भव प्रायः हुन्छ । तसर्थ मोबाइलमा कुरा गर्दा सक्दो छोटो गर्नुस्, जसले गर्दा पैसाको पनि बचत हुन्छ, स्वास्थ्यको पनि सुरक्षा हुन्छ । त्यस्तै शरीरबाट सक्दो टाढा राख्ने गर्नुस्, जस्तो– चार्ज गर्दा, राति सुत्दा, घरमा बस्दा, प्रयोग नहुँदा । घरमा छ भने मोबाइलको सट्टा ल्यान्ड लाइन फोन उपयोग गर्नुस् । यिनै हुन् गर्न सकिने सम्भव कुराहरु ।

 

मेरो छोरो पाँच वर्षको भयो तर पनि अझै तोतेबोली गएको छैन । यसलाई हटाउने कुनै उपाय भए सुझाव पाऊँ ।

– शिव महरा, दाङ ।

शिवजी, कुनै–कुनै बच्चाको बोली अलि ढिलो स्पष्ट हुँदै जान्छ । यो कुरा बच्चाको विकासमा पनि भर पर्छ । त्यस्तै परिवारको सदस्यले ऊसँग अलि समय दिएर बोल्ने बानी गर्नुप¥यो । अरु एक–दुई वर्षसम्म पनि बच्चाको बोली क्रमशः प्रस्ट हुँदै गएन भने एकपटक बच्चाको डाक्टर तथा स्पिच थेरापिस्टसँग सल्लाह लिन सकिन्छ । यो सेवा नेपालगन्जमा होला, नभए काठमाडौंमा आएर पनि यो सेवा लिन सकिन्छ ।

 

मेरो ७ वर्षको बच्चालाई बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने भइरहन्छ । करिब एक वर्षदेखि यस्तो भइरहेको छ । यसको समाधानको उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

– खगेन्द्र बराल, त्रिशुली, नुवाकोट ।

खगेन्द्रजी, बरोबर घाँटी दुख्ने र टन्सिल बढ्ने भइरहेमा तथा उचित उपचार नगरिएमा मुटुको बाथरोग विकास हुन सक्छ । यो बाथ ५ देखि १५ वर्षको उमेरमा घाँटी दुखेमा र उपचार नपाएमा विकास हुन सक्छ । यस्तो भएको एक वर्ष भइसक्यो र दुखेको बेलामा समय–समयमा उपचार गरिएको छैन भने मुटुको बाथको सम्भावना अधिक छ । प्रार्थना गरौं, अहिलेसम्म यस्तो भएको नहोस् । एकपटक मुटुको चिकित्सक भेटेर परामर्श गर्नु जरुरी छ । मुटु परीक्षण गरेर क्लियर हुनु राम्रो हुन्छ । काठमाडौं आएर गंगालाल मुटु अस्पताल, वीर अस्पताल वा शिक्षण अस्पतालसँगैको मनमोहन मुटु अस्पतालमा सम्बन्धित चिकित्सक भेटेर सल्लाह गर्न सक्नुहुन्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्