थाइराइडको समस्यामा के गर्ने ?



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

हर्मोनजन्य रोग

थाइराइड घाँटीमा भएको एक अन्तःस्रावी (नली नभएको) ग्रन्थि वा अंग हो । यसबाट निस्कने हर्मोनहरुले शरीरका अनेकौं अंगका कामलाई नियन्त्रण र प्रभाव पार्ने गर्छन् । थाइराइड वा यससँग सम्बन्धित हर्मोनको उत्पादनमा कुनै अवरोध आएमा त्यसबाट धेरै भागमा समस्या उत्पन्न हुन्छ ।

कतिपयले थाइराइडलाई नै रोग भन्ने गरेको पाइन्छ तर त्यसो होइन । थाइराइडमा विभिन्न रोगहरु लाग्छन् जस्तै– गलगाँड (Goiter), थाइराइडको हर्मोन कम उत्पादन हुने समस्या (Hypothyroidism) , थाइराइडको हर्मोन बढी उत्पादन हुने समस्या (Hyperthyroidism) , थाइराइड सुन्निने (Thyroiditis) लगायत गाँठो आउने, मासु बढ्ने, क्यान्सर हुने आदि । यी समस्यामा हामी हाइपो र हाइपर थाइरायडिज्मका बारेमा चर्चा गर्नेछौं ।

हिजोआज थाइराइडसँग सम्बन्धित समस्या धैरैलाई भएको पाइन्छ । महिलाहरुलाई अटो इम्युन समस्या केही बढी मात्रामा देखिएको छ । सोही कारणले यो थाइराइड हर्मोनजन्य गडबडी पनि महिलामा नै बढी हुने गरेको पाइएको छ । धेरै वर्षपहिले गलगाँडलाई यसको कारणको रुपमा लिइन्थ्यो । तर हिजोआज जीवनशैली गडबडी तथा थाइराइड अटो इम्युनिटी समस्याका कारणले बढी भएको पाइन्छ । यसमा थाइराइड ग्रन्थिको हर्मोन उत्पादनको कार्यमा अवरोध आउने हुन्छ ।

यसरी नै थाइराइडमा हुने संक्रमणका कारण थाइराइडाइटिस भएमा समेत हर्मोन स्राव क्षमता नै ह्रास हुन्छ । चीन तथा अन्य देशहरुमा गरिएका विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ । हाम्रो देशमा पनि यो समस्या व्यापक भएकोमा यो पनि एक कारण हुन सक्छ । साथै जीवनशैलीको गडबडी पनि यो समस्याको एउटा मुख्य कारण रहेको अनेकौं अनुसन्धानहरुको निष्कर्ष छ ।

विभिन्न अध्ययनले कम वा बढी मात्रामा आयोडिनयुक्त नून वा खाद्यवस्तुको प्रयोगका कारण पनि हाइपर तथा हाइपो थाइरायडिज्मलगायत थाइराइडका अन्य रोगहरु हुने देखाएको छ ।

 

थाइराइडको निदान

प्रयोगशालामा रगतमा थाइराइडको कामसम्बन्धी जाँच (Thyroid function test/TfT/T3,T4, TSH Test)  गरेमा थाइराइडसम्बन्धी रोग छ वा छैन भन्ने जान्न सकिन्छ । शंका लागेमा चिकित्सकले यस्ता परीक्षण गराउँछन् । टी थ्री र टी फोर हर्मोन थाइराइडबाट निस्कन्छ भने टीएसएच हर्मोन पिट्युटरी ग्रन्थिबाट स्राव हुन्छ, जसले थाइराइड ग्रन्थि र यसबाट निस्कने हर्माेनहरुलाई नियन्त्रण गर्दछ ।

 

हाइपरथाइरायडिज्म

हर्मोनको अति स्राव हुने समस्यालाई हाइपरथाइरायडिज्म भनिन्छ । यसमा थाइराइड बढी नै सक्रिय हुन्छ । शरीरमा टी थ्री र टी फोर हर्मोनको स्रावमा असन्तुलन आएर अनेक लक्षणहरु देखिन्छन् । जस्तै– तौल घट्दै गएर शरीर दुब्लो–पातलो हुने, भोक बढी लाग्ने, पेट गडबडी हुने, छाला पातलो र शुष्क हुने, रौंको विकास नहुने वा पातलो हुने, खुट्टाको अगाडिको भागको छालामा रातोपन देखिने पनि हुन सक्छ ।

यसमा मन आँत्तिएको जस्तो हुने, डर लाग्ने, नर्वस हुने, मुटुको धड्कन बढ्ने, रिस उठ्ने, झिँजोझर्को लाग्ने, काममा ध्यान नजाने, जीउ तात्तिने वा बढी गर्मी अनुभव हुने, पसिना बढी आउने, हातखुट्टा काँप्ने, निद्रा नलाग्ने, मन अस्थिर हुने, मुख सुक्ने आदि मानसिक रोगका लक्षणहरु पनि देखिन्छन् ।

 

हाइपोथाइरायडिज्म

हाइपोथाइरायडिज्ममा शरीरको मेटाबोलिक (चयापचय) क्रिया सुस्त हुन्छ र मुटुको चाल कम हुने तथा हृदयरोगको अनुभव हुने, जीउ गल्ने–थाक्ने, कपाल तथा छाला सुख्खा एवं फुस्रो हुने, तौल बढ्दै जीउ मोटाउन थाल्ने, नङ सजिलै फुट्ने–भाँचिने, मासु फर्किने हुन सक्छ ।

यस्तै गरी आलस्यता बढ्ने, निद्रामा गडबडी हुने अर्थात् धेरै सुतिरहन मन लाग्ने वा निद्रा नलाग्ने वा कम लाग्ने हुन्छ । चिन्ता र निराशापन एवं डिप्रेसनका केही लक्षणहरु आउने, कब्जियत तथा ग्यास्ट्रिकको समस्या हुने हुन्छ । त्यस्तै गरी गलगाँड सुन्निने, महिलाहरुमा मासिकस्रावमा कम–बढी रगत बग्नेलगायत अन्य गडबडी हुने, बाँझोपन हुनेजस्ता लक्षणहरु हुन्छन् ।

अनुहार फुल्ने, स्वर धोद्रो हुने, मांसपेशी कमजोर हुने, दुख्ने, अररो हुने, जोर्नी सुन्निनेजस्ता लक्षणहरु पनि देखिन सक्छन् ।

 

उपचारमा खानपानको भूमिका

जुनसुकै समस्याको उपचारमा पनि खानपानको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रहेको हुन्छ । तर कतिपय विज्ञ चिकित्सक वा इन्डोक्राइनोलोजिस्टहरुसमेत थाइराइडको समस्यामा खानपानको भूमिका नरहने बताउँछन् । कतिपय अनुसन्धानहरुले चाहिँ हाइपोथाइरायडिज्ममा काउली, बन्दाकोभी, ब्रोकाउली, सलगम, भटमास, कोदो, ग्रीन टी आदिले थाइराइडको आयोडिनको प्रयोग गर्ने क्षमतालाई अवरोध गर्न सक्ने भएकोले त्यस्ता वस्तु खान नहुने निष्कर्ष निकालेको पाइन्छ । त्यसैलाई आधार मानेर बिरामीहरुमा हाउगुजी फैलिएको छ । तर यससम्बन्धी चिकित्सकहरु त्यसलाई त्यति धेरै महत्व दिन चाहँदैनन् ।

थाइराइडको हर्मोन गडबडीका कारण उत्पन्न समस्या तथा लक्षणहरुलाई साम्य पार्न खानपानको व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको कुरालाई कसैले इन्कार गर्न सक्दैन । कैयौं अनुसन्धानहरुले खानपानको प्रयोगद्वारा थाइराइडका गडबडीका कारण उत्पन्न मोटोपना, मुटुरोग, कब्जियत, मनका समस्याहरु, कमजोरी आदिमा भोजनमा सुधार ल्याएर उपचार गर्न सकिने देखाएको छ । यो एक अटोइम्युन रोगसमेत भएकोले रोग–प्रतिरोधक क्षमता बढाउन र भैपरि आउने समस्याको उपचार गर्न  खानपानको नियम पु¥याउनु जरुरी छ ।

त्यसैले प्राकृतिक ताजा खानेकुराहरु, मौसमअनुसारको फल–तरकारी, फलाहार, रसाहार, अमृताहार आदि प्रयोग गर्न सकिन्छ । लक्षण र समस्याअनुरुप खानपानको ठीक प्रयोगले सम्पूर्ण शरीरको शोधन गर्ने र शारीरिक क्षमताहरु बढाउने हुन्छ । यसरी नै सही ढंगबाट प्रयोग गरिएको जलोपवास वा अल्प आहारले थाइराइड हर्मोनको गडबडीका कारण उत्पन्न समस्याहरुको उपचारमा निकै सहयोग मिल्छ भन्ने अनुभवले देखाएको छ ।

 

थाइरायडिज्म र योगचिकित्सा

योगका आसनहरुको अभ्यासले हर्मोनको स्तरलाई सन्तुलनमा ल्याउने कुरा अनुसन्धानहरुले देखाएको छ । यसका साथै यसबाट उत्पन्न समस्या र लक्षणहरुको नियन्त्रणका लागि योग निकै उपयोगी मानिएको छ । कतिपय समस्या जस्तै– बढी वा कम स्रावको अवस्था धेरै नै माथि भएको अवस्थामा योगले मात्र काम नगर्ने हुँदा यस्तो अवस्थामा औषधिको साथमा योगका अभ्याहरुलाई सहयोगीका रुपमा प्रयोग गर्नुपर्छ । हर्मोन चिकित्साजस्तो तुरुन्त प्रभाव नपरे पनि शारीरिक तथा मानसिक लक्षणहरु नियन्त्रणमा योगलाई समावेश गर्नु बुद्धिमानी हुन्छ । थाइराइड हर्मोनजन्य समस्याहरुको लागि यौगिक सूक्ष्म व्यायामहरु, आसनहरु, प्राणायामहरु, बन्ध, षटकर्मका विभिन्न विधिहरुको अभ्यास गर्न सकिन्छ, जुन तल दिइएको छ ।

आसनहरु : थाइराइड हर्मोनजन्य लक्षण तथा समस्याहरुमा समस्या र लक्षणअनुरुप आसनको छनोट गर्नुपर्छ । मत्स्यासन, सिंहासन, मृगासन, उष्ट्रासन, बीरासन, तीर्यक भुजंगासन, त्रिकोणासन, धनुरासन, मकरासन, पर्वतासन, ताडासन, सुप्तवज्रासनलगायत सूर्य नमस्कारजस्ता समूहगत आसनहरु उपयोगी हुन सक्छन् ।

बन्ध र प्राणायामहरु :  अनुलोम–विलोम, चन्द्र तथा सूर्यभेदन, नाडीशोधन, उज्जायीजस्ता प्राणायामहरुले दुवै प्रकारका थाइराइड हर्मोनका समस्याहरुमा लाभ प्रदान गर्दछ । यी प्राणायामहरुको अभ्यास गर्दा जालन्धर बन्ध (प्राणायामका क्रममा श्वास लिएर गर्दन–टाउको अगाडि झुकाउने र चिउँडोलाई छातीमा छुवाएर घाँटीमा हल्का बल गरी श्वास रोकी अडिने अभ्यास) ले अझ बढी फाइदा गर्छ । वज्रासन वा पद्मासनमा बसी जालन्धरलगायत उड्डियानबन्ध, मूलबन्ध पनि गर्न सकिन्छ । हाइपरथायरायडिज्ममा शीतकारी, शीतली, चन्द्रभेदीजस्ता प्राणायामहरु लाभदायक मानिन्छ भने हाइपोथायरायडिज्मका लागि सूर्यभेदी, भस्त्रिकाजस्ता गरम प्रभाव उत्पन्न गर्ने प्राणायामहरु फाइदाकारक हुन्छन् ।

शोधन विधिहरु : जलनेति–सूत्रनेतिबाट नाक–घाँटीको शोधन, जिह्वामूलधौतिबाट मुखभित्र सफा गर्ने, जल तथा वस्त्रधौति, कपालभाँतिले पनि थायरायडिज्ममा लाभ दिन्छ । यसरी नै घाँटीजस्ता भागहरुको सफाइ गर्ने, लघु शंखप्रक्षालन, वस्तिले पूरा पाचनमार्ग सफा गर्ने, कण्ठप्रक्षालन ९न्बचनभि० जस्ता उपचारहरु गर्ने गर्न सकिन्छ । तर रक्तचाप, मनोदशा र स्वास्थ्यको स्तरअनुरुप मात्र के–कस्तो गर्न सकिने भन्ने निर्णय गरिने हुँदा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

प्राकृतिक चिकित्सा

नेकप्याक, मडथेरापी, मसाजथेरापी, स्टीमबाथ, हिपबाथ, फूटबाथ, धारापात, एनिमा, कोलन हाइड्रोथेरापी आदि जलोपचार, चुम्बकीय उपचार, जडीबुटी, आहार चिकित्सा, उपवास चिकित्सा, परामर्श, अकुपन्चर आदि अनेक उपचार विधिहरुको प्रयोग सम्बन्धित विज्ञको सल्लाहमा लिन सकिन्छ, जसबाट कम तथा बढी हर्मोन स्राव हुने थाइराइड रोगका लक्षणहरुलाई शान्त पार्न र थाइराइडको कार्यक्षमतामा सुधार ल्याउन सकिन्छ ।

 

जीवनशैली व्यवस्थापन

समस्या र लक्षणहरुमा कमी ल्याउन जीवनशैली सुधार्नु जरुरी छ । दिनचर्या, रात्रिचर्या, कार्यशैली, चिन्तनशैली, भोजनशैली, विश्रामशैली आदिको उचित व्यवस्थापनले कुनै पनि स्वास्थ्य समस्यालाई सुधार्न मद्दत गर्दछ । त्यसैले हाइपो तथा हाइपरथाइरायडिज्ममा पनि स्वस्थ जीवनशैलीका उपायहरुको अवलम्बन गर्नु अति आवश्यक छ । अस्तव्यस्त जीवनशैलीले यसका लक्षणहरुलाई बढाई जटिलतातिर लैजाने हुन्छ । योग तथा प्राकृतिक चिकित्साको उचित प्रयोग यी समस्याहरुमा प्रभावकारी हुन सक्छ । हर्मोन चिकित्साका साथमा पनि यी विधिहरु अपनाउँदा सामान्य अवस्थामा फर्काउन सहयोग मिल्छ ।

योग मोडेल : मिरी बराकोटी
प्रतिक्रिया दिनुहोस्